जति बढी लापरबाही उति बढी खतरा

‘मास्कले कोरोना भाइरसबाट जोगाउने काम गर्ने स्पष्ट वैज्ञानिक प्रमाण छ । यो हाम्रो सुरक्षाको सबैभन्दा भरपर्दो साधन हो ।’

कोरोना भाइरस महामारीको दोस्रो लहरले नेपाललाई पनि दिनानुदिन आक्रान्त बनाउँदै लगिरहेको छ । प्रायः समाप्तितिर पुगेको यो महामारी पुनः बौरेर आएको छ । अहिलेसम्म विश्वका लगभग १५ करोड मानिस यसबाट संक्रमित र सिकिस्त भइसकेका छन् ।

जति बढी लापरबाही उति बढी खतरा

भारतमा महामारीको भयावहता र त्यहाँ शय्या तथा अक्सिजनको हाहाकारले गर्दा हजारौं संक्रमितको मृत्यु भइरहेको हृदयविदारक अवस्थाको सोझो र स्वाभाविक असर नेपालमा पनि परेको छ । नेपालको जति नै जनसंख्या एउटैमा समेटेका नयाँ दिल्ली र मुम्बईजस्ता भारतीय महानगरको हालत निकै गम्भीर अवस्थामा पुगेको छ । त्यहाँबाट फर्केका नेपालीहरूका कारण, खास गरी नेपालगन्ज तथा आसपासका क्षेत्रमा संक्रमण व्यापक रूपमा फैलिइरहेको छ; स्थानीय अस्पतालहरूमा शय्या खाली नभएकाले बिरामीहरूलाई भुइँमा सुताएर उपचार गर्नुपरेको अवस्थाले भारतको संकटलाई प्रतिविम्बित गरेको छ ।

पहिलो लहरको महामारीले बालबालिकालाई छोएको देखिन्नथ्यो, तर दोस्रो लहरको महामारीबाट बालबालिका पनि संक्रमित भइरहेका छन् । दोस्रो लहरको कोरोनाबाट बिनालक्षण नै संक्रमित भएको पनि पाइएको छ । अमेरिकाको रोग नियन्त्रण तथा निरोध केन्द्र (सीडीसी) का अनुसार, ४० प्रतिशत संक्रमितमा लक्षणबिना नै कोरोना सल्किसकेको पाइएको छ । श्वास–प्रश्वासको संक्रमणले दमको असर झन् बढाउन सक्छ । भाइरसका कारण दमबाट जोगिन शृंखलाबद्ध रूपमा विभिन्न उपाय अपनाउनुपर्छ । दम रोक्नका निम्ति सुँघ्ने र तान्ने औषधिको नियमित प्रयोग गर्नुपर्छ । त्यसले श्वास–प्रश्वासलाई प्रभावित पार्ने भाइरस लगायतको आक्रमणको जोखिम कम गर्छ ।

‘जहाँ भीड, त्यहाँ कोभिड’ भनिन्छ । कोरोना भाइरस विश्व–महामारीको आधारभूत उपचार मन्त्र हो— जति बढी व्यक्तिगत होसियारी त्यति बढी सुरक्षित, जति बढी लापरबाही उति बढी खतरा । नयाँ अवतारको कोरोना भाइरस झन् तीव्र गतिमा फैलिने गरेको वास्तविकता अनुसन्धाताहरूले बताइरहेका छन् । त्यसअनुसार, पहिलो लहरको कोरोना महामारी ६ जनामा फैलिने समयमा दोस्रो लहरको महामारी ४० जनामा फैलिन भ्याउँछ । नयाँ लहरको कोरोनाको संक्रमण गति ४५ देखि ९० प्रतिशतसम्म बढी छ । विकासको शिखरमा रहेको अमेरिकाजस्तो महाशक्तिलाई पनि धौ–धौ पारिरहेको यो महामारीबाट बच्न हामी सचेत हुनैपर्छ । स्वास्थ्यसेवामा पछाडि नै रहेका नेपालजस्ता मुलुकका लागि यो महामारी झन् भयावह संकटका रूपमा फर्केर आएको छ ।

हामी नेपालीको आम स्वभाव अलिक मनमौजी किसिमको छ । सार्वजनिक रूपमा पालन गर्नुपर्ने नियम वा विधिमा लापरबाही गर्ने, नियम अवज्ञा गर्न पाएपछि विजयी मानसिकता बनाउने हाम्रो सनातनी मनोवृत्ति यो महामारीमा पनि प्रकट भइरहेको छ । मास्क लगाउने, जमघट तथा भीडभाड नगर्ने, स्यानिटाइजरको यथेष्ट उपयोग गर्ने, आपसमा दूरी कायम गर्नेजस्ता आधारभूत नियमहरू आफ्नै लागि हुन् भन्ने विषयलाई विश्वासभन्दा सरकारी उर्दी पालन गरेको अर्थमा लिने मनोवृत्ति हामीमा भएको विसंगतिकै उदाहरण हो । कोरोनाले सरकार वा राज्यव्यवस्था मात्र होइन, प्रत्येक नागरिक जिम्मेवार हुनुपर्ने शिक्षा दिइरहेको छ । जब हामी आफ्नै हितका जिम्मेवारी बिर्सन्छौं, तब जोखिम वा खतरा हामीतिरै फर्किन्छ । विगत एक वर्षमा आफूलाई कोरोना संक्रमण नभएकाले अब पनि हुँदैन भन्ने ढुक्कको मानसिकता हामीले त्याग्नैपर्छ ।

कोरोना महामारीविरुद्धका नियम पालन गर्नुको अर्थ कोरोनाबाट मात्र होइन, अन्य धेरै रोग वा महामारीबाट सुरक्षित रहने सुनिश्चितता हो । हामीले आफ्ना ससाना छोराछोरीलाई आजैदेखि यी नियमको पालनामा अभ्यस्त बनाएर स्वस्थ जीवनको अपेक्षा पूरा गर्न सक्छौं । फेस–मास्क ज्यादै भरोसायोग्य छ । सीडीसीका निर्देशक डा. रोबर्ट रेडफिल्डले अमेरिकी सिनेटको एउटा समितिलाई बताएको र पछि सीएनएन (टीभी) मा पनि उल्लेख गरेको भनाइ यहाँ उल्लेखनीय छ, ‘मास्कले कोरोना भाइरसबाट जोगाउने काम गर्छ भन्ने स्पष्ट वैज्ञानिक प्रमाण छ हामीसँग । यो हाम्रो सुरक्षाको सबैभन्दा भरपर्दो साधन हो । जहिले म कोभिडको खोप लगाउँला, त्योभन्दा मास्क कोभिडविरुद्ध मेरो सुरक्षा गर्नमा अझ भरपर्दो छ ।’

गन्ध वा स्वाद थाहा नपाउनु, ज्वरो, टाउको र घाँटी दुख्नु, सास फेर्न गाह्रो वा स्याँस्याँ हुनु, अक्सिजनको मात्रा कम हुँदै जानु आदि कोरोनाका सामान्य लक्षण हुन् । कतिपयलाई पाचन प्रणालीमै समस्या उत्पन्न हुन सक्छ; भोक नलाग्ने, पेट दुख्ने, वाकवाकी वा बान्ता हुने, पखाला लाग्ने हुन सक्छ । दिनहुँ झन्झन् भयावह रूप लिइरहेको महामारीबाट भरसक जोगिन हामीले घरेलु उपचार पनि अवलम्बन गर्न सक्छौं । एक कप उमालेको पानीमा एक ग्राम बेसार राखेर सेलाएपछि पिउँदा शरीरमा प्रतिरोध क्षमता बढ्छ भनी धेरैतिरबाट प्रमाणित भइसकेको छ । गुर्जो (गुडुची) का अतिरिक्त कागती, अदुवा, तुलसी पत्ता आदि घरेलु ओखती तरिका मिलाएर खाने गर्दा राम्रो फाइदा हुन्छ । जसरी हुन्छ शरीरमा रोग प्रतिरोधी शक्ति बढाउनुपर्‍यो । राति सुत्नुअघि पानीको बाफ लिनु पनि अत्यन्त प्रभावकारी हुन्छ ।

कोरोनाबाट बच्ने सबै उपाय त्यसैका लागि मात्र होइन, रुघा–खोकी, निमोनिया, शारीरिक कमजोरीजस्ता अनेकौं समस्याबाट पनि एकसाथ बच्ने र धेरै रोगको जोखिमलाई न्यून गर्ने राम्रो जुक्ति हो । नेपालमा चलाइएका भारतीय र चिनियाँ खोपको निर्भरता करिब ६० देखि ७० प्रतिशत भएको अनुमान छ । तर यिनको पूर्ण प्रभावकारिताबारे दुवै चरणको खोप लगाएपछि मात्र यकिन हुन्छ । एउटा व्यक्तिले पहिलो चरणमा एउटा देशको खोप लिएपछि दोस्रो चरणमा अर्को देशको खोप लियो भने त्यसको के प्रभाव हुन्छ भन्ने प्रश्न अहिलेसम्म अनुत्तरित नै छ । जे होस्, खोप लिएपछि मास्क, स्यानिटाइजर, दूरी पालना, भीडभाड र जमघट आदि कुनै नियम नमाने हुन्छ भन्ने भ्रम राख्नु हुँदैन । यस्ता वस्तु र गतिविधिलाई जीवनशैली बनाउनु सर्वोत्तम हुन्छ ।

कोरोना महामारीविरुद्धको सुरक्षाका लागि सरकारका अनिवार्य जिम्मेवारी अरू धेरै छन् । क्यान्सर, मुटुरोग, दम, मिर्गौला वा भित्री अंग प्रत्यारोपण गरेका वा ती अंगसँग सम्बन्धित बिमारी, मधुमेहका बिमारी, सुत्केरी, ७० वर्षभन्दा माथिका नागरिकहरूको उपचार, सेवा र हितलाई प्राथमिकतामा राखेर सरकारले विशेष रणनीति बनाउनुपर्छ । कोरोना महामारीको खतरा यी बिमारी र ज्येष्ठ नागरिकहरूमा तुलनात्मक रूपले बढी नै हुन्छ । सरकारले प्रत्येक मेडिकल कलेजलाई तीन–चार जिल्लाको कोभिड जिम्मेवारी तोकिदिनुपर्छ ।

पूरै लकडाउन समस्याको सही समाधान होइन । यसले श्रमजीवी वर्ग, खास गरी दैनिक ज्यालादारीमा आश्रित बहुसंख्यक समुदायलाई मरणासन्न स्थितिमा पुर्‍याइदिएको विगतको अनुभव हामीसँग छ । त्यसैले पूरा लकडाउन गर्नु भनेको जसरी मरे पनि मर्नु, तर कोरोनाबाट चाहिँ नमर्नु भन्ने आशय हुन्छ । सरकारले महामारीका सबै विधिलाई कडाइका साथ पालन गराउन सक्छ, तर तङ्ग्रिन थालेको अर्थतन्त्रलाई लकडाउन गरेर फेरि थला पार्नु हुँदैन ।

(विष्ट स्वास्थ्यसेवा विभागका पूर्वमहानिर्देशक हुन् ।)

प्रकाशित : वैशाख १५, २०७८ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?