२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

अक्सिजन लगायतका पूर्वाधारको प्रबन्ध गर

सम्पादकीय

काठमाडौँ — पछिल्ला दिनहरूमा मुलुकमा कोभिड–१९ संक्रमण दर मात्र होइन, सिकिस्त बिरामी हुने अनुपात र ज्यान गुमाउनेको संख्या पनि उत्तिकै बढिरहेको छ । अस्पतालहरूमा जुन रूपमा पूर्वाधार अभाव देखिन थालेको छ, यसले झनै कहालीलाग्दो भविष्यको संकेत गरेको छ ।

अक्सिजन लगायतका पूर्वाधारको प्रबन्ध गर

सरकारले अस्पतालका पूर्वाधारहरू यथाशीघ्र थपेर व्यवस्थापन गर्न सक्यो भने मात्रै सम्भावित संकट टर्न सक्ने अवस्था छ । अस्पताल सुविधाको सामान्य टेको मात्रै पाउँदा पनि धेरैको जीवन जोगिने भएकाले सरकारले यो पक्षमा गम्भीरता प्रदर्शन गर्नैपर्छ । यसका निम्ति, अस्पतालहरूमा आवश्यक शय्या थप्ने र जनशक्ति व्यवस्थापन गर्ने पक्ष त छँदै छ, सघन उपचारकक्ष, भेन्टिलेटर, अक्सिजन लगायतका प्रबन्ध पनि बढाउनुपर्छ । यस मामिलामा सबभन्दा बढी खाँचो अक्सिजनको पर्न सक्ने भएकाले मुलुकलाई आवश्यक अक्सिजन र त्यसका सिलिन्डरहरूको जोहो तुरुन्त मिलाउनुपर्छ ।

अहिले छिमेकी भारतमा जुन खालका अत्यासलाग्दा तथा हृदयविदारक दृश्यहरू देखिएका छन्, उचित तयारी गरिएन भने हामीले पनि त्यस्तै दुर्दशा भोग्नु नपर्ला भन्न सकिँदैन । किनभने, पछिल्लो साता नेपालमा कोभिड–१९ संक्रमण वृद्धिदर दक्षिण एसियामै उच्च देखिएको छ । भयावह स्थिति भएको भारतमै पनि यस अवधिमा संक्रमितको संख्या ६० प्रतिशतले वृद्धि हुँदा नेपालमा झन्डै अढाई सय प्रतिशतले बढेको छ ।

पछिल्लो साता मात्रै १५ हजारभन्दा बढी संक्रमित भएकामा कम्तीमा ८१ जनाले ज्यान गुमाएका छन् । आइतबार एकै दिन २८ जनाको निधन भएको छ । यो त परीक्षणका कारण थाहा भएको तथ्यांक भयो, भित्रभित्रै कोभिड कुन रूपमा फैलिरहेको छ भन्ने पाटो अज्ञातै छ । फेरि, नयाँ स्वरूपको भाइरसका कारण संक्रमितहरूमा पहिलेभन्दा बढी जटिलता देखिएको छ । यसपटक युवा र बालबालिकासमेत ठूलो संख्यामा संक्रमित भइरहेका छन् । त्यसकारण पनि नागरिक होसियार बन्न र सरकार तम्तयार रहन आवश्यक छ ।

संक्रमणको साङ्लो तोड्न संघीय राजधानीसहित विभिन्न ठाउँमा विभिन्न मितिबाट निषेधाज्ञाको घोषणा गरिएको छ । संक्रमण भुसको आगोसरि नफैलियोस् र यसको सिक्री कतै टुटोस् भनेर सरकारले यसो गर्नु अनिवार्यजस्तै भइसकेको पनि थियो । अब नागरिकले पनि आफ्ना तर्फबाट पर्याप्त सतर्कता अपनाउन भुल्नु हुन्न । हिजोका दिनमा राजनीतिक दलका नेता–कार्यकर्तासहित सर्वसाधारणले समेत चरम लापरबाही नगरेका भए अहिले यो अवस्था आउने नै थिएन । त्यसैले अबका दिनमा नागरिक र सरकार आ–आफ्नो ठाउँमा जिम्मेवार भएमा मात्रै जोखिमको पारो ओर्लिन सक्छ । तथापि सरकार निषेधाज्ञा मात्रै लगाएर त्यसै ढुक्क भएर बस्न भने मिल्दैन । सम्भावित जोखिमअनुसारका तयारीहरू गर्नैपर्छ ।

कति बिरामीलाई सघन उपचारकक्ष नचाहिए पनि अक्सिजन भने आवश्यक पर्न सक्छ । अक्सिजन नभए ज्यानै जाने स्थिति हुन सक्छ । त्यस्ता बिरामीको हकमा शय्याको बरु विविध तरिकाले जेनतेन व्यवस्थापन हुन सक्ला, अक्सिजनको भने सितिमिति प्रबन्ध नहुन सक्छ । अक्सिजन चाहिने तथा अरू अवस्था सामान्य भएका लगायत बिरामीका लागि सरकारले सुविधाजनक होटलहरूलाई पनि ‘आइसोलेसन सेन्टर’ तथा अस्थायी उपचार केन्द्र बनाएर प्रयोग गर्न सक्छ ।

त्यसैले, अक्सिजन लगायतका पूर्वाधारको व्यवस्थापनमा सरकार आजैदेखि जुट्नुपर्छ । यसका निम्ति मुलुकभित्र भएको अक्सिजनको उचित वितरण व्यवस्था मिलाएर आवश्यकताअनुरूप सिलिन्डरको जोहो गर्नुपर्छ । नेपालमा अक्सिजन भर्नका लागि सिलिन्डर अभाव हुने आकलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिल्यै गरिसकेको छ । उसले यससम्बन्धी सहयोगका निम्ति अर्थ र परराष्ट्र मन्त्रालयसित पनि आग्रह गरिसकेको छ । तसर्थ, सरोकारवाला मन्त्रालयसहित मुलुककै नेतृत्वले पनि यसबारे उचित अग्रसरता लिनुपर्छ ।

स्वास्थ्य मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह पनि गरेको छ । स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर उद्योगहरूले यो अनुरोधको पालना गर्नुपर्छ । मन्त्रालयको आग्रहबमोजिम अक्सिजनसहित अक्सिजन सिलिन्डरको कालोबजारी र विदेश पैठारी पनि हुनु हुँदैन । यसबाहेक, सरकारले मुलुकभित्रका अक्सिजन उद्योगहरूलाई पूर्ण क्षमतामा उत्पादन गर्न लगाउनुपर्छ । र, वितरण व्यवस्थापनमा पनि ध्यान दिइनुपर्छ, यसका निम्ति अस्पताल तथा स्वास्थ्य संस्थाहरूबीच उचित समन्वय हुनुपर्छ । कतै अक्सिजन सिलिन्डर थुप्रिने तर कतै अभाव भएर बिरामी छटपटाउने अवस्था आउनु हुँदैन ।

अक्सिजन, सिलिन्डरजस्ता पूर्वाधारका लागि खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीकै स्तरबाट अग्रसरता लिन किन आवश्यक छ भने यसका निम्ति मित्रराष्ट्रहरू लगायतसितै सहायता माग्नुपर्ने खाँचो देखिइसकेको छ । अहिले सरकारले भारतसित अक्सिजनलगायत सामग्री माग गरिसकेको बताइएको छ । एकातिर भारत आफैंले अक्सिजनको चरम अभाव खेप्नुपरेका कारण अरू देशबाट सहयोग लिइरहेको छ भने, अर्कातिर यसको निर्यातमा पनि प्रतिबन्ध लगाएको छ ।

यस्तो अवस्थाका बावजुद नेपाललाई तुलनात्मक हिसाबले कम मात्रै अक्सिजन चाहिने भएकाले भारतले दिन पनि सक्ला, तैपनि उसको मात्रै भर परेर बस्नु हुँदैन । नेपालले छिमेकी चीनलगायत अरू मित्रराष्ट्रसित पनि यसका निम्ति पहल गर्नुपर्छ । मुलुकको नेतृत्वले नै अग्रसरता लिएमा यो काम असम्भव पनि देखिँदैन । यस्तो संकटको घडीमा यति पहल प्रधानमन्त्रीले लिनैपर्छ । र, जसरी हुन्छ, अस्पताल सुविधाकै अभावमा संक्रमितहरूको ज्यान जाने अवस्था आउन दिनु हुँदैन ।

प्रकाशित : वैशाख १४, २०७८ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?