जनता आवास  बस्नु न छोड्नु- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनता आवास  बस्नु न छोड्नु

हिमाल, पहाड र तराईमा घरको डिजाइन एकैनासे होइन, फरक बनाउनुपर्छ ।
अमृता अनमोल

रूपन्देहीको सैनामैना नगरपालिका, रानीकुवाकी पवित्रा परियारलाई गत वर्ष सरकारले निःशुल्क घर बनाइदिने भयो । अरूको गोठ बारेर बसेको उनको परिवारमा खुसीको सीमै रहेन । तर, जब घर बन्न थाल्यो तब पवित्रालाई निल्नु न ओकल्नु भयो ।

सरकारले दिएको ३ लाख ३६ हजार रुपैयाँमा घर सकिएन । तोकिएको मापदण्डमा काम नसके रकम नपाउने भएपछि उनले छिमेकीसँग डेढ लाख रुपैयाँ सापटी लिनुपर्‍यो । अहिले उनी ऋण तिर्ने कि परिवार पाल्ने भन्ने बिलखबन्दमा छिन् । उनका दुई छोरीले समेत पढाइ छोडेर मजदुरी थालेका छन् ।

वार्षिक २० हजार घर बनाउने लक्ष्यसहित सरकारले आर्थिक वर्ष २०६६/६७ देखि जनता आवास कार्यक्रम सुरु गर्‍यो । लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न मुस्लिम समुदायका आवासविहीन परिवारका लागि घर बनाइदिने लक्ष्यका साथ कार्यक्रम थालियो । तर, कार्यक्रमअनुसार बजेट, लाभग्राही छनोटको तरिका र लक्षित वर्गको आवश्यकता मेल खाएन । लक्षित समुदाय छनोटदेखि घर निर्माणसम्ममा समस्या देखा परे । यही कारण आवास निर्माण र त्यसको प्रतिफल सन्तोषजनक हुन सकेको छैन । वार्षिक २० हजारको साटो १० वर्ष पुग्दा जम्मा २० हजार घर मात्र बनेका छन् ।

निर्माण सुरु भएका ५ हजारभन्दा बढी घर भताभुंग अवस्थामा रहेको राष्ट्रिय योजना आयोगको तथ्यांक छ । संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभागले सञ्चालन गर्दै आएको यो कार्यक्रम आर्थिक वर्ष २०७५/७६ देखि प्रदेश सरकारहरूलाई हस्तान्तरण गरिएको छ । त्यसयता लुम्बिनी प्रदेशमा मात्रै ७ हजार ४ सय १६ घर स्वीकृत भएका छन् । अझै ३ हजार ९ सय ८८ घर निर्माण हुन बाँकी छन् । अन्य प्रदेशको हालत पनि यस्तै छ । एकातिर लक्षित समुदायका लागि अपेक्षित घर बन्न सकेका छैनन् अर्कातिर बनेका घरले पनि अपनत्व महसुस गराउन सकेनन्, यो नै जनता आवास कार्यक्रमको सबैभन्दा ठूलो चुनौती हो ।

यो कार्यक्रमले जसको आफ्नो नाममा जग्गा छ, उसलाई मात्र घर बनाइदिन्छ अर्थात् जग्गा नहुनेले घर पाउँदैनन् । तर यसका लक्षित लाभग्राही दलित, मुस्लिमलगायत अन्य विपन्न समुदायका अधिकांश परिवार जग्गाविहीन छन् । वास्तविक विपन्न सार्वजनिक जग्गा, नदी, उकास क्षेत्रलगायतमा बसेका छन् र आवास सुविधा लिनबाट वञ्चित छन् । घर बनाउन सरकारले ३ लाख ५० हजार रुपैयाँसम्म दिन्छ, जसका लागि कम्तीमा १० प्रतिशत लागत साझेदारी गर्नुपर्छ । असाध्यै गरिबले यसो गर्न सक्दैनन् । त्यसैका कारण कतिपयले घर बनाउन पाएका छैनन् ।

जनता आवासका लागि हिमालदेखि पहाड हुँदै तराईसम्म दुई कोठासहितका उस्तै घरको डिजाइन गरिएको छ । शौचालय आफैंले बनाउनुपर्छ । तोकिएको रकमबाट शौचालयसहितको घर बनाउन पुग्दैन । यही कारण धेरैले बनाउँदा बनाउँदै घर अधुरै छोडेका छन् । पक्की घर निर्माण हुने आशामा भएको पुरानो घर भत्काएका कतिपयको बिचल्ली भएको छ । यस्तो समस्या प्रदेश २ मा धेरै छ । सहरी विकास तथा भवन कार्यालय वीरगन्जले गरेको अध्ययनअनुसार तीन वर्षअघि बनाउन सुरु भएका त्यहाँका ५ सयभन्दा धेरै घर अहिलेसम्म भताभुंग छन् । केहीमा छाना छ, शौचालय छैन । केहीमा गारो छैन । केहीमा झ्यालढोकाका चौकस छन्, खापा छैनन् । सरकारी रकमले नपुग्ने र आफ्नो रकम लगाउन नसक्नेहरूका घरको हविगत यस्तै छ ।

संख्यात्मक रूपमा दलित, अल्पसंख्यक र सीमान्तकृत धेरै व्यक्ति गरिब छन् । तर, गैरदलित पनि सबै धनी छैनन् । जनता आवासले यस समुदायका विपन्नलाई समेटेको छैन । त्यस्तै, एउटै टोलमा तुलनात्मक रूपमा बढी विपन्नभन्दा कम विपन्न दलितले आवास सुविधा पाएका छन् । यसरी हेर्दा यो कार्यक्रम न्यायपूर्ण छैन । यस कार्यक्रममा लक्षित व्यक्ति छनोटदेखि निर्माण, अनुगमनसम्ममा स्थानीय तहको भूमिका खोजिएको छैन ।

संघले बजेट छुट्याएर प्रदेश सरकारलाई पठाउँछ र प्रदेशसभा सदस्यमार्फत घर बनाइदिने विपन्न वर्गको छनोट गरिन्छ । बिनाअनुगमन तिनै व्यक्तिलाई घर निर्माण गर्न रकम दिन्छन् । संघको बजेटमा कर्मचारी, व्यवस्थापन र अनुगमन खर्च हुँदैन । त्यसैले घर बनाउँदा प्रदेश सरकारले प्रभावकारी अनुगमन गर्ने, कमजोरी सुधार्ने, अपुग रकम थप्ने र अपनत्व लिने गरेका छैनन् । यसो नगर्दा राजनीतिक हस्तक्षेप हुने र अति विपन्नको साटो बोलवालाले घर पाउने गरेका गुनासा पनि धेरै सुनिन्छन् । संघ, प्रदेश हुँदै माथिमाथि कार्यक्रम घुम्दा लक्षित व्यक्ति छुट्ने अनि बनेका घर पनि उनीहरूको आवश्यकताबमोजिम हुँदैन ।

जनता आवासको प्रभावकारितामाथि प्रश्न उठेपछि राष्ट्रिय योजना आयोगले प्रदेशस्तरमा छलफल गरी आन्तरिक मूल्यांकन सुरु गरेको छ । आयोगले सुझाव मान्ने हो भने, यसको जिम्मा संघ, प्रदेशको साटो स्थानीय तहलाई दिनुपर्छ । लाभग्राही छनोटको मापदण्ड फेर्नुपर्छ । १० प्रतिशत लागत थप्न नसक्नेका लागि पनि घर बनाइदिनुपर्छ । विपन्न गैरदलितलाई पनि आवास सुविधा दिनुपर्छ । घर निर्माणका लागि छुट्याइएको रकम अपुग छ, त्यसमा थप्नुपर्छ । हिमाल, पहाड र तराईमा एकैनासे होइन, भूगोलअनुसार घरको डिजाइन बनाउनुपर्छ । वास्तविक विपन्नलाई आवास सुविधा दिने हो भने जुन–जुन जग्गा उनीहरूले भोगचलन गरेका छन्, त्यसैलाई स्थानीय तहमार्फत भोगाधिकार दिएर आवास बनाइदिनुपर्छ । यसो गर्न सके मौलिक हकभित्रको आवास सुविधा सबै नागरिकले पाउनेछन् । नत्र विपन्नका नामको कार्यक्रम उनीहरूलाई नै ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ हुनेछ ।

प्रकाशित : वैशाख १०, २०७८ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्

‘स्टिङ अपरेसन’ को खारेजी र अबको अख्तियार

सम्पादकीय

केही वर्षयता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने मुख्य काम भनेकै ‘स्टिङ अपरेसन’ जस्तो भएको थियो, त्यो पनि खासगरी न्यून तहका कर्मचारीहरूमाथि । संवैधानिक अंग भएर पनि अख्तियार सामान्य कर्मचारीहरूलाई एक हजार रुपैयाँसम्म घूस खुवाएर रंगेहात पक्राउ गर्नमै तल्लीन रह्यो ।

घूससहित रंगेहात पक्राउ गरेर दायर गरिने मुद्दाहरू सात वर्षयता झन्डै १० गुणाले बढेका थिए । यसरी संवैधानिक निकाय आफैंले घूस खुवाउँदै हिँड्नु न शोभनीय कुरा थियो, न त संवैधानिक तथा कानुनी रूपमा सही नै । आलोचना हुँदाहुँदै पनि अख्तियार आफ्नो नियमावलीकै भरमा यही बाटामा हिँडिरह्यो । एउटा, सस्तो लोकप्रियताका लागि र अर्को, ठूला भ्रष्टाचारमा प्रगति गर्न नसकेको/नचाहेको तथ्यबाट ध्यान मोड्नका लागि । बल्ल, सर्वोच्च अदालतले बुधबार ‘स्टिङ अपरेसनको प्रावधान संविधान र ऐनसँग बाझिएको’ फैसला सुनाएर अख्तियारको यो ‘अति’ लाई रोकिदिएको छ ।

अति किनभने, एकाध हजार घूससहित अख्तियारको फन्दामा परेका केहीले त यसबीचमा आत्महत्या नै गरेका छन् । खासमा, अख्तियार आफैंले रकम उपलब्ध गराएर ‘स्टिङ अपरेसन’ गर्ने यो काम फौजदारी न्याय प्रणालीको मान्य सिद्धान्तको प्रतिकूल थियो । यस्तो अपरेसनले निमुखा र तल्लो तहका भ्रष्टाचारीमाथि मात्रै आक्रमण गर्थ्यो, जुन एक हिसाबले मत्स्यन्याय थियो । ठूला भ्रष्टाचार र अनियमिततामा संलग्नलाई हम्मेसी नछुने तर हजारदेखि ५० हजार रुपैयाँसम्म घूस खानेलाई पक्राउ गरेर मुद्दा चलाउने कार्य कसैगरी न्यायसंगत थिएन । अख्तियार प्रमुखमा विवादास्पद पात्र लोकमानसिंह कार्कीको आगमनपछि तीव्र पारिएको एउटा हतियार थियो यो । ठूला भ्रष्टाचारका मुद्दामा कारबाही नगरे पनि आफूले भयंकरै काम गरेको देखाउन अख्तियारले यही औजार प्रयोग गरिरहेको थियो । फेरि यो विधिमा मिहिनेत पनि नपर्ने, प्रमाण पनि सजिलै जुट्ने । अनि, सहजै ठहरसमेत हुने भएकाले अख्तियारले विशेष अदालतबाट हुने फैसलाका आधारमा सफलताको प्रतिशत दर पनि देखाउन पाइरह्यो ।

आफैंले धराप थापेर पासोमा पार्ने अख्तियार–शैली रोकिनु अपरिहार्य थियो । किनभने, यस्तो अपरेसनमा शक्तिको दुरुपयोग पनि हुने खतरा उत्तिकै हुन्छ । फसाउने मनसाय पनि यसमा अन्तर्निहित हुन सक्छ, केही दृष्टान्तले त्यसको संकेत पनि गरेका छन् । फेरि, यस्तो कारबाहीमा संवैधानिक संस्थाले नै घूस खान उत्प्रेरित गर्छ, जुन कानुनी रूपमै गलत हो । भ्रष्टाचार निवारण ऐनको दफा ३ मा घूस लिने र दिने दुवैलाई सजाय हुने भनी सजायको मात्रा तोकिएको छ । अर्कातिर, माथि उल्लेख गरिएझैं स्टिङ अपरेसनले समेट्न सक्ने भनेकै मूलतः सेवा प्रदान गर्ने र तल्लो तहका निकाय र कर्मचारी मात्र हुन् । नीतिगत र ठूला भ्रष्टाचारमा त यति सहजै प्रमाण जुट्दैन, प्रत्यक्ष नगदमै लेनदेन पनि हुँदैन । यस्ता विषयमा दबाब र प्रभाव पनि ज्यादा हुन्छ । त्यसैले, अख्तियार स्टिङ अपरेसनमा मात्र भुल्दा संवैधानिक संस्थाको साख नै गिरेको थियो ।

सर्वोच्च अदालतले संविधान र ऐनसँग बाझिएको भन्दै सार्वजनिक पदमा रहेका व्यक्तिलाई रंगेहात पक्राउ गर्न पाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावलीको नियम ३० को प्रावधान खारेज गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले संविधान, भ्रष्टाचार निवारण ऐन र फौजदारी न्यायको सिद्धान्तसँग बाझिएको भन्ने आधारमा अख्तियारको नियमावलीमा रहेको उक्त नियम खारेज गरेको हो ।

सर्वोच्चको आदेशमा ‘नियमावलीको उक्त व्यवस्था संविधानको धारा २० को उपधारा ९ मा रहेको स्वच्छ सुनुवाइसम्बन्धी प्रावधान, भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ३ मा रहेको प्रावधानको भावना र मर्मअनुकूल देखिएन’ भनिएको छ । यस्तो अपरेसन फौजदारी न्यायका मान्य सिद्धान्त, कानुनको उचित प्रक्रिया तथा प्रमाण संकलनसम्बन्धी न्यायिक मान्यताका दृष्टिले समेत मनासिब र तार्किक नदेखिएको सर्वोच्चको ठहर छ । घूस माग्नेलाई रकम उपलब्ध गराउने अख्तियारको नियमावलीको प्रावधानले अनुसन्धान प्रक्रियामा नै स्वेच्छाचारिता बढेको पनि सर्वोच्चले औंल्याएको छ ।

सर्वोच्चको फैसलासँगै अख्तियारको एउटा औजार खारेज भएको छ । अब सर्वोच्च अदालत र विशेष अदालतमा विचाराधीन रंगेहात घूससम्बन्धी मुद्दाको प्रमाण ‘ग्रहणयोग्य नहुने’ भएका छन् । त्यसो त, रंगेहात घूसको मुद्दामा जोडिएका र अदालतमा विचाराधीन भएका आरोपितले यो फैसलाबाट स्वतः सफाइ पाउने होइनन् । उनीहरूको मुद्दामा अख्तियार आफैंले जुटाएर पेस गरेको प्रमाण मात्रै ‘ग्रहणयोग्य नहुने’ भएको हो । सम्बन्धित अदालतमा रहेका मुद्दाको टुंगो नियमित प्रक्रियाबाटै हुनेछ । यो फैसलाको अर्थ, अब कुनै पनि घूस मुद्दामा अख्तियारले अनुसन्धान गर्न नसक्ने भन्ने पनि होइन । खालि प्रक्रियालाई कानुन र उचित प्रक्रियासम्मत बनाउनुपर्ने दायराभित्र अख्तियार बाँधिनैपर्ने भएको हो ।

अनेक नकारात्मक पक्ष हुँदाहुँदै पनि सेवा प्रदान गर्ने निकायमा हुने खुलमखुला घूसखोरीलाई रंगेहातले केही हदसम्म नियन्त्रण गरेको थियो । अब अख्तियारले आफ्नो निगरानीको संयन्त्रलाई चुस्त र प्रभावकारी बनाएर त्यस्ता घूसखोरीको चियोचर्चो गरी संलग्नहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ । सेवाग्राहीको सक्रियतामा हुने घूसखोरी र लेनदेनको सूचनाबाट रंगेहातका कारबाहीलाई सर्वोच्चले बन्देज लगाएको छैन । वास्तवमा, सर्वोच्चको यो फैसला अख्तियारलाई सुध्रिने अवसर पनि हो । अख्तियारले के बुझ्नुपर्छ भने, यो फैसलाले उसको संवैधानिक अधिकार क्षेत्रलाई संकुचित गरेको होइन, उसलाई न्यायको सर्वमान्य सिद्धान्तको बोध गराएको मात्र हो ।

तसर्थ, अख्तियारले आफूलाई प्राप्त संवैधानिक अधिकारबमोजिम नै सक्रिय बनाउनु आजको आवश्यकता हो । ‘साना माछा’ लाई त्रासमा राखेर ‘ठूला माछा’ सँग चाहिँ त्रसित हुने यो निकायले आफ्नो संवैधानिक औचित्य पुष्टि गर्न पनि कार्यशैलीमा सुधार ल्याउनैपर्छ । संवैधानिक जिम्मेवारी पालना गर्न ठूला र नीतिगत तहका भ्रष्टाचारमाथि प्रहार गर्नुपर्छ । त्यसो हुनासाथ, सानो र तल्लो तहमा हुने घूसखोरी र भ्रष्टाचार स्वतः नियन्त्रणमा आउन थालिहाल्छन् ।

प्रकाशित : वैशाख १०, २०७८ ०७:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×