१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

आन्तरिक लोकतन्त्रको खोजी

चुनाव मात्रले लोकतन्त्रको प्राणप्रतिष्ठा गर्न सकिँदैन । राजनीतिक पार्टीहरूमा विमर्श र आन्तरिक लोकतन्त्र अथवा विधिअनुसार चल्ने प्रतिबद्धता भएन भने पनि लोकतन्त्र सही बाटामा हिँड्न सक्दैन ।
वृषेशचन्द्र लाल

बहुदलीय लोकतन्त्रको सही अभ्यास र वाञ्छित विकासक्रमका निमित्त दुई अनिवार्य पृष्ठपोषण अविच्छेद्य र अपरिहार्य हुन्छन् । ती हुन्— स्वविवेकको सर्वोच्चता र पार्टीमा आन्तरिक लोकतन्त्रको व्यावहारिक उपयोग । लोकतन्त्रको पहिलो र नभई नहुने तत्त्व प्रतिनिधित्व हो जसको मर्म र अन्तर्भाग नै प्रतिनिधिको विवेक हुन्छ । हरेक प्रतिनिधिले आफ्नो क्षेत्र वा समूहको विवेकपूर्ण प्रतिनिधित्वको जिम्मेवारी लिएका हुन्छन् । विवेक कुनै विचारधारा वा व्यक्तिको विचारभन्दा माथिको कुरा हो । यो स्वतन्त्रतासम्बन्धी अधिकारको मूल स्रोत हो र त्यसैले लोकतान्त्रिक अधिकारको कुरा गर्दा यो नै सबभन्दा प्रमुख अधिकार हो ।

आन्तरिक लोकतन्त्रको खोजी

सन् १९८५ मा क्यानाडाको सर्वोच्च अदालतका प्रधानन्यायाधीश डिक्सनले भनेका थिए, ‘सुसूचित भएर स्वतन्त्रतापूर्वक निर्णय लिने क्षमता/स्थिति नै निर्णयको वैधता तथा स्वीकार्यताको पहिलो सर्त हो ।’ प्रतिनिधि, उनीहरूको समूहको वा बहुदलीय लोकतन्त्रका सन्दर्भमा कुनै राजनीतिक पार्टीको सदैव एउटै दृष्टि, सोच वा निर्णय हुन सक्दैन । पार्टी एउटै निर्णयमा हिँड्न सक्ने अवस्था हरबखत नहुन पनि सक्छ । त्यस्तो अवस्थामा एउटै निर्णयमा हिँड्नुपर्ने अनुशासनको डोरी लोकतान्त्रिक अभ्यासको सबभन्दा महत्त्वपूर्ण तत्त्व स्वविवेकको हत्या र विवेकशून्यताको संरक्षणको कारक बन्न सक्छ ।

त्यस्तै, बहुदलीय लोकतन्त्रका आधारस्तम्भ राजनीतिक पार्टीहरू हुन् भने पार्टीहरूमा आन्तरिक लोकतान्त्रिक अभ्यासको सुनिश्चितता लोकतन्त्रको मुटु हो । पार्टीहरूको आन्तरिक लोकतन्त्र लोकतान्त्रिक प्रणालीलाई सही दिशामा डोर्‍याउने एक मात्र बाटो हो । यसले पार्टीको परिधिमा छलफलका माध्यमबाट पार्टीलाई नीति निर्धारण तथा निष्कर्षको सम्भव उपयुक्त विन्दुमा पुग्ने स्थिति सिर्जना गर्छ ।

स्वविवेक प्रयोगको स्वतन्त्रता र राजनीतिक पार्टीहरूमा आन्तरिक लोकतन्त्रको अभ्यास एउटै जस्तो लागे पनि वास्तवमा त्यस्तो हुन्न । आन्तरिक लोकतन्त्र निर्णयको प्रक्रियाले लोकतान्त्रिक परिपाटीको बाटो सुनिश्चित गर्छ । तर स्वविवेकको प्रयोगले, आफू अल्पमतमा रहे पनि कुनै विषय या मुद्दाका सन्दर्भमा आफ्नो विवेकले निर्णयलाई स्विकार्न दिँदैन भने त्यसबाट अलग्गिने वा त्यसको विरोधमा खडा हुने स्वतन्त्रताको बोध गराउँछ । आन्तरिक लोकतन्त्र भने आफ्नो विचार खुलासँग राख्न सकिने र त्यसो गरेका कारण कसैको पूर्वाग्रहको सिकार नहुने सुनिश्चितता प्रदान गर्ने स्थिति हो । तर, आन्तरिक लोकतान्त्रिक अभ्यासमा स्वविवेकको सवाललाई थाती राखेर बहुमतको निर्णय स्वीकार गर्नुपर्ने हुन्छ ।

कतिपय राजनीतिशास्त्रीहरू पार्टीका लागि अत्यधिक आन्तरिक लोकतन्त्रको अभ्यासलाई हानिकारक पनि मान्छन् । उनीहरूका अनुसार, स्वविवेकसम्बन्धी अधिकार प्रयोगको छुट तथा अत्यधिक आन्तरिक लोकतन्त्रको अभ्यास पार्टीले निर्वाचनका दौरान जनतासमक्ष गरेका वाचाको परिपूर्तिमा बाधा खडा गर्न सक्ने अथवा आफ्नै नेतृत्वको तागत कम गर्दै जाने प्रमुख कारक पनि बन्न सक्छन् ।

तथापि, यसै बहानामा स्वविवेकको सर्वोच्चता र आन्तरिक लोकतन्त्रको अभ्यासलाई समाप्त गर्न सकिन्न । यसको अभावमा चुनावी वाचाको परिपूर्ति वा स्वार्थको तत्कालीन अथवा अल्पकालीन लक्ष्यका कारण देशको दीर्घकालीन हित ओझेलमा पर्न सक्ने र पार्टीको नेतृत्वमा तानाशाही प्रवृत्ति विकसित हुन सक्ने खतरा पनि हुन सक्छ । सबभन्दा महत्त्वपूर्ण कुरो त के भने, स्वविवेक र पार्टीमा आन्तरिक लोकतन्त्रको अभावले लोकतन्त्र र लोकतान्त्रिक अभ्यासको मर्म र मान्यतालाई अर्थहीन बनाउँदै अन्धकारमा धकेल्न सक्छ । आन्तरिक लोकतन्त्रको उच्चतम विन्दुमा प्रयोगले एकातिर स्वविवेकको धारा प्रवाहित रहिरहने स्थिति कायम राख्छ भने, अर्कातिर विचार–विमर्श र बहसको उपयोगले पार्टीगत निर्णय प्रक्रियालाई उत्कृष्ट बनाउँछ । निर्णय प्रक्रियामा सहभागिता र भूमिकाले गर्दा प्रतिनिधित्वको प्रभावकारितामा वृद्धि भई नागरिकको आकांक्षा, साधन र तिनको क्षमताको परिपोषणसमेत हुन्छ ।

कतिपय राजनीतिशास्त्रीहरू आन्तरिक लोकतन्त्रको अभ्यासलाई अवसरवादिताको प्रोत्साहनसँग जोडेर पनि हेर्ने र तिनको सहसम्बन्धलाई तौलिने गर्छन् । आन्तरिक लोकतन्त्रको अभ्यासका नाममा अवसरवाद विकसित हुनु भनेको विकृति नै हो, जसले राजनीतिक मात्र होइन, अन्य संगठन र नेतृत्व पनि कमजोर पार्छ । तर, आन्तरिक लोकतन्त्रको अभाव हुनु भनेको संगठनभित्र एकाधिकारवाद उभ्याउनु र सम्पूर्ण संगठनको प्रयोग निजी प्रयोजन तथा स्वार्थका निमित्त गर्नु हुन्छ; नेतृत्वलाई व्यक्तिगत अवसरवादिताको खुला छुट दिनु हुन्छ । त्यसैले लोकतन्त्रको सुदृढीकरणका निमित्त यसको प्रमुख आधार राजनीतिक पार्टीहरूको आन्तरिक कार्यपद्धतिलाई अधिकतम लोकतान्त्रिक प्रक्रियाको पालनाको परिपाटीमा ढाल्दै व्यवस्थित रूपमा अगाडि बढाउनुपर्छ ।

यसरी राजनीतिक पार्टीहरूमा हुनुपर्ने आन्तरिक लोकतन्त्रको अभ्यास वास्तवमा लोकतन्त्रको प्रमुख आधारस्तम्भ नै हो । यसको प्रयोगका निमित्त अनुकूल, मैत्रीपूर्ण, स्वच्छ तथा नियन्त्रित वातावरणभन्दा व्यवस्थित परिस्थितिको निर्माण अपरिहार्य हुन्छ । यही कारण लोकतान्त्रिक अभ्यासमा अगाडि रहेका मुलुकहरूले राजनीतिक संगठनहरूमा आन्तरिक लोकतन्त्रको स्वीकार्यतालाई सांगठनिक कार्यविधिको नभई नहुने अंगका रूपमा विकसित गरेका छन् एवं मुद्दाको पहिचान र नीतिनिर्माणको मामिलामा भित्री खुला बहसलाई अनिवार्य बनाएका छन् । यस अभ्यासको अनिवार्यताको सन्दर्भले कति गहिरो जरो गाडेको छ भने, खुला छलफल रोक्ने कुनै पनि प्रयासले नेतृत्वको नैतिकतामाथि प्रश्न तेस्र्याउने स्थिति पैदा गर्छ, जसले नेतृत्वलाई नै खस्काउन सक्छ । यस्ता मुलुकहरूमा आन्तरिक लोकतन्त्रका नाममा अनुचित लाभ लिने वा स्वार्थवश अवसरको प्रयोग गर्नेहरूको समूह बनी उत्पन्न हुन सक्ने विकृतिलाई नियन्त्रित गर्न आवश्यक विधिको घेरा पनि खडा गरिएको छ ।

विधि–व्यवस्थित यस्ता घेराहरू फेरि कुनै पनि हालतमा आन्तरिक लोकतन्त्रको अभ्यासविपरीत नहोऊन् भन्ने ध्यान राखेर बनाइएका छन् तथा मूलत: आन्तरिक लोकतन्त्रलाई फराकिलो पार्न एवं स्वविवेकसम्बन्धी अधिकारको सम्मान गर्न केन्द्रित छन् । परिणामत: नेतृत्वप्रति पार्टीपंक्तिको समर्थन तिनको नीति, कार्यशैली एवं मुद्दामा केन्द्रित गतिविधिहरूका आधारमा बढ्ने वा घट्ने गर्छ, न कि आफ्ना सहयोगी र सदस्यहरूलाई व्यक्तिगत नियन्त्रणमा राखिराखेर । नीति, कार्यशैली वा जनआकांक्षाअनुसार मुद्दाको पहिचानमा पछाडि परेका नेतृत्वहरू तत्कालै फेरिन्छन्; एउटै नेता चिरकालसम्म जमिरहँदैन । माग र आवश्यकताअनुसार नेतृत्व परिवर्तनको निरन्तरताले गर्दा संगठन सदैव गुणात्मकतातिर गतिमान भइरहन्छ । लामो समयसम्म नेतृत्व टिक्न मुद्दा र नीति जनताको मागअनुसारको हुनु आवश्यक हुन्छ ।

नेपालमा लोकतान्त्रिक अभ्यासको बाटामा सबभन्दा मुख्य तगारो राजनीतिक पार्टीहरूमा स्वविवेकको सम्मान र आन्तरिक लोकतन्त्रको अभ्यास नहुनु हो । यो समस्याको दशा र परिमाण सबै राजनीतिक पार्टीहरूमा समान जस्तो देखिन्छ । पार्टीका नीति, कार्यक्रम र राजनीतिक परिदृश्यका विषयहरूमा आपसी विमर्शको संस्कारको अभाव स्पष्टै देखिन्छ । नेपालका सबै मुख्य राजनीतिक पार्टीहरूले संघर्ष र आन्दोलनबाट स्वरूप ग्रहण गरेका भए पनि यी समान धारणा, विचार र रणनीति भएकाहरूको राजनीतिक संगठनभन्दा सम्बन्धित पार्टी प्रमुखको राजनीतिक संगठनका रूपमा विकसित भएर बसेका छन् । संघर्ष वा आन्दोलनको अवधिमा विमर्श र सामूहिक नेतृत्वको स्तर सन्तोषप्रद देखिए पनि शान्तिपूर्ण मूलधारमा प्रवेशपछि अथवा परिवर्तनपछिको अवस्थामा विकसित मूल राजनीतिक धारमा भने विमर्श र सामूहिक नेतृत्वको यो स्तर सदैव ऋणात्मक नै छ, ओरालोतिरै झरेको देखिन्छ । सबै पार्टीमा नेतृत्व कब्जाका निमित्त हानथाप र सहकर्मीहरूको मानमर्दनको अस्वस्थ गतिविधिकेन्द्रित समानता यसको प्रमाण हो । सबै राजनीतिक पार्टीका नेतृत्वपंक्ति कुनै न कुनै आन्दोलनबाटै आएका भए पनि ती परिवर्तनको संवेगलाई स्थायित्व र संस्थागत स्वरूप दिन अक्षम साबित भएका छन् ।

आन्दोलन परिवर्तनको एउटा विन्दुमा पुगेपछि पार्टी नेतृत्वहरूले सम्पूर्ण श्रेयको दाबी गर्दै आफूलाई इतिहासको एक मात्र पात्रका रूपमा घोषित गर्न थाल्छन् । छलफल र निर्णयका माध्यमबाट अगाडि बढ्ने मानसिकता एकाएक हराउँछ र व्यक्तिपूजाको सिलसिला पहिलेझैं अगाडि बढ्न थाल्छ । यसले गर्दा विश्लेषण र विचारको प्रवाह स्वार्थको वृत्तमा सीमित भई अग्रगमनभन्दा यथास्थितिवादतिर हराउँछ । एक पटक जन्मेको राजनीतिक पार्टी उत्कर्षमा पुगेपछि ओरालो लाग्दासम्म नेतृत्व परिवर्तन विरलै हुन्छ । केही गरी परिवर्तन भए पनि सम्पत्तिको नामसारी भएसरहको अनुभूति गराइन्छ । परिणामस्वरूप, नेतृत्वको सांगठनिक गतिहीनता अन्तत: राजनीतिक पार्टीहरूको असफलताको प्रमुख कारण बन्न पुग्छ ।

स्वविवेकको सम्मान र आन्तरिक लोकतन्त्रको अभ्यासका लागि सबभन्दा पहिले गर्नुपर्ने काम हो— निहित स्वार्थको गोलचक्करलाई यथासम्भव निष्प्रभावी बनाउनु । पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यासले एकोहोरो सोच र स्वार्थप्रेरित गुटबन्दीलाई निस्तेज पारी सम्भव निकासको बाटो खोज्छ । गिरिजाप्रसाद कोइरालाको सरकारका पालामा नीति र कार्यक्रम पारित गर्ने सन्दर्भमा संसद्मा सत्ताधारी पार्टीकै सांसदहरूको अनुपस्थिति पनि आन्तरिक लोकतन्त्रको अभ्यासमा कमीको परिणाम थियो ।

अहिले कर्णाली प्रदेशमा भएको फ्लोरक्रस, जसलाई हामीले दलीय संसदीय अभ्यासमाथि ठूलो प्रहारका रूपमा अनुभूति गरिरहेका छौं, त्यसको पनि कारण यही हो । पार्टीभित्र फरक विचारका कारण आफ्नै सहकर्मीमाथि नेतृत्वबाट प्रहार भएपछि उत्पन्न व्यावहारिक विभाजनले गर्दा फ्लोरक्रसको बाध्यता आएको हुन सक्छ । एउटा पक्षले अर्कोसँग दलीय मान्यता अनुरूपको व्यवहार खोज्ने तर आफूले दलीय मन्थनको सिद्धान्तको अवहेलना गर्ने स्थितिमा कसैलाई चोखो मान्न सकिन्न । कर्णाली फ्लोरक्रसको घटनाले नेपालमा बहुदलीय संसदीय लोकतन्त्रमा विषवृक्ष जन्माउने काम गरेको छ, जो संघीय लोकतान्त्रिक गणतन्त्रकै निमित्त ठूलो हानिकारक घटना सिद्ध हुन सक्छ ।

लोकतन्त्रमा राजनीतिक पार्टी र सो अनुरूपको दलीय संस्कार नभई नहुने विषय हो । केही राजनीतिक विश्लेषकहरूले औंल्याए जस्तै चुनाव मात्रले लोकतन्त्रको प्राणप्रतिष्ठा गर्न सकिँदैन । तर, जनताले दिएको म्यान्डेटअनुरूप स्थायित्व भएन र म्यान्डेटको आधार नै खस्किएपछि वैध र जनताको स्वीकृतिप्राप्त सरकारको गठनका निमित्त चुनावको विकल्प पनि छैन । त्यस्तै, राजनीतिक पार्टीहरूमा विमर्श र आन्तरिक लोकतन्त्र अथवा विधिअनुसार चल्ने प्रतिबद्धता भएन भने पनि लोकतन्त्र सही बाटामा हिँड्न सक्दैन ।

आन्तरिक लोकतन्त्रको सबलीकरणका निमित्त आवश्यक मानसिकता, प्रशिक्षणका साथै विधि र नियमनको पनि आवश्यकता हुन्छ । राजनीतिक दलहरूसम्बन्धी ऐनले अवसरवादिताको नियन्त्रण र दलबदल तथा विभाजनमाथि अंकुश लगाउने प्रयास त गरेको छ तर समस्याको अर्को पाटो आन्तरिक लोकतन्त्रको अभ्यासको मजबुतीप्रति ध्यान पुगेको छैन । राजनीतिक पार्टीहरूका विधानमा आन्तरिक लोकतन्त्रको अभ्यासबारे तथा पार्टी प्रमुखलाई हुने/दिइने अधिकारको सीमाप्रति वाञ्छनीय विधिसम्मत निर्देशनको अभाव छ । आन्तरिक छलफलको आयोजनबारे अध्ययन गर्ने हो भने सामान्य स्थितिमा खानापूर्तिका निमित्त मात्र बैठक र छलफल गरिने भए पनि विशेष र महत्त्वपूर्ण परिस्थितिहरूमा पार्टीका प्रमुखहरू भए–नभएको विशेषाधिकारको प्रयोग गर्न प्रवृत्त हुने गर्छन् । ऐन–कानुनमा भएको व्यवस्थाको पनि आफूअनुकूल प्रयोग वा उल्लंघन हुने गर्छ । यी सब कारणले र खास गरी हाम्रा राजनीतिक पार्टीहरूभित्र लोकतान्त्रिक परिपाटीअनुसारको कार्यविधि विकसित गर्न प्रभावकारी विधि र नियमन आवश्यक भएको छ ।

(शुक्रबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट )

प्रकाशित : वैशाख ९, २०७८ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?