२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

कम्युनिस्ट आन्दोलनको पुनर्गठन

प्रेमलकुमार खनाल

लेनिनको जन्मदिन पारेर २००६ सालको वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । त्यस हिसाबले नेपालमा संगठित तवरले कम्युनिस्ट आन्दोलनको सुरुआत भएको ७२ वर्ष पूरा भएको छ ।

कम्युनिस्ट आन्दोलनको पुनर्गठन

यो अवधिमा कम्युनिस्ट आन्दोलनको विकास र विस्तारबाट महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन्, सँगसँगै गम्भीर चुनौती पनि देखापरेका छन् । २००८ असोज ११–१६ गते सम्पन्न प्रथम सम्मेलनमा महासचिव पुष्पलालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा मुलुकमा नयाँ जनवादी क्रान्ति गरेर अर्ध–सामन्ती र अर्ध–औपनिवेश स्थितिको अन्त्य गर्ने उल्लेख छ ।

२०६३ सालसम्म आइपुग्दा कम्युनिस्टहरूको सामन्तवादविरोधी आन्दोलन उत्कर्षमा पुगेको थियो, यही वर्ष राजतन्त्रले घुँडा टेक्यो । पुष्पलालले पार्टी स्थापनाका बेला अगाडि सार्नुभएको संविधानसभाको एजेन्डा २०६५ सालमा पूरा भयो । झन्डै ७ वर्ष लगाएर दोस्रो संविधानसभाबाट संविधान घोषणा भयो । नेकपा एमाले, माओवादी केन्द्र लगायतका वामपन्थी दलहरूको सहकार्यबाट जनता सार्वभौमसत्ता सम्पन्न रहने र समाजवादको आधार निर्माण गर्ने संविधान बनाउन सफल भइयो । संविधानअनुसार निर्वाचनबाट संघ र प्रदेशका संसद् तथा स्थानीय तहमा झन्डै दुईतिहाइ हाराहारीमा वामपन्थीहरू विजयी भए । वाम गठबन्धनको नेतृत्वमा संघ तथा प्रदेशहरूमा सरकार गठन भए । यसबाट, एक अर्थमा, पुष्पलालले अगाडि सार्नुभएको जनवादी राजनीतिक क्रान्तिको लक्ष्य पूरा भएको छ । अब नेपाली क्रान्तिलाई पूर्णता दिन समाजवादी क्रान्ति गर्दै मुलुकलाई समाजवादी बाटामा अगाडि बढाउनुपर्ने दायित्व वामपन्थी दलहरूसामु छ ।

यो कालखण्डमा नेपाली समाजमा विकास भएको चेतनाको जगमा द्वन्द्वात्मक भौतिकवादी एवं मार्क्सवादी विचारले बहुसंख्यक मानिसलाई समेट्दै लगेको छ । कुल मतदातामध्ये झन्डै ६० प्रतिशतले कम्युनिस्ट पार्टीका नीति, विचार, कार्यक्रमबाट आकर्षित भएर निर्वाचनमा वामपन्थी उम्मेदवारहरूलाई मत दिए । सुरुमा ५ जनाबाट स्थापना भएको कम्युनिस्ट पार्टीमा आज लाखौंलाख मानिस आबद्ध छन् । यसका साथै पार्टीभित्रका युवा, महिला, किसान, मजदुर लगायतका पेसागत संगठन र ट्रेड युनियनहरूमा पनि लाखौं मानिस संगठित छन् ।

कम्युनिस्ट नेतृत्वमा पहिलो महाधिवेशनदेखि नै दक्षिणपन्थी रुझान देखापरेको थियो । दोस्रो महाधिवेशनमा राजापरस्त केशरजंग रायमाझी नेतृत्व नै हत्याउन सफल भए । त्यसपछि कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी एवं आत्मसमर्पणवादी चिन्तन तथा प्रवृत्तिहरू बढ्दै गए । यस्ता प्रवृत्तिलाई परास्त गर्दै २०३० सालको दशकमा पार्टी पुनर्गठनको प्रक्रिया अगाडि बढ्यो । २०६२/६३ को आन्दोलनमा प्रकट भएका गणतन्त्रको कार्यदिशाविरुद्ध दक्षिणपन्थी, यथास्थितिवादी सोच, चिन्तन र विचारहरूलाई आन्दोलनको रापतापले परास्त गर्‍यो ।

नेपालको कम्युनिस्ट आन्दोलन अब नयाँ कार्यदिशाका साथ अगाडि बढ्दै छ । नेपाली अर्थराजनीतिमा हावी हुँदै गएको दलाल पुँजीवादलाई नियन्त्रण गरेर राष्ट्रिय पुँजीको निर्माण गरी उत्पादन र रोजगारी वृद्धि हुने क्षेत्रमा व्यापक लगानी, औद्योगिकीकरणको थालनीसँगै आत्मनिर्भर अर्थतन्त्र निर्माण गरेर मुलुकलाई समाजवादी बाटामा अगाडि बढाउनुपर्ने ऐतिहासिक दायित्व वामपन्थीहरूका सामु आएको छ ।

राष्ट्र र जनताको यही अभिभारालाई पूरा गर्न नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर दुईतिहाइ नजिकको सरकार गठन भएको थियो । तर, सरकारको नेतृत्व गरिरहेका केपी शर्मा ओलीले दक्षिणपन्थी अवसरवाद र विसर्जनवादको बाटो लिएपछि नेकपाभित्र अन्तरसंघर्ष तीव्र रूपमा अगाडि बढ्यो । पार्टीको अन्तरसंघर्षलाई सामना गर्नुको सट्टा गत पुस ५ मा पार्टीको परामर्शबिनै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाभित्र असामान्य अवस्था सिर्जना भयो । प्रधानमन्त्रीको यो कदम प्रतिगामी भएको पार्टीले ठहर गर्‍यो र यसका विरुद्ध आन्दोलन गरियो । अन्ततः सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदम असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनःस्थापन गर्‍यो । तर, फागुन २३ को अर्को फैसलाले नेकपाको दर्ता खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा पुगे ।

ओलीले फागुन २८ मा आफ्नो गुटका व्यक्तिहरू मात्रै बोलाई विधानविपरीत बैठक बसेर विभिन्न निर्णय गरी पार्टी अवैधानिक हिसाबले कब्जा गरेपछि एमालेभित्र राजनीतिक विभाजन भएको छ । झलनाथ खनाल–माधव नेपाल समूहले क्रान्तिकारी धारको नेतृत्व गरेर पार्टी पुनर्गठनको अभियानलाई अगाडि बढाएको स्थिति छ भने ओलीले दक्षिणपन्थी बाटोलाई । एमसीसी सम्झौता जसरी पनि संसद्बाट अनुमोदन गराउन ओलीले कांग्रेस र मधेसवादी दलसँग गरेको सहकार्यले गर्दा पनि पार्टीभित्र स्पष्ट दुई लाइन देखिएका छन् । र, एमालेको अन्तरसंघर्ष अब पुनर्गठनको दिशातर्फ अगाडि बढिरहेको छ । नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनमा देखापरेको अन्तरसंघर्ष तेस्रो महाधिवेशनमा पुग्दा पुष्पलालले रायमाझीलाई निष्कासन गरेर पार्टी पुनर्गठन प्रक्रिया अगाडि बढाउनुभएको थियो । अहिले त्यही स्थिति देखिएको छ ।

प्रधानमन्त्री ओलीको व्यक्तिवादी, सर्वसत्तावादी, अवसरवादी र दक्षिणपन्थी सोच अनि व्यवहारका कारण एकीकृत कम्युनिस्ट पार्टी तीन वर्ष नपुग्दै विभाजित भयो । एमालेसमेत विभाजित भएको छ । कम्युनिस्ट आन्दोलनको अग्रगतिका लागि यो दुःखद पक्ष हो । यस घटनाले मुलुकको लोकतन्त्रीकरण प्रक्रिया र समाजवाद स्थापना गर्ने युगीन अभिभारा पछाडि धकेलिएको छ । कम्युनिस्ट पार्टीमा विचार एउटाको पारित हुने तर नेतृत्व अर्को हुने जुन स्थिति हुन्छ, यसैको परिणाम हो— अहिलेको परिस्थिति । ओली गणतान्त्रिक आन्दोलनमा असहमत हुँदाहुँदै पनि जनताको आँधीबेहरीले गणतन्त्र आयो । आन्दोलनको बलमा वामपन्थीहरूकै सहकार्यमा संविधान बन्यो । एमालेको नवौं महाधिवेशनले समाजवादी क्रान्ति गरेर समाजवाद स्थापना गर्ने कार्यदिशा अगाडि सार्‍यो, जसलाई ओलीले महाधिवेशन हलभित्रै अस्वीकार गरेका थिए । तर, अध्यक्षमा निर्वाचित भए पनि ओलीले त्यो कार्यदिशा अनुरूप पार्टी र सरकार सञ्चालन नगरेकै कारण समस्या उत्पन्न हुँदै गए । पार्टीलाई विधानविपरीत सञ्चालन गरेर वरिष्ठ नेताहरूलाई कारबाही गर्ने, जिम्मेवारीबाट मुक्त गर्ने र आफू बहुमतमा रहेको देखाउन अन्य पार्टीबाट आएकालाई जिम्मेवारी दिने काम गरे ।

नेपालका वामपन्थीहरूका सामु हजारौं जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त लोकतन्त्रलाई सुदृढ गर्ने र संविधानको प्रभावकारी कार्यान्वयन गरेर परिवर्तनका उपलब्धिलाई संस्थागत गर्दै समाजवादी क्रान्ति अगाडि बढाउने अभिभारा छ । यसका लागि वाम आन्दोलनभित्र क्रान्तिकारी ध्रुवीकरण गरेर दक्षिणपन्थी अवसरवाद र विसर्जनवादविरुद्ध दृढतापूर्वक वैचारिक संघर्ष गर्दै आन्दोलनलाई विचार, संगठन र कार्यशैलीका क्षेत्रमा व्यापक पुनर्गठन गरी नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माण गर्नु जरुरी छ । साथसाथै अब नेपाली क्रान्तिलाई अगाडि बढाउन समाजवादी क्रान्तिका सही कार्यक्रम र कार्यदिशा तय गर्नतर्फ ध्यान दिनु आवश्यक छ ।

अब कम्युनिस्ट पार्टीलाई व्यक्तिवादबाट मुक्त गर्न पार्टीभित्र लोकतान्त्रिक पद्धतिको जीवन्त अभ्यास, अनुशासन र स्वतन्त्रताको दृढता, सामूहिक निर्णय, संवाद र जवाफदेहीमा आधारित जनवादी केन्द्रीयताको अभ्यास जरुरी छ । यसो भए मात्रै पार्टी, समाज र राष्ट्र लोकतन्त्रीकरणको दिशातिर बढ्छन् । कम्युनिस्टभित्र हुर्किएको विकृति, विसंगति र दक्षिणपन्थी सोच–चिन्तन–प्रवृत्तिविरुद्ध दृढतापूर्वक वैचारिक संघर्ष गरेर यो आन्दोलनलाई मार्क्सवादीकरण र क्रान्तिकरण गर्ने अनि पार्टीभित्र सर्वहाराकृत वर्ग दृष्टिकोण, कार्यशैली र जीवनशैलीको विकास गर्नुपर्ने खाँचो पनि उत्तिकै छ । आन्दोलनभित्र नेतृत्व निर्माण, विकास र हस्तान्तरण पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ । खासगरी नयाँ पुस्तालाई पार्टीभित्र उन्नत वैचारिक स्तरका साथ भर्ती गर्न, उनीहरूलाई मार्क्सवादी चेतना र विचारले ओतप्रोत गराउन र नेतृत्व विकासका लागि संरचनागत व्यवस्था गर्दै नेतृत्व हस्तान्तरणलाई सहज बनाउन आवश्यक छ । पार्टीभित्र विद्यमान दक्षिणपन्थी सोच, चिन्तन र गुट–उपगुटलाई अन्त्य गर्न कार्यसम्पादनमा आधारित नेतृत्व छनोटको विधिलाई सँगसँगै अवलम्बन गर्नुपर्छ ।

(खनाल नेकपा एमालेका केन्द्रीय सदस्य हुन् ।)

प्रकाशित : वैशाख ९, २०७८ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?