१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विकासचेत : एलिट–सबाल्टर्न द्वैधता

मुलुकभित्रको शिक्षा जीवन उपयोगी हुनु वा नहुनु, यातायात, सञ्चार, शिक्षा र स्वास्थ्यका पूर्वाधारहरु बन्नु वा नबन्नु अभिजात वर्गको चासो होइन । उनीहरुको जीवनयापनका लागि यी सबै सुविधा अन्य मुलुकबाट किन्न पाइन्छन् ।
अच्युत वाग्ले

बेलायती अर्थशास्त्री पल कोलिएरको विश्वचर्चित पुस्तक ‘द बटम बिलियन्स : ह्वाई द पुरेस्ट कन्ट्रिज आर फलिङ एन्ड ह्वाट क्यान बी डन एबाउट इट’ (२००७) ले संसारका करिब पचासवटा साना र ‘असफल राष्ट्र’ मा बसोबास गर्ने करिब एक अर्ब जनता विकासको मूलधारबाट थप विमुख हुँदै गएको तर्क गरेको छ । एक्काइसौं शताब्दीका लागि विकसित र अविकसित संसारबीच थप फराकिलो बन्दै गएको विभाजन र असमानतालाई उनले मूल चुनौतीका रूपमा लिएका छन् । पुस्तकमा नेपालका केही उदाहरण र सन्दर्भहरु जोडिएका छन्, खासगरी दरिद्रतम मुलुकहरुमा राजनीतिक द्वन्द्व किन धेरै लामो समयसम्म चल्छ भन्ने प्रसङ्गमा ।

विकासचेत : एलिट–सबाल्टर्न द्वैधता

मुलुकहरु उक्सिनै नसक्ने अविकासको धराप (ट्रयाप) मा च्यापिनुको कारण केलाउँदै कोलिएरले भनेका छन्, ‘मानौं तिम्रो मुलुक तन्नम (डर्ट पुअर), आर्थिक रूपले लगभग गतिहीन छ र थोरै मानिस मात्र शिक्षित छन्; यस्तो जीवन पुर्खाहरुले बाँचेको भन्दा किमार्थ फरक छैन भन्ने आकलन गर्न गाह्रो छैन । यदि कुनै समाज (विकासको) धरापमा नै जकडिइनसकेको भए कडा परिश्रम, मितव्ययिता र अक्लमन्दीले गरिबीबाट क्रमश: माथि उक्लन सक्छ । विकासको धराप, सामान्यत: अनुमानगम्य दक्षिणपन्थ–वामपन्थबीचको विभाजन, बौद्धिक वादविवादको चालुु विषय हो । दक्षिणपन्थीहरु यस्तो विकासको धरापको अस्तित्व स्विकार्दैनन् र कुनै पनि मुलुक राम्रा नीतिहरु अवलम्बन गरेर गरिबीबाट उम्किन सक्छ भन्नेमा जोड दिन्छन् । वामपन्थीहरु विश्व पुँजीवादलाई गरिबीको धराप सिर्जना गर्ने अन्तर्निहित कारणका रूपमा हेर्छन् ।’ (पृ. ५)

कोलिएरले पहिल्याएका चारवटा धरापमा द्वन्द्व, प्राकृतिक स्रोत, खराब छिमेकीसँग जोडिएको भूपरिवेष्टित अवस्था र सानो मुलुकमा खराब शासन (भ्रष्टाचार) छन् । यी सबै दृष्टिमा नेपाल कस्तो धरापमा कति गम्भीर ढंगले च्यापिएको छ, सम्भवत: प्रत्येक नागरिक जानकार छन् । लेखकले पुस्तकमा सुझाएका नेपालका लागि काम लाग्न सक्ने, उदाहरणका लागि, द्वन्द्वोत्तर राजनीतिको व्यवस्थापन आदि समाधानको औचित्यको पनि यहाँ थप व्याख्या चाहिएन । यो लेखलाई नेपालको विकास कस्तो धरापमा, कसरी अड्किएको छ भन्ने बहसको साङ्केतिक उठानमा केन्द्रित गरौं ।

बूढानीलकण्ठ मोडल

गत साता विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ‘आफू सरकारमा आए बूढानीलकण्ठजस्ता पाँच सय विद्यालय खोल्ने’ भनेको क्लिप सामाजिक सञ्जालमा निकै ‘सेयर’ भयो । यसो हुन सके नेपालका धेरै आर्थिक–सामाजिक समस्याको समाधान हुने तर्क उनले दिएका छन् । यो सुन्ने धेरैलाई नेपालको अविकासको समस्याको समाधान यसरी नै होला कि जस्तो पनि लाग्नु अस्वाभाविक होइन । मिश्रको यो ‘तयारी समाधान’ का लगि उनको व्यक्तिगत आलोचना गर्नु आवश्यक छैन । किनभने यो एउटा वर्गीय चिन्तन–नि:सृत विचार हो, जुन समग्र बहसको एउटा अविभाज्य पाटो रहन्छ ।

मिश्रको भनाइलाई दक्षिणपन्थी–वामपन्थी विकास चिन्तनको द्वैधता (डाइकोटोमी) को आलोकमा हेर्दा भने त्यसले त्यही पुँजीवादी विश्वचिन्तनको प्रतिनिधित्व गर्छ, जसले नेपाल विकासको धरापमा अड्किएको यथार्थलाई स्वीकार गर्दैन । मिश्रका बीबीसी नेपाली सेवाका हालै दिवंगत सहकर्मी सुशील शर्माले आठ वर्षअघि ‘नेपाल किन बनेन ?’ भन्ने मुद्दालाई सार्वजनिक बहसको विषय बनाउने राम्रै प्रयास गरे । त्यही सेरोफेरोमा केही छलफल भए । केही लेख छापिए । तर, त्यसमा पनि अन्तत: त्यही अभिजात (एलिट) ‘एक जादुको छडीको चमत्कार’ चिन्तन हावी भयो । सधैं दयापेक्षी आमजनता (सबाल्टर्न) लाई समेट्ने विकास बहसको आवश्यकता वा विकास मोडल निर्माणको सम्भावनालाई उही जडवत् बन्दै गएको विकासको धराप (डेभेलपमेन्ट ट्रयाप) ले अचेट्यो ।

बूढानीलकण्ठ प्रकृतिका पाँच सय विद्यालय मुलुकभरि खोल्ने विकास मोडलको यो उदाहरणलाई थप सरलीकृत गरेर हेर्नु आवश्यक छ । नेपालमा अङ्ग्रेजी माध्यममा तथाकथित गुणस्तरीय शिक्षा दिने उद्देश्यले स्थापित सेन्ट जेभियर्स स्कुलको इतिहास सत्तरी वर्ष र बूढानीलकण्ठ स्कुल स्थापनाको पचास वर्ष भएको छ । विगत चार दशकमा तिनकै सिको गरेर अङ्ग्रेजी माध्यममा ‘गुणस्तरीय’ शिक्षा दिने हजारौं विद्यालय र महाविद्यालय स्थापना भएका छन् । तिनले अहिलेसम्म हजारौंको संख्यामा ‘मुलुकले खोजेजस्तो’ जनशक्ति उत्पादन गरिसके । तर ती हजारांै ‘सबभन्दा योग्य’ मानिसहरुले मुलुकले खोजेको आर्थिक समृद्धि, पूर्वाधार विकास र सामाजिक रूपान्तरणमा किन योगदान गर्न सकेनन् ? कि उनीहरु यो प्रक्रियामा सहभागी नै भएनन् वा हुन चाहेनन् ? यसमा कसैलाई ठाडो आरोप लगाउनुअघि केही तथ्यांकशास्त्रीय अनुसन्धान अपरिहार्य छ, जुन हुन सकेको छैन । तैपनि आँखाअगाडिकै सामान्य परिदृश्य समेट्नका लागि, अथवा हुन सके, व्यवस्थित खोज–अनुसन्धानकै लागि पनि केही अनुत्तरित प्रश्नहरु सान्दर्भिक छन् ।

सचेत, सुशासन र लोकतन्त्रका बारेमा जानकार; कतिपय ठूला, विकसित लोकतान्त्रिक मुलुकमा शिक्षा आर्जन गर्ने अवसर पाएका यस्ता विद्यालयका पूर्वविद्यार्थीहरु मुलुकको लोकतान्त्रिक रूपान्तरणको आन्दोलनमा कति सरिक भए ? इतिहासका रूपान्तरणकारी भनिएका ठूला जनविद्रोहहरुमा सहिद हुनेहरु कति प्रतिशत यस्ता विद्यालयका उत्पादन होलान् ? नेपालको कर्मचारीतन्त्रमा उनीहरुमध्ये कति प्रवेश गरे र तीमध्ये कति जना उदाहरणीय प्रशासक बने ? यसको ठीक विपरीत, मुलुकको धन खर्च गरेर विदेश पलायन हुने र उतै भासिनेमा यस्तो अभिजातवर्गीय विद्यालयमा अध्ययनको सुविधा पाउनेहरुको संख्या सापेक्षत: कति बढी होला ? र, मुख्यत: यस्ता विद्यालयमा पढेको अघिल्लो पुस्ताले आफ्नो सन्तति पुस्तालाई मुलुकको भविष्य, नैतिक मूल्य, राष्ट्रभक्ति एवम् त्यागको भावना र आफ्नै नेपाली पहिचानका बारेमा कसरी प्रशिक्षित गरिरहेको छ ? यी र यस्तै प्रश्नका तथ्यमा आधारित उत्तरहरु नेपालको विकास मोडललाई सबाल्टर्नमुखी बनाउने अविभाज्य अवयव हुन् ।

अभिजात ‘टोकनिजम’

नेपाल अभिजात विकास चिन्तनको ‘ट्रयाप’ मा यसरी फसेको छ, यसको बहसलाई मात्रै पनि तार्किक हिसाबले मूलधारमा ल्याउन करिबकरिब असम्भव देखिन थालेको छ । यसको मूलकारण, सबाल्टर्नको प्रतिनिधित्व गरेको अभिनय गरेर शासन–सत्ताको सुख भोग्न पुग्नेहरु पनि त्यहाँ पुग्नासाथ, जर्मन दार्शनिक म्याक्स वेबरले भनेझैं, अभिजात वा एलिटको वर्गव्यवहार प्रदर्शन गर्छन् । त्यसैले राष्ट्रपति विद्या भण्डारीको व्यवहार पूर्वराजाको जस्तो र जुनसुकै दलको जे नामको प्रधानमन्त्री भए पनि उसको व्यवहार श्री ३ राणा प्रधानमन्त्रीको जस्तो भइहाल्छ । पछिल्लो चरम उदाहरण प्रधानमन्त्री केपी शर्मा ओली नै छन् ।

अभिजात चिन्तनको खराबी के हो भने, यसले मुलुकको विकासलाई, खासगरी सबाल्टर्नका अपेक्षा विकासमार्फत सम्बोधन गर्ने जिम्मेवारीलाई आफूले गरिदिने कृपा वा दयाका रूपमा बुझ्छ र व्यवहार गर्छ; विकास संयन्त्र र नीतिहरुको सिंहावलोकन वा पुन:संरचनाको आवश्यकता र तिनको परिणामको दिगोपनका रूपमा हेर्दैन । मुलुकले बनाउने आर्थिक–सामाजिक नीतिहरु एलिटहरुले पालना गर्नु नपर्ने वा अनावश्यक तर आममानिसका लागि अपरिहार्य र समस्या समाधानको रामवाणका रूपमा चित्रित यही वर्गले गर्छ । सांकेतिक अभिनय (टोकनिजम) ले जनतालाई प्रभावित गर्न सकिन्छ भन्ने ठूलो भ्रम पालेर यो वर्ग बाँचेको छ । हिजो राजाहरुले विकासको मूल फुटाउन गर्ने क्षेत्रीय भ्रमणहरु, उनीहरुले प्रसन्न भएर दिने बक्सिसका कथा वा अलिकति पैसा कमाएपछि ‘च्यारिटी’ स्थापनाको प्रचारदेखि ओलीले मुगु पुगेर शिक्षाको जिम्मा लिंँदै एउटी अबोध बालिकालाई काखमा राखेर खिचाएको फोटो त्यही अभिजात ‘टोकनिजम’ का अनेक रूप हुन् ।

विकास भनेको औद्योगिकीकरण, उत्पादकत्व एवम् निर्यात वृद्धि र व्यवस्थित सहरीकरण आदि नै हुन्, जुन सनातन, एलिट वा सबाल्टर्न दुवैबाट प्रतिवाद नगरिएका अवधारणा हुन् । थप, सबाल्टर्नमुखी विकासमा मानवीय जिजीविषा (ह्युमन एजेन्सी) को महत्त्व अविभाज्य रहन्छ । र, सनातन माक्र्सवादी वामपन्थी विकास चिन्तनलाई फरक ढंगले (एन्टोनियो ग्राम्सीको उदार वामपन्थी चस्माले) हेर्ने अवधारणा पनि यही हो । तर, अभिजात विकास भाष्यले यो ‘ह्युमन एजेन्सी’ लाई नाटकीय जामा लगाएर विकृत पारिदिन्छ । एकातर्फ अभिजात राष्ट्रवादको मानक ‘मागेको रोटीले मेरो भोक मेटिन्न...’ राष्ट्रिय गीत गाएर सबाल्टर्नहरुलाई समेत मनोवैज्ञानिक उद्वेलन गराउनु हो भने, अर्कातर्फ मुलुकलाई हरेक कुरा नमागी चल्नै नसक्ने गरी परनिर्भर र परजीवी बनाइदिनु हो ।

मुलुक यस्तो परजीवी अभिजातहरुका कारण मात्रै भएको हो र भन्ने प्रश्न पनि अक्सर नसुनिने होइन । यथार्थमा परजीवी र स्वाभिमानशून्य तर अहंकारपूर्ण आडम्बर प्रदर्शन अभिजातको प्रधान चरित्र हो । मुलुकभित्रको शिक्षा जीवन उपयोगी हुनु वा नहुनु; यातायात, सञ्चार, शिक्षा र स्वास्थ्यका पूर्वाधारहरु बन्नु वा नबन्नु अभिजात वर्गको चासो होइन । उनीहरुको जीवनयापनका लागि यी सबै सुविधा अन्य मुलुकबाट किन्न पाइन्छन् । नेपालमा पनि अङ्ग्रेजी शिक्षालाई मात्रै गुणस्तरीय शिक्षाको पर्यायवाची किन बनाइएको छ भने त्यसो गर्दा मात्र अभिजातहरुलाई विकसित विश्वमा आमोदप्रमोदको ढोका खुल्छ । अमेरिका, बेलायत वा अस्ट्ेरलियाको स्थायी बासिन्दा हुनु नेपाली हुुनुभन्दा गौरवको कुरा हो भन्ने विकृत अवधारणा यही अभिजात पङ्क्तिले स्थापित गरेको हो ।

यो वर्गले आफ्ना आवश्यकता पूर्तिका लागि मुलुकको औद्योगिकीकरण वा निर्यात प्रवद्र्धनको अपरिहार्यता कहिल्यै महसुस गरेको छैन । केही उत्पादन भइहाले पनि ती आफ्ना वर्गको उपभोगयोग्य होइनन् भन्ने व्यवहार आमरूपले प्रकट भइरहन्छ । विश्व पुँजीवादीकरण भएपछिका नेपाली शासकहरु बम्बैबाट आँप र कलकत्ताबाट मिठाई मगाएर खान्थे । विदेशी कोठीबाट कपडा मगाएर लगाउँथे । अरबबाट घोडा आयात गरेर चढ्थे । बेल्जियमबाट आयातित सिसा राखेर घर बनाउँथे । बिदा मनाउन विदेश भ्रमणमा निस्कन्थे ।

निश्चय नै, केही दशकपहिले हजारको संख्यामा रहेको शासकीय अभिजातहरुको वृत्त अहिले केही लाखमा फैलिएको छ । तर प्रवृत्ति पुरानै छ । त्यसैले स्कच ह्वीस्की, निजी प्रयोजनका कार, ब्रान्डेड वेयर आदिको त माग बढेको छ नै, दैनिक उपभोगका वस्तुको आयात मुलुकले पटक्कै धान्न नसक्ने गरी बढेको छ । मुलुकभित्र रोजगारी सिर्जना लगभग शून्य छ । श्रम गर्ने संस्कारलाई दलालीको परम्पराले विस्थापित गरेको छ । यसको मनोवैज्ञानिक प्रभाव तृणमूल तहसम्म यस्तरी फैलिएको छ, विकास, सुख र समृद्धिका सम्पूर्ण मानक नै यिनै हुन् जस्तो मानिन थालेको छ । यो यथार्थलाई अभिजात विकासचेतले महसुस गर्न सकेको र चाहेको छैन । सबाल्टर्नहरुलाई उनीहरुका चासो र चाहना अनुरूपका विकासका मोडल बनाउन आवश्यक बौद्धिक अभ्यासका लागि सबलीकृत कहिल्यै गरिएन । अपवादमा कोही सक्षम भए भने पनि तिनको पहिलो अभीष्ट सबाल्टर्नमुखी विकास पछ्याउने होइन, आफू पनि सकेसम्म छिटो ‘एलिट क्लब’ मा दर्ता हुने हुन्छ । वर्तमान नेपालका सबै दलभित्रका राजनीतिक नेतृत्वहरू त्यसको ज्वलन्त उदाहरण हुन् । यो ‘ट्रयाप’ बाट उम्कनु नेपालका लागि अहिलेको सबभन्दा ठूलो चुनौती हो ।

(सोमबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट )

प्रकाशित : वैशाख ५, २०७८ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?