यौनहिंसाको बहस र विभ्रम- विचार - कान्तिपुर समाचार

यौनहिंसाको बहस र विभ्रम

एक्लै–एक्लै लडेर, यौन हिंसाका पीडितलाई एक्सपोज गरेर वा पितृसत्तात्मक मानसिकतामा प्रहार गरेर मात्र हिंसा र विभेदको भीमकाय जाल पक्कै टुट्दैन ।
अनिता पण्डित

विभेद र यौनिकहिंसाको मारमा हजारौं सालदेखि मर्दै–बाँच्दै आएको आधा जनसंख्या आजसम्म लगभग त्यस्तै नियतिहरूको सिकार भइरहेको छ । बलात्कारजस्तो निकृष्ट घटनाको मारमा लाखौं महिला पर्ने गरेको सत्य पनि आजको अकाट्य र क्रूर सत्य हो ।

बलात्कारबाहेक कार्यस्थलमा हुने छेडछाड, मौखिक रूपमा गरिने टीकाटिप्पणी, गलत छुवाइ र व्यवहार तथा सांकेतिक रूपमा हुने हिंसाका घटनाको लहरा पक्रेर नभ्याउने गरी लामो र जेलिएको जस्तो लाग्छ । यद्यपि हिंसा र बर्बरताविरुद्धको सशक्त प्रतिरोध, प्रतिकार, आन्दोलन र प्राप्तिहरूको गौरवमय ऐतिहासिक धरोहरले मानव सभ्यतालाई उज्यालो देखाइरहेको पनि यथार्थ हो ।

कान्तिपुर दैनिकमा चैत ३१ मा प्रकाशित सरिता तिवारीको ‘यौनहिंसाको प्रतिवादमा’ शीर्षक लेखमा प्रकट विचारहरूले सोच्न बाध्य बनाएको छ । यौनहिंसाको प्रतिकारमा या भनौं यौनिक घटनाका पीडकलाई नेमिङ र सेमिङ गर्ने प्रतीकात्मक अभियानबाट उहाँ हर्षविभोर भएको देखिन्छ । तिवारीले कार्ल मार्क्सले पटकपटक ‘हाउसमेड’ माथि बलात्कार गरेको ‘सुनेको’ र ‘पढेको’ कुरालाई नै तथ्यका रूपमा पेस गर्नु अझै लोकरञ्जक लाग्यो । मार्क्समाथि लागेको त्यस्तो आरोप उहाँले चियापसलमा सुन्नुभयो कि गफबाजी गर्ने कुनै म्यागजिन वा अनलाइनमा पढ्नुभयो ? पाब्लो नेरूदाको हकमा उनी आफैंले स्वीकार गरेको बलात्कारको प्रसंगसँग मार्क्सलाई जोड्नुको कारण के हो ?

सूचनाको साम्राज्यले शासन गरिरहेको आजको दुनियाँमा सामाजिक सञ्जाल र इन्टरनेटमा अनेक सूचना फेला पर्छन् । एङ्गेल्सले आफ्नो मृत्युभन्दा केहीअगाडि मार्क्सकी छोरी एलियानोरलाई मार्क्सको घरमा काम गर्ने ‘मेड’ को छोराबारेको रहस्य खोलेको भन्ने दाबी गरिएका लेखहरूसमेत इन्टरनेटमा पाइन्छन् तर यिनको पनि पुष्टि हुने गरी कतै दस्तावेज र प्रमाण पाउने अवस्था छैन । बुर्जुवा नारीवादी र दक्षिणपन्थीले समेत मार्क्सले ‘पटकपटक बलात्कार गरेको’ र ‘मार्क्सका हिंस्रकवृत्ति’ भनेर लेख्दैनन् । तर तिवारीले यस्तो उद्घोषणा गर्नुअगाडि आफूले के–के पढेको हो वा कुन–कुन आधारमा त्यस्तो निष्कर्षमा पुगेको हो भन्ने नखुलाई प्रस्तुत गर्नुभएको ‘बलात्कारी मार्क्स’ विम्ब भयावह छ । मार्क्सबारे लेखिएका प्रमाणित जीवनीहरूमा त पत्नी, छोरीहरू र मेडसँग पनि उनको उदात्त सम्बन्ध रहेको उल्लेख छ । तिवारीको त्यसविपरीतको बयानबाजी निजी जिन्दगीलाई एक स्क्यान्डलका रूपमा प्रस्तुत गर्ने शैली भयो ।

तिवारीले मिटूजस्ता अभियानलाई नै यौनहिंसा रोक्ने महत्त्वपूर्ण कडीजस्तो गरी महिमामण्डन गरेर पेस गरेको दलील अपुरो र भ्रमपूर्ण छ । प्रस्ट पारिहालूँ, म मिटूजस्तो प्रतीकात्मक अभियानको विरोधी होइन । महिला र यदाकदा पुरुषमाथि समेत हुने यौनिक हिंसाको म विरोध गर्छु । आफूमाथि हुने यौनजन्य हिंसाका पीडकहरूविरुद्ध डर, लाज, धक नमानी सार्वजनिक रूपमा बोल्नु राम्रो हो । यौनजन्य हिंसा हुनेबित्तिकै त्यसविरुद्ध बोल्न सके अझ राम्रो हुन्छ र कथंकदाचित् त्यस्ता घटना भएको वर्षौंपछि सार्वजनिक गर्न सक्नु पनि ठीक हो । सामान्य जनमानसमा महिलामाथि यौनजन्य हिंसा हुँदा जुन किसिमको आक्रोशको अभिव्यक्ति आउँछ र नैतिकताको पाठ पढाइन्छ, तिवारीको लेखमा पनि त्यसभन्दा माथिल्लो स्तरको वैचारिक विमर्श मैले पाउन सकिनँ । आक्रोशको अभिव्यक्ति मात्रै समस्या समाधानको उपाय हुँदै होइन । यो हदसम्मको अधकल्चो बुझाइ उहाँ एक्लैको समस्या भने होइन । वामपन्थका धुरन्धर विचारक पनि मिटू मुभमेन्ट सुरु भएदेखि नै यस्तै तर्क र विवेचना जोडतोडका साथ राखिरहेका थिए । तर तिनका विभ्रमबारे वस्तुपरक विश्लेषणहरू पनि आएका थिए । मिटू अभियान कसरी सुरु भयो ? यसले समेटेको समूह कुन–कुन हो ? मिटूमार्फत पर्दाफास भएकाहरूको अहिलेको जीवन र सामाजिक हैसियतमा उल्लेख्य फरक परेको छ या छैन ? यी र यस्ता प्रश्नहरूको उत्तर खोज्ने क्रममा सहजै भन्न सकिन्छ— मिटूजस्ता अभियानको उपलब्धि धेरै सीमित छ र त्यसको सीमा व्यापक छ । मिटूले समेटेको क्षेत्र र वर्गको सीमितता नै यसको प्रमुख सीमा हो ।

वास्तवमा सेलेब्रिटी र उच्च वर्ग, सामाजिक सञ्जाल र मिडियामा पहुँच भएका पढे–लेखेका बीचमा मात्र मिटू अभियान केही हदसम्म प्रभावी देखियो । यसले कुनै पनि आन्दोलनले स्थापित गर्ने मागको स्तरमा प्रभाव पार्न सकेन । विश्वमा र नेपालमा पनि मिटू अभियानका क्रममा सार्वजनिक भएका आरोपितहरूमध्ये अधिकांशले सजाय र सामाजिक बहिष्कार भोग्नैपरेन । यसो हुनुमा समाजको संरचनागत कमजोरीदेखि सांस्कृतिक चेतसम्म जिम्मेवार छ । यौनिक हिंसाविरोधी अभियान र आन्दोलनलाई मिटूजति सानो दायरामा सीमित गर्नु महिला मुक्तिका वास्तविक समस्या पहिचानमा भएको ठूलो त्रुटि हो । सबैभन्दा क्रूरतम तरिकाले हिंसाको सिकार भइरहेका करोडौं गरिब र मजदुर महिला तथा किशोरीहरूलाई नजोड्ने अभियानले यौनिक हिंसा अन्त्यको विभ्रम छर्न सक्छ तर वैचारिकी र आन्दोलन निर्माण गर्न सक्दैन ।

महिलामाथि यौनिक हिंसा किन हुन्छ ? कसले गर्छ ? समाजमा कैयौं परिवर्तन हुँदा पनि आखिर के कारण यौनिक हिंसामा कमी आउनु सट्टा लगातार बढिरहेको छ ? सामाजिक न्याय, समानता र सम्मानको प्रत्याभूति दिने दाबी गर्ने कैयौं कानुनी पाना आखिर यौनिक हिंसा रोक्ने सवालमा किन यति विघ्न निरीह बन्छन् ? के सारा पुरुष पापी, क्रूर, अमानवीय र बलात्कारी मानसिकताका हुन्छन् ? त्यस्तो मानसिकता कसरी निर्माण हुन्छ र यसमा जिम्मेवार के हो वा को हुन् ? आज भइरहेका यौनिक हिंसाको चर्चा गर्दा हजारौं वर्षदेखि हालसम्मको महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक ऐतिहासिकता र वर्तमानको परिदृश्यलाई ध्यानमा राख्नैपर्छ । यसो त, लैंगिक सवाल र महिलामाथि हुने गरेका यौनिक हिंसाको विवेचनाको दायरा धेरै फराकिलो भइसकेको छ । यसमा आंशिक, तात्कालिक र सतहमा देखापर्ने समस्याहरूको तत्कालीन हललाई नै समस्या समाधानका रूपमा पेस गर्नेहरूको वर्चस्व देखिन्छ ।

पितृसत्तात्मक पुरुषवादी अहम् र मानसिकताको जरोकिलोको भेदन र त्यसलाई उखेलेर फाल्ने स्तरबाट अधिकांश अवधारणा, विश्लेषण र वैचारिकी निर्माण नभएकै हो । महिलाहरूमाथि हुने विभेद र यौनिक हिंसाका लागि धेरैजसो वैचारिकीले पुरुषलाई नै मुख्य शत्रुका रूपमा पेस गर्छन् । यो स्तरभन्दा केही फराकिलो सोच्नेहरू परिवार, महिलाको जैविक शारीरिक संरचना (बच्चा जन्माउन सक्ने क्षमता) लाई नै दोषी देख्छन् । त्योभन्दा पनि अलि अध्ययन गरेकाहरू पितृसत्तात्मक संरचनालाई दोषी मान्छन् । तर फेरि पनि समस्या ज्युँका त्युँ छ ।

महिलामाथि हुने यौनहिंसा जघन्य अपराध हुँदाहुँदै यही परिस्थितिमा त्यस्तो हिंसाको अलग्गै र पूर्ण अन्त्य हुन्छ र गर्न सकिन्छ भनेर कसैले दाबी गर्छ भने त्यसले इतिहासबोधको अभाव झल्काउँछ । तिवारीले भनेको प्रगतिशील मानिएका या लेख्ने–पढ्ने जमातमा विद्यमान महिलाविरोधी सोच–व्यवहारको मात्र हल गर्न पनि नैतिक शिक्षा दिनु वा नेमिङ र सेमिङ मात्रै गर्नु प्रभावकारी उपाय होइन । महिलाको समग्र अवस्थालाई कायम राख्ने विद्यमान समाज–संरचना नै वास्तवमा महिलामाथि हुने विभिन्न विभेद र यौनहिंसाको पनि कारक हो । वैज्ञानिक समाजवादका प्रवर्तकमध्येका एक विचारक एङ्गेल्सले पेस गरेको विश्लेषणबाट हामी महिलाको आजको अवस्था हुनुको कारणसम्म पुग्न सक्छौं । उनले ‘परिवार, निजी सम्पत्ती र राज्यसत्ताको उत्पत्ति’ पुस्तकमा निजी सम्पत्ती र समाजको वर्गीय विभाजनसँगै महिलाको भूमिका र अधिकारमा भएको क्रमिक क्षयीकरणलाई सूत्रबद्ध गरेका छन् ।

आजको भूमण्डलीय पुँजीवादी समाजमा आइपुग्दासम्म महिलाको स्थितिमा केही सुधार त आयो तर फेरि पनि पुँजीवादी समाज धान्न महिलाहरूमाथि दोहोरो दायित्व थपियो । बजारले महिलाको सस्तो श्रमलाई उपयोग गर्न घरबाहिर ल्यायो तर पनि घरभित्रको जिम्मेवारी यथावत् रह्यो । कैयौं तरिकाले महिलामाथि गरिने विभेदको गाँठोलाई आजको पुँजीवादले अझै बलियो बनाइरहेको छ । जस्तै, पुँजीवादले महिलाको शरीरलाई नै वस्तुकरण गर्छ एवं पुँजीवादी संस्कृतिले महिलामाथिको विभेद र हिंसालाई प्रेरित गर्छ तर महिलाको मुक्ति र यौनिक हिंसा अन्त्यका लागि आजको समस्यालाई सही कोणबाट विश्लेषण तथा पुनर्मूल्यांकन गर्न र सही समाधानको बाटोतर्फ लाग्नमा जोड दिँदैन । महिलाको आजको अवस्था हुनुको दोषी मानेर हरेक पुरुषलाई शत्रुवत् व्यवहार गर्नु; प्रतिशोधको भावना राख्नु; महिला–पुरुषको हजारौं वर्षदेखिको सहअस्तित्व, सहकार्य र संसर्गबाट यहाँसम्म आएको मानवताको धरोहरको एक पाङ्ग्रा नै गायब गर्ने तर्क गर्नु र यस्तै तर्कबाजी आजको समस्या समाधानका रूपमा विमर्शमा रहनु दुःखद हो ।

हुन त पुरुषहरूको भूमिकाका सन्दर्भमा गर्नुपर्ने प्रश्नहरूलाई आज नकार्न सकिन्न तर सही समाधानको बाटो त्यही हुन्छ, जब महिला र पुरुष दुवै विभेदको मूलखाँबो पितृसत्तात्मक पुँजीवादी ढाँचालाई नै बदल्ने आन्दोलनमा संगठित र सहयात्री हुन्छन् । शारीरिक क्षमता र विशेषताका आधारमा गरिने भेदभाव सामूहिक रूपमा हल गर्न सकिने विषय हो, जसका उदाहरण हामी तत्कालीन सोभियत संघ र समाजवादी चीनमा भएका प्रयासहरूमा देख्न सक्छौं । परिवार, बालबच्चा र बूढापाकाको हेरचाहको जिम्मेवारी महिलाकै काँधमा मात्र लादिनाले महिलाहरू पछि परेको सत्य हो तर सामूहिक जिम्मेवारी, सामूहिक भान्साघर र घरायसी कामको बाँडफाँट गरेर तत्कालीन सोभियत संघ र समाजवादी चीनले महिलाको परिस्थितिमा आमूल परिवर्तन ल्याएको र महिलाहरू पनि पुरुष सहकर्मीहरूसँगै काँधमा काँध मिलाएर हरेक क्षेत्रमा अघि बढेको ऐतिहासिक यथार्थ हाम्रा सामु छ । नेपालमा पनि विभिन्न समयमा विद्रोह र आन्दोलनमा सहभागी महिलाहरूले आफ्नो अधिकारको लडाइँ लडेर सामूहिक रूपमा लैंगिक समानताको पक्षमा जोडदार पहल गरेको प्रसंग पनि नयाँ होइन ।

वर्गीय, पितृसत्तात्मक समाज र व्यवस्था रहेसम्म न महिला पूर्ण रूपमा स्वतन्त्र हुन सक्छन्, न त यौनजन्य हिंसा नै निर्मूल गर्न सकिन्छ । एक्लै–एक्लै लडेर, यौनहिंसाका पीडितलाई एक्सपोज गरेर वा पितृसत्तात्मक मानसिकतामा प्रहार गरेर मात्र हिंसा र विभेदको भीमकाय जाल पक्कै टुट्दैन । आक्रोशका अभिव्यक्तिले मात्र पनि समस्या समाधानको दिशा लिँदैन, बरु सही वैचारिकी, योजना र संगठनसहित सीमान्तकृत, गरिब र सबैभन्दा सताइएका महिलाहरूबीच गरिने जागरण र संघर्षले नै जनवादी अधिकार प्राप्त गर्दै मूलभूत रूपमा प्रणालीगत समस्यालाई ध्वस्त पार्नेसम्मको अभिभारा लिन सक्छ । यसले मात्रै महिलाको सम्मानपूर्ण बाँच्न पाउने हैसियत र वातावरण बनाउँछ, लोकरञ्जक प्रवृत्तिले संरचनागत समस्या समाधान गर्ने कार्यभारलाई अलपत्रै छाडिदिन्छ ।

प्रकाशित : वैशाख ५, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्

सेताम्य तिलिचो

आश गुरुङ

लमजुङ — सफा नीलो आकाश । टन्टलापुर घाम । चिसो हावाले घाम लागेको अनुभूति छैन । सेतो पछ्यौरी ओढेजस्तै सेताम्य छ तिलिचो ताल । मनाङमा ४ हजार ९ सय १९ मिटरमा अवस्थित यो ताल पुग्नेहरू भन्छन्– तिलिचोले बेला बेला रङ फेर्छ ।

पानी जमेको मनाङको तिलिचोताल । तस्बिर : कान्तिपर

यतिबेला पुग्नेले त्यो अनुभव गर्न सक्छन् । साहसिक यात्रा रुचाउनेको रोजाइको यो गन्तव्य यतिबेला सेतो पछ्यौरी ओढेझैं देखिएको छ । असोजदेखि मंसिरसम्म आकाशभन्दा गाढा नीलो देखिने तालको पानी बर्खायाममा रङविहीन (पानीकै रङ) देखिन्छ । यतिबेला अघिपछि देखेजस्तो नभएको पोखरा छोरेपाटनका दीपेश शाही ठकुरीले बताए । तस्बिरमा नीलो देखिने तिलिचो अहिले सेतो छ । ‘एड्भेन्चर नै हुन्छ भनेर तिलिचो उक्लियौं । ताल अहिले पुरै सेतो छ,’ उनले भने । पोखराकै सन्तोष शाही ठकुरीका हिउँले ढाकिएको ताल देखेर छक्क परे । पुरै जमेको छ ।

काठमाडौंबाट चैत दोस्रो साता तिलिचो घुम्न आएका श्रीधर सिंहले तिलिचोको रूप अनौठो लागेको बताए । ‘पानी पनि जमेछ,’ उनले भने । उनका अनुसार यो यात्रामा खाङसार कटेपछिको पहिरो क्षेत्रमा हिउँले बाटो बिगारेको छ । असहज तरिकाले हातखुट्टा टेकेरै तिलिचो पुग्नेलाई फर्किंदा पनि उस्तै सास्ती छ । तर ताल पुगेपछि भने स्वरूप अनौठो देख्न पाउनु आफैंमा बेग्लै रोमाञ्च अनुभव हुन्छ ।

नार्पाभूमि गाउँपालिका सूचना प्रविधि अधिकृत उज्ज्वल बाँस्तोलाका अनुसार भदौ अन्तिमतिर तिलिचो ताल पुरै नीलो देखिएको थियो । यसपटक पुग्दा ताल जमेर पुरै सेताम्य देखियो । ‘बेसक्याम्पबाट माथि उक्लिएपछि हिउँमै हिँड्यौं । हिउँमा टेक्दै तिलिचो पुग्यौं,’ उनले भने ।

मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार चिसो र हिमपातको समय तिलिचो सेताम्य देखिन्छ । ‘बर्सेनि ३/४ महिना पुरै हिउँ जमेको हुन्छ,’ उनले भने । उनका अनुसार तिलिचो पुसको पहिलो सातादेखि वैशाख आधाआधीसम्म हिउँले भरिन्छ । हिमालमा तापक्रम बढ्दै गएपछि हिउँ पग्लिन्छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार यो समय केही विदेशी र स्वदेशी पर्यटक तिलिचो गएका छन् । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक आगमन बढेसँगै पदमार्गको एउटा गन्तव्य तिलिचो तालमा पनि पर्यटक जान थालेको उनले बताए । सरकारले विदेशी पर्यटकको आगमन खुला गरेको ५ महिनामा १ सय ८८ पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा भित्रिएका छन् । मार्च महिनामा मात्रै १ सय ३७ विदेशी पर्यटक पदमार्गमा भित्रिएको उनले बताए ।

विश्वकै चर्चित ट्राभल गाइडबुक लोन्ली प्लानेटले चक्रीय अन्नपूर्ण पदमार्गलाई उत्कृष्ट १० मा समेटेपछि यसको चर्चा देश–विदेशमा हुने गरेको छ । तर, कोरोना महामारीका कारण पर्यटक अझै नेपाल आउन सकेका छैनन् । यो अवस्थामा अन्नपूर्ण पदमार्ग र यसका गन्तव्यमा पनि पर्यटक आउन नसकेको पर्यटन व्यवसायी त्रिपल पी गुरुङ बताउँछन् । उनका अनुसार सरकारले विस्तारै पर्यटन प्रवर्द्धनका लागि वातावरण बनाउन सके नेपालमा पर्यटक आगमन बढ्नेछ ।

चक्रीय अन्नपूर्ण पदमार्गको ढोका लमजुङको बेंसीसहरबाट करिब ६ घण्टाको मोटरयात्रापछि मनाङको चामे पुगिन्छ । चामेबाट ३ घण्टामा खाङसार पुगिन्छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङसारमा पर्ने तिलिचो ताल पुग्न खाङसारबाट बेस क्याम्पसम्म करिब ५ घण्टा र बेसक्याम्पबाट तिलिचो ताल पुग्न झन्डै ४ घण्टा हिँड्नुपर्छ । ‘बाटाहरू केही अप्ठ्यारा छन् । धर्मशाला, खानेपानीको समस्या छ,’ उनले भने ।

प्रकाशित : वैशाख ५, २०७८ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×