कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

तपाईंलाई पनि परेको छ कि लाखौंको चिट्ठा ?

हो न हो भन्दै सुरजले घरपरिवारलाई थाहै नदिई पटकपटक गरी २२ हजार भारु पठाइदिए । पैसा जम्मा गरेको महिनौं बितिसक्दा पनि उताबाट सम्पर्क नगरिएपछि मात्र सुरजले आफू ठगिएको पत्तो पाए ।
मधु राई

विराटनगर–११ स्थित एउटा उच्च माविमा विज्ञान संकायमा पढ्दै गरेकी सिर्जना राईलाई केही साताअघि ह्वाट्सएपमा ‘तपाईंलाई २५ लाख भारुको चिट्ठा परेको छ’ भन्दै उनको फोटोसहितको संक्षिप्त जानकारी आयो । उनले यसबारे परिवारलाई सुनाइन्, तर कसैले पत्याएनन् । यसरी केही दिनसम्म लगातार चिट्ठाको रकम छुटाउन २५ हजार भारु बुझाउनुपर्छ भनियो ।

तपाईंलाई पनि परेको छ कि लाखौंको चिट्ठा ?

घरपरिवारले नपत्याए पनि सिर्जनालाई कताकता हो कि भन्ने लागेको थियो । तर, उनका बुवाले यस्ता कुरा पत्याउनुको साटो नजिकैको प्रहरीचौकीमा खबर गरे । त्यसपछि प्रहरीले यस्ता घटना अन्यत्र पनि भइरहेको बतायो । अचेल सिर्जनाले त्यस्ता सन्देशबारे वास्ता गर्न छाडेकी छन् ।

दुई वर्षअघि सोही वडाका गाडी सहचालक सुरज सहनीलाई अज्ञात भारतीय नम्बरबाट ‘तपाईंलाई टाटा सुमो परेको छ र कागजात मिलाउन रकम जम्मा गर्नुपर्छ’ भन्ने सन्देश प्राप्त भो । हो न हो भन्दै सुरजले घरपरिवारलाई थाहै नदिई पटकपटक गरी २२ हजार भारु पठाइदिए । पैसा जम्मा गरेको महिनौं बितिसक्दा पनि उताबाट सम्पर्क नगरिएपछि मात्र सुरजले आफू ठगिएको पत्तो पाए ।

के गाउँ, के सहर, को हुनेखाने, को हुँदाखाने, आधुनिक सूचना प्रविधिमा सबैको सहज पहुँच हुन थालेयता साइबर अपराधका यस्ता घटनाहरू बाहिरिन थालेका छन् । पछिल्लो समय किशोर–किशोरीलाई मात्र हैन, गृहिणी र कामकाजी महिलालाई पनि साइबर अपराधीहरूले विभिन्न उपाय अपनाई ठग्ने प्रयास गरिरहेका छन् । पहिले–पहिले अज्ञात नम्बरबाट सम्पर्क गरी ठगी गर्ने कतिपय साइबर अपराधीहरूले पछिल्लो समय भ्वाइस मेल पठाउन थालेका छन् । केही दिनअघि मेरो विद्यालयमा अध्यापन गर्ने सुनिता राईलाई अज्ञात व्यक्तिले हिन्दी भाषामा ‘तपार्इंलाई ५० लाख भारुको चिट्ठा र १० तोला सुन परेको छ’ भनी भ्वाइस मेल पठाए । यद्यपि उनले उक्त कुरा पत्याएकी छैनन्, बरु अरूलाई पनि ती अज्ञात मानिसले पठाएको भ्वाइस मेल सुनाउने गरेकी छन् ।

अचेल साइबर अपराधीहरूले जोकोहीलाई निसाना बनाउन थालेका छन् । लकडाउन अघिसम्म यस्ता घटना फाट्टफुट्ट जनसमक्ष आउँथे, तर पछिल्लो समय यस्ता अपराधहरू ह्वात्तै बढेका छन् । लकडाउनमा अधिकांश विद्यालय र क्याम्पसहरूले अनलाइन कक्षा थालेयता सामाजिक सञ्जालमा विद्यार्थीहरूको सहजै पहुँच हुन थालेको छ । अहिले उनीहरूलाई लक्षित गरी साइबर अपराधीहरूले ठगीका नयाँनयाँ उपाय खोजिरहेका छन् ।

गाउँघरको के कुरा, सहर–बजारका अधिकांश व्यक्ति पनि साइबर अपराधबारे अनभिज्ञ छन् र आफू साइबर अपराधीको निसानामा परे कहाँ, कसलाई, कसरी उजुरी गर्ने भन्ने आधारभूत ज्ञानको कमीले अधिकांश घटना जनसमक्ष आउँदैनन् । सर्वसाधारणमा यसबारेको आधारभूत ज्ञान नहुँदा अपराधीहरूको मनोबल बढ्दै गएको देखिन्छ । पछिल्लो समय कतिपय साइबर अपराधीहरूले भारतीय फोन नम्बर प्रयोग गरी सर्वसाधारणलाई ठग्न थालेका छन् । यसलाई रोक्न हाम्रा साइबर अपराधसम्बन्धी कानुन अपर्याप्त देखिएको छ ।

सञ्चार माध्यमहरूमा साइबर अपराधका घटनाहरू बेलाबेला आउने गरे पनि कुनै अपरिचित व्यक्तिले आर्थिक प्रलोभन देखाई ठगी गर्दै आएका अपराधीहरू समातिएको समाचार भने विरलै आउने गर्छन् । यस्ता साइबर अपराधीहरूले केकस्तो सजाय पाए भन्नेबारे फलोअप समाचार नआउँदा यस्ता घटना पुनरावृत्ति हुने गरेका छन् । यसले गर्दा पनि हाम्रोजस्तो मुलुक साइबर अपराधीहरूका लागि उर्वर भूमि बन्दै गएको छ । आधुनिक सूचना प्रविधिमा जुनसुकै वर्ग, जाति, उमेर र समुदायको पहुँच बढ्नु सुखद भए पनि यसको बेफाइदाबारे सर्वसाधारण अनभिज्ञ हुँदा साइबर अपराधका घटनाले नेपाली समाज आक्रान्त बनाउने खतरा बढ्दै गएको छ ।

हिजोआज सामाजिक सञ्जालमा घण्टौं झुम्मिने अभिभावकहरूले छोराछोरीलाई पनि आफूजस्तै बनाइरहेका छन् । सहरका अधिकांश अभिभावकलाई नै इन्टरनेटमा केकस्तो कुरा हेर्ने भन्ने आधारभूत ज्ञान नहुँदा यसको दुरुपयोग बढ्दै गएको छ । पछिल्लो समय आफूले पाएको सुविधाको सदुपयोग गर्न नसक्दा नेपाली समाजमा सूचना प्रविधिकै कारण विसंगति चुलिएको छ । सेवाप्रदायक संस्थाहरूले पनि आफ्ना उपभोक्ताहरूलाई सचेत गराउन सकेका छैनन्, जसका कारण जुनसुकै उमेर समूहका उपभोक्ताहरू सजिलै साइबर अपराधीहरूको निसानामा पर्ने गरेका छन् । यस्ता विषयलाई ध्यानमा राखेर कपिलवस्तुका ८० विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी प्रहरीले साइबर अपराधबाट बच्न पुस्तिका प्रकाशन गरेको समाचार केही दिनअघि आएको थियो । अन्यत्र पनि साइबर अपराधसम्बन्धी जनचेतना जगाउन यस्तै काम गर्नु फलदायी हुने देखिन्छ ।

साइबर अपराधबारे सबै उमेर समूहलाई सचेत गराउन सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्छ । सरकारले साइबर अपराधसम्बन्धी सन्देशहरू प्रकाशन र प्रसारण गर्नु जरुरी छ भने सञ्चार माध्यमहरूले पनि आर्थिक प्रलोभन देखाई ठगी गर्ने समूहको पर्दाफास गर्न खोजमूलक समाचार दिनु आवश्यक छ । सर्वसाधारणलाई साइबर अपराधबाट बचाउन पनि कोभिड–१९ कै शैलीले रिङटोनमार्फत सचेतना जगाउन सकिन्छ ।

प्रकाशित : वैशाख २, २०७८ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?