कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

छालाको हेरचाह

विनोद ढकाल

अचेल छालाका क्यान्सर भएका धेरै बिरामी अस्पतालमा भेटिन्छन् । छालाका गिर्खाहरू प्रायः शरीरलाई हानि नगर्ने खालका (विनाइङ) र गर्न सक्ने (म्यालिग्नेन्ट) हुन्छन् । प्रायः व्यक्तिमा हुने कोठीहरू विनाइङ स्वरूपका क्यान्सर हुन् ।

कोठीहरू शरीरमा एक किसिमको कोशिकाको उत्परिवर्तन (म्युटेसन) का कारण आउने गर्छ । यो कसैलाई सुन्दरताको द्योतक लाग्ने गर्छ त कसैलाई अनावश्यक । सबैले बुझ्ने भाषामा भन्दा, छाला कालो देखाउने मेलानिन बनाउने कोशिकाको क्यान्सर हो, यो ।

मेलानिन जति धेरै भयो, मान्छे त्यति बढी कालो हुन्छ । कोठी सुरु भएको केही दशकमा पूर्ण स्वरूपमा आउने गर्छ । कोठीहरू हानिकारक हुँदैनन्, तर पछि घातक क्यान्सरमा परिणत हुन सक्छन् । क्यान्सरमै जान सक्ने सम्भावना भए पनि कोठीसँग डराइहाल्नु पर्दैन । साह्रै थोरै मात्रामा यो डरलाग्दो क्यान्सरमा परिवर्तन हुन्छ । उपचार गर्ने नाममा पूरै कोठी काटेर फाले पनि यो क्यान्सरको हानिकारकमा परिवर्तन हुने सम्भावना कम हुँदैन । कोठीबाट रूपान्तरण हुने क्यान्सरलाई मेलानोमा भनिन्छ ।

मेलानोमा सूर्यको नराम्रो विकिरणको (यूभी रेडिएसन) ले गर्दा हुन्छ । कमसेकम आज जन्मिएका एक प्रतिशत बच्चाहरूलाई मेलानोमा हुन्छ भन्ने अनुमान छ । यो छालाको क्यान्सरमध्ये सबैभन्दा खतरनाक मानिन्छ । तर, सुरुवाती अवस्थामा थाहा पायो भने यसको पूर्ण उपचार गर्न सकिन्छ । मेलानोमा प्रायः सूर्यको किरणले प्रत्यक्ष छुन सक्ने शरीरको स्थानमा हुन्छ । नराम्रो विकिरणले कोशिकाहरूलाई क्यान्सरमा परिमार्जन गराइदिन्छ । प्रायः पुरुषको ढाडको माथिल्लो स्थानमा, महिलाहरूको ढाडमा र खुट्टामा आउने गर्छ । यो क्यान्सर वंशाणुगत रूपमा आउने गरेको छ, तैपनि सेतो छाला भएकाहरू, अनि सानै उमेरदेखि शरीरमा सूर्यको विकिरण पर्न सुरु गरेकाहरूमा बढी आएको देख्न पाइन्छ । कालो छाला हुनेहरूको तुलनामा सेतो छाला हुनेहरूले धेरै घाम ताप्दा छालाको क्यान्सर हुने सम्भावना बढी हुन्छ । विशेषगरी छालामा आउने भए पनि यो मुखको भित्री भागमा, आँखामा र खानाको नलीमा जस्ता स्थानमा पनि आउन सक्छ ।

मेलानोमा कोठीभन्दा फरक छ । यसको रङ कालो, खैरो, रातो, गाढा नीलो, खरानी हुन सक्छ । कहिलेकाहीँ सेतो (हाइपोपिग्मेन्टेसन) पनि हुने गर्छ । यो क्यान्सरको गिर्खाको सिमाना बांगोटिंगो हुने गर्छ । सामान्यतया कोठीहरू गोलो हुन्छ, यसका गिर्खा ह्वात्तै बढ्दै वा परिवर्तन हुँदै गयो भने पनि मेलानोमा हो कि भन्ने डर हुन्छ । यो क्यान्सरका क्यान्सर कोशिकाहरू छालामाथि मात्र (सर्फेसमा) बढ्न सक्छ, कहिले छालाभन्दा भित्र छिर्न पनि सक्छ । मेलानोमा शरीरका अन्य अंगमा फैलिएर जान सक्ने भएकाले रोगको छिटो निदानका लागि गिर्खाको शल्यक्रिया गर्नुपर्छ । छालाको मेलानोमा क्यान्सरले सुरुसुरुमा केही संकेत नदेखाउन सक्छ । तर चिलाउने र दुख्ने गरेको पाइएमा शंका गर्नुपर्ने हुन्छ । यो गिर्खा प्रायः दस मिमिभन्दा ठूलो हुन्छ ।

कोठी ६ मिमिभन्दा बढी भयो, चिलायो वा दुख्यो र रंग परिवर्तन भयो भने मेलानोको शङ्का गर्नुपर्छ । यो खतरनाक क्यान्सर भए पनि डराइहाल्न पर्दैन । समयमै शल्यक्रिया गर्‍यो भने उपचार सम्भव छ । अन्य खतरनाक क्यान्सरहरूमा स्क्वामस सेल क्यान्सर, वेसल सेल क्यान्सरहरू पर्छन् । स्क्वामस सेल क्यान्सर पनि घाममा भएका नराम्रा विकिरणका साथै केमिकलको प्रयोग तथा विशेष भाइरसका कारण हुने गर्छ । यो क्यान्सर पनि घामले प्रभाव पार्न सक्ने शरीरका अङ्गहरू जस्तै हातको पछाडिको भाग, अनुहार, ओठ, कान आदिमा आउने गर्छ । क्यान्सर कुनै स्थानमा काउलीजस्तै फक्रेर आउने गरेकाले यसलाई मेडिकल भाषामा ‘काउलीफ्लावर’ भन्ने गरिन्छ ।

वेसल सेल क्यान्सर शरीरका कोशिकाहरूको उत्परिवर्तन भएर हुने गर्छ । यो सबभन्दा बढी पाइने क्यान्सरमा पर्ने गर्छ । विभिन्न प्रकारमा आउने गरे पनि यो गिर्खा सामान्यतया दुईदेखि तीन मिमि, अल्सरजस्तो रातो खस्रो, प्रस्ट सिमाना भएको हुने गर्छ । यो गिर्खा विस्तारै बढ्दै जाने भए पनि अन्य अंगमा सर्दैन । यो क्यान्सरको उपचार पनि शल्यक्रिया नै हो ।

छालाभित्रको कपाल उम्रने, बोसो, पसिना बन्ने र चिप्लो पदार्थ बनाउने ग्रन्थिजस्ता ठाउँमा पनि यो क्यान्सर आउन सक्छ । एचआईभीका कारण पनि कापोसी सार्कोमा नामक क्यान्सर छालामा आउने गर्छ । भनाइ नै छ, जिन्दगी जिउनु भनेको सधैं क्यान्सरको सम्भावना लिएर बाँच्नु हो ।

प्रायः वृद्धमा पाइने गरे पनि आजकाल युवा अवस्थामा पनि यस्ता क्यान्सरहरू पाइन्छन् । र, महिलाभन्दा पुरुषमा बढी पाइने अध्ययनले देखाएको छ । १२ बजेभन्दा उताको घाममा नबस्ने, नचाहिँदा केमिकल र कस्मेटिक प्रयोग नगर्ने, स्वस्थ खाना खाने अनि नियमित व्यायाम गर्‍यो भने छालाका क्यान्सरलाई न्यूनीकरण गर्न सकिन्छ । छालामा पहिल्यै भएका गिर्खाहरू साह्रो हुने, चिलाउने, दुख्ने, ठूलो हुने गर्‍यो भने उपचार गराइहाल्नुपर्छ ।

(ढकाल काठमाडौं विश्वविद्यालय, धुलिखेल अस्पतालका चिकित्सक हुन् ।)

प्रकाशित : वैशाख १, २०७८ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?