कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

यौन हिंसाको प्रतिवादमा

आजको समयमा दैनन्दिन बोली–व्यवहारका कदम–कदममा असल र साँच्चिकै संवेदनशील पुरूषका रूपमा खरो उत्रन पुरुषले ‘पुरुष’ भएर मात्रै होइन, ‘मानिस’ भएर सोच्नुपर्ने छ । कम्मरमुनिबाट होइन, तालुभित्र पसेर सोच्नुपर्ने छ ।
संसद्‌देखि अखबारका पानासम्म फैलिएर बोल्ने, लेख्ने मानिसहरू नै एक जिन्दगीमा दोहोरो–तेहोरो चरित्र बोकेर हिँडिरहेका छन् भने जनसामान्यसँग कस्तो अपेक्षा गर्ने ?
सरिता तिवारी

सन् २०१८ मा दक्षिण अमेरिकी देश चिलीको सरकारले राजधानी स्यान्टियागोस्थित हवाई अड्डाको नाम फेर्ने निर्णय गर्‍यो । प्रस्तावित नाम अस्वीकार गर्दै त्यहाँका मानवअधिकारकर्मी र नारीवादी समूहहरूले ठूलो आपत्तिसहित विरोध प्रदर्शन गरे ।

यौन हिंसाको प्रतिवादमा

चिलीको वायुसेनाका संस्थापक अर्टुरो मेरिनो बेनिजको स्मरणमा नामकृत उक्त हवाई अड्डाका लागि सिफारिस गरिएको नयाँ नाम थियो— विख्यात चिलियन कवि पाब्लो नेरुदाको । नेरुदा तिनै कवि हुन्, जसलाई संसारभरका कविताप्रेमी र क्रान्तिकारीहरू आफ्ना अनन्य आदर्श मान्छन् ।

नेरुदा भूगोलका साँध फड्केर लोकप्रियताको चुली टेक्ने विलक्षण कवि मात्रै थिएनन्, राजनीतिकर्मी र कूटनीतिज्ञसमेत थिए । यही नाताले सन् १९२९ ताका उनी श्रीलङ्काका लागि चिलीका राजदूत नियुक्त गरिएका थिए । सरकारले उनको सम्मानस्वरूप हवाई अड्डाको नाम फेर्न गरेको निर्णय अधिकारकर्मीहरूको निसानामा पर्नुको कारण थियो, उनैले लेखेको पुस्तक ‘मेमोयर्स’ । उक्त पुस्तकको एउटा सानो अंशमा श्रीलङ्का बसाइका क्रममा नेरुदाबाट ‘हाउसमेड’माथि भएको बलात्कारको घटना उल्लेख छ । यो घटनाबारे लेख्न प्रेरित गर्ने उनको ‘कवि इमान’ थियो कि पुरुष अहंकार ? यो फरक विषय भयो ।

हुन त साम्यवादी विचारका प्रवर्तक कार्ल मार्क्स स्वयम्ले पटकपटक ‘हाउसमेड’माथि बलात्कार गरेका प्रसंग सुनिन्छन्, पढिन्छन् । कम्युनिस्ट दर्शनशास्त्रको संस्थापन गरेको, गरिखाने वर्गका लागि महान् विचारधारा दिएर छोडेको मूल्यमा हामीले मार्क्सको बलात्कारी छविलाई सायद जानीजानी विस्मृतिमा धकेलिदिएका छौं । नेरुदा तिनै मार्क्सका मानस सन्तति थिए ।

प्रख्यात कोलम्बियाली लेखक मार्खेजका शब्दमा, उनी ‘बीसौं शताब्दीका महान् कवि’ थिए; तर चिलीका अधिकारकर्मी महिलाहरूले भने नेरुदालाई न्यायप्रेमी र महान् कवि होइन, ‘बलात्कारी’ हिंस्रक पुरुष देखे । अधिकारकर्मी महिलाहरूको व्यापक विरोधका कारण सरकार आफ्नो निर्णय फिर्ता लिन बाध्य भयो । त्यस घटनायता चिलीभित्र ‘महान्’ कवि पाब्लो नेरुदाको परिचयले एकप्रकारको संकट सामना गरिरहेको छ, भलै देशबाहिर उनको ख्यातिमा त्यस्तो उल्लेख्य कमी नआएको किन नहोस् ।

यसै विषयलाई लिएर सर्जक, लेखकको नाम र लोकप्रियतालाई व्यावसायिक ब्रान्ड दिनु कति ठीक हो भन्ने प्रसंगसमेत उठान गर्दै ‘पोएट, हिरो, रेपिस्ट’ शीर्षक रिपोर्टमा ‘गार्डियन’ पत्रिकाले चिलीकै लेखकहरूलाई उद्धृत गरेर भनेको छ, ‘उनको प्रभावशाली लेखनशक्तिलाई खारेज गर्न त मिल्दैन, तर उनी बलात्कारी भएको तथ्यमा आँखा चिम्लेर उनको आदर्शीकरण गर्न पनि सकिन्न ।’ यसरी पाब्लो नेरुदाजस्ता लेखकको ‘महानता’ उनैले लेखेको चार दशक पुरानो संस्मरणका आधारमा प्रश्न र अस्वीकारको घेराभित्र परेको छ । यसबाट नेरुदाका नेपाली चेला–चपेटाले के कति ‘नैतिक पाठ’ सिकेका होलान्, कुन्नि !

आजको समयमा दैनन्दिन बोली–व्यवहारका कदम–कदममा असल र साँच्चिकै संवेदनशील पुरुषका रूपमा खरो उत्रन पुरुषले ‘पुरुष’ भएर मात्रै होइन, ‘मानिस’ भएर सोच्नुपर्ने छ । कम्मरमुनिबाट होइन, तालुभित्र पसेर सोच्नुपर्ने छ । जसले यसरी सोच्दैन, यसरी व्यवहार गर्दैन, ढिलोचाँडो उसले संगठित प्रतिरोधको सामना गर्नुपर्नेछ । किनभने यो आज हो, हिजो होइन । यो सहने र प्रतिक्रियाहीन भएर बस्ने युग होइन । हामीलाई थाहै छ, आजका महिलाले पीडकको होस ठेगान लगाउन नेरुदावाला प्रकरणजस्तो चालीस–चालीस वर्ष कुर्नु पर्दैन । आज ‘पीडित भनिएकी व्यक्ति पागल हो, सन्काही हो अथवा पुरानो बदला लिएकी हो’ भनेर अकारणै पत्याइदिने मानिसहरू पनि खासै छैनन् ।

पछिल्लो समय हामीकहाँ यौनजन्य हिंसाका विषयमा पटकपटक विभिन्न माध्यमबाट विमर्श र बहस भइरहेका छन् । केही पहिले मात्रै हामीले प्रसिद्ध राजनीतिकर्मी तथा लेखक मोदनाथ प्रश्रितको धरातल देख्यौं । अस्ति भर्खर राजनीतिकर्मी रघुजी पन्तले पनि आफ्नो चिन्तनको औकात देखाए । प्रकट या प्रच्छन्न रूपमा हाम्रो राजनीति र लेखनमा थुप्रै प्रश्रित, थुप्रै पन्तहरू छन् भन्ने कुरा हामी भलिभाँती जान्दछौं । ‘प्रगतिशील’ ट्यागका कारण कम्युनिस्ट विचारसम्बद्ध अगुवा र लेखकका नैतिक हैसियत प्रकट हुँदा हामीलाई स्वाभाविक रूपले बढी झोंक चल्ने हो ।

यौनिकता र शरीरसँग जोडिएका विषयहरूले खुला बहसको रूप लिँदै जाने र नयाँ पुस्ताका महिलाहरू (केही पुरुषसमेत) हिंसाको प्रतिवादमा ऐक्यबद्ध भएर प्रकट हुने क्रम बढ्दो छ । राजनीति, लेखन र पत्रकारिताका ‘दाइ’ समुदायमाथि चौकिदारी गर्ने सतर्कता पनि बढ्दो क्रममा छ । यी सबै कुराले हिंसाजन्य विषयमा अझ कठोर भएर सोच्न हिम्मत दिन्छन्, व्यक्तिगत स्तरमा आफ्नै बर्कतले लडेर त्यस्ता लडाइँलाई कानुनी या नैतिक उपचारको किनारामा पुर्‍याउनसमेत बल दिन्छन् ।

केही दिनअघि, भर्खरै थालिएको नयाँ संवाद सञ्जाल ‘रेडिट’ मार्फत यौन हिंसासम्बद्ध घटना र त्यसका पीडितको संक्षिप्त बयान बाहिर आएपछि छलफल फेरि सतहमा प्रकट भएको छ । हिंसा घटित भएको अवस्थामा पीडक जतिसुकै निकट सम्बन्धको व्यक्ति होस् या शुभेच्छु र साथी नै किन नहोस्, घटनालाई हेर्ने नजर सबैभन्दा पहिले पीडितदर्शी हुनुपर्छ । यसरी हेर्दा लेखक, पत्रकार, बुद्धिजीवी र बौद्धिक सरोकार राख्ने वर्गप्रति नै फर्केर कठोर प्रश्न गर्नुपर्ने अवस्था छ । पंक्तिकार आफैं प्रगतिशील विचार आन्दोलनसँग जोडिएकाले यस्ता प्रश्न अझ बढी आफ्नै निकटका अग्रज र मित्रवर्गसँग गर्नुपर्नेछ ।

आजका मितिसम्म आइपुगेर सोच्दा के लाग्छ भने, तपाईं जतिसुकै प्रजातान्त्रिक, न्यायप्रेमी र क्रान्तिकारी किन नहुनुस्, महिलाको शरीर र आत्मसम्मानलाई व्यवहारतः सम्मान गर्ने सफा नियतको अभावमा तपाईंका सबै परिचय गौण बन्छन् । तपाईंमा यौनजन्य हिंस्रक प्रवृत्ति छ र त्यसले सिर्जेका घटना सार्वजनिक भए भने तपाईंका अन्य सबै सद्गुण ‘शून्य’ मा विलुप्त हुन्छन् । महिलाप्रति तपाईंको सदाशय र मैत्री हरदम परीक्षामा छ आज । अर्को शब्दमा, तपाईंको ‘पुरुषत्व’सँगै तपाईंभित्रको मानवीय र ‘न्यायिक’ चरित्र नै परीक्षामा छ । हिजो थिएन भन्ने होइन, तर आज बढी छ । किनभने हिजोजसरी तपाईंका कर्तुत लुकाउने सजिला अस्त्र आज छैनन्, ढिलोचाँडो तपाईंको दोहोरो चरित्रको मुखुन्डो खुल्छ र तपाईं प्रतिकारको निसानामा पर्नुहुन्छ । त्यसो भएको खण्डमा तपाईं सानो या ठूलो जुनसुकै स्तरको सार्वजनिक बेइज्जती खप्न तयार हुनुपर्छ, जीवित हुँदा होस् या मरणोपरान्तसमेत ।

घटनाक्रमहरूले देखाए, राजनीतिक रूपले सचेत र लेख्ने–पढ्ने वर्गका पुरुषहरूसमेत कतिसम्म हिंस्रक हुँदारहेछन् ! यहाँनेर यौनजन्य या लैंगिक हिंसा कामवासनाको उद्देश्यबाट प्रेरित भएर शरीरको हर्कतले मात्रै गरिँदैन; तुच्छ, फोहोरी, हेपाहा बोलीले, इसारा र संकेतले पनि गरिन्छ भन्ने कुरा भुल्नु हुँदैन । यस्ता हिंसाका घटना, सन्दर्भ र प्रकरणहरूको तथ्यांक नै राख्ने हो भने देशका नाम चलेका लेखक, राजनीतिकर्मी, पत्रकार लगायतको लामो सूची तयार हुन्छ । पछिल्ला दिनमा आएर ‘ह्यासट्याग मिटु’ अभियानको प्रभावले सामाजिक सञ्जालमार्फत बाहिर निस्केका स्वरहरूकै कुरा गर्ने हो भने यो सूची अझै लामो हुनेछ ।

महिलामाथिका यौनजन्य हिंसाका रूप र प्रकृति फरक होलान्, तर सारमा तिनको उत्प्रेरक एउटै हो— पितृसत्ताले ‘प्राधिकारस्वरूप’ पुरुष वर्गलाई दिएको निरन्तरको विशेषाधिकार । महिलाको शरीर र संवेदनामाथिको पुरुष हस्तक्षेप समाजको सामान्य र प्रचलित ‘आदत’ नै हो र यस्तो चलिरहन्छ भन्ने मनोविज्ञान पितृसत्ताको उत्तरदान हो । यसको विस्तार सामन्तवादी सनातन पितृसत्तामा मात्रै होइन, उदार भनिएको पुँजीवादी पितृसत्ताका समेत सबै आयाममा भेटिन्छ । दुःखको कुरा के हो भने, लिट्टी कसेर सामन्तवादी र पुँजीवादी पितृसत्ताको आलोचना गर्ने, राजनीतिक चेतना नै सबै चेतनाको मूल हो भन्ने र महिला मुक्तिका विषयमै समेत भरमार लेखिटोपल्ने वरिष्ठ, कनिष्ठ लेखकहरूमै यो समस्या डरलाग्दो स्तरमा देखिन्छ । कार्ल मार्क्स र पाब्लो नेरुदाका नेपाली शिष्य वर्गले उनीहरूको हिंस्रकवृत्तिको अनुकरण गर्न कुनै कसर बाँकी राखेका छैनन् ।

यौनजन्य हिंसाको विशालतम आयामलाई साँघुरो पारेर बौद्धिक कर्म गर्ने ‘विवेकशील’ वर्गलाई मात्रै हेर्दा पनि यिनको चरित्र आम अन्य वर्गभन्दा फरक देखिएन । बौद्धिक क्षेत्रमा समेत सबै खाले पुलिङ्गी हिंसाका ‘प्राधिकृत’ रूप हुबहु देखिन्छन् भने बाँकी समाजको हालत के होला ? संसद्देखि अखबारका पानासम्म फैलिएर बोल्ने, लेख्ने मानिसहरू नै एक जिन्दगीमा दोहोरो–तेहोरो चरित्र बोकेर हिँडिरहेका छन् भने जनसामान्यसँग कस्तो अपेक्षा गर्ने ?

सामान्यतया सोचिन्छ, लेख्ने–पढ्ने पुरुषहरू विवेकसम्मत हुन्छन्, तर त्यो विवेकको कसीमा महिलाको शरीर र संवेदनासँग जोडिएको पुरुषको धारणा मूल्यांकन नै हुँदैन । परिणाम, खुलेआम मैले यतिजना महिलासँग शारीरिक सम्पर्क गरें भन्दै हिँड्ने पुरुष बकाइदा ठूलो लेखक, सम्पादक या ख्यातनाम पत्रकार भइरहन सक्छ । यिनै परिचयमा उसले गरेका हिंसाका कर्तुतहरू उसका ‘रोमाञ्चकारी’ किस्साका रूपमा बयान गरिन्छन् । अग्रज पुस्ताका यिनै किस्सा सुन्दै र देख्दै हुर्केको अनुज पुस्ताले तिनै ‘आदर्शीकृत’ पात्रको नक्कल गर्दा गौरव गर्छ । यो खराब संस्कारको परिणामचाहिँ कसरी ठीकठाक र हामीले सोचेजस्तो दुरुस्त भएर आउँछ ? यसबारे तालुभित्र पसेर विचार गर्ने, ‘मानवीय’ संस्कारका पुरुषहरूले पनि कठोरतापूर्वक सोच्न ढिलो भइसकेको छैन र ?

आजका महिलाहरूमा उल्लेख्य रूपले वृद्धि हुन थालेको स्वअस्तित्व र आत्मसम्मानप्रतिको सचेतताले सहने र चुप लाग्ने ‘डर’को घेरा तोडिरहेको छ । पीडित नै दोषी ठहरिने र पीडितकै सार्वजनिक बदनामी हुने परम्परित ‘न्याय’ले निर्धारण गरेका मानक भत्कँदै छन् । सामाजिक सञ्जालका विभिन्न माध्यमबाट महिलाहरू आफूले बेहोरेका हिंसाका घटना सार्वजनिक गर्न निडरतापूर्वक अगाडि आइरहेका छन् । उनीहरू हिंसा विषयक छलफल गर्ने र हिंसाविरुद्ध ऐक्यबद्धता जाहेर गर्ने त्यस्ता अनेक स्पेसहरू निर्माण गर्नसमेत सक्षम भएका छन् । विश्व समुदायसँग सजिलै जोडिने सामाजिक, सूचना सञ्जाल र यसैकारण उपलब्ध भइरहेको ज्ञानको सापेक्षित विस्तारले इन्टरनेट पुस्ताका आजका किशोरी र युवा स्त्रीहरूमा बढिरहेको आत्मविश्वास लोमहर्षक छ । यो कुरा हिंस्रक चित्तका पुरुषहरूका लागि खतरासूचक घण्टी हो ।

लेखक पंकज मिश्रका भाषामा, आजको युग आक्रोशको युग हो । तपाईं कसैलाई स्त्री शरीर लिएर जन्मेकैले ‘इरिटेट’ गर्न, उसको अस्तित्वमाथि धावा बोल्न, उसलाई मानसिक रूपले गिजोल्न र पराजित गर्न मजा मान्नुहुन्छ भने निश्चित हुनुस्, तपाईंले यसको भयानक मूल्य चुकाउनुपर्ने छ । हजारौं वर्षको एकोहोरो हिंसाले लखतरान महिलाको चेतना यति थङ्थिलो पारिसकेको छ, अब ऊ आत्मसम्मानको मूल्यमा सबै कुरा गुमाउन तयार छ । परिवार, साथीहरू र यहाँसम्म कि कथित इज्जत जाने भयसमेत !

पुरुष मित्रहरू, सतर्क हुनुस् । आजका सचेत महिलाको हजारौं वर्षदेखि थेग्रिएको यो आक्रोशसँग डराउनुस् ।

प्रकाशित : चैत्र ३१, २०७७ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?