किन सधैं आलोचित हुन्छ प्रशासन ?

प्रशासनलाई निमोठेर होइन, कजाएर नै उसमा निहित विज्ञता र व्यावसायिकताको उपयोग गर्न सकिन्छ ।
गोपीनाथ मैनाली

आधुनिक समाज शासन र प्रशासनबाट पोषित, निर्देशित र नियन्त्रित छ । व्यवस्थित समाजको कुनै पनि सदस्य राज्यले छुट दिएबाहेक यो प्रक्रियाबाट अलग रहन सक्दैन । शासन (गभर्नमेन्ट) र प्रशासन (गभर्नेन्स) ले आर्जन गर्ने विश्वास र लिने अग्रसरताले समाज व्यवस्था गतिशील हुँदै जान्छ ।

किन सधैं आलोचित हुन्छ प्रशासन ?

यी दुईबीच सैद्धान्तिक सीमा भए पनि व्यावसायिक विभाजन नहोस् भन्नका खातिर ‘गभर्नेन्स’ (बृहत् व्यवस्थापन आयामलाई सम्बोधन गर्ने) शब्दको विकास भएको हो । तर पनि जनमतका कारण राजनीतिमा शक्तिको दम्भ र मेरिटका कारण प्रशासनमा प्रवीणताको दम्भ चेतन–अवचेतन तहसम्म गढेको हुन्छ । दुवै संस्थाको डीएनएमा रहेको कुरा व्यवहारमा देखिने गर्छ । तर संस्थाहरूको जीवन्तता दम्भमा होइन, उमङ्गमा देखिनुपर्छ; उमङ्गले गतिशीलता दिन्छ । संस्था विकासको सिद्धान्त यसैको वरिपरि घुम्छ ।

उदार राजनीतिज्ञ र सार्वजनिक प्रशासनका पिता वुड्रो विल्सनले सतर्कतापूर्वक सार्वजनिक प्रशासन र राजनीतिको कार्यक्षेत्र विभाजन गरेका थिए । विल्सन प्रशासनका अध्येता थिए र अमेरिकी समाजमा विकास हुँदै गएको ज्याक्सोनियन ल (स्पोइल सिस्टम) का कारण अमेरिकी कंग्रेस, सरकार र प्रशासनमा परेको नकारात्मक असरबाट आजित भई यसैका बारेमा सन् १८८४ देखि कलम चलाउँदै आएका थिए । उनले सन् १८८७ मा विकास गरेको ‘डिकोटोमी प्रिन्सिपल’ (राजनीति र प्रशासनको सीमा विभाजनको सिद्धान्त) पछि दुई कारण थिए । पहिलो, प्रशासन भनेको विज्ञता चाहिने क्षेत्र हो; यसलाई राजनीतिक रस्साकसी र विचार–विमर्शको छायाछिटोबाट अलग राख्नुपर्छ । दोस्रो, प्रशासन जीवन्त स्थायी संस्था हो; यसलाई व्यावसायिक मूल्य, सिद्धान्त र आचरणका आधारमा संस्थागत हुन दिनुपर्छ । उनी अमेरिकाको अट्ठाइसौं राष्ट्रपति बने र आफ्ना सिद्धान्तलाई व्यवहारमा उतारे पनि । उनी भन्थे— राजनीतिक बोटलनेकमार्फत आएका जनभावनालाई प्रशासनले व्यावसायिक स्वतन्त्रतामा व्यवस्थापन गर्छ, जतिखेर यसले राज्य–इच्छाको रूप पाइसकेको हुन्छ ।

तर, कतिपय राजनीतिशास्त्रीले नीति र व्यवस्थापनलाई छुट्याउन नसकिने जिकिर गरिरहे भने कतिपयले राजनीतिका कमीकमजोरीको भारी र असफलताको अपजसको विवर्तन प्रशासनमाथि गर्न थाले । चलाख राजनीतिज्ञहरू भने प्रशासनिक विद्वत्तामा विश्वास गरी नीतिज्ञानको राजनीतीकरण गर्न पछि परेनन्, जसले राम्रो संकेत पनि दियो । सन् सत्तरीको दशकबाट राजनीतिज्ञ र प्रशासकहरूबीचको सौदाबाजी कसिलो बन्न थाल्यो ।

‘ह्वाइट हाउस कल्चर’ सुधारका नाममा मार्गरेट थ्याचरले यही प्रवृत्तिलाई बढावा दिइन्, अस्ट्रेलियामा ह्वीटलम–हायकको समयमा मन्त्रीले नै आफ्नो विभाग चलाउँछ भन्ने अवधारणामा प्रशासनको बाइपास च्यानल नै निर्माण गरियो । युरोप, अमेरिका, एसिया सबैतिर प्रशासनका सैद्धान्तिक र व्यावहारिक विकल्पको धूवाँदार खोजी गरियो । तर, यी अवधारणा र अभ्यासहरू राजनीतिक समाजबाटै निकै आलोचित भए । व्यवस्थित समाजमा सार्वजनिक प्रशासनको व्यावहारिक विकल्प भेटिएन, भेटिन सक्ने सम्भावना पनि भेटिएन; त्यसैले यो राजनीतिक प्रणालीको अप्रिय तर अपरिहार्य साथीका रूपमा रहँदै आयो । यसको वास्तविक विकल्प व्यावसायिकताको अरू विकास र पेसागत सदाचार संस्थानीकरण मात्र हो, त्यसको अभिभावकत्व भने राजनीतिले नै लिने गर्छ भन्ने निष्कर्ष निकालियो ।

राज्यसञ्चालनका नीति धरोहर र प्राविधिक पक्षबीच किन मनोवैज्ञानिक रूपमा सौहार्दपूर्ण सम्बन्ध हुँदैन त भन्दा यसका पृष्ठभूमि र चारित्रिक विशेषताको सन्दर्भ उल्लेख गर्नुपर्ने हुन्छ । पहिलो, यी दुईको कार्यसम्पादन उद्देश्यमा भिन्नता हुन्छ । राजनीतिले शक्तिका लागि काम गर्छ भने प्रशासनले कार्य–उपलब्धिका लागि । राजनीतिक प्रणालीले स्थापित गरेको उद्देश्य पूरा गर्नु प्रशासनको सर्वस्व हो । राजनीति जे भन्छ/गर्छ, त्यो शक्तिप्राप्तिको खातिर हो । शक्ति प्राप्तिको जुक्ति (रणनीति) राजनीतिले समयसमयमा फेरिरहन्छ । तर त्यसैसंँग अनुकूलित हुने सहुलियत प्रशासनमा हुँदैन र आलोचित हुन थाल्छ ।

दोस्रो, राजनीति आवधिक रूपमा काम गर्ने वर्ग हो; आवधिक रूपमा जनादेशको नवीकरण राजनीतिको बाध्यता हो । प्रशासन वृत्ति स्थायित्वमा रहन्छ । कर्मचारीले एकपटक योग्यता प्रणालीबाट प्रवेश गरेपछि अन्यथा पुष्टि नहुन्जेल जीवनभर वृत्तिसुविधा पाउँछ । यस परिस्थितिले सिर्जना गर्ने वृत्ति–ईर्ष्या व्यवहारमा पोखिँदा पनि प्रशासन आलोचित हुनपुग्छ । प्रशासनको अभिमुखीकरण नै मूल्यबोधी हुन्छ; मूल्यबोधी हुनु उसको आचरण हो । राजनीति प्रियतामा रमाउँछ; निश्चित अवधिमै जनभावना पूरा गर्ने अभीष्ट राजनीतिले बोक्छ । तर प्रशासन विधि र नीति–निष्ठाबाट अलग हुन चाहेर पनि सक्दैन ।

यस अवस्थामा प्रशासन राजनीतिसँग लय मिलाउन नसक्ने प्रक्रिया उत्पादक संस्थाका रूपमा फेरि आलोचित हुन्छ । राजनीति निश्चित दर्शन, विचार र आग्रहबाट क्रियाशील हुन्छ, जुन राजनीतिको मूल्य हो । तर प्रशासन राजनीतिक मूल्य तटस्थतामा रहन्छ; कुनै पनि विचार, दर्शन र आस्थाभन्दा पर रहनु प्रशासनको आदर्श हो । राजनीतिले आफ्ना विषयमा, जनतासंँगका वाचा र आफ्ना कार्य–उपलब्धिका विषयमा बोल्न पाउँछ । तर प्रशासनको मन ठूलो भए पनि मुख निकै सानो हुन्छ र राजनीतिले अनुमति दिएभन्दा बढी बोल्ने सहजतामा ऊ हुँदैन ।

राजनीतिक प्रणालीले दिन नसकेको उपलब्धि र दृष्टि–व्यवहारको अपजस पनि प्रशासनका भागमा पर्छ । त्यसको प्रतिवाद पनि प्रशासनले गर्न सक्दैन । विरोधाभासजस्ता देखिने यस्ता असहजता हुँदाहुँदै पनि राजनीतिक प्रणालीको विश्वास जित्नु, विश्वास जित्नका लागि व्यावसायिक सीप र कौशल प्रयोग गर्नु प्रशासनको कर्म हो । सधैंभरि राजनीतिक प्रणालीसंँग रहेर राजनीतिक निष्पक्षता कायम गर्नु प्रशासनको चुनौती र सफलता दुवै हो । यस अवस्थामा प्रशासन र राजनीति दुवै समृद्ध हुन्छन् । जब यो अवस्था विशृङ्खलित हुन्छ, आलोचना सुरु हुन्छ । यस अवस्थामा प्रशासनको राजनीतीकरण हुन सक्छ, त्यो बढ्दै गएमा राजनीतिको कर्मचारीतन्त्रीकरण हुन पुग्छ र प्रशासनले व्यावसायिकता अनि राजनीतिले नियन्त्रणको भूमिका गुमाउँछन् । संस्थाहरू मूल्यपरस्त हुँदैनन् र उपेक्षामा सर्वसाधारण पर्ने गर्छन् । अनि दुवै संस्था सर्वसाधारणबाट आलोचित हुन पुग्छन् ।

कहिलेकाहीँ प्रशासनिक प्रणालीले नै आफूमाथि आलोचनाको बहाना उपलब्ध गराइदिन्छ । कर्म गर्ने कर्मचारी जब कर्मको आचारणबाट आफ्नो औचित्य पुष्टि गर्न सक्दैन, नीति, निष्ठा र आचरणमा कमजोर देखिन्छ, उसको स्वाभाविक आलोचना सुरु हुन्छ । सुविधामा रमाउने, काममा लजाउने वा गर्नभन्दा गरेजस्तो देखाउने तानाबाना बुन्नपट्टि लाग्ने कर्मचारीका कारण पनि प्रशासनको आलोचना हुन्छ । पदलाई जिम्मेवारीभन्दा अवसरका रूपमा लिने र निजामती सेवालाई राष्ट्रसेवाभन्दा जागिरे वृत्तिका रूपमा लिने, ओहदा बढाउनुलाई वृत्तिविकास सम्झने मनोवृत्तिले आलोचनालाई सजिलो बनाउँछ । पेसागत सदाचार नाघेर अवसरका लागि उद्यत बन्ने भावना हावी हुँदा निष्ठाका धरोहरहरू किनारा लाग्छन्, राजनीतिक प्रणालीका असल सोचहरू नीति ढाँचामा प्रक्रियाबद्ध हुन पाउँदैनन्, अनि समग्र प्रणाली नै आलोचित हुन्छ । सेवामा रहनुपर्ने विनयशीलतालाई पदीय अहम्ले थिच्दा यो आलोचित हुन्छ ।

विज्ञताको शक्ति (एक्स्पर्ट पावर) अधिकार शक्ति (अथोरिटी पावर) बाट विस्थापित भएमा पनि प्रशासन आलोचित हुन्छ । मेरिटको दम्भमा रहेर पनि समाधान र प्रवर्तन दिन नसक्दा, ब्युरोप्याथोलोजी र ब्युरोसिसबाट ग्रस्त हुँदा सर्वसाधारणको मन जित्न नसकेर प्रशासन आलोचित हुन्छ । अनुचरवादबाट विकास भएको जी–हजुरी संस्कृतिका कारण पनि प्रशासन आलोचित हुँदै आएको छ । एन्थोनी जे र जोनाथन लिनले ‘यस मिनिस्टर’ शृङ्खलामार्फत प्रशासनलाई ‘हुन्छ बहादुर’ भन्दै धज्जी उडाए । बिल क्लिन्टनले ‘हवस्’ भन्ने होइन, ‘नाइँ’ भन्न सक्ने निडर कर्मचारी चाहेको भनी शिष्टतापूर्वक व्यावसायिक सदाचारको माग गरेका थिए, त्यो पनि बौद्धिक आलोचना नै थियो । एकजना राजनीतिज्ञले, जो पछि गैरसरकारी क्षेत्र हुँदै प्रशासनभित्रको अनुभवसहित बाहिर निस्के र भने, ‘आफू निकम्मा हुनु छ भने प्रशासनमा प्रवेश गरे पुग्छ । एक–दुई वर्षमै यसले मानिसलाई निकम्मा बनाइदिन्छ ।’ उनको अभिव्यक्तिका कारण कर्मवीर सबै कर्मचारीको मन त दुख्यो नै, तर यसले प्रणाली किन आलोचित हुन्छ भन्ने सन्देश पनि दिएको छ; सुधारको बाटो पनि देखाएको छ ।

विचारक, दार्शनिक, अनुसन्धाता र राजनेताहरू प्रशासनलाई आलोचना गरेर होइन, व्यावसायिकतामा कजाएर नै आदर्श बनाउन सकिने निष्कर्षमा छन् । आचार्य चाणक्यले कर्मचारीको विलक्षण गुण राज्य सञ्चालनको आधार बताएका थिए । जापानको अत्यासलाग्दो विकास मेजीकालदेखिको प्रशासनिक निरन्तरताको परिणाम हो । कोइजुमीको सुधार योजनामा प्रमुख सहयोग मुख्य सचिव होसोदाको थियो । सन् १९६५ मा मलेसियाबाट पुनः छुट्टिएर विकासको यात्रा थालेको सिङ्गापुरलाई समृद्ध बनाउन ली क्वान युले तत्कालीन मुख्यसचिवसहित २५० कर्मचारीको साथ–सहयोग लिएका थिए । ब्राजिलका आन्तरिक सुधार मन्त्री पेरेइराले कर्मचारीलाई अनिर्वाचित जनप्रतिनिधिको उपमा दिएका थिए । वुड्रो विल्सनले कर्मचारीलाई जीवित संविधान भने, संविधानका अक्षरहरूमा प्राण भर्ने काम केवल प्रशासनले गर्न सक्ने भएर त्यति प्रशंसा गरिएको होला ।

भारतीय संविधानसभाको बहसमा भारतलाई ‘भारत’ (अक्षुण्ण, ठूलो) बनाइराख्न कर्मचारीतन्त्रले सम्भव बनाएको भनी बल्लभभाइ पटेल लगायतले प्रशंसा गरी निजामती सेवालाई संविधानमै स्थान दिए । सबल लोकतन्त्रका साथ समृद्धि हासिल गरेका मुलुकहरूमा प्रशासन एउटा संस्था बनिसकेको छ । त्यसैले प्रशासन सद्गुणहरूको संगम हो । प्रशासनलाई निमोठेर होइन, कजाएर नै उसमा निहित विज्ञता र व्यावसायिकताको उपयोग गर्न सकिन्छ । प्रशासन जीवन्त प्रणाली भएकाले पनि उसभित्रका संवेदना, सीप र अनुभूतिको कदर गरिएपछि आफ्नो विलक्षणता काममा देखाउने गर्छ । यो विवेकशील संयन्त्र हो, जो स्वभावैले राम्रो गर्ने चाहनामा हुन्छ; जब राम्रोले पहिचान पाउँछ, अनि यो साँच्चिकै सद्गुणहरूको संस्था बन्न सक्छ । भर्ना–छनोटको निष्पक्षता मात्र पर्याप्त हुन्न, वृत्तियात्राभरि नै निष्पक्षता र योग्यता फ्रणालीको न्यायिक व्यवहार चाहिन्छ ।

प्रकाशित : चैत्र ३१, २०७७ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?