दूधको गुणस्तरमा ध्यान देऊ- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दूधको गुणस्तरमा ध्यान देऊ

सम्पादकीय

दूध तथा दुग्धजन्य सामग्रीका लागि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) लोकप्रिय छ । उत्पादनको गुणस्तरकै कारण हुनुपर्छ, डीडीसी लामो समयदेखि ठूलो ब्रान्ड नामका रूपमा स्थापित पनि छ ।

तर, यो ख्याति टिकाइराख्न तथा आफ्नो विश्वसनीयतामा कमी आउन नदिन संस्थानले जुन सावधानी अपनाइरहनुपर्थ्यो, त्यसो गरेको पाइँदैन । यसका उत्पादनहरूमा घरीघरी गुनासो आइरहन्छ । पछिल्लो समय पनि बजारमा डीडीसीको दूध गन्हाएको पाइएको छ । सामान्य मानवीय तथा प्राविधिक त्रुटिभन्दा पनि लापरबाहीका कारण यसो भएको देखिन्छ । डीडीसीको प्रसिद्धि र बजारमा पर्ने असरका कारणले मात्र होइन, उपभोक्ता हित तथा जनस्वास्थ्यका दृष्टिकोणले पनि यो गम्भीर मामिला हो । त्यसकारण, सम्बन्धित निकायले यसबारे छानबिन गरी संस्थान नेतृत्वलाई जवाफदेही बनाउनुपर्छ । यसमा दोषी पाइएकाहरूलाई आवश्यक कारबाही गरी भविष्यमा यस्तो हेलचेक्य्राइँ नहुने सुनिश्चित गर्नुपर्छ । र, भोलिका दिनमा कुनै समस्या दोहोरिन नदिन यसको सम्पूर्ण प्रणालीलाई नै अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउनुपर्छ ।

शिशुदेखि वृद्धवृद्धासम्मले खाने पदार्थ बजारमा पठाउँदा गरिएको यस्तो लापरबाहीलाई त्यसै गुपचुप राख्नु हुन्न । संस्थानका अधिकारीले ‘पाउडर, बटर, पानीलगायतको गुणस्तर परीक्षण नगर्दा यस्तो भयो’ भन्नु आफ्नो कमजोरीको स्विकारोक्ति मात्र होइन, गैरजिम्मेवारीको पराकाष्ठा पनि हो । खासगरी, डीडीसीले गत मंगलबार उपत्यकामा पठाएकामध्ये स्ट्यान्डर्ड र टिक मिल्कमा बढी समस्या आएको थियो । दूध गन्हाएर खान नसक्ने अवस्थाको भएकाले उपभोक्ता, बुथमेन र बिक्रेताले गुनासो गरेका थिए । सामाजिक सञ्जालमा चर्चासँगै हेलो सरकारमा पनि उजुरी परेको थियो ।

यसको असर कतिसम्म परिसक्यो भने त्यसयता डीडीसीका उत्पादनकै बिक्री घटेको छ । बिक्री घटेपछि डीडीसीकै वितरकहरूले तत्काल गुणस्तर नसुधारे दूध नबेच्ने चेतावनी दिएका छन् । त्यसो त, उनीहरूले दूधको गुणस्तर सुधार गरी नियमित गर्न पटक–पटक मौखिक तथा लिखित रूपमा आग्रहसमेत गराइसकेका थिए । संस्थानले भने यसलाई बेवास्ता गर्दै आएको थियो । अहिले समस्या पुनः बल्झेका बेला सम्बन्धित सबैले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीसित डीडीसीले ‘बालाजु औद्योगिक क्षेत्रले आपूर्ति गरेको पानीमा क्लोरिनको मात्रा बढी भएकाले गन्ध आएको’ जानकारी दिएको छ । तर सवाल के हो भने पानी जसले उपलब्ध गराएको भए पनि त्यसको गुणस्तर हेर्ने दायित्व डीडीसीकै हो । धूलो दूधमा मिसाइएको पानीको गुणस्तरका कारण उपभोक्ताको स्वास्थ्यमा कुनै गडबडी आएमा यसप्रति डीडीसी नै जिम्मेवार हुनुपर्छ, त्यतिबेला उसले अरूमाथि दोष थोपर्न पाउँदैन । आफूमार्फत वितरण हुने वस्तुको गुणस्तरमा डीडीसी आफैं सचेत रहनुपर्छ । यसका लागि उसले आफ्ना स्रोतहरूलाई पनि जिम्मेवार बनाउनुपर्छ । र, यस्तो लापरबाहीबारे कृषि तथा पशुपन्छी विकास मन्त्रालय एवं डीडीसीकै बोर्डले पनि चासो राख्नुपर्छ । छानबिन नगर्ने र विकृतिलाई गुपचुप राख्ने प्रवृत्तिले संस्थाको साख र उत्पादनको गुणस्तर बढ्दैन, अझ खस्किँदै जान्छ, यो पक्षबारे सम्बन्धित सबैले विचार पुर्‍याउनुपर्छ । यस्ता विषयमा सम्बन्धित नेतृत्व संवदेनशील भएमा मात्रै कसैले पनि गल्ती दोहोर्‍याउने दुस्साहस गर्दैन ।

गुणस्तर नसुधारे दूध नबेच्ने वितरकहरूको चेतावनी किन पनि मननीय छ भने भोलि डीडीसीको बिक्री घटेमा किसानहरू पनि मर्कामा पर्नेछन् । अहिल्यै डीडीसीले चार महिनादेखि किसानलाई रकम भुक्तानी गर्न सकेको छैन, बिक्री घट्दा डीडीसीको रकम तिर्ने क्षमतामा थप असर पुग्नेछ । त्यसैले यो प्रकरणलाई त्यसै बेवास्ता नगरी संस्थान नेतृत्वले यसलाई आफ्नो प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छ । त्यसका लागि दूग्ध उत्पादन गर्ने किसानदेखि संकलन, भण्डारण र प्रशोधनलगायतका आवश्यक कार्यमा संलग्न हुने सबै श्रमिक/कर्मचारीलाई यसप्रति सेचत र जिम्मेवार तुल्याउनुपर्छ । प्रणाली पनि त्यहीबमोजिम विकास गरिनुपर्छ ।

सबै पक्षको गुण मापन गरेर मात्रै उत्पादनहरू बजारमा पठाउने थिति बसाल्नुपर्छ । संस्थानको नेतृत्वमा पनि राजनीतिक आडका भरमा खाद्य विज्ञान वा दुग्धजन्य पदार्थ तथा व्यवसायबारे विलकुल निरक्षर व्यक्तिलाई चयन नगरेर व्यवस्थापनमा दक्षता भएका सम्बन्धित क्षेत्रका विज्ञहरू नै रोज्नुपर्छ । यससम्बन्धी ज्ञान र तत्परता दुवै भएको नेतृत्वबाट मात्रै उचित प्रणाली स्थापना हुन सक्छ । अनि मात्रै, किसानदेखि उपभोक्तासम्मको हित संरक्षण हुन पुग्छ ।

प्रकाशित : चैत्र ३१, २०७७ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्

न खुट्टा रह्यो न घरजग्गा

अस्पतालमा जँचाउँदा उनको देब्रे खुट्टा काट्नुपर्ने भयो । उनीसँग न बचत थियो, न घरजग्गा धितो राखेर ऋण नै निकाल्न सक्थे । 
दीपक परियार

पोखरा — बैसाखीमा बानी नपरेका भक्तबहादुर सुनार पिँढीमा चिप्लिएर डंग्रङ्ग लडे । उनकी पत्नी चिजाले सकिनसकी उठाएर छेवैको खाटमा बसालिन् । रोगले थलिएर देब्रे खुट्टा काट्नु परेपछि गत पुसदेखि बैसाखीको सहारामा हिँडडुल गर्ने भक्तबहादुरलाई एक जनाले कुरेरै बस्नुपर्छ । अर्को खुट्टा काट्न उनीसँग रकम अभाव छ ।

पोखरा-१९ परुन्चौरका भक्तबहादुर र उनकी श्रीमती चिजना सुनार । तस्बिरः दीपक परियार,कान्तिपुर ।

पोखरा–१९ पुरुन्चौरको घुम्तीमा बाटोमुनि छ उनको घर । घर भन्नुमात्रै छ । १७ आना जग्गा र घर साहुको कब्जामा छ । भक्तबहादुर सानै छँदा बुबाआमा बिते । सुखदायी बनेन उनको बाल्यकाल । २२–२३ वर्षको हुँदा एक्कासि देब्रे खुट्टाको बूढीऔंला सुन्निन थाल्यो । खिल गढ्यो भन्दाभन्दै लामो समय निको भएन । बिस्तारै दुवै खुट्टा दुख्ने, सुन्निने हुन थाल्यो । पोखराकै मणिपाल शिक्षण अस्पतालमा जँचाए । चिकित्सकको सल्लाहबमोजिम बूढीऔंला काटियो । केही बिसेक भएपछि उनी परिवारसहित भारत पसे । काम गर्ने, खुट्टाको थप उपचार पनि गर्ने उद्देश्यले उनी हैदरावाद पुगे । भारत १० वर्ष बस्दा चौकीदारी गरेको पैसाले उपचार गर्न पनि पुगेन ।

देब्रै खुट्टाले दुःख दिँदै गयो । खानलाउनै मुस्किल परेपछि उनी गाउँ फर्किए । नेपाल आएर दुवै खुट्टाको जति उपचार गर्दा पनि निको भएन । ‘दुखाइले रातभरि सुत्नै सकिनँ,’ ४२ वर्षीय भक्तबहादुरले पिँढीको खाटबाट भने, ‘यत्तिकै मर्ने भएँ भन्ने लाग्यो ।’ पीडा सहेरै उनले गाउँघरमै पाए भेट्टाएसम्मको काम गर्न थाले । खुट्टामा पट्टि बाँधेरै हलो जोते । ज्यामी काम गरे ।

पीडा असह्य हुँदै गयो । २०७२ को असोजमा उनले गाउँकै साहु नित्यराज पौडेलसँग २ लाख रुपैयाँ ऋण लिए । पौडेलकै घरमा खेतबारी जोत्ने काम गरेका भक्तबहादुरले सयकडा साढे २ रुपैयाँ ब्याजमा ऋण लिएका थिए । साँवाब्याज बुझाएपछि जग्गा फिर्ता गर्ने कागज बनाएर पौडेलको नाममा पास गरिदिए । ब्याज खप्टिँदै गयो । रोग बल्झिँदै गयो । ऋण निखन्ने कुनै उपाय भएन । नित्यराजले उनको जग्गा अर्कैलाई बेचे । ऋण दिएको पाँच वर्षपछि उनले साँवाब्याज गरेर १० लाख रुपैयाँ बुझाएमात्रै जग्गा फिर्ता गर्ने बताए । २ लाख रुपैयाँको साँवाब्याज ५ वर्षमै कसरी १० लाख रुपैयाँ पुग्यो भन्नेमा भक्तबहादुरको परिवार अनभिज्ञ छ । ‘साहुले मेरो जग्गा अर्कोलाई बेच्दा राजस्व, पास खर्च सबै मेरै नाममा जोडेछन्,’ उनले भने, ‘नत्र कसरी यति धेरै भयो थाहा छैन ।’

सयकडा साढे २ रुपैयाँका दरले २ लाख रुपैयाँको ब्याज महिनाको ५ हजार रुपैयाँ हुन्छ । यसरी हेर्दा ५ वर्षको ब्याज ३ लाख रुपैयाँ पुग्छ । साँवा २ लाख र ब्याज ३ लाख रुपैयाँ जोड्दा ५ लाख रुपैयाँ हुन्छ । नित्यराजले त्यसको ठ्याक्कै दोब्बर माग्नुलाई भक्तबहादुरका आफन्त र छिमेकीले पनि अचम्म मानेका छन् । ‘गरिबलाई यही हो मौका भनेर पेल्न खोजेका छन्,’ एक छिमेकीले भने, ‘अब यसरी पेलेर महँगो जग्गा सस्तोमा लिने दाउ हो उनीहरूको ।’

गत पुसमा एमआरआई गरेर हेर्दा उनलाई ‘थ्रोम्बनगाइटिस अब्लिटेरान्स’ भनिने रोग लागेको पत्ता लाग्यो । हातखुट्टामा जाने रगतका धमनी बन्द हुँदा सुन्निने, मांसपेशी च्यातिने हुन्छ । पोखराकै हरियोखर्क अस्पतालमा जँचाउँदा उनको देब्रे खुट्टा काट्नुपर्ने भयो । उनीसँग न बचत थियो, न घरजग्गा धितो राखेर ऋण नै निकाल्न सक्थे । श्रीमती, आफन्तले गाउँभरि चन्दा उठाएर उपचार गरे । देब्रे खुट्टाको घुँडामुनि काटियो । उनी ३ महिना अस्पताल बस्दा ४ लाख रुपैयाँ खर्च भयो ।

अहिले दाहिने खुट्टाले दुःख दिएको छ । ‘रातभरि करकर लुछेजस्तो भएर सुत्नै सक्दिनँ,’ भक्तबहादुरले भने, ‘डाक्टरले यो खुट्टा पनि काट्नुपर्छ भनेका छन् । आफ्नै खुट्टा काटेर फाल्न पनि पैसा छैन ।’ उनका अनुसार हरियोखर्क अस्पतालका चिकित्सकले जति सक्दो छिटो खुट्टा काट्नुपर्ने बताएका छन् । जति ढिलो भयो उति शरीरका अरू भागमा रोग फैलिने सम्भावना हुन्छ । अस्पताल भर्ना हुनुअघि धरौटीबापत राख्नुपर्ने ७० हजार रुपैयाँ पनि उनीसँग छैन । सरसापट गर्ने ठाउँ सबै सकिएका छन् । ‘गाउँघरमा चन्दा पनि कति माग्नु !’ उनी भन्छन्, ‘अब भगवानै बनेर कोही मनकारी आए मात्रै हो ।’ दुवै खुट्टा काटिए पनि कृत्रिम खुट्टा जोड्न पाए काम गर्न सक्ने आत्मविश्वास उनीसँग छ । भन्छन्, ‘नक्कली खुट्टा हाल्न पाए जसोतसो ज्यामी काम गरेरै पेट पाल्थें ।’

दुई छोरी बिहे गरेर घर गइसके । एक छोरा ९ कक्षामा पढ्छन् । श्रीमती चिजा कहिलेकाहीं मेलापात जान्छिन् । ज्यामी काम गर्छिन् । काममा हुँदा मन भने घरमै हुन्छ । साहुले देखाएको हिसाबकिताबमा उनको चित्त बुझेको छैन । ‘गाह्रो परेको बेलामा साहुले पनि जग्गाको मूल्य कौडीको भाउ लगाउँछन्,’ उनले भनिन्, ‘गरिबको घरबासै उठाउने भए ।’

प्रकाशित : चैत्र ३१, २०७७ ०८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×