१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कोरोनासित जुध्न कार्ययोजना बनाऊ

सम्पादकीय

मुलुकमा कोरोना भाइरसको संक्रमण दर पुनः उकालो लाग्ने पर्याप्त संकेत देखा परिसकेको छ । दैनिक संक्रमितको संख्या सयभन्दा तल ओर्लिसकेको अवस्थामा केही सातायता फेरि यो दर बढ्न थालेको छ । चार साताअघि गत फागुन २८ गते ४८, २९ गते ६० र चैत १ गते ५३ जना नयाँ संक्रमित थपिएका थिए ।

कोरोनासित जुध्न कार्ययोजना बनाऊ

अहिले दिनहुँ ३ सय जना हाराहारी नयाँ संक्रमित थपिन थालेका छन् । गत बिहीबार एकै दिन ३ सय ३२ जनालाई संक्रमण पुष्टि भयो । यसरी चैतयता मात्रै करिब ६ गुणाले संक्रमण दर बढिसकेको छ । कुल सक्रिय संक्रमितको संख्या पनि चार साताअघि हजारभन्दा तलै थियो, अहिले बढेर २ हजार ५ सय नाघिसकेको छ । अस्पताल भर्ना गर्नुपर्ने बिरामीको संख्या पनि उसैगरी वृद्धि भैरहेको छ । अहिले विश्वभर जुन रूपमा पुनः संक्रमण दर बढिरहेको छ, त्यस हिसाबले यहाँको थोरै मात्राकै संख्यात्मक वृद्धिलाई पनि खतराको सूचकका रूपमा लिनुपर्छ । र, आम जनजीवनलाई धेरै नबिथोलीकनै कोरोनालाई नियन्त्रणमा राख्नका लागि सरकार त्यही रूपमा अग्रसर हुनुपर्छ ।

हामीले के भुल्नु हुँदैन भने, गत कात्तिकयता विस्तारै संक्रमण दर घट्न थालेपछि सरकार र नागरिक दुवै निश्चिन्तजस्ता देखिन थालेकैले अहिले चिन्ता गर्नुर्पर्ने अवस्था आएको हो । यसबीचमा राजनीतिक दलहरूले कोरोनाको कुनै परवाह नगरी कैयौं ठूला सभा–सम्मेलनहरू गरे, जहाँ व्यक्तिगत दूरी कायम गर्नु त परको कुरा, मास्कधरि लगाउन छाडिएको थियो । यो प्रवृत्ति अहिले पनि कायमै छ । संक्रमण दर फेरि उकालिन थालेपछि सरकारले ठूला भेलाहरू नगर्न आग्रह गरेको भए पनि त्यसको पूर्ण पालना भएको पाइँदैन । पछिल्लो समय २५ जनाभन्दा बढीको भेलामा रोक लगाउन स्वास्थ्य मन्त्रालयले गरेको आग्रहलाई सम्बन्धित सबैले मनन गर्नुपर्छ । र, सानातिना भेलामा पनि स्वास्थ्य मापदण्डका मन्त्रहरू कसैले भुल्नु हुँदैन । सरकारी पक्षबाट पनि यसको अनुगमन हुनुपर्छ । घरबाहिर निस्किँदा हरेकले जनस्वास्थ्यका मापदण्डहरूको ख्याल राख्नुपर्छ । अनिवार्य रूपमा मास्क लगाउन, बेलाबेलामा हात धुन वा ‘स्यानिटाइजर’ प्रयोग गर्न र व्यक्तिगत दूरी कायम राख्न कसैले पनि असहज मान्नु हुँदैन । सहरबजार, भीडभाडमा जाँदा होस् या सार्वजनिक यातायात चढ्दा विशेष सतर्कता अपनाउनैपर्छ ।

विश्वभर कोरोना भाइरसका नयाँ प्रजातिहरू फैलिरहेको र नेपालमा पनि त्यसको नमुना देखिइसकेकाले हामी धेरै सजग रहन आवश्यक छ । खासगरी बेलायतमा देखिएको प्रजाति (बी.१.१.७) सँग मिल्दोजुल्दो भाइरस यहाँ बढी मात्रामा फैलिरहेको बताइन्छ, जुन संक्रमण फैलिन सक्ने सम्भावनाका कारणले मात्र होइन, मृत्युदरका दृष्टिले पनि बढी घातक भएको विज्ञहरूको ठम्याइ छ । त्यसैले, सम्बन्धित सबैको जोड संक्रमण फैलिन नदिनेमै हुनुपर्छ । त्यसका निम्ति, सरकारले उचित कार्ययोजना बनाउनुपर्छ, जसमा नागरिकले यथोचित साथ दिनुपर्छ । महामारी अनियन्त्रित ढंगले बढ्न नदिन परीक्षण र ‘कन्ट्याक्ट ट्रेसिङ’ को दायरा फराकिलो बनाएर विद्यमान संक्रमणको साङ्लो चुँडाउने प्रयास गर्नुपर्छ । विदेशबाट आउनेमध्ये कोही संक्रमित रहेछन् भने, उनीहरूबाट अरूलाई नफैलियोस् भनेर पनि उत्तिकै सावधानी अपनाउनुपर्छ । र, संक्रमित भएकाहरूका लागि उपचारको तारतम्य पनि त्यहीअनुसार मिलाइनुपर्छ ।

विशेषगरी, पछिल्लो समय भारतमा जुन रूपमा संक्रमितको संख्या बढिरहेको छ, त्यसलाई हेरेर पनि हामी अहिल्यै सचेत भैहाल्नुपर्छ । सीमानाकाहरू फेरि अस्तव्यस्त हुन थाल्नु चिन्ताको विषय भएकाले विगतका कमजोरीहरूबाट पाठ सिकी ढिलो नगरी व्यवस्थापन कौशल बढाउनुपर्छ । भारतमा दिनहुँ करिब डेढ लाख जनामा संक्रमण देखिन थालिसकेकाले यो पाटोमा विशेष ध्यान दिनुपर्छ । सबैभन्दा पहिले त, नाकाहरूमा पर्याप्त जनशक्ति खटाइनुपर्छ, ताकि नेपाल प्रवेश गर्नेहरूबीच भीडभाड नहोस्, र कसैमा संक्रमण रहेछ भने पनि अर्कोमा सर्न नपाओस् । सीमानाकामा गरिएको एन्टिजेन परीक्षणका क्रममा भारतबाट आएका कैयौंमा संक्रमण देखिएकाले पनि यो पक्षमा लापरबाही गर्नु हुँदैन । यसका साथै, उनीहरूलाई व्यवस्थित तवरबाटै घरसम्म पुर्‍याउने वा परीक्षण नहुन्जेलसम्म कतै ‘क्वारेन्टिन’ मा राख्ने व्यवस्था मिलाइनुपर्छ । र, बाहिरबाट आएको व्यक्ति घरमै बसेको छ भने निश्चित अवधिसम्म वा परीक्षणबाट संक्रमित नभएको पुष्टि नहुँदासम्म अलग्गै बसे–नबसेको निगरानी गर्ने काम सम्बन्धित वडा तहबाट हुनुपर्छ ।

यी सबै पक्षको व्यवस्थापनका लागि सरकारले अबको खतरालाई मध्यनजर गर्दै उचित कार्ययोजना बनाउनुपर्छ । को व्यक्ति, कुन नाकाबाट, कस्तो अवस्थामा आएर, कसरी घर पुग्यो र त्यहाँ कुन रूपमा बसिरहेको छ भन्ने व्यवस्थित अभिलेख सरकारसित हुनुपर्छ । मुख्य कुरा, फेरि पनि व्यवस्थापकीय कौशलकै अभावमा पहिलेजस्तो संक्रमण अकासिने अवस्था आउनु हुँदैन । यस्तै, नागरिक स्वयं पनि आफ्नो परिवार र समाजप्रति उत्तरदायी हुनुपर्छ, औपचारिक सीमानाकामा निश्चित प्रक्रिया पूरा गर्नुपर्ने झन्झट हुन्छ भनेर जहाँसुकैबाट नेपाल प्रवेश गर्नु हुँदैन । सबैको सामूहिक प्रयत्न भयो भने मात्रै स्थिति नियन्त्रणबाहिर जानबाट रोक्न सकिन्छ, राष्ट्रिय अर्थतन्त्र र सर्वसाधारणको जीविकालाई असर पर्ने खालका कडा उपाय लगाउनै पर्दैन ।

प्रकाशित : चैत्र २९, २०७७ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?