कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परिवार नियोजनका साधनका असर

एकतिर नचाहिने ठाउँमा परिवार नियोजनको साधन प्रयोग गरेर महिलाको प्रजनन स्वास्थ्यमै नराम्रो असर परेको छ, अर्कोतिर महिलाले बच्चा नहोस् भन्ने चाहेर पनि परिवार नियोजनका साधन प्रयोग गर्न पाएका छैनन् ।
अरुणा उप्रेती

केहीअघि अछाम पुग्दा मेरो भेट त्यहाँको स्वास्थ्यकर्मीसँग भयो । एकै छिनको कुराकानीपछि उनले भनिन्, ‘मेरा विवाह भएको पाँच वर्ष भयो, बच्चा नपाउन पहिलो दुई वर्ष मैले डिपो प्रोभेरा (परिवार नियोजनको सुई) लगाएँ तर छोडेको तीन वर्ष भइसक्यो अझै बच्चा भएको छैन । डिपो लगाएपछि मेरो शरीर मोटो पनि हुँदै गएको थियो । अहिले छोडेपछि पनि तौल घटेको छैन ।’

परिवार नियोजनका साधनका असर

यति भनिसकेपछि मैले उनलाई सोधें, ‘एउटा पनि बच्चा नभई किन डिपो प्रयोग गर्नुभएको ? यस्तो सल्लाह कसले दियो, तपाईंलाई ?’ यसको जवाफमा उनले भनिन्, ‘हामीलाई यसैगरी सिकाइएको छ । मैले तालिम दिँदा पनि बच्चा नभएका विवाहित दम्पतीले परिवार नियोजनका हर्मोनयुक्त साधन प्रयोग गर्दा हुन्छ भन्छु ।’

उनको जवाफले म अवाक भएँ । कुराकानी अगाडि बढाउँदै मैले भने, ‘हामी पनि परिवार नियोजनका साधन प्रयोग गर्न सिकाउँछौं तर एउटा बच्चा पाएपछि मात्र । जसले तपाईंलाई यो सिकायो उसले आफ्नो छोरी, बुहारी, भान्जी कसैलाई पनि एउटा बच्चा नजन्माई परिवार नियोजनको साधन प्रयोग गर्न लगाउँदैन । यो तपाईंप्रति गरिएको अन्याय हो ।’

परिवार नियोजनको साधनले महिलालाई गर्भवती हुनबाट रोक्छ । उनको जीवनको रक्षा गर्छ तर जथाभावी प्रयोग गर्दा यसले महिलाको स्वास्थ्य जीवनमा नराम्रा असर पर्न सक्छन् भन्नेबारे के स्वास्थ्य मन्त्रालयले विचार गरेको छ ? एउटा पनि बच्चा नभई यसरी महिलाले परिवार नियोजनको सुई प्रयोग गर्दा कहिलेकाहीँ लामो समयसम्म बच्चै नहुने सम्भावना बढ्छ । सुदूरपश्चिमका महिलाहरूले गर्भ नरहोस् भनेर पहिलो बच्चा नहुँदै यसरी अनेक साधन प्रयोग गर्दा उनीहरूको बच्चा जन्मन ढिलो हुन्छ । यसले गर्दा उनीहरूलाई घर–समाजले अपमानित गरिन्छ । श्रीमान्ले ‘बाँझी भई’ भनेर अर्को विवाह गर्छन् । अनि ती महिलाका जीवनमा अनेक दुःख आइपर्छ ।

सुदूरपश्चिममा मात्र होइन, नेपालका विभिन्न ठाउँमा पनि यसरी एउटा पनि बच्चा नपाई हर्मोनयुक्त परिवार नियोजनको साधन प्रयोग गरे हुन्छ भनेर स्वास्थ्य मन्त्रालयले सिकाउने रहेछ । महिलाको शरीरलाई केवल यन्त्र ठान्ने मानसिकताले गर्दा तराई र सुदूरपश्चिमका महिलाहरूले कति गाह्रो जीवन बिताउनुपर्छ भन्ने कुरा स्वास्थ्य मन्त्रालयका पदाधिकारी केही दिन त्यहीँ गएर बसे थाहा भइहाल्छ ।

सुदूरपश्चिमकी साउद थर गरेकी २० वर्षीया महिलाको सरकारी जागिरमा नाम निस्केको रहेछ । त्यतिबेला उनको ३ महिनाको गर्भ रहेछ । गर्भवतीलाई तालिम दिँदैनन् भन्ने थाहा पाएपछि उनले १२ हप्तामा गर्भ तुहाउने औषधि खाइछन् । औषधि सेवनपछि अत्यधिक रगत बगेछ । परिवारले अस्पताल लग्यो भने स्वास्थ्यकर्मीले गाली गर्छन् कि भन्ने डरले घरमै राखेछन् । दुई दिनपछि रगत धेरै बगेकाले उनको मृत्यु भएछ । त्यहीँको एक सामुदायिक स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले यो घटना बताउँदा म झसंग भएकी थिएँ । २० वर्षीया साउदको मृत्यु सायद मातृ मृत्युमा दर्ता गरिएन, किनकि उनी गर्भ रहेपछि जाँच गराउन गएकी थिइनन् । यदि गएको भए उनलाई स्वास्थ्यकर्मिले ‘पहिलो गर्भ’ सकेसम्म तुहाउनु हुँदैन भनेर सल्लाह दिन्थे होलान् । तर यस्तो जानकारी गाउँघरमा कसले दिने ?

यति सुनाइसकेपछि ती स्वास्थ्यकर्मीले त्यहीँको अर्को यस्तै घटनाबारे बताइन् । बुढा थर गरेकी महिलाका छवटा बच्चा भइसकेका रहेछन् । श्रीमान्ले गर्भनिरोधक साधन प्रयोग गर्न नदिएर सातै बच्चा पाउँदा उनको मृत्यु भएको रहेछ । परिवार नियोजनको साधन प्रयोग गरे ‘म नहुँदा अरूसँग पल्किन्छे’ भन्ने धारणा त्यहाँका पुरुषहरूमा रहेछ । उनी त्यतिबेला एकदमै पातली थिइन् रे ! उनले स्वास्थ्यकर्मीलाई भनेकी पनि रहिछन्, ‘मलाई, जतकाल (यो गर्भ) त मेरो काल नै हुन्छ कि क्या हो, जस्तो लाग्छ ।’ उनी कतै जँचाउन पनि गइनछन् । घरमै बच्चा पाएपछि उनको रगत धेरै बगेछ । ती स्वास्थ्यकर्मीले यो खबर पाएपछि अस्पताल लौजाने तयारी गर्दै थिइन् तर उनी नपुग्दै ती महिलाको ज्यान गएछ । स्वास्थ्यकर्मीले भनिन्, ‘मैले कति प्रयास गर्दा पनि उनलाई गर्भवती हुनबाट रोक्न सकिनँ उनको ज्यान बचाउन सकिनँ ।’ त्यसपछि उनको आँखाबाट आँसु झर्‍यो । लोग्नेको कुरा काट्ने साहस नभएकाले ती महिलाको मृत्यु भयो । सायद ती महिलाको पनि मातृ मृत्यु दर्तामा नाम चढेन ।

एकतिर नचाहिने ठाउँमा परिवार नियोजनको साधन प्रयोग गरेर महिलाको प्रजनन स्वास्थ्यमै नराम्रो असर परेको छ, अर्कोतिर महिलाले बच्चा नहोस् भन्ने चाहेर पनि परिवार नियोजनका साधन प्रयोग गर्न पाएका छैनन् । दुवै अवस्थामा महिलाको जिन्दगी खतरामा परिरहेको छ । महिलाको प्रजनन स्वास्थ्यलाई केवल औषधिले मात्र उपचार गर्छ भन्ने आमबुझाइ छ । महिलाप्रति गरिने व्यवहारले पनि महिला स्वास्थ्यमा असर पार्छ । प्रजनन स्वास्थ्यका समस्या सामाजिक कुरीतिसँग पनि गाँसिएका छन् ।

सुदूरपश्चिमका महिलाहरूलाई दिनदिनै यस्तो समस्या पर्छ तर भन्ने ठाउँ नभेटेर उनीहरू चुप बस्छन् । जनस्वास्थ्य कार्यालयको अनुगमनमा सायद यस्ता समस्याका बारे छलफलै हुँदैन । अनि महिला भएर जन्मनु श्राप नै होजस्तो हुन्छ, सुदूरपश्चिममा ।

प्रकाशित : चैत्र २७, २०७७ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?