अस्तित्वको संघर्षमा जनकपुरधामका सम्पदा


जनकपुरधाम– प्रदेश–२ को अस्थायी राजधानी । अति प्राचीन र आध्यात्मिक सहर । हजारौं वर्षको इतिहास र गौरव बोक्दै आइरहेको । अनेकौं आध्यात्मिक एवं सांस्कृतिक सम्पदा आफ्नो परिवेशभित्र समेटेको । तर आज त्यही इतिहास, गौरव र सम्पदाहरू उचित संरक्षणको पर्खाइमा छरपस्ट छन् ।


योजना बनाउनेहरूको कमी भएन, मात्र कार्यान्वयन गर्ने कोही भएन । किन भोग्दै छ, यो महानगर आफ्नै सन्तानहरूबाट यो पीडा ?
पौराणिक जनकपुरधाम
तत्कालीन विदेह राजको राजधानी थियो— मिथिला । शतपथ ब्राह्मण, श्रीमद्भागवत, वाल्मीकि रामायण, बृहदारण्यकोपनिषद्, गन्धारक सुरुचि जातक, शक्ति संगम तन्त्र, बृहत् विष्णुपुराण आदि पौराणिक ग्रन्थहरूमा मिथिला र विदेहको बारेमा प्रशस्त जानकारी छ ।
मिथिला हिन्दुहरूका लागि मात्र हैन, जैन धर्मावलम्बीहरूका लागि पनि त्यति नै श्रद्धा गर्ने थलोको रूपमा सम्मानित छ । जैन धर्मका उन्नाइसौं तीर्थंकर मल्लिनाथ र एक्काइसौं तीर्थंकर नमिनाथको जन्म र उनीहरूका चार कल्याणक यही सम्पन्न भएको भारतको दिगम्बर जैन तीर्थमा उल्लेख छ । राजा जनक आध्यात्मवादी थिए । आफ्नो आध्यात्मिक चेतनाकै कारण राजर्षिको आस्पद पाएका उनीसँग याज्ञवल्क्य, अष्टाबक्र, शुकदेवजस्ता ऋषिमुनिहरू सत्संग गर्थे ।
श्रीमद्भागवत (११।८।३४) मा जनकपुरको आध्यात्मिक वातावरण सम्बन्धमा एउटा चित्रण प्रस्तुत गरिएको छ । जो त्यहीका एक जना वेश्या पिंगलासँग सम्बद्ध छ –
विदेहानां पुरे ह्यास्मिन्न हमेकैब मूढधीः ।
यान्यमिच्छन्त्यसत्य स्मादात्मदात काममच्युतात ।।
अर्थात् विदेह नगरीमा ‘म नै यस्तो मूर्ख हुँ’ जो भगवान्लाई छाडेर अन्य पुरुषको कामना गर्छु ।
समयको लामो अन्तरालपछि विसं १८३९ मा जनरल अमरसिंह थापाले पैगोडा शैलीमा राममन्दिरको निर्माण गराए । सम्भवतः त्यसकै प्रभावबाट टिकमगढकी महारानी वृजभान कुअरीले जनकपुरधाममा भव्य जानकी मन्दिरको निर्माण प्रारम्भ गरिन्, जुन विसं १९६७ मा सम्पन्न भयो । मिथिलाको अस्तित्व इसापूर्व ६०० वर्षसम्म रहेको विभिन्न स्रोतको आधारमा देखिएको छ । त्यसपछि मगधका राजा अजातशत्रुले मिथिलामाथि आक्रमण गरी आफ्नो राज्यमा मिलाइदिए । कालान्तरमा मिथिलामा हर्षवर्द्धन र अरुणाश्वको अधिकार कायम भयो (नेपालको प्राचीन र मध्यकालीन इतिहास– प्रा.डा. रामप्रसाद उपाध्याय) । विसं ११५४ मा कर्नाटवंशी न्यान्यदेवले सिमरौनगढलाई आफ्नो राजधानी बनाई राज्य स्थापना गरेपछि पुनः मिथिला विश्व पटलमा उदाएको देखिन्छ ।
प्रामाणिक रूपमा विसं १७८० मा मकवानपुरका राजा मानिक सेनले श्री गोसाइको नाउँमा राममन्दिर (जनकपुर पट्टी, बैराही टोल) मा पूजाअर्चनाका लागि लालमोहर प्रदान गरेको अभिलेख छ (जनकपुर अञ्चलको पुरातात्त्विक सर्वेक्षण २०२८, देवीप्रसाद लम्साल, राधेश्याम भट्टराई) । जनकलाल शर्माको प्रतिवेदनअनुसार विसं १७८४ मा उनले जानकी मन्दिरको नाउँमा प्रशस्त बिर्ता पनि प्रदान गरे । त्यसबखत आदि महन्थ शूरकिशोर दास थिए । शर्माको प्रतिवेदनमा चतुर्भुज गिरीले विसं १७१४ मा मकवानपुरका राजाबाट पूजा चलाउन प्रशस्त बिर्ता पाएको उल्लेख छ । यस सम्बन्धमा अझै गहन अनुसन्धानको आवश्यकता छ ।
जे भए पनि यसले अठारौं शताब्दीतिर जनकपुर प्रकाशमा आइसकेको देखाउँछ र समान्यतः यही मान्यताले विद्वत् वर्गमा स्वीकृति पाएको छ । तर भाषा साहित्यको ध्यान नदिइएको एउटा तथ्यले जनकपुरको पुनरागमनलाई चौधौं शताव्दीतिर पुर्याउँछ, त्यो हो— मैथिली भाषाका महाकवि विद्यापतिको प्रथम कृति (संस्कृतमा) ‘भूपरिक्रमण’ । यसको लेखन मितिमा १५३७ बत्सर भनिएको छ । तर त्यतातिर नगए पनि विद्यापतिको नेपाल प्रवासको समय राजा पुरादित्यको आज्ञाले श्रीमद्भागवतको प्रतिलिपि गरिएको तिथि १४१८ इ. मानिएको छ । विद्यापति त्यतिबेला ५८ वर्षका थिए होलान् । भूपरिक्रमण पहिलो कृति भएको र त्यो यात्रा वृत्तान्त भएकाले राजा शिवसिंहका साथ वा राज्यकाजको क्रममा प्रशस्त यात्रा सम्भव भएको हुनुपर्छ । यसरी विचार गर्दा तीस–पैंतीस वर्षकै आयुलाई मान्ने हो भने यो ग्रन्थको रचनाकाल १३९०–९५ इ. देखिन्छ । त्यस ग्रन्थमा जनकपुरको अवस्थितिबारे एउटा श्लोक हेरौं–
‘जनकपुर दक्षिणांशे सप्तयोजन व्यतिक्रमे
डिजगल महाग्रामे गेहास्तु जनकस्यच ।’
भूपरिक्रमणमा गिरिजास्थान, यमुना (नी) नदी, सीता कुण्ड, धनुषग्राम, परशुराम कुण्ड, गौतम कुण्ड, अहिल्या स्थान, कमला नदी आदिको चर्चा गरिएको छ । यसले विद्यापतिकालीन मिथिलामा पनि जनकपुरको अस्तित्व रहेको देखाउँछ अर्थात् तेह्रौं शताव्दीको अन्त्यतिर पनि यसको प्रसिद्धि थियो ।
योजनामा सीमित सम्पदाहरूको भविष्य
जनकपुरधाममा केही समयअघिसम्म धार्मिक पोखरी, ५८ र अन्य निजीलगायत जोडेर ८२ पोखरी थिए (जनकपुर टाउन प्रोफाइल, २०४८) । त्यसमध्ये २४.१ प्रतिशत ठीक अवस्थामा,४३.१ प्रतिशत नराम्रा अवस्थामा र ३२.८ प्रतिशतले आफ्नो अस्तित्व गुमाएको अवस्थामा छन् (बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, जनकपुरधाम, २०७३–०७४) । जनकपुरधामका यस सरोवरहरू मिथिला महात्म्यले निर्देश गरेका धार्मिक विश्वाससँग गाँसिएका अति प्राचीन हुन् । तर ती खुलेआम अतिक्रमणमा पर्दा पनि सरकारहरू निरीह बन्न विवश छन् ।
जनकपुरधाममा रामायण कथासँग जोडिएको धनुषाधाम पनि छ । जनकपुरधाम र यस क्षेत्रका सांस्कृतिक सम्पदाहरूको विकासका लागि अनेकौं गुरुयोजना बनाइए पनि त्यसको असल कार्यान्वयन हुन सकेन । परिणामतः योजना पनि आयो, खर्च पनि भयो तर त्यसले कुनै ठोस आकार ग्रहण गर्न सकेन ।
हाम्रा राज्य र स्थानीय पदाधिकारीहरूले जनकपुरधामका सम्पदाहरूलाई पुनर्जीवन दिन सके यो नगरको मात्रै हैन, क्षेत्रमै समृद्धि आउन सक्थ्यो । त्यसका निमित पहाडी गाछी (जो अब छैन), तिरहुतिया गाछी, बारहबिघा, बाबनबिघा, रानीबजार, जानकी फूलबारीजस्ता सम्पदालाई पुरानै स्वरूपमा ल्याउनुपर्छ । मासिइसकेका स्थानलाई ब्युँत्याएर त्यहाँ हुने गरेका विधिव्यवहारहरूलाई पुनः सञ्चालन गर्न सकिन्छ । अहिलेलाई दुइटा योजनामा काम थालियो भने जनकपुरधामको गरिमालाई अझ व्यापक बनाउन सकिन्छ । पहिलो, जानकी मन्दिरको सुव्यवस्थापन । जनकपुरधामको पहिलो प्राथमिकता नै यो मन्दिर हो । जुनबेला रकमको जोहो गर्ने आँट थिएन, त्यतिबेला अनेकौं योजना बनाइन्थ्यो । आज त्यो अवस्था छैन । मुख्यमन्त्री लालबाबु राउतकै प्रयासमा जानकी मन्दिरको सौन्दर्यीकरणका लागि लगभग सात करोडको परियोजना ‘मुख्यमन्त्री स्वच्छता अभियान’ अन्तर्गत सञ्चालित छ । योजनाले निर्धारित गरेका सुधारहरू पूर्ण रूपमा कार्यान्वयन हुन सके यसले मन्दिरले कोल्टे फेर्न सक्छ । तर, त्यस्तो भैरहेको देखिएन ।
स्वयं मुख्यमन्त्री नै यसबारे विश्वस्त भैरहनुभएको देखिएन । कहिले मन्दिर परिसरमा ओछ्याइएका मार्बलको कम गुणस्तरको चर्चा त कहिले मुख्यमन्त्री कोषबाट लगानी हुँदाहुँदै सरकारकै अर्कै मन्त्रालयबाट थप रकम निकासा गराई योजनाबाहिरको निर्माण गर्न लगाउँदाको विरोध । कहिले मन्दिरको पूर्वतिरको बगैंचाको पर्खाल विवाद त कहिले मन्दिरको स्वामित्वमा रहेको जानकी फूलबारीको जग्गा लिजमा दिएकोमा विरोध । अहिले करोडौं खर्च गरी सौन्दर्यीकरणको काम भैरहँदा पनि अनावश्यक रूपमा मन्दिरका प्रवेशमुखका कोठाहरू व्यावसायिक प्रयोजनका लागि भाडामा दिइएको छ । लगभग सवा सय वर्षभन्दा बढी भैसकेको र विश्व सम्पदा सूचीमा सामेल गराउने प्रयास भैरहँदा पनि मन्दिरको पर्खालमै टाँसिएर ठूलठूला कार्यक्रमहरू तामझामसाथ गरिनु पुरातात्त्विक हिसाबले कति उचित हो ?
यस्ता क्रियाकलाप किमार्थ राम्रो संकेत होइन । जानकी मन्दिरको सुव्यवस्था यहाँका बासिन्दाको पहिलो सर्त हो । यो सुव्यवस्थामा मन्दिरका महन्थहरूको योग्यता पनि महत्त्वपूर्ण हुन्छ । गुरु–शिष्य परम्पराको नाउँमा योग्य महन्थको नै छनोट हुन्छ भन्न सकिँदैन । नेपाल सरकारको २६ साउन, २०६२ को निर्णयअनुसार बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष भोजराज घिमिरेको संयोजकत्वमा गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमा ‘मन्दिरको पूजालाई व्यवस्थित एवं गुणस्तरीय बनाउन महन्थ/पुजारी प्रशिक्षण केन्द्र स्थापना गरी योग्य प्रशिक्षित व्यक्तिलाई नियुक्त गर्ने व्यवस्था अति आवश्यक देखिएको छ’ भन्ने उल्लेख छ । यस कुरालाई पनि विचार गर्ने कि !
दोस्रो, जनकपुरधाममा आउने धार्मिक पर्यटकहरूका लागि थप नयाँ निर्माणको आवश्यकता छ । अहिले जानकी मन्दिर, राम मन्दिर, धनुषाधाम र साँझको गंगा आरती बस, पर्यटकहरू एकै दिनमा फर्किहाल्छन् । समग्र जनकपुरधामको पौराणिक, ऐतिहासिक र सांस्कृतिक विशिष्टताको प्रतिनिधित्व गर्न सक्ने यस्तो सम्पदाको निर्माण होस्, जसले पर्यटकहरूको बसाइ समय लम्ब्याउन सकोस् । त्यसका लागि राजा जनकको मूर्तिसहितको भव्य दरबार बनाउनुपर्छ । एक दशकअघिसम्म यसको निर्माण कार्य निकै
अगाडि बढिसकेको थियो, तर अहिले किन रोकियो थाहा छैन । बजेट अभावले पनि काम रोकिएको हुन सक्छ, यस मामलामा प्रदेश र स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ । सत्ता संघर्षमा आफ्नो ऊर्जा खर्च गर्न रमाउने हाम्रा नेताहरूले थोरै मात्र भए त्यो ऊर्जा आफ्ना परम्परागत, आध्यात्मिक, सांस्कृतिक सम्पदाहरूको संरक्षण–सम्बर्द्धनतिर पनि खर्च गरून् ।
-भ्रमर नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृत विभागका पूर्वप्रमुख हुन् ।
प्रकाशित : चैत्र २७, २०७७ ०९:१४