शुद्ध हावा विलासिता हो !- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शुद्ध हावा विलासिता हो !

आफ्नो पहिचान, इज्जतिलो जीवन र आधारभूत आवश्यकता पूरा गर्न जसलाई सबैभन्दा बढी लोकतन्त्र चाहिएको छ, तिनका लागि विलासिता होइन लोकतन्त्र ।
उज्ज्वल प्रसाई

पिउने पानी महँगो छ । धेरै दाम हालेर घर भित्र्याएको पानी कति शुद्ध हो, भन्न सकिन्न, शुद्धता सुनिश्चित गरिदिने कोही छैन । सास फेर्न हावा आवश्यक पर्छ, विषाक्त हावाले ज्यानै लिन सक्छ, तत्काल ज्यान नलिए अस्वस्थ बनाउने पक्का छ । स्वस्थ हावामा सास फेर्न ‘एयर प्युरिफायर मसिन’ जडान गरेर घरभित्र बस्नुपर्छ । दोहोरो फेस मास्क लगाएर बाहिर निस्के पनि विषाक्त हावाबाट बँच्न मुस्किल छ भन्छन् जानकारहरू । स्वस्थ जीवनका लागि व्यायाम गर्न, पैदल हिँड्न, खुला चौरमा खेल्न आवश्यक छ । त्यस्ता खुला मैदान कतै छैनन् । मोल तिर्न सक्नेका लागि सहरमा प्रशस्त ‘फुटसल’ हरू उपलब्ध छन् ।

शुद्ध पानी, हावा र हरिया चौरमा पहुँच पुर्‍याउन के गर्ने ? उत्तर सजिलो छ, धनी बन्ने । धनी कसरी बन्ने ? जवाफ अतिशय सरल छ, विकास गर्ने । विकास कसरी गर्ने ? यो काममा लाग्न सक्ने सबैको बुद्धि हुँदैन, ‘कन्सल्ट्यान्ट’ विज्ञको जिम्मा लगाउने । परमार्शदाता विज्ञले जे भन्छन्, जस्ता उपाय सुझाउँछन्, त्यसैलाई अवलम्बन गर्ने । परामर्श मानेर विकास गरे धनी भइन्छ, त्यसपछि शुद्ध हावा, पानी, खुला मैदान सबै सहजै उपलब्ध हुन्छन् । करिब १९४९ देखि गरिब मुलुकहरूले यस्तै उपाय अवलम्बन गरेर थोरैतिनो सुख पाएका हुन् भन्ने विज्ञहरूको बलियो दाबी छ । कस्ता हुन्छन् त विज्ञ कन्सल्ट्यान्टहरूका सुझाव ? हाल सालैका केही उदाहरणहरू हेरौं ।

कामयाव विज्ञ परामर्शहरू

विज्ञ परामर्शदाताले दिएको सुझावअनुरूप निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने हल्ला व्यापक छ । विमानस्थल बनाउने साँच्चै सुर कस्दा, विज्ञहरूकै सुझावअनुसार सो क्षेत्रका लाखौं रूख काटिनेछन्, नजिकैको बस्तीबाट करिब पन्ध्र सय घरपरिवार विस्थापित हुनेछन् । परामर्शदाताहरू भन्छन्, जति रूख काटिन्छन्, त्यसको दुई गुणा रूख अन्यत्र रोपिनेछन् । त्यतिका नयाँ रूख रोप्न लाग्ने खर्चको सही हिसाब उनीहरू देखाउँदैनन्, न त्यतिका रूख रोप्ने खाली जमिन नै तोक्छन् । पर्यावरणीय क्षतिप्रति चिन्तित अभियन्ताहरू प्रश्न गर्छन्, हुन लागेको जबर्जस्तीविरुद्ध प्रतिरोध गर्छन् । विज्ञहरू यस्ता प्रतिरोधलाई नजरअन्दाज गर्नु नै उत्तम विकल्प हो भन्छन् । यस्ता नाराबाजी सुन्न थाल्यो भने, कुनै पनि ‘विकास’ को काम नहुने र सधैं गरिबै रहने उनीहरू दाबी गर्छन् । काटिएका लाखौं रूख र उखेलिएका बस्तीहरूले निम्त्याउने त्रासदीको हिसाब भने उनीहरूको प्राथमिकतामा पर्दैन ।

परामर्शदाताहरूको बुझाइमा लाखौं रूखहरूले दिने शुद्ध हावामा भर परेमा विकास हुँदैन, बरु कोठाभित्र जडान गरिएको ‘एयर प्युरिफायर’ नै उत्तम विकल्प हो । उनीहरूले दिएका विज्ञ परामर्शको आशय सरल छ, ‘रूखबाट सोझै प्राप्त हावा विलासिता हो, त्यसैले त्यस्तो हावाका लागि जोडबल नगर्नु ।’

विज्ञ परामर्शदाताकै सुझावअनुरूप अहिले खोकना र बुङमतीजस्ता नेपाल मण्डलका पुराना बस्तीमा आधा दर्जन जति ठूला विकासका परियोजना सुरु हुँदै छन् । फास्ट ट्रयाकदेखि आउटर रिङरोडसम्मका परियोजनाहरू सुरु गर्न यी दुई ठाउँका करिब दस हजार रोपनी जमिन रोक्का छ । अहिले चर्चामा रहेका सबै परियोजना सम्पन्न भए, यी बस्तीका मौलिकता त रहँदैनन् नै, जमिनको स्वामित्व पनि बस्तीका पुराना बासिन्दाको हुने छैन । ती परियोजनाबाट प्रत्यक्ष लाभ लिनेहरूमा पनि यी बासिन्दाहरू हुने छैनन् । केही अपवादलाई नै पुराना बासिन्दाका प्रतिनिधिका रूपमा प्रदर्शनमा राखिनेछ । पुँजी भएका तर खोकनासँग आत्मीय साइनो केही नभएका मुठीभर मान्छेहरू यी परियोजनाका मुख्य लाभग्राही हुनेछन् ।

विज्ञकै सुझावअनुरूप सरकारले सुरु गरिदिएको मुआब्जाको राजनीतिले यी बस्तीका बासिन्दाहरू विभाजित छन् । खोकना र बुङमतीका समस्यालाई चासोका साथ अध्ययन गरिरहेका अनुसन्धाता सबिन निङ्लेखु लिम्बूले हाल सालै लेखे, ‘भूकम्प, बजार र सरकारी नियम–नियमनको चपेटामा परेर बेचिन बाध्य पुख्र्यौली भूमिमा जब फास्ट–ट्रयाक एक्कासि ठोक्किन पुग्छ, मुआब्जाको अर्थ–राजनीति सुरु हुन्छ, अनि त्यही अर्थ–राजनीतिको सिकार बन्न पुग्छ सम्पदा र संस्कृति ।’ यस्ता जटिलतामा नफसेरै विकास फत्ते गर्नुपर्ने विज्ञ परामर्शदाताहरूको जोड हुन्छ । जमिनसँगको आत्मीयता, मौलिक संस्कृति, कृषि र उद्यमका पुराना पर्यावरणमैत्री प्रविधि र अहिलेसम्म बाँकी रहेका खुला चौरहरू सबै भावनात्मक विषय हुन् । यस्ता भावनात्मक विलासितामा फसे धनी हुन सकिँदैन भन्ने विज्ञहरूको राय छ ।

अहिलेसम्म नेपालमा जेजति विकास भएका छन्, सबै यिनै परामर्शदाताले दिएका विज्ञ सुझावकै आधारमा भएका हुन् । विज्ञका महत्त्वपूर्ण सल्लाहबिना जति विकास भयो, त्यति पनि हुने थिएन । तिनै विज्ञ–परामर्शको परिणामस्वरूप अहिले शुद्ध पिउने पानीको मुहान सबैको पहुँचमा छैन, बरु बोतलको पानीको व्यापार फस्टाएको छ । अब बिस्तारै शुद्ध हावाको व्यापार पनि मौलाउन थाल्नेछ, एयर प्युरिफायर मसिनको बिक्री ह्वात्तै बढेर देशको अर्थतन्त्र मजबुत हुनेछ । मौलिक परम्परा र पहिचान जोगाएका बस्तीमा विकास आएपछि स्वयं बस्तीहरू रहँदैनन्, बरु बस्तीका प्रतिकृतिका रूपमा क्युरियो कमोडिटीहरू सृजना हुन थाल्छन् र तिनकै व्यापार फस्टाउँछ । जसरी फस्टायो बुद्धको दर्शन र ज्ञानको साटो, ‘बुद्ध वाज बोर्न इन नेपाल’ को व्यापार ।

यसरी एकदमै कामयावी व्यावहारिक परामर्श दिने विद्वान्हरूका ज्ञानका स्रोत पक्कै दिगो र रोचक होला भन्ने अनुमान लगाउन सकिन्छ । विगत केही दशकदेखि विकास–परामर्शमार्फत हाम्रो प्रगतिमा टेवा पुर्‍याइरहेका विभिन्न विषयका विज्ञहरूमा ठूलो मतभिन्नता देखिन्न । त्यसैले विकासबारे उनीहरूले लिएको प्राज्ञिक एवं बौद्धिक तालिममा समानता छ भन्ने लख काटिएको हो । कतिपय जानकारहरू भन्छन्, यी सबै विज्ञलाई तालिम दिने गुरुहरू र उनीहरूले दिने बौद्धिक मन्त्र लगभग एकैथरी थिए/छन् ।

विज्ञ परामर्शको बीउ

उपलब्ध सूचनाका आधारमा तीमध्ये एक चर्चित गुरुलाई यहाँ स्मरण गर्नु मनासिब हुन्छ । जीवित छँदै ठूलो ख्यातनाम कमाएका यी पश्चिमा विज्ञले ‘अन्य’ लाई धनी बनाउने धेरै उपाय परिकल्पना मात्र गरेनन्, कार्यान्वयन नै गरेर देखाए । सुविख्यात विज्ञ रोबर्ट म्याकनामारा समाज सेवामा समेत नाम कमाएको फोर्ड मोटर कम्पनीका प्रेसिडेन्ट थिए, पछि अमेरिकी सरकारको सेक्रेटरी अफ डिफेन्स नियुक्त भए । उनै म्याकनामाराले भियतनाम युद्धमा होमिन अमेरिकालाई हौस्याए । भियतनाम युद्धलाई उनले ‘विकास’ परियोजनाको नाम दिएका थिए । खासमा विकासकै लागि त्यो युद्ध लडिएको थियो । करिब सात वर्ष ‘सुरक्षा खोपी’ मार्फत विकासका परियोजना सञ्चालन गरेपछि उनी गरिबी निवारणका गम्भीर योजनासहित विश्व बैंकको नेतृत्व गर्न गए ।

दर्जनौं समस्याका मेहेरोमा बेरिएका बेला विश्व बैंकलाई शक्तिशाली र उम्दा संस्थाका रूपमा उभ्याउने काममा उनको सम्झना गरिन्छ । खासगरी सूचना, ज्ञान र प्रविधिको उचित प्रयोग गरेर उनले बैंकलाई बलियो बनाएका थिए । तिनताक विश्वका विभिन्न ठाउँमा विश्व बैंकविरुद्ध सामाजिक आन्दोलनहरू सुरु भएका थिए । खासगरी ‘विकास’ सम्बन्धी ज्ञानको प्रसार र ‘विकास’ लाई सफल वैश्विक परियोजनाका रूपमा स्थापित गराउने काममा म्याकनामारा सफल भए । नेपाली विज्ञ परामर्शदाताहरूका आदिगुरु म्याकनामाराबारे अध्ययन गरेका एक अनुसन्धाताका अनुसार आर्थिक विकास, सामाजिक उत्थान र वैश्विक सुरक्षाका ‘वैज्ञानिक’ अवधारणालाई समेटेर यिनले विश्व बैंकलाई विकासको ‘सुप्रानेसनल’ संस्थाका रूपमा ‘सर्वमान्य’ स्थानमा पुर्‍याए ।

यसरी आफ्नो मिसनमा एकपछि अर्को सफलता हासिल गरेका ‘सुप्रानेसनल’ संस्थाहरूबाट प्रचार गरिने ज्ञानकै आधारमा विगत केही दशकदेखि यहाँ पनि विकास जारी छ । आलोचना लोकतान्त्रिक अधिकार हो भन्ने जिरह गर्ने र अप्ठ्यारा सवाल उठाउनेहरूले यी प्रयत्न सफल हुन नदिएको दाबी विज्ञहरूको छ । निजगढ होओस् वा खोकना, पर्यावरणका नाममा होओस् वा पहिचान, जे–जस्ता गतिविधि भइरहेका छन्, ती केवल विलासिता हुन् भन्ने बुझाइ स्थापित गर्न खोजिएको छ । लोकतन्त्रको माग र त्यसबारे भइरहेको विमर्श विकास अवरुद्ध गर्ने विलासी प्रयत्न हो भन्नेमा आम सम्मति निर्माणको यत्न सुरु भएको छ ।

कसको आवश्यकता हो लोकतन्त्र ?

लोकतन्त्र सधैं चर्चा भइरहने अवधारणा हो । राज्य सञ्चालनको प्रणालीका रूपमा होओस् वा सामाजिक–सांस्कृतिक सम्बन्धका अर्थमा, यसबारे विमर्श भइरहनु आवश्यक छ । लोकतन्त्र कहिल्यै नबदलिने स्थिर सूत्रहरूको संकलन पनि त होइन, त्यसैले यो विज्ञहरूको परिभाषामा कैद हुँदैन । बरु विविध शास्त्र, अनुभवका अनेक शृंखलाबाट सृजित ज्ञान, संघर्षका अनवरत सिलसिला साथै निरन्तर संवादले अद्यावधिक गरिरहने अवधारणा हो । समयले तेस्र्याएका नयाँ चुनौती सामना गर्दै आम मानिसको स्वतन्त्रता संवद्र्धनका लागि लोकतन्त्रबारे चासो जीवित रहनुपर्छ । शासन सञ्चालनका सामान्य औपचारिकतामा सीमित हुने खतराबाट बच्दै आम मानिसको जीवन रूपान्तरणको ऊर्जा बनाउन लोकतन्त्रबारे सार्वजनिक अन्तरक्रिया महत्त्वपूर्ण हुन्छ । लोकतन्त्र खुम्च्याउने प्रत्येक दुष्प्रयत्नविरुद्ध प्रतिरोध पनि उति नै जरुरी छ । चाहे त्यो दुष्प्रयत्न विकासकै नाममा किन नगरियोस् !

संसद् विघटन र पुन:स्थापना, पुनस्र्थापित संसद्को अलमल, निर्वाचन आयोगको अकर्मण्यता, दलीय राजनीतिका जटिलता, अदालतका अनौठा फैसला इत्यादिले लोकतन्त्रबारे आमविमर्शको माग गरेका छन् । त्यसो त संविधानमा अंकित अनेक प्रावधान र स्थापना गर्न खोजिएको कानुनी व्यवस्थाबारे पनि निरन्तर मन्थनको खाँचो छँदै छ । नेपाली समाजको लोकतान्त्रीकरणको प्रक्रिया सुदृढ बनाउने सवालसँग जोडिएर आउने यस्ता अनेक विषयमा भएका छलफल मूलत: लोकतन्त्रबारेकै चिन्तन हुन् । पछिल्ला राजनीतिक घटनाक्रमले उकेरा लगाएर सृजना भएको नागरिक आन्दोलन र यसबारे आमवृत्तमा भएका संवाद पनि लोकतान्त्रिक अभ्यास सुदृढ बनाउने प्रयत्न नै हुन् । यी विलासी आकांक्षा होइनन्, आम नागरिकको जीवन स्वस्थ, शान्त र इज्जतिलो बनाउन गरिएका आवश्यक प्रयत्न हुन् ।

नबदलिएका अलोकतान्त्रिक शक्ति संरचनाको घानमा परेर स्वस्थ, शान्त र इज्जतिलो जिन्दगी जिउन नपाएका मान्छेलाई सबैभन्दा बढी आवश्यक हुन्छ लोकतन्त्र । खाना र छाना जुटाउन हम्मे परेको निमुखा कुनै मसिहाको पर्खाइमा बस्दैन, चाहे त्यो मसिहा विकासकै नाम गरेर किन आउन नखोजोस् । बरु, ऊ आधारभूत आवश्यकता पूरा गर्ने अधिकार खोस्न तम्सिन्छ, उसैले लोकतन्त्रको खोजी गर्छ । जात व्यवस्थाको कोपराइबाट मुक्तिका लागि कुनै देवताको पदार्पण होस् भनेर पूजा अर्चना गर्दैन दलित, आफ्नो जीवन रूपान्तरण गर्ने लोकतन्त्रकै लागि संघर्ष गर्छ । पितृसत्ताका तगारा पन्छाउन विकासको सीधा रेखा कोरेर कुनै दिन विकसित भइएला र मुक्ति पाइएला भनेर पर्खिबस्दैनन् महिला । माटोसँग आत्मीय साइनो कायम राख्न कुनै विकास–विज्ञको सुझाव कुर्दैन आदिवासी, आफ्नो भूमि र सम्पदा जोगाउन आफैं लोकतन्त्रको खोजी गर्छ ।

आफ्नो पहिचान, इज्जतिलो जीवन र आधारभूत आवश्यकता पूरा गर्न जसलाई सबैभन्दा बढी लोकतन्त्र चाहिएको छ, तिनका लागि विलासिता होइन लोकतन्त्र । शुद्ध हावाको निजीकरण गर्ने दुष्प्रयत्नका विरुद्ध यिनै मानिसहरूले संघर्ष गर्नेछन् ।

(शुक्रबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट )

प्रकाशित : चैत्र २६, २०७७ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्

'काठमाडौंको हावा दैनिक ६/७ खिल्ली चुरोट खाए बराबर छ'

कान्तिपुर संवाददाता

काठमाडौँ — केही हप्तादेखि काठमाडौंसहित देशका विभिन्न स्थानमा वायु प्रदूषण र तुवाँलो बढेको छ । डढेलोलगायत अन्य विविध कारणले प्रदूषण भएको विज्ञहरुले बताउँदै आएका छन् । कचौरा आकारको काठमाडौं उपत्यकाको भौगोलिक अवस्थितिका कारण यहाँ प्रदूषण उच्च भएको विज्ञहरु बताउँदै आएका छन् ।

उपत्यकाको वायु गुणस्तर धेरै नै नराम्रो देखिएको छ । विश्वकै सबैभन्दा प्रदूषित सहरमा काठमाडौं दर्ज भएको छ । वायु प्रदूषण र काठमाडौं सहरलाई कसरी बस्नलायक सहर बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर इकान्तिपुरका लागि गोविन्द पोखरेलले वातावरण अध्येता एवं अनुसन्धानकर्ता उत्तमबाबु श्रेष्ठसँग गरेको कुराकानीको अंशः

तपाईं लामो समयसम्म विदेशमा बस्नुभयो, विभिन्न देशका सहरहरु पनि घुम्‍नुभयो । ती सहर र काठमाडौंलाई कसरी तुलना गर्नुहुन्छ ?

मैले देखेका, घुमेका, बसेका थुप्रै सहरहरुको तुलानामा सहर बन्न चाहिने भौगोलिक अवस्थिति, वातावरण, ऐतिहासिकता, जनतामा हुने विविधता अनि एउटा ऐतिहासिक सम्पदाको अवस्था हेर्दा 'काठमाडौं इज अ एमेजिङ सिटी' हो । कुनै सहरहरु मरुभूमिमा छन्, कुनैको ३० वर्षभन्दा पुरानो इतिहास छैन, कुनैमा नदी पनि छैन । यहाँ सबै कुरा छ । तर अहिलेको काठमाडौंचाहिँ मानव बसोबासका लागि लगभग अनुपयुक्त छ । किनभने बच्चालाई खेल्ने, बुढाबुढीहरुले टहलिने, पैदालयात्रीले हिँड्ने सबै हिसाबले नदीहरुको अवस्था, जनस्वास्थ्यको हिसाबले अब यो सहर मानव बसोबासका लागि अनुपयुक्त भएको छ । अहिले त वायु प्रदूषणको हिसाबले संसारकै सबैभन्दा प्रदूषित सहर भयो हाम्रो काठमाडौं ।


के कारणले यो अवस्था आयो ?

ठ्याक्कै कारणहरु भन्दा म ५ 'अ' भन्छु । एउटा अज्ञानता । हामीलाई वायु प्रदूषणको बारेमा थुप्रै कुराहरुमा जनमानसमा अज्ञानता नै छ । चेतना नै छैन । पब्लिकहरुलाई जानकारी नै छैन । अर्को अकर्मण्यता हो । हाम्रा बुझ्ने मानिसहरु जो नीति निर्माणमा बस्छन् उनीहरुको अकर्मण्यता हो । नेपालमा वायु प्रदूषण अहिलेको मात्रै अवस्था त हैन नि त ! यो त ३०/४० वर्षअगाडि नै यो विषय उठेको थियो । काठमाडौंको जतिबेला सवारी साधानहरु अहिलेको भन्दा एक चौथाइभन्दा कम थियो त्यो बेलादेखि प्रदूषण घटाउने भन्ने कुरा गरियो तर कार्यान्वयन भएनन् । अर्को नयाँ कर्मचारी आउँछ अनि चेन्ज हुन्छ ।

अर्को अविवेक । मान्छे हामी विवेकशील प्राणी भन्छौं तर अविवेकी छौं । त्यत्रो वायु प्रदूषण बढिरहेको छ गाडीहरु धमाधम बिक्री भइरहेको छ । मान्छेले अहिले नै फोहोर जलाइरहनुभएको छ ।

अर्को चाही अनिर्णय हो । हामीले यो गर्नुपर्छ भन्ने तर कार्यान्वयन नगर्ने । केले गर्दा प्रदूषण भयो, कसरी घटाउन सकिन्छ भन्ने पनि सबै थाहा छ तर निर्णय नगर्ने ।

अर्को चाहिँ अराजकता । यहाँका पिच बाटो खनिदिनुहुन्छ, धुलो उडाइदिनुहुन्छ, बाटो बनाउँदा मनलाग्दी गरिदिनुहुन्छ, फोहोर बालिदिनुहुन्छ । यस्ता किसिमको अराजकता पनि हो जस्तो लाग्छ मलाई ।

तर वैज्ञानिक हिसाबले भन्दा वायु प्रदूषणको थुप्रै कारणहरु; नाइट्रोस अक्साइडदेखि लिएर कार्बन मनोअक्साइड,सल्फर र धूलोको कणहरु । विशेष गरेर काठमाडौंको वायुमा पीएम २.५ र पीएम १० जस्ता धुलोको साना कणको मात्रा धेरै भयो ।

काठमाडौंले प्रदूषणबाट मुक्त हुन के गर्नुपर्ला ?

म वायु प्रदूषणको विज्ञ मानिस हैन । अध्येता मात्रै हो । वायु प्रदूषणको मुख्य कारण भनेको पछिल्लो समय भेइकुलर इमिसन(सवारी साधनबाट हुने उत्सर्जन) नै हो । पछिल्लो समय डढेलो पनि हो । डढेलो त पहिला पनि लाग्थ्यो । मैले आफैंले स्याटेलाइट इमेजरी हेर्दा सन् २०१६ मा धेरै डढेलो लागेको देखिएको छ । अहिले चाहिँ एकदमै धेरै भयो । पोहोर साल यो समयमा वातावरण एकदम सफा थियो । तर अहिले एकदमै प्रदूषित छ । डढेलो पनि एउटा कारक हो । कतिपयले हरियाणा,पञ्जाबबाट धुवाँ आएको छ भन्ने पनि छ । अनुसन्धानले इन्डियामा मान्छे पोलेको धुवाँ पनि यहाँ आउँछ भनेको छ । कारणहरु धेरै छन् ।

हाम्रो चाहिँ ब्लेम इन्स्टिंक्ट हुन्छ, अरुलाई दोष दिने । डढेलो भनेको क्षणिक हो । मुख्य कारण त यहाँको इँटा उद्योगबाट निस्कने धुवाँ, धुलो, सवारी साधानबाट निस्कने धुवाँ नै हो । विद्यार्थी जीवनकालदेखि नै हामीले यहाँको प्रदूषणबाट थाहा थियो ।

उत्सर्जन घटाउन विद्युतीय सवारी चलाउनुपर्छ । यहाँका सडकहरुमा रुख बढाउने, बिक्रम टेम्पो पनि हटाइयो । अन्य योजनाहरु अगाडि बढाइयो तर त्यसले निरन्तरता पाएन । योजनाहरु बनाउने तर त्यसलाई कार्यान्वयन नगर्दा यो समस्या आएको हो । यो आजको कारणले मात्रै हैन विगतदेखि कै हाम्रो कमजोरीका कारण हो । विद्युतीय गाडीमा सहुलियत दिने भन्छ, अर्को वर्ष हराउँछ । सबै कुरामा कन्सिस्टेन्ट छैन ।

विगतको ४/५ देखिको तथ्यांक हेर्ने हो भने यसपालि चाहिँ हामी निश्चित उमेर समूहका लागि अस्वस्थ्यकर हावा लिएर बाँचिरहेका छौं । काठमाडौंको यो हावा भनेको ६/७ खिल्ली चुरोट खाए बराबर हो । र, अर्को एक अनुसन्धानले के भनेको छ भने यो अवस्थामा २४ घन्टा बस्नु भनेको मान्छेको सरदर आयु ५ वर्षले घट्नु बराबर हो । यो भनेको एकदमै विकराल अवस्थामा हामी आइपुगका छौं । र, अझै पनि नीति निर्माण तहमा त्यो सेन्स नै छैन । हामीले केही नगर्ने हो भने अझ विकराल दिन हामीले देख्दैछौं जस्तो लाग्छ ।

नियन्त्रणका उपायहरु के होलान् ?

मैले अघि नै भनिसकें यसको स्रोतहरुमा नियन्त्रण गर्नुपर्‍यो । सवारीसाधानबाट उत्सर्जन धेरै छ भने कसरी घटाउने भन्ने हो । इँटाभट्टा तथा उद्योगबाट निस्कने उत्सर्जन कम गराउने । यसमा केही कामहरु भएको मैले पढेको सुनेको थिएँ । सहरमा हिरयाली प्रवर्द्धन गर्ने नै हो । मैले भन्दा पनि सरकारी डकुमेन्टहरुमा यो कुरा एकदमै स्पष्ट रुपमा लेखिएको छ । तर हामीले केही पनि गरेका छैनौं ।

यसले ल्याउने असरहरु के के हुन् ?

वातावरणीय मुद्दालाई एनजीको मुद्दा, डलर खाएर चलाउने मुद्दा भनेर ब्लेम गरिने गरिएको छ । मानिसहरुले हवाइ जहाज उडान नै बन्द हुने, विद्यालय बन्द हुने अवस्थासम्म हुँदो रहेछ भन्ने कुरा थाहा पाए । काठमाडौंमा जनस्वास्थ्य रुघाखोकी, स्ट्रोक लगायतका आर्थिक खर्च हेर्ने हो भने यो मुद्दा वातावरणीय भन्दा पनि स्वास्थ्यको मुद्दा हो । बाँच्न पाउने अधिकार, बालबच्चाको भविष्य र आर्थिक मुद्दा हो । यो त वर्गीय मुद्दा हो । हुने खानेले एयर फिल्टर लगाउलान् तर सडकमा हिँड्ने मानिसहरुलाई यसले त ठूलो असर पारिरहेको छ । अझ यो मध्यम वर्गका मानिसहरुलाई असर पार्ने यो राजनीतिक मुद्दा हो ।

अहिले जुनै विषय पनि जलवायु परिवर्तनसँग जोडिने गर्छ । अहिलेको प्रदूषणलाई कुन समस्यालाई लिने ?

जलवायु परिवर्तन पनि मानवनिर्मित समस्या नै हो । कार्बन डाआक्साइड उत्सर्जन जलवायु परिवर्तनसँग नै सम्बन्धित छ । यो एकआपसमा सम्बन्धित पनि छ । डढेलो अहिले एक्कासी बढ्यो नि ।

बाहिरको अनुसन्धानले जलवायु परिवर्तन र आगलागीबीचमा एउटा सम्बन्ध भएको देखाउँछ । जलवायु परिवर्तनले एउटा त ताप बढाउँछ । अर्को त सुख्खा पनि बढाएको छ । तातो र सुख्खा बढ्नु भनेको डढेलो लाग्नका लागि एउटा राम्रो वातावरण हुनु हो । त्यही भएर डढेलो वृद्धि हुनु हो । कतै पढेको थिएँ– नेपालमा ६० प्रतिशत डढेलो मानिसहरुले आफैं लगाउने गरेका छन् । डढेलोको वातावरण बन्नमा जलवायु परिवर्तन कारण होला अनि लाग्नमा मानिसहरु कारण हो । डढेलोले थोरै कारण मात्रै हो । २०१३/२०१४ काठमाडौंको वायु गुणस्तर पनि अहिले कै भन्दा नराम्रो अवस्था थियो ।

हाम्रो काठमाडौं सफा काठमाडौं बनाउनका लागि के गर्नुपर्ला ?

सबैभन्दा पहिलो काम भनेको चाहिँ काठमाडौंमा समस्या हो । प्रदूषण हाम्रो समस्या हो । प्रदूषण चाहे त्यो जल, वायु, जमिनको नै किन नहोस् त्यो चाही हामीले बुझ्ने अनि आत्मसाथ गर्ने नै हो । यो पहिलो खुड्किलो हुनुपर्छ । यो एनजीओको, वातावरणवादीको मात्रै मुद्दा नभएर हामी सबैको मुद्दा हो भनेर आत्मसाथ गर्नुपर्‍यो ।

उपाय त सबैलाई थाहा भएकै कुरा हो ! सवारी साधानबाट उत्सर्जन हुन्छ भने घटाउनु पर्‍यो । यसका लागि विद्युतीय सवारीमा जोड दिने हो कि मास ट्रान्जिटलाई फोकस गर्ने हो कि मानिसहरुलाई हिँड्न उत्प्रेरणा दिएर हुन्छ कि । यसका लागि हरियाली बढाउने पनि काम गर्न सकिन्छ । हरियाली बढ्दा धुलोका कणहरु रुखमा टाँसिन्छन् ।

अहिलेको यो समस्याचाहिँ कस्तो भयो कि कहिलेकाहीँ हामी सायद सुधार गर्नै नसक्ने हो कि जस्तो पनि हुन्छ । जस्तो कि यस्तो विकराल अवस्थामा पनि फोहोर जलाइरहेको हुन्छ । तर राज्यको भूमका चाहिँ फोहोर संकलन समयमा नै गरिदिनुपर्‍यो नि त ! अनि पो उसले जलाउँदैन । फोहोर जलाउनुभन्दा नजलाउने अवस्था बनाइदिनुपरो नि त राज्यले !

गाडी किन्नलाई अप्रत्यक्ष रुपमा इन्सेटिफाइज गर्नुभन्दा पनि डिस्करेज गर्नुपर्‍यो । पब्लिक ट्रान्सपोर्ट राम्रो भयो भने वर्षौंवर्षौंसम्म ऋण तिर्ने गरी कसले किन्छ गाडी ? त्यो हो नि त राज्यको भूमिका ।

हामीले समग्रभन्दा पनि यो सहरको बारेमा सबैलाई थाहा भएको कुरा हो । यो संसारभर थाहा भएको कुरा हो । मात्र के हो भने गर्ने कुरामा चाहिँ हामी चुकेका छौं ।

मलाई के लाग्छ भने काठमाडौंलाई एउटा हामीले बस्न लायक सहर बनाउनका लागि द्रूत गतिमा एउटा क्षेत्रमा मात्रै नभएर विभिन्न क्षेत्रमा इन्टरभेन्सन र त्यो पनि इन्ट्रिग्रेटिभ स्ट्राटेजी बनाएर अगाडि बढ्नुपर्छ भन्ने हो ।

अन्त्यमा केही थप्नुपर्ने कुरा ?

अन्त्यमा मेरो खासै केही छैन । जस्तै, के-के न भयो जसो गरो समाचार आउँछ । दुई चार दिन पानी पर्छ, वायु प्रदूषणको मात्रा घट्छ अनि सबै आ-आफ्नो काममा लाग्छन् । त्यही भएर यो भयाभय अवस्था आएको हो ।

अबचाहिँ हामीले युद्धस्तरमा काम गरेनौं भने हामीलाई हाम्रो सन्ततिले सराप्छन् । उनीहरुले सबैकुरा भएको जमिन, नदी, पहाड, एयरपोर्ट, शताब्दी पुरानो, मस्जिद गुम्बा, जात्रालगायत हरेक कुराको सांस्कृतिक विविधता भएको सहरलाई बस्न लायक पनि बनाइदिनु भएन हैन भनेर हामीले हाम्रो सन्ततिहरुले सराप्छन् ।

प्रकाशित : चैत्र २६, २०७७ १९:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×