२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

नपलाएको प्रकृतिचेत

हामीले फेरिरहेको विषाक्त हावा, दूषित पानी र खाइरहेको मन्द विषबाट मुक्त नभई मानव जातिको भविष्य नै पो के रहला र ?
आधुनिक हुने नाममा बाँडिएको सपना र भौतिक दुनियाँमा देखिएको चमकधमकले हाम्रो समाजमा दिउँसै रात पारेको छ ।
कृष्णप्रसाद पौडेल

हामी धेरैले याद नगरे पनि विषाक्त माटो, पर्यावरण र प्रकृतिको निर्मम दोहनका कारण यो पृथ्वीको जैविक प्रक्रिया निरन्तर विघटन भइरहेको छ । आगामी पुस्ताका मानिसले आजभन्दा बढी कष्ट झेल्नुपर्ने आकलन भैरहेको छ ।

नपलाएको प्रकृतिचेत

जलवायु परिवर्तन, कोभिड–१९ र खानामा विषका कारण फैलिरहेको नसर्ने दीर्घरोगले निकट भविष्यमै मानव सभ्यतामै संकट आउन सक्ने बहस विश्वव्यापी रूपमा भैरहेको छ । यी सबैमा प्रकृतिप्रदत्त मानवीय गुण, प्रवृत्ति र व्यवहारमा आएका फेरबदलहरू मुख्य जिम्मेवार छन् ।

पहिलो, जलवायु परिवर्तनले पार्ने असर र प्रभावले धेरै समुदाय र भूगोलका बासस्थान, सभ्यता र संस्कृति समुद्रको छालभित्र पुरिँदै जानेछन् । पृथ्वीको सतहमा खडेरीग्रस्त क्षेत्र बढ्दै जाँदा ती भूभागमा पिउने पानीको अभावले बस्तीहरू विस्थापित हुँदै जानेछन् । यी कुराले ल्याउने उथलपुथल र अस्तव्यस्तताको अन्दाज गर्न धेरै टाढा जानुपर्दैन । जलवायु शरणार्थी भनेर नामकरण गरिएका यी समुदायको कथा–व्यथा बुझ्न बाढीपहिरो, डुबान, खडेरी र डढेलोले विस्थापित हुँदै गरेका समुदायको दुरूह अवस्था हेरे पुग्छ । यो सानो उदाहरणलाई फराकिलो सन्दर्भमा हेर्‍यो भने जलवायु परिवर्तनका कारण समग्र मानव जातिकै भविष्य जोखिमपूर्ण छ भन्न हिचकिचाउनु पर्दैन ।

यसै गरी, जथाभावी थोपरिएको मन्द विषले माटो, प्रकृति र मानव स्वास्थ्यलाई असर पुर्‍याइरहेको छ । यस्तो कुरा कतिलाई झर्को लाग्छ भने धेरैलाई पत्यार नै लाग्दैन । हामीसँग मानव भविष्य बनाउने जागृत चेतना छ, यसमा धेरै दुविधा छैन । तर हामीले फेरिरहेको विषाक्त हावा, दूषित पानी र खाइरहेको मन्द विषबाट मुक्त नभई मानव जातिको भविष्य नै पो के रहला र ? यसको जवाफ नेपाल र भारतका नसर्ने दीर्घरोगका अस्पताल, तिनमा लाग्ने बिरामीको लाइन र अत्यधिक कृत्रिम रसायन र विषादी प्रयोग गरिएका क्षेत्र, जस्तै ः शान्तिनगर, हल्दीबारी, भेडेटार, लालबन्दी, चितवन, पाँचखाल, धार्के, चरौंदी, कपुरकोट, गुराँसेलगायत धेरै ठाउँका किसान र तिनका परिवारले दिइरहेका छन् । बुझ्ने, नबुझ्ने या बुझ पचाउने कुरा बेग्लै हो ।

जलवायु र खानामा विषको संकटसँगै, कोभिड–१९ ले सिङ्गो मानव सभ्यतालाई नै अन्तर्मनदेखि झकझकाइदिएको छ । आधुनिक, सभ्य र विकसित भनिएको पश्चिमी जगत् र यसैको सिको गरिरहेको विकासे समाज दुवैको लाचारीबाट यसको अन्दाज सजिलै हुन्छ । योसितै विश्व अर्थव्यवस्था, जनस्वास्थ्य, खाना र खेतीपाती प्रणालीका कतिपय समस्या सतहमा छरपस्ट देखिएका छन् । यी सबैको सम्बोधनका लागि तत्काल र दीर्घकालमा चाल्नुपर्ने हाम्रा पाइला सुस्त मात्र छैनन्, अझै पनि गलत दिशातर्फ उमुख छन् । उपयुक्त सोच नपुग्दा समस्याबाट उम्किनेभन्दा यसैबाट आतंकित भएर बाँच्ने विवशताको क्रम जारी छ । कोभिडको अर्को लहरले फेरि गत वर्षको जस्तै बन्दाबन्दी र एकान्तबासको चर्चा हुँदै छ ।

अहिले देखिएको संकटको संकेतले हामीलाई सतर्कतापूर्वक बिराएको बाटो पहिल्याउने र यसलाई विवेकपूर्ण ढंगले सच्याउने आधार बनाउने मौका दिएको छ । यो अवसर हामीलाई पनि छ । भलै, तुलनात्मक हिसाबले हामीले अरूले बिराएर काटिसकेको बाटो धेरै हिँडिसकेका छैनौं । यो विकासे यात्रामा हामी पछाडि नै छौं । तसर्थ, उन्नत मानव समाजको अगुवा बन्नका लागि हामीलाई यो अवसर हो । विडम्बना, निकम्मा नेतृत्वको कुतर्कका पछि लागेर हामी यो मौकासमेत गुमाउन उद्यत छौं ।

अब के गर्ने त ? सबैभन्दा पहिले हामीले तय गर्न खोजेको समृद्धिको यात्राबारे प्रस्ट हुन जरुरी छ । यो यात्राको जगमै ठूलो खोट छ । यसको मूल कारण नबुझी यसलाई फेर्ने दृष्टिकोणसमेत बन्दैन । आसन्न संकट र मानव सभ्यताको सम्भावित दुर्घटनाको यात्रा कहिले र कसरी सुरु भयो भन्ने कुराको सत्यतामा अझै खोजी हुँदै जाला, तर यसको मूल कारण मानवीय सृजनशीलताको दुरुपयोग थियो भन्नेमा कुनै द्विविधा छैन । ४ सय वर्षअघि सत्ता उन्मादले उन्मत्त भएको उपनिवेशी शासकले सुरु गरेको प्रकृति दोहनको यात्रा र यो सम्भव बनाउन प्रविधिको खोज गर्ने मानवीय सृजनशील स्वभावको दुरुपयोग गर्ने दलाल नै यसका कारक थिए । यहाँबाट सुरु भएको प्रकृतिदोहनको यात्राले विकासको पर्यायवाची समृद्धि भएर हाम्रा मनमस्तिष्कमा घर गरिरहेको छ । चाहेर वा बाध्यता भन्दै हामी यही यात्रामा सामेल छौं ।

यो कुराको भेद थाहा पाउँदै गरेका देश, समुदाय र व्यक्तिहरू अझै पनि माटो, वातावरण र समग्र प्रकृति सच्याउन सकिन्छ भनेर कोसिस गरिरहेका छन् । उनीहरूले आफ्ना परिवेश र चेतनाका आधारमा क्रमिक सुधार र बृहत् रूपान्तरणका प्रयासहरू थालेका छन् । हाम्रो समाजमा भने यो चेतनाको लहर अझै आएको छैन । हाम्रो प्रकृतिलाई वशमा राख्ने र अरू ग्रहमा बस्ती बसाउने सपनामै धेरैले गर्व गर्ने गरेका छन् । यही सपनमा रम्दै गएको नयाँ पुस्ताको ठूलो पंक्ति समृद्ध हुने भन्दै सामाजिक सञ्जालका भित्ता हेरेर बरालिएको अवस्था छ । एक छिन प्रविधिमा भएको चामत्कारिक उपलब्धिको फाइदा लिने मनसायलाई शंकाको लाभ दिएर हेरौं । मानौं, कुनै दिन एलेन मस्कले भनेजस्तो कृत्रिम मानव प्रविधिको सहायताले अन्य ग्रहमा बस्ती बसाउने र कृत्रिम खाना बनाउने कल्पना भोलि नै साकार हुन्छ र हामी सबै मानिस रातारात अन्य ग्रहका बासिन्दा हुनेछौं भन्ने कुरा पत्याइदिऔं । त्यस बेला, हामी नेपालीको पालो कहिले आउला ?

यही नै बेला ‘परी’ नामको यन्त्रमानव साक्षी राखेर समृद्धिको रथ हाँक्ने कुरा अखबारमा आएको छ । यो यन्त्रमानव र समृद्धि कुनै संयोगले मात्र जोडिएको विषय हैन । यो त समृद्धिको विरासत थाम्ने कृत्रिम मानवको निष्ठासँग जोडिएको अगुवा र तिनका अन्धभक्तको पाखण्डपनको उदाहरण मात्र हो । हुन त, महेशराज पन्तको भाषामा, अहिलेका मझौला कदका नागरिक पनि योभन्दा माथि उठ्न सकेका छैनन् । यी सबैको आडमा समाजको अगुवाइ गर्ने राजनीतिक नेतृत्व हामीलाई समृद्धिका नाममा अन्धकारको सुरुङमा धकेल्न उद्यत छन् । ‘परी’ त यसको प्रतिनिधिमूलक प्रतीकात्मक विम्ब मात्र हो । यो भ्यु टावर र स्मार्ट सिटीमा समेत उत्तिकै प्रतिविम्बित छ ।

आधुनिक हुने नाममा बाँडिएको सपना र भौतिक दुनियाँमा देखिएको चमकधमकले हाम्रो समाजमा दिउँसै रात पारेको छ । यसको अगुवाइ बजारमुखी समाज, दलाल अर्थतन्त्रमा भासिएर आफ्नो सुझबुझ हराउँदै गएको नेतृत्व र अनेकौं अहंकारले विवेकहीन हुँदै गएको मझौला कदको वैश्विक विद्वत् वर्गको प्रतिनिधिमूलक जमातले गरिरहेको छ । यसले थोपरेको नियतिलाई निकम्मापन, निरीहता र पलायन जे भनेर अर्थ्याए पनि हुन्छ । यो जमातले आसन्न संकटको सामना गर्ने र यसलाई सच्याउने आँट र धैर्य निकट भविष्यमै गर्नेछ भन्ने कुनै आधार देखिँदैन । खासगरी हाम्रोजस्तो देखासिकी र परनिर्भर समाजमा बाँचेको वर्तमान पुस्ताको तत्कालै विवेक फर्किन्छ भन्ने लाग्दैन । कुनै चमत्कार भएर यो विवेक फर्केछ भने त्यही दिन स्वागत गरौंला ।

यसरी हेर्दा, अहिलेकै जस्तो समृद्ध हुने परम्परागत सोच र तरिकाले प्रकृतिका फेरिएका व्यवहार सच्याउन सकिँदैन । समृद्ध हुने सपना बोकेर आज हामी हिँडेको बाटो नै गलत छ । समयमै सचेततापूर्वक सार्थक प्रयत्न नगर्ने हो भने आम मानिसले आफैं संकट भोगेर आजका समस्या फर्केर हेर्ने र महसुस गर्न दबाब बढाउने बेलासम्म धेरै ढिला भैसक्नेछ । त्यसैले यो संकटको सम्बोधन गर्ने र यी सबै सम्हाल्ने जिम्मा नयाँ पुस्ताको काँधमा आएको छ । वर्तमान निकम्मा नेतृत्व, जो भावी पुस्तालाई उज्ज्वल भविष्यको बाटो देखाउने शिक्षा, दीक्षा र मानवीय मूल्य–मान्यता सिकाउन छोडेर केवल समृद्धि यात्रा भनेर बरालिइरहेको छ, उसले अबको पुस्तालाई सम्झाउने हक त राख्दैन, तर पनि आफ्ना कमीकमजोरी फर्केर हेर्न र यसबाट सिक्न आलोचनात्मक चेत बढाउन त सक्छ नि ?

प्रकाशित : चैत्र २३, २०७७ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?