कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

धूलोधूवाँको कहर

दीप्स शाह

काठमाडौं मुलुककै व्यस्त सहर । यसको रफ्तारसँगै आफूलाई दौडाउन मैले केही वर्षयता स्कुटरको सहारा लिइरहेकी छु । निकै वर्ष हिउँदभरि कुहिरीमण्डल धूलो र वर्षाभरि लतपत हिलोबाट सास्ती पाएका सहरवासीले पछिल्लो समय सडक स्तरोन्नतिका कारण केही त्राण पाएका त छन् तर हाम्रो सास्ती सकिएको छैन ।

धूलोधूवाँको कहर

हरेकपटक कामको हतारोमा सहरलाई चक्कर लगाउँदा कबाडीजस्ता सवारीसाधनले फ्याँक्ने धूवाँको मुस्लोभित्र लुकामारी खेल्दै हरदिन श्वासप्रश्वास प्रणालीको परीक्षा दिइरहनुपरेको छ । धूलोधूवाँ र फोहोरमैलाले आजित भए पनि मलाई यही सहर संसारकै सुन्दर र प्यारो लाग्छ । र त परदेशमा कर्म गरिरहेको कुनै बेला मैले विदेशी साथीहरूको सोधाइमा भनेकी थिएँ, ‘दुनियाँमा स्वर्ग कहीँ छ भने त्यो नेपाल हो र सब से सुन्दर सहर भनेको मेरो काठमाडौं सहर हो ।’ र मनमनै भनेको थिएँ— यदि त्यहाँ विकराल धूलोधूवाँ फोहोर नहुँदो हो त !

यति सुन्दर सहरलाई हरक्षण कुरूपतातर्फ धकेलिरहेका अनेकन् पक्षमध्ये पुराना गाडीहरूले दैनिक फ्याँक्ने टनका टन धूवाँ पनि हो । विकसित र व्यवस्थित मुलुकहरूमा भए सार्वजनिक स्थलमा धूमपान गर्नुजत्तिकै निषेधित कार्य हो सवारीसाधनले हानिकारक धूवाँ फ्याँक्नु पनि । तर हामीकहाँ सवारीसाधनले वातावरण प्रदूषण बढाउनु मानौं टिप्पणी या सरोकारको विषय नै होइनÙ यसमा कसैले टाउको दुखाउनु जरुरी नै मानिँदैन र त निर्बाध रूपमा जनस्वास्थ्यमा गम्भीर खतरा उत्पन्न गराउने काम भइरहेछ ।

सधैं धूवाँधूलोमै लुकामारी गरिहिँड्ने म केही दिनपहिले झन् बढी बिथोलिएँ । छोरालाई विद्यालय पुर्‍याउने क्रममा चाबहिल–जोरपाटी सडकखण्डको ट्राफिक जाम त्यस दिन मलाई ठूलै कहर भइरहेको थियो, एउटा भीमकाय खटारो ट्रकले केही सेकेन्डको अन्तरालमा लगातारजसो फाँकिरहेको धूवाँका कारण । जामले गर्दा म ट्रकलाई ओभरटेक गर्न पनि सक्दिनथें । हामी आमा–छोरा खोक्दै, निसासिँदै फुत्किन खोजिरहेका थियौं । अरूलाई पनि त्यत्तिकै सास्ती भइरहेको थियो तर गर्न के नै सकिन्थ्यो र ! केही मिनेट पनि लामो युगजस्तो कष्टकर भयो । मेरो छोराको विद्यालय पोसाक नै खराब बनाइदिएको धूवाँको मुस्लोले हाम्रो श्वासप्रश्वास प्रणालीमा केकति असर गर्‍यो होला ? अझै दैनिक यसरी नै निलिरहेको धूवाँले झन् के पो गरिसक्यो होला ! मलाई कतै रिस पोख्नुजस्तो भयो तर पोख्नु कोसँग ? त्यो खटारो ट्रकसँग वा ट्रकचालकसँग ? कि ट्रकधनीसँग ? यातायात व्यवस्था विभागसँग कि वातावरण मन्त्रालयसँग ? यसरी रिसाउनभन्दा पनि हामीले सोच्नुपर्‍यो, यस्तो हानिकारक धूवाँ त्यस्ता हजारौं सवारीसाधनले दैनिक कैयौं टन निर्बाध फ्याँकिरहनु सामान्य कुरा हो ?

नचाहेरै पनि मैले विगतको आफ्नै परदेश बसाइ सम्झिएँ । इजरायलमा बसुन्जेल मैले न त्यहाँका कुनाकाप्चाका सडकमा धरि कहीँकतै बुङबुङ्ती धूलो उडेको देखें न त कुनै सवारीसाधनको त्यस्तो कालो मुस्लो धूवाँ नै । आखिर त्यो सबैलाई रोक्न सकिँदो रहेछ नि ! तर कसरी ? त्यहाँ त वातावरणीय सफाइलाई अत्यन्तै महत्त्व दिइने रहेछ । त्यहाँको सरकारले कतिपय सहरमा निजीबाहेकका डिजेलबाट चल्ने सार्वजनिक सवारीसाधनलाई प्रवेशनिषेध नै गरेको रहेछ । प्रत्येक सवारीसाधनमा सवारीधनी आफैंले पनि निश्चित रकम तिरेर एयर फिल्टर जडान गर्न सकिने रहेछ । सरकारी तवरबाटै पनि वातावरणीय प्रदूषण नियन्त्रण गर्न अत्यन्तै कडाइका साथ नियमन गर्ने गरिने रहेछ । सहरको प्राकृतिक सौन्दर्यलाई कायम राख्दै ‘स्वच्छ र हरियो सहर’ नारालाई त्यहाँका हर तह र तप्काले महत्त्व दिँदा रहेछन् । तब पो इजरायली सडकहरू जति बेलै टिलिक्क हुन्छन्, भलै प्रकृतिले मरुभूमि नै दिएको किन नहोस् ।

प्रकृतिले सिँगारिदिएको हाम्रो काठमाडौंचाहिँ किन दिनदिन कुरूपता ओढ्दै पटकपटक संसारकै प्रदूषित सहरको ग्राफ उक्लिरहन्छ ? हाम्रोमा वातावरण प्रदूषणसम्बन्धी चेकजाँच गर्ने निकाय नै नभएका होइनन् । उपत्यकाभित्र स्वयम्भू, टेकु, एकान्तकुना र भक्तपुर गरी चार ठाउँमा प्रदूषण मापन केन्द्र छन्, जसको काम सवारीसाधनको इन्जिन चेकजाँच गरी ठीक छन् भने ३५ रुपैयाँ राजस्व लिएर हरियो स्टिकर दिनु र उपत्यकाको वातावरणलाई प्रदूषित हुन नदिनु हो । यसरी हरियो स्टिकर टाँसिएका सवारीसाधन प्रदूषणमुक्त मानिन्छन् । तर अचम्म, बकाइदा हरियो स्टिकर टाँसिएका गाडीहरू नै दैनिक अमेजनको डढेलोजस्तो मुस्लो फ्याँक्दै गुडिरहेका छन् । परिणामतः सार्वजनिक ‘इन्भाइरोन्मेन्ट परफर्मेन्स इन्डेक्स’ को अध्ययनमा नेपाल सधैं संसारकै अति प्रदूषित मुलुकहरूमा परिरहेकै छ ।

हरिया स्टिकरवाला गाडीहरू कसरी कालो धूवाँ फ्याँक्छन् त ? सबैलाई थाहा छ, उक्त ३५ रुपैयाँ पर्ने स्टिकर एक–एक हजार रुपैयाँमा बिनाजाँचपास खुलेआम किनबेच हुने गर्छ । सवारीधनीले सिर्फ हजार रुपैयाँमा स्टिकर टाँसेर निर्बाध रूपमा सडकमा गुड्न पाउँछ भने किन हजारौं–लाखौं खर्च गरेर इन्जिनको मर्मत गरोस् ! अनि नियामक कर्मचारीले ३५ रुपैयाँको स्टिकर एक–एक हजारमा बेचेर कमाउन छोडी किन नियम–कानुन भन्दै टाउको दुखाओस् ! मुलुकमा शिरदेखि पाउसम्मै सबका सब भ्रष्ट, घूसखोरी र गैरजिम्मेवार भएपछि सर्वसाधारणले दैनिक यस्ता कालो–पिरो धूवाँ ननिली सुख छ ! सवारीधनीलाई त एउटा स्टिकरले आकस्मिक चेकजाँचको जरिवाना र झन्झटबाट जोगिन पाए पुगिहाल्यो ।

उपत्यकामा दैनिक लाखौं सवारीसाधन गुड्छन् । ती सबैको प्रदूषण मापन गर्न पर्याप्त कर्मचारी र उपकरण चाहिन्छन् । हाम्रा यातायात व्यवस्था विभागसँग त्यो किन छैन ? हुनैपर्ने हो भनेर खबरदारी गर्ने कुनै निकाय पनि छैन । किनभने, प्रदूषित हावामा सास फेर्दा सहरवासीको स्वास्थ्यमा कस्तो असर परिरहेको छ, यसले कस्ता दीर्घकालीन रोग निम्त्याइरहेको छ भन्ने विषय नै अत्यन्त गौण र महत्त्वहीन छन् हाम्रा लागि, हाम्रो राज्यप्रणालीका लागि ।

कोहीकसैले कतै आवाज उठाइहाले उपकरण छैन, पर्याप्त जनशक्ति छैन, प्रशस्त साधन र जाँचकेन्द्र छैनन् भनेर एकअर्कालाई देखाउँदै सबका सब पन्छिने गर्छन् । तब सवारीसाधनबापत बर्सेनि उठाइने अर्बौं रुपैयाँ चाहिँ केमा खर्च गरिन्छ ? प्रदूषण नियमनमा कडाइ गर्ने हो भने सहरमा गुडिरहेका आधाजति मर्मतकेन्द्रमा हुन्छन् कि म्युजियममै थन्किन पुग्छन् । अझै यो तथ्यमा दुईपाङ्ग्रे सवारीसाधन त समेटिएकै छैनन् । अहिलेसम्म त केवल चारपाङ्ग्रे मात्रै कुरा गरिंदै छ । यो भयावह अवस्था होइन ? यसबारे सचेत हुने बेला आएन ? कि सर्वसाधारणले यसरी नै दैनिक फोक्सोको बलि चढाइरहनुपर्ने हो ?

प्रकाशित : चैत्र २२, २०७७ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?