२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

जोखाना नै हेरिबस्ने हो ?

ओलीउपरको विश्वास हटिसक्दा पनि सरकारलाई समर्थन कायमै राखेर प्रचण्ड आफैंप्रति बेइमानी गरिरहेका छन् ।

यी हरफ लेखिँदै गर्दाको अवस्थासम्म, २३ फागुन २०७७ मा सर्वोच्च अदालतको फैसलाद्वारा पुनःस्थापित माओवादी केन्द्रले एमाले संसदीय दलका नेता केपी ओलीलाई सरकार बनाउन र चलाउन दिएको समर्थन फिर्ता लिएको छैन । त्यसैले २३ फागुनमा फैसलालगत्तै अल्पमत बन्नुपर्ने ओली सरकारसँग बहुमत कायमै छ ।

जोखाना नै हेरिबस्ने हो ?

यसलाई प्राविधिक बहुमत, राजनीतिक बेइमानी र अनैतिक रूपमा सत्तामा टिकिरहने, रहिरहने चालबाजी, जे विशेषणद्वारा सज्जित गरे पनि यथार्थ यही हो ।

हुन त ११ फागुनमा प्रतिनिधिसभा पुनःस्थापना भएको फैसला आएलगत्तै, त्यही साँझ प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने (वर्तमान संविधानमा नभएको) राजनीतिक अस्त्र विफल हुन गएको स्विकार्दै पदबाट राजीनामा दिएर आफूइतरका समूह, समूहहरूलाई सरकार बनाउन मार्ग प्रशस्त गरिदिनुपर्थ्यो । त्यस्तो उनले गरेनन् र त्यसको बाह्र दिनपछि सर्वोच्च अदालतकै अर्को फैसलाले उनलाई नेकपा संसदीय दलको नेताबाट एमाले संसदीय दलको नेतामा परिणत गरिदियो । संसद्मा उनी नैतिक रूपमा अल्पमतमा परेका छन् । प्राविधिक रूपमा भने उनी बहुमतमै छन्, तथापि यसमा भिन्न मत पनि छ । म यहाँ भिन्न मततर्फको विवरणमा जान्नँ ।

११ फागुनमा नैतिक रूपमा राजीनामा दिनुपर्ने ठाउँमा ओली पुगेका तर २३ गतेको फैसलाले ओली सरकार विस्थापित गरेर नयाँ समीकरणका लागि अग्रसरता लिने जिम्मेवारी प्रचण्डका रूपमा सम्बोधित माओवादी केन्द्रका नेता पुष्पकमल दाहालको हुन आएको हो । तर, चैत महिना ओरालो लागेर नयाँ वर्ष २०७८ नजिकिँदै गर्दाको अवस्थासम्म प्रचण्ड सरकारबाट समर्थन फिर्ता नलिई केको जोखाना हेरेर बसिरहेका हुन्, बुझिनसक्नु भएको छ । अझ भन्नुपर्दा, रहस्यमय भएको छ । कतिपयको भनाइ त केसम्म छ

भने, प्रचण्ड कुनै रात सुटुक्कै बालुवाटार छिरेर ओलीसँग अंकमाल गर्न सक्छन् र त्यो अंकमालको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि बल्ल माधव नेपालले थाहा पाउँछन् । यसो भन्नु वास्तवमा प्रचण्डको घोर अवमूल्यन हो, तर भन्नेले भन्दा मुख कसले थुन्न सक्ने ! ठाउँ पाएपछि भनिहाल्छन् ।

हो पनि, ओलीउपरको विश्वास हटिसक्दा पनि सरकारलाई समर्थन कायमै राखेर प्रचण्ड आफैंप्रति बेइमानी गरिरहेका छन् । यसर्थ, जबसम्म प्रचण्डले सरकारलाई समर्थन कायमै राख्छन्, तबसम्म नयाँ राजनीतिक समीकरण बन्नै सक्दैन र त्यसको प्रस्ट उत्तर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबाट समेत आइसकेको छ— सरकारबाट समर्थन फिर्ता नलिई नयाँ समीकरणका लागि मार्ग प्रशस्त हुँदैन । यस अवस्थामा जसपामाथि दोष थोपर्नु पनि जायज होइन किनभने ओली स्वयं अझै प्रचण्डकै काँध चढेर प्रधानमन्त्री पदमा कायम छन् ।

प्रचण्डले समर्थन फिर्ता लिनासाथै सरकार संवैधानिक, राजनीतिक र प्राविधिक हरहिसाबले अल्पमतमा झर्छ र संविधानअनुसार ओलीले तीस दिनभित्र विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत नलिँदै पनि एमालेइतरको गठबन्धन बन्न सक्छ र गठबन्धनको समर्थन पाएको प्रतिनिधिसभा सदस्य प्रधानमन्त्री बन्न सक्छ । तर, समर्थन फिर्ता नलिईकन गरिएका यावत् प्रयत्नहरू निष्फल हुनुलाई स्वाभाविक मान्नुपर्छ । वास्तवमा त्यतिन्जेल कांग्रेस र जसपालाई लोभ्याउनु, रिझाउनु ओलीको नित्यकर्म अन्तर्गतकै विषय रहिरहनेछ । प्रचण्ड माधव नेपाललाई साथै लिएर डबली–डबली गुहार्दै हिँड्दा त्यसले केही मानिसको ध्यान आकर्षित त गर्ला तर कुनै सार्थक परिणाम प्राप्त हुँदैन । परिणाम सक्रिय हस्तक्षेपले मात्र दिन्छ र अहिले त्यो सक्रिय हस्तक्षेप भनेको माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिनु नै हो । कुरालाई जताबाट घुमाएर भने पनि कुरा यही हो । ओली सरकारलाई विश्वासको मत लिन बाध्य पार्ने अस्त्र अरू कसैसित होइन, सिर्फ र सिर्फ प्रचण्डसँग छ ।

वास्तवमा संविधानले जस्तो शासकीय स्वरूप निर्धारण गरेको छ, यसका चल्ते यो घनचक्कर यसरी नै चल्छ । उच्चासनमा पुग्ने जोकसैले यसरी नै अस्पष्टताको फाइदा उठाउँदै राज गर्न सक्छ । राजनीतिक स्थिरताका नाममा निर्वाचन भएको पहिलो दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाउने प्रावधानका बलमा सरकारलाई जेसुकै गर्न र प्रधानमन्त्रीलाई मुखमा आएजति बोल्न पूरै छुट संविधानले नै दिएको छ । अझ विचित्र त के छ भने, दुई वर्षपछि अविश्वास प्रस्ताव आएर विफल अथवा सफल जे भए पनि एक वर्षभित्र अर्को अविश्वास प्रस्ताव ल्याउन नपाउने भनिएको छ । यसले प्रधानमन्त्रीबाट संसद्को जतिसुकै अवमूल्यन र अवहेलना भए पनि सहनैपर्ने बाध्यतालाई स्थापित गरेको छ ।

फलस्वरूप, प्रधानमन्त्री बनेपछि आध्यात्मिक स्पर्श नभएको व्यक्तिले स्वयंलाई अजम्बरी मान्न थाल्नु अस्वाभाविक होइन । यसै कारण हुनुपर्छ, पहिलो दुई वर्षकै अवधिमा ओलीकै सहयात्री माधव नेपालको मन ओलीबाट मान नपाएका कारण ज्यादै नराम्ररी कुँडियो र दुई वर्ष पुग्नासाथै ओली विस्थापनका लागि नेकपाको प्रचण्ड–नेपाल समूह निर्माणको कार्य सक्रियतापूर्वक अघि बढ्यो । ओलीलाई अहंकारले नजितेको भए पारस्परिक समरसता हुन्थ्यो, कम से कम माधव नेपालसँग । दुवै मिलेरै अघि बढ्थे । यहाँनेर भन्नैपर्छ— दोष माधव नेपालको पनि छ, ओलीको स्वभाव त उनलाई दशकौंदेखि थाहा भएकै हो । त्यही स्वभावकै चल्ते लामो समयसम्म उनीहरू दुईबीच सहकार्य भएको हो । यसर्थ, माधव नेपालले यी मान्छे यस्तै हुन् भनेर अपमानलाई ठूलै मुद्दा नबनाएका भए पनि हुन्थ्यो । तथापि प्रथम दोषी ओली हुन् किनभने उनी विजेता हुन् । एमालेको अध्यक्ष जितेका हुन् । त्यसैकारण स्वतः नेकपाको अध्यक्ष भएका थिए । नेकपा बदर भएपछि पुनः एमाले अध्यक्षमा कायम भएका हुन् ।

माधव नेपाललाई त्यो समूह निर्माण गर्ने उत्प्रेरणा ओली स्वयंको बानी–ब्यहोरा र वचनका कारण प्राप्त भएको हो । यहाँनेर ओली र ओलीपन्थीसँग एउटा प्रश्न गरौं, आफैं पार्टीको अध्यक्ष र प्रधानमन्त्री पनि आफैं हुँदाहुँदै अर्काका मुटु पोल्ने अप्रिय शब्द किन बोल्नु, बित्थामा तीतो पोख्दै किन हिँड्नु ? काम गर्न बनाएको हो देशले प्रधानमन्त्री । प्रधानमन्त्री भनेको जनमभरको ईख पालेर बस्न र विगतमा आफूमाथि भएका यावत् व्यवहारको साटो फेर्न बनेको पद होइन । प्रधानमन्त्री अहंकार पालेर अरूलाई गिज्याउन र गिल्ला गर्न सुहाउने पद त झन् किमार्थै होइन ।

ओली जिकिर गर्छन्, कामै गर्न दिएनन् । किन दिएनन्, यस विषयमा ओली र ओलीपन्थीले, एकै छिनलाई भए पनि आफूतिर फर्केर हेर्नुपर्छ । उनीहरूले आफूले अरूका प्रति प्रयोग गरेका अपशब्दहरू रेकर्ड गर्नु र दोहोर्‍याएर सुन्नुपर्छ अनि के गम्नुपर्छ भने, त्यस्तै अपशब्द अरूले आफूमाथि प्रयोग गरे भने मुटु कति भित्रसम्म पोल्छ ! पोल्छ नै, मानिस सर्वप्रथम तर्कशील प्राणी मात्र होइन, भावनाहरूको पुञ्ज हो । साँच्चै भन्ने हो भने, पहिला त मानिस भावनाकै पुञ्ज हो त्यसपछि मात्र तर्कशील । मानव विकासक्रमको प्रक्रियामा पहिला मस्तिष्कमा भावनाको जन्म भएको हो त्यसपछि मात्र तर्क । तर्कशक्ति त लामो अवधि लगाएर विकसित भएको हो । यसर्थ व्यवहारमा भावना र तर्कको समन्वय हुनैपर्छ । विवेक भएको प्राणीले आफैंलाई अवलोकन गर्नुपर्छ, कसैका अपशब्द र दुर्व्यवहारले आफूमाथि जेजस्तो पर्छ, त्यो अरूलाई पनि पर्छ भनेर बुझ्नुपर्छ ।

झन् आज त माधव नेपाल निरीह प्राणी भएका छन् । नेकपा अब नेकपा रहेन र एमाले पनि उनको आफ्नो हुन सकेन । साँच्चै भन्नुपर्दा, २३ फागुनको फैसलालगत्तै ओलीले कोटेश्वर गएर माधव नेपाललाई भेट्नुपर्थ्यो । एमाले नै कायम भएकामा यसका दुवै संस्थापक सँगै बसेर आगामी कार्यदिशा तय गर्नेबारे प्रथम परामर्श गर्नुपर्थ्यो । भनिहालें, पहल ओलीले नै गर्नुपर्थ्यो । भनिरहनु नपर्ला, सम्बन्ध बन्ने र बिग्रने पहिलो आधार बोली–वचन र व्यवहार नै हो । मान्छेलाई आफ्नो बनाउने कि बिरानो, आदर–सम्मानले निर्धारण गर्छ, पदले होइन । पदमा बसेका बेला लोभलालचवश जयजयकार हुनु उल्लेख्य विषय होइन । बरु आफू पदमा बसेका बेला आफ्ना सहयात्री, सहयोगीहरूप्रति सम्मानभाव प्रकट गरियो भने आउँदै गरेको विपत् पनि टर्छ । आदर–सम्मान गरिएन भनेचाहिँ बरु हुँदै नभएको विपत् आइपर्न बेर लाग्दैन ।

वर्तमान अवस्था प्रकारान्तरमा विपतै हो र यसलाई निम्त्याउने एक प्रमुख हस्ती प्रधानमन्त्री ओली आफैं हुन् । दुईतिहाइको समर्थन पाएको सरकार आज यो अवस्थामा यत्तिकै त पक्कै पुगेको होइन । यस विषयको गाम्भीर्य कसले मनन गर्ने ? शुभचिन्तक, शुभेच्छुक कति बाँकी छन् ? प्रतिनिधिसभा विघटन बदर भइसकेको अवस्थामा त्यही प्रतिनिधिसभाको समर्थनले बनेको सरकारको नेतृत्व गरिरहन नसुहाए पनि ओली पदमा बसिरहेकै छन् र ओलीले नैतिकताका आधारमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ भन्ने प्रचण्ड, विडम्बना, खोइ के जोखाना हेरेर बसेका हुन् कुन्नि, उनले अझै सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनन् !

वास्तवमा समर्थन फिर्ता लिएपछि यो होला, त्यो होला भनेर नाना थरी शंका–उपशंका गरेर बस्नुको कुनै औचित्य छैन । विश्वास नरहेपछि समर्थन फिर्ता लिने हो । राजनीतिमा परेको बेहोर्ने हो । राजनीति जोखिमहरूकै शृंखला हो, जोखिम त मोल्नैपर्छ । जे पर्लापर्ला, हाम फाल्नैपर्छ । हो, जोखिम मोल्न हिम्मत नभए, नमोले हुन्छ; तर जोखिम नमोल्दा दिनहुँ ओलीका प्रवचन सुन्दै रमाइलो मान्दै, जयजयकार गर्दै दिन व्यतीत गर्न तयार हुनुपर्छ ।

प्रकाशित : चैत्र २०, २०७७ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?