२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

जितपछि थपिएको जिम्मेवारी

सम्पादकीय

नेपाली फुटबल र यसको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) फेरि आन्तरिक मतभेदबाट गुज्रिरहेका छन्, तर ठीक यही बेला केही सुखद खबर पनि आएका छन् । फ्रान्चाइज फुटबलका रूपमा नेपाल सुपर लिग (एनएसएल) हुने लगभग तय भइसकेको पृष्ठभूमिमै नेपालको राष्ट्रिय टिमले भर्खर थ्री नेसन्स कप जितेको छ । दशरथ रंगशालामा भएको फाइनलमा नेपालले बंगलादेशलाई हराएर उपाधि चुमेको हो ।

जितपछि थपिएको जिम्मेवारी

कोरोना भाइरस संक्रमणको महामारी र त्यसबाट बच्न गरिएको लकडाउनका कारण अन्य सबै क्षेत्रजस्तै नेपाली फुटबल पनि नराम्रोसँग आक्रान्त रह्यो । यसकारणले नेपाली फुटबल लगभग शून्यको स्थितिमा झरेको थियो र खेलाडीहरू बेरोजगार हुन थालेका थिए । लकडाउन खुलेयता कम्तीमा नेपाली राष्ट्रिय फुटबल टिमको तयारी भने चलिरहेको थियो र तीन महिनायता टिम प्रशिक्षणमा व्यस्तसमेत थियो । यो तयारीको उद्देश्य विश्व कप र एसिया कप छनोटका बाँकी खेल खेल्नका लागि थियो ।

तर कोरोना महामारीकै कारण यी छनोट खेल पनि अनिश्चित भएकै बेला नेपालले थ्री नेसन्स कपको आयोजना गर्‍यो र यसको उपाधि नेपालकै राष्ट्रिय टिमले जित्न सफल भयो । यसले नेपाली फुटबललाई एउटा सुखद र सकारात्मक गति दिएको छ । यसमै टिकेर अब अगाडि बढ्न आवश्यक छ । हालको प्रतियोगिता आफैंमा ठूलो होइन, यसमा प्राप्त सफलतालाई धेरै महत्त्व दिएर बहकिन आवश्यक पनि छैन, तर यसले दिन खोजेको सन्देश भने उत्तिकै महत्त्वपूर्ण छ । नेपाली फुटबलले राम्रो तयारी गर्ने हो भने उपाधि जित्न असम्भव नहुने पनि यो सफलताले देखाएको छ । सन् १९८४ मा नेपालमा भएको पहिलो दक्षिण एसियाली खेलकुदको फुटबलमा नेपालले स्वर्ण जितेयता ३७ वर्षपछि घरेलु मैदानमा यो सफलता प्राप्त भएको हो । यसले पनि देखाउँछ, प्रतियोगिताको आकार सानै भए पनि यसलाई जित्न सजिलो हुन्न, त्यसैले पनि थ्री नेसन्स कपको सफलताको आफ्नो अलग अर्थ छ ।

नेपाली फुटबलका लागि सबभन्दा ठूलो लक्ष्य भनेको साफ च्याम्पियनसिपको उपाधि हो । दक्षिण एसियाली देशबीचको फुटबलको यो सर्वोच्च प्रतियोगिता नेपालले अहिलेसम्म जित्न नसकेको मात्र होइन, फाइनलमा समेत पुग्न सकेको छैन । प्रतियोगिता सन् १९९७ देखि सुरु भएको हो र यसको पहिलो संस्करण काठमाडौंमै भएको थियो । ठीक यही स्वरूपमा यसअघि दुई संस्करणका सार्क गोल्ड कप पनि भए । यी प्रतियोगितामा नेपालको प्रदर्शन अधिकांश समय कमजोर रहेको छ । अब यसको ११ औं संस्करण बंगलादेशको ढाकामा यही वर्षको सेप्टेम्बर दोस्रो सातादेखि सुरु हुँदै छ । नेपालको तत्कालको लक्ष्य यही प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने हुनुपर्छ । अबका केही दिनमा नेपालले विश्व कप र एसिया कपका छनोट पनि खेल्नेछ । त्यसपछि पालो यही साफ च्याम्पियनसिपकै हो । कप्तान किरण लिम्बूसहित अहिलेको पुस्ताका अधिकांश खेलाडीले आफ्नो खेलजीवनको सबभन्दा ठूलो लक्ष्य भनेकै साफ च्याम्पियनसिप जित्नु भनिआएका छन् । त्यसैले पनि यो महत्त्वपूर्ण छ ।

थ्री नेसन्स कपको उपविजेता रहेको बंगलादेशले पनि यही साफ च्याम्पियनसिपलाई नै आफ्नो तत्कालको लक्ष्य बनाएको छ । यसकारण पनि नेपालले साफ च्याम्पियनसिपलाई ध्यानमा राखेर तयारी सुरु गर्नुपर्छ, किनभने अब यो धेरै टाढाको विषय रहेन । ठीक यही बेला नेपाली फुटबलले आफ्नो दीर्घकालीन उद्देश्यलाई निश्चित आकार दिनुपर्छ र यो भनेको यसलाई पूर्ण व्यावसायिकतातर्फ अग्रसर गराउनु नै हो । यसको पहिलो पाइला फ्रान्चाइज लिग हुन सक्छ ।

यस्तै, एन्फाले नेपाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता सहिद स्मारक लिगलाई अझ मजबुत बनाउनुपर्छ । व्यावसायिकताको दीर्घकालीन सोच किन पनि आवश्यक छ भने, अन्तर्राष्ट्रिय फुटबल महासंघ र एसियाली फुटबल महासंघले यसैअनुसारका कार्यक्रम अगाडि बढाइरहेका छन् । अब माथिल्लो डिभिजनमा खेल्ने क्लबको आफ्नो मैदान मात्र होइन, एकेडेमीसमेत चाहिन्छ । यस्तै अन्य धेरै आवश्यकता पनि छन्, जसलाई अहिलेका नेपाली क्लबले आत्मसात् गर्न सकिरहेका छैनन् ।

भौतिक पूर्वाधार र अन्य सुविधामा क्लब मात्र होइन, नेपाली फुटबल स्वयं अझै कमजोर छ । यसतर्फ एन्फा गम्भीर हुन आवश्यक छ नै, यसमा स्वयं खेलाडीको जिम्मेवारी पनि उत्तिकै हुन्छ । नेपाली खेलाडीले आफूलाई अब्बल राख्ने र उत्कृष्ट प्रदर्शन गर्न सक्ने क्षमता राख्ने हो भने उसको सम्भावना नेपालमै मात्र सीमित हुनेछैन, विदेशतिर पनि धेरै छ । विशेषतः भारतमै फुटबल ठूलो उद्योगमा परिणत हुँदै छ र त्यहाँ नेपाली खेलाडीले खेल्ने सम्भावना पर्याप्त छ ।

यसका लागि एन्फाले पनि समन्वय गर्नुपर्छ । पछिल्लो समय नेपाली फुटबलमा देखिएका केही आसलाग्दा प्रदर्शन यिनै विदेशी लिगमा खेल्ने खेलाडीमा टिकेको छ । थ्री नेसन्स कपमा नेपाललाई प्राप्त सफलतामा पनि यस्तै खेलाडीको भूमिका बढी रह्यो, विशेषतः कप्तान लिम्बू र प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित रोहित चन्दको । उनीलगायत बाहिर खेल्ने खेलाडीले अनुभव गरेझैं जुन व्यावसायिकता, तयारी र स्तर ती लिगमा हुन्छ, त्यो अवस्था नेपाली फुटबलमा अझै आइसकेको छैन । विदेशी लिगमा सकेसम्म बढी नेपाली खेलाडीले खेल्नुको अर्थ, अर्को अर्थमा नेपाली फुटबलको विकास नै हो ।

थ्री नेसन्स कपको सफलताबाट यिनै तत्कालीन र दीर्घकालीन उद्देश्य प्राप्त गर्नका निम्ति आधार तयार भएको छ, प्रोत्साहन मिलेको छ । फेरि पुरानै सोचमा विजेता टिमलाई लगातार सम्मान गर्ने, भाषणबाजी गर्ने, तर मैदानमा काम नगर्ने प्रवृत्तिको कुनै अर्थ छैन । थ्री नेसन्स कप जितेकामा नेपाली फुटबल वृत्तले खुसीभन्दा बढी अब थपिएको जिम्मेवारी अनुभूति गर्न सक्नुपर्छ ।

प्रकाशित : चैत्र १८, २०७७ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?