विपत्‌को सहयोग– सच्चा सहयोग- विचार - कान्तिपुर समाचार

विपत्‌को सहयोग– सच्चा सहयोग

कोभिड खोप भाइरसलाई परास्त गर्ने प्रभावकारी हतियार हो, त्यो भूराजनीतिको साधन होइन ।
होउ यान्छी

चीन सरकारले नेपाललाई अनुदानस्वरूप प्रदान गरेको कोभिडको खोप दुई देशका सरकारको संयुक्त प्रयासद्वारा सोमबार हिमालय पर्वत शृंखला पार गरी काठमाडौंमा ल्याइपुर्‍याइयो । कोभिड महामारी फैलिन थालेदेखि चीनले नेपालसँग हातमा हात मिलाई विभिन्न माध्यमद्वारा महामारी नियन्त्रणमा सक्रिय रूपमा सहकार्य गर्दै कठिन घडीको संयुक्त सामना गर्ने मैत्री सम्बन्धको इतिहासमा एक नवीन एवं उज्ज्वल पृष्ठ थपेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई कोरोना खोप हस्तान्तरण गर्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी । तस्बिर : अंगद ढकाल

विश्वका सबै देशमा र चीनभित्रै पनि धेरै परिमाणमा कोभिड खोपको माग भइरहेका बेला चीनले नेपाललाई उक्त खोप अनुदानस्वरूप दिने विषयलाई प्राथमिकतामा राखेको थियो । यसबाट चीनले नेपालसँगको मैत्रीलाई दिएको उच्च महत्त्व र नेपाली जनताप्रतिको प्रगाढ मैत्री मात्र स्पष्ट भएको छैन, यसले चीन–नेपाल साझा भाग्यको एक जीवन्त व्याख्या र त्यसलाई व्यवहारमा उतार्न गरेको प्रयास पनि सबैका सामु प्रस्तुत गरेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले गम्भीरतापूर्वक घोषणा गर्नुभएको थियो— चीनको कोभिड खोपको अनुसन्धान, निर्माण पूरा भई प्रयोगमा ल्याउन थालिएपछि त्यसलाई सम्पूर्ण विश्वको सार्वजनिक उत्पादनको वस्तुका रूपमा विकासशील देशहरूको पहुँचमा पुर्‍याउन र ती देशहरूले खरिद गर्न सक्ने मूल्यको बनाउनका लागि चीनले योगदान पुर्‍याउनेछ । राष्ट्रपति सी चिनफिङको वाचा पूरा गर्दै चीन उक्त खोपको अन्तर्राष्ट्रिय सहकार्यको पहिलो समूहमा उभिई खोपको निष्पक्ष वितरणका लागि पहिलो कर्ता बनेको छ । अहिलेसम्ममा चीनले नेपालसहित ६९ वटा विकासशील देशलाई निःशुल्क खोप प्रदान गरिसकेको या गरिरहेको छ, र ४३ वटा देशमा खोप निर्यात गरिसकेको छ । चीनले विश्व स्वास्थ्य संगठनको कोभिड खोप कार्यान्वयन योजनामा सम्मिलित भई विकासशील देशहरूमा प्रयोग गर्नका लागि पहिलो चरणमा १ करोड खोप प्रदान गर्ने वाचा पनि गरेको छ । चीनका यी प्रयासहरूले विश्वव्यापी कोभिड नियन्त्रण कार्यमा आत्मविश्वास र आशा जगाउनेछन् ।

चीनले कोभिड खोपको प्रभावकारिता र सुरक्षित प्रयोगलाई सर्वोच्च महत्त्व दिएको छ । अहिले चीनमा १७ प्रकारका कोभिड खोपको क्लिनिकल परीक्षण भइरहेको छ, तीमध्ये साइनोफार्म, साइनो भाक्लगायत चार प्रकारका खोपहरू चीनमा नियमानुसार बजारमा ल्याइसकिएका छन् । २०२१ फेब्रुअरी २० सम्ममा साइनोफार्मले उत्पादन गरेको कोभिड खोप चीनमा कुल ३ करोड ४० लाख मात्रा लगाइसकिएको छ । खोप ८० प्रतिशतभन्दा बढी प्रभावकारी र सुरक्षित छ भने खोप लगाएपछि शरीरमा एन्टिबडी देखापर्ने दर ९९.५२ प्रतिशत रहेको छ । गम्भीर अवस्था आउनबाट बचाउने प्रभावकारिता पनि शत प्रतिशत छ । खोप लगाइसकेपछि गम्भीर प्रकृतिको प्रतिक्रिया देखापर्ने दर १० लाखमा एकभन्दा कम छ, जुन सामान्य रुघाखोकीको खोपको भन्दा पनि कम हो । अहिलेसम्म नेपालसहित ६० भन्दा बढी देशले चिनियाँ खोप प्रयोग गर्ने अनुमति दिइसकेका छन् । १० भन्दा बढी देशका राष्ट्रप्रमुख अथवा सरकार प्रमुखहरूले चिनियाँ खोप लगाइसकेको सार्वजनिक जानकारी दिइसकिएको छ । चीनभित्र र विदेशमा चिनियाँ खोप लगाउनेहरूको संख्या १० करोड नाघिसकेको छ । चिनियाँ खोप सुरक्षित तथा प्रभावकारी रहेको तथ्य विश्वका विभिन्न देशमा प्रमाणित भइसकेको छ ।

यहाँ विशेष जोड दिनुपर्ने कुरा के हो भने, कोभिड खोप भाइरसलाई परास्त गर्ने प्रभावकारी हतियार हो, त्यो भूराजनीतिको साधन होइन । चीनले कोभिड खोपको अन्तर्राष्ट्रिय सहकार्यद्वारा कुनै पनि भूराजनीतिक उद्देश्यपूर्ति गर्ने विचार गरेको छैन, कुनै आर्थिक फाइदा उठाउने योजना बनाउनेछैन र यसमा कुनै राजनीतिक पूर्वसर्त राखेको छैन । चीनले खोपलाई विश्वका सम्पूर्ण मानिसले प्रयोग गर्न पाउने, प्रयोग गर्न सक्ने सार्वजनिक उत्पादनको वस्तु बनाई सही अर्थमा ‘जनताको खोप’ बनाउने प्रयास गर्दै आएको छ ।

गत वर्षदेखि कोभिड महामारीले विश्वलाई सम्पूर्ण क्षेत्रमा नकारात्मक असर पारेको छ । देशहरूबीच मानिसहरूको आवतजावत तथा आर्थिक–व्यापारिक सहकार्यहरू सबैमा त्यसको असर पर्न गएको थियो । तर चीन–नेपाल ‘बीआरआई’ सहकार्यमा अवरोध उत्पन्न भएन; दुवै पक्षको संयुक्त प्रयासमा नयाँ विकास, नयाँ उपलब्धि निरन्तर देखा परिरहे । सन् २०२० मा चीन नेपालको वैदेशिक लगानीकर्ता देशका रूपमा पहिलो स्थानमा रहिरह्यो, चीनले नेपालमा गरेको लगानी १० करोड अमेरिकी डलर नाघेको छ । चीन–नेपाल द्विपक्षीय सहयोगका विभिन्न परियोजना क्रमिक रूपमा अघि बढिरहेका छन् ।

चिनियाँ सहयोगको दरबार हाइस्कुल पुनर्निर्माणको परियोजना पूरा गरी नेपाल पक्षलाई हस्तान्तरण गरिएको छ; चिनियाँ सहयोगको अरनिको राजमार्ग तेस्रो चरणको मर्मत–सम्भार परियोजना प्रारम्भ भएको छ; चिनियाँ सहयोगको काठमाडौं उपत्यका दोस्रो चरणको चक्रपथ विस्तार परियोजनामा विद्यमान संरचनाहरूको स्थानान्तरण कार्यमा ठोस उपलब्धि भएको छ । चीनको पावरचाइनाले जिम्मा पाएको मेलम्ची परियोजनाअन्तर्गत सुरुङबाट पानी पठाई गरिने परीक्षण प्रारम्भ हालै भइसकेको छ । चीन–नेपाल सीमा वारिपारिको रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन कार्य क्रमिक रूपमा अघि बढिरहेको छ । हामीलाई विश्वास छ, चिनियाँ खोप आइपुगेपछि दुई देशका मानिसहरूको आवतजावतमा सुविधा हुनेछ, सहकार्य परियोजनाहरूको प्रगति छिटो हुनेछ, र ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्यप्राप्तिमा सहयोग पुग्नेछ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले भन्नुभएजस्तै, ‘चिसो हिउँदले वसन्तको आगमनलाई रोक्न सक्दैन, कालो रातले बिहानको प्रकाशलाई छोप्न सक्दैन ।’ कोभिड खोपले महामारीमाथि विजय प्राप्त गर्ने आशाको किरण बोकेर ल्याएको छ । सहकार्य र सहयोगको पथमा अडिग रही हामीले बहुलवादको अनुसरण गरिरह्यौं भने अवश्य पनि महामारीविरुद्धको युद्धमा अन्तिम विजय प्राप्त गर्न सक्छौं । चीनले नेपालसहित विश्वका सबै देशसँग एकता र सहकार्य कायम राख्नेछ, संयुक्त रूपमा मानवजातिको स्वास्थ्यसम्बन्धी साझा समष्टि निर्माण गर्ने प्रयास जारी राख्नेछ, महामारी नियन्त्रणलगायत सबै क्षेत्रका सहकार्यलाई अघि बढाई संयुक्त रूपमा विश्वभरका मानिसहरूको सुख–समृद्धिका लागि प्रयास गरी अझ सुन्दर भविष्यको स्वागत गर्नेछ ।

(होउ जनगणतन्त्र चीनकी नेपालस्थित राजदूत हुन् ।)

प्रकाशित : चैत्र १७, २०७७ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्

अब हरेकको डिजिटल ठेगाना

बहुउपयोगी ‘गुगल प्लस कोड’ प्रयोग गर्दा सेवाप्रदायक र सेवाग्राही दुवैलाई सहज र कम खर्चिलो हुन्छ । यसले सेवाप्रवाहको गुणस्तर र प्रभावकारिता पनि सुनिश्चित गर्छ ।
प्रद्युम्नप्रसाद उपाध्याय

हाम्रो समाजमा एकआपसमा परिचय हुँदा प्रायः सोधिने पहिलो प्रश्न हो— तपाईंको घर कता ? नेपालमा मात्र होइन, विश्वभरि नै ठेगाना सोधेर मानिसको पहिचान निर्क्योल गरिन्छ । भूमिमा मानिसको भौतिक जरोले स्थानीयता र राष्ट्रियता बताउँछ । यस्तो महत्त्व राख्ने ठेगाना हाम्रा नीति–निर्माण तहले चासो दिन सकेको थिएन । तथापि पछिल्लो समय चर्चामा आएको ‘गुगल प्लस कोड’ प्रणालीलाई ठेगानाको एक विकल्पका रूपमा प्रयोग गर्न सकिने सरकारको निर्णय महत्त्वपूर्ण छ ।

‘गुगल प्लस कोड’ वैज्ञानिक, व्यवस्थित र प्रयोगकर्तामैत्री विद्युतीय ठेगाना पद्धति हो । यसमा पृथ्वीमा कोरिएका काल्पनिक अक्षांश र देशान्तर रेखाहरूको मद्दतबाट बनेका कोठा (ग्रिड) हरूलाई अंग्रेजी अक्षर–अंकहरूमा (अल्फान्युमेरिक) नामकरण गरी सबै स्थानलाई युनिक पहिचान दिइएको हुन्छ ।

प्रविधिको सहायताले पृथ्वीभरि कायम गरिएका भू–विन्दुहरूबाट प्रत्येक स्थानको एक निश्चित कोड बनाइएको छ । पृथ्वीको जुनै कुनामा भए पनि त्यसको ठेगाना बनिसकेकाले सूचना–प्रविधिको क्रान्तिसँगै आएको यो नवीनतम प्रविधि सबैका लागि उपयोगी छ । ‘पत्ता लगाउन सकिने खालको मेरो ठेगाना नै छैन’ भन्ने दिन अब गए । आफ्नो परम्परागत ठेगाना अपडेट नहुँदा ‘गुगल प्लस कोड’ जेनेरेट गरेर प्रयोग गर्न सकिन्छ । गुगलले सन् २०१५ तिर विकास गरेको यो कोड प्रणाली साधारणतया छ अक्षरमै स्थानीय नामसहित लेख्न सकिन्छ । यदि ‘ग्लोबल युनिक कोड’ चाहिएमा थप चार अक्षर राख्नुपर्ने हुन्छ । त्यस्तो कोड विश्वका अन्य ठाउँको कोडसँग मेल खाँदैन । प्लस कोडलाई गुगलले खुला स्रोतका रूपमा, निःशुल्क सबैलाई उपलब्ध गराएको छ ।

यो कोड कसरी पाउने ?

जोकसैले पनि आफ्नो कोड सजिलै खोजेर निकाल्न सक्छन् । यसका लागि गुगलको नक्सासम्बन्धी एप ‘गुगल म्याप्स’ मा जानुपर्ने हुन्छ । त्यसमा कोड प्राप्त गर्न चाहेको स्थान पहिचान गर्नुपर्छ । सो स्थानमा केही बेर थिचेपछि देखिने रातो पिनलाई थिच्दा छ अंक र स्थानसहितको कोड स्क्रिनमा देखिन्छ । यसलाई कपी गरी चाहेअनुसार ठेगानाका रूपमा प्रयोग गर्न सकिन्छ । नेपालमा हुलाकले यो कोड प्रयोग गरी केही चिठीपत्र, पार्सल वितरण पनि गरिसकेको छ ।

अव्यवस्थित सहरीकरणले गर्दा अहिले अधिकांश सहरका घर–संरचना सही र छिटो पत्ता लगाउन ज्यादै कठिन हुने गरेको छ । देशभरि नै वैज्ञानिक ठेगाना नहुँदा सरकार र निजी तथा गैरसरकारी संस्थाका कतिपय सेवा घरदैलोमा पुर्‍याउन निकै जटिल भइरहेको छ । विगतमा सहरी क्षेत्रका ठेगाना वैज्ञानिक बनाउने प्रयास नभएका होइनन् तर ती फितला भए । ठेगाना बनाए पनि अपडेट गरिएन, सबैलाई समेट्न पनि सकिएन । ती समयानुकूल पनि भएनन् । संघीयता आएसँगै गठन भएका स्थानीय सरकारहरूले भरपर्दो ठेगाना पद्धति नहुँदा सेवाहरू राम्ररी दिन सकिरहेका छैनन् । सजिला अद्यावधिक (अपडेटेट) ठेगाना नहुँदा थुप्रै सरकारी सेवाहरूमा नागरिकको पहुँच सुनिश्चित हुन सकेको छैन ।

सरकार घरदैलोमा पुग्ने ठेगानामार्फत नै हो । चिठीपत्र, पार्सल, बिजुली, पानी, टेलिफोन, इन्टरनेट, बाटो पुर्‍याउने नागरिकको भौतिक ठेगानामै हो । आफ्ना नागरिकलाई प्रहरी, दमकल, एम्बुलेन्सजस्ता आपत्कालीन सेवा पनि व्यवस्थित ठेगाना भए मात्रै शीघ्र पुग्न सक्छन् । नागरिकले निजी क्षेत्रबाट लिने बैंकिङ, इन्स्योरेन्स तथा विभिन्न व्यापारिक डेलिभरी सेवाको सुनिश्चितता पनि वैज्ञानिक ठेगानाले नै गर्छ । स्थानीय निकायले गर्ने भाइटल रजिस्ट्रेसन र सामाजिक सुरक्षाका कामहरू पनि पहिचानकै आधारमा हुने हुन् । यीबाहेक थुप्रै सामाजिक–सांस्कृतिक क्रियाकलापमा ठेगानाको विशेष महत्त्व हुन्छ । नागरिकका घरमा राज्यले आफ्नो पहुँच र भौतिक उपस्थिति जनाउने सबैभन्दा प्रारम्भिक र महत्त्वपूर्ण पक्ष भनेकै ठेगाना हो ।

हालै गुगल प्लस कोड कार्य सञ्चालन प्रक्रिया, २०७७ तयार गरेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्यान्वयनमा ल्याइसकेको छ । यसलाई सरकारी तहबाटै आधिकारिक रूपमा ठेगाना स्वीकार गरिएको छ । कार्य सञ्चालन प्रक्रियाले हुलाक वस्तु तथा समग्र सार्वजनिक क्षेत्रका सेवाहरूको वितरणमा भौतिक ठेगानाका रूपमा प्लस कोड प्रयोग गर्न मार्गप्रशस्त गरेको छ ।

प्लस कोड प्रणाली सार्वजनिक निकाय, निजी संस्था तथा व्यक्तिहरूले चाहेमा आफ्ना कार्यालय र घरमा प्रयोग गर्न सक्ने र यसका लागि स्थानीय टोल सुधार समिति वा स्थानीय निकायको सहजीकरण आवश्यक परे त्यो पनि लिन सक्नेजस्ता व्यवस्था यो कार्य सञ्चालन प्रक्रियाले गरेको छ । ठेगाना ट्याक्क मिलोस् भन्नका लागि भौतिक संरचनाको प्रवेशद्वारलाई आधार मानेर कोड जेनेरेट गर्न सकिनेछ । भाडामा बस्नेहरूले घरबेटीको घरलाई आधार मान्न सक्नेछन् भने कुनै ठूला अपार्टमेन्टमा बस्ने सेवाग्राहीले एउटै संयुक्त वा फरक कोड प्रयोग गर्न पनि सक्नेछन् ।

कार्य सञ्चालन प्रक्रियाले यसरी डिजिटल ठेगाना प्रणाली प्रयोग गर्न सर्वसाधारण तथा संस्थाहरूलाई मार्ग देखाएको छ । यसैका आधारमा सबै कार्यालयले सेवाग्राहीको ठेगाना अपडेट गरी आफ्नो सूचना प्रणालीमा प्लस कोड पनि राख्न सक्छन् । उदाहरणका लागि, बैंकहरूले आफ्ना सेवाग्राहीको खाता खोल्दा वा अपडेट गर्दा यो ठेगाना राख्ने प्रबन्ध मिलाउन सक्छन् । त्यस्तै, राजस्व कार्यालयले करदाताको विवरण लिँदा ठेगानामा प्लस कोड पनि थप्न सक्छन् ।

स्मार्ट सिटीको प्रारम्भिक आधार : डिजिटल ठेगाना

स्मार्ट सिटीको एक आधारभूत तत्त्व ठेगाना हो । अझै, सूचना प्रविधिमा आधारित तथा नियमित रूपमा अपडेट भैरहने ठेगाना प्रणाली हुँदा स्मार्ट सिटीको ‘स्मार्टनेस’ अझ बढ्नेछ । अहिले नेपालका लगभग सबै नागरिकका हातहातमा मोबाइल छ । र, इन्टरनेटका प्रयोगकर्ता पनि उल्लेख्य मात्रामा बढिरहेका छन् । बहुउपयोगी प्लस कोड प्रयोग गर्दा सेवाप्रदायक र सेवाग्राही दुवैलाई सहज र कम खर्चिलो हुन्छ । यसले सेवाप्रवाहको गुणस्तर र प्रभावकारिता पनि सुनिश्चित गर्छ । यस पद्धतिबारे नागरिक तहसम्म तत्काल पर्याप्त जानकारी दिनुचाहिँ आवश्यक छ । यसका लागि टोल सुधार समितिहरूको सहयोग लिएर हरेक नागरिकलाई आफ्नो ठेगाना व्यवस्थित गर्नका लागि प्रोत्साहन गर्न सकिन्छ ।

प्लस कोडअंकित ससाना प्लेटहरू घरघरमा राख्न पालिकाहरूले सहजीकरण गर्न पनि सक्छन् । अबको युग डिजिटल युग हो । प्रविधि ग्रहण गर्न नसक्ने समाज पछि पर्ने निश्चितप्रायः छ । मानव सभ्यताले आविष्कार गरेका अनेक वस्तु तथा प्रविधिको फाइदा हामीले लिइरहेका छौं । प्लस कोड पनि तिनैमध्ये एक हो । यसलाई प्रयोग गरी जीवन सरल बनाउन सकिन्छ ।

(उपाध्याय गोश्वारा हुलाक कार्यालयका प्रमुख हुन् ।)

प्रकाशित : चैत्र १७, २०७७ ०८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×