कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अब हरेकको डिजिटल ठेगाना

बहुउपयोगी ‘गुगल प्लस कोड’ प्रयोग गर्दा सेवाप्रदायक र सेवाग्राही दुवैलाई सहज र कम खर्चिलो हुन्छ । यसले सेवाप्रवाहको गुणस्तर र प्रभावकारिता पनि सुनिश्चित गर्छ ।

हाम्रो समाजमा एकआपसमा परिचय हुँदा प्रायः सोधिने पहिलो प्रश्न हो— तपाईंको घर कता ? नेपालमा मात्र होइन, विश्वभरि नै ठेगाना सोधेर मानिसको पहिचान निर्क्योल गरिन्छ । भूमिमा मानिसको भौतिक जरोले स्थानीयता र राष्ट्रियता बताउँछ । यस्तो महत्त्व राख्ने ठेगाना हाम्रा नीति–निर्माण तहले चासो दिन सकेको थिएन । तथापि पछिल्लो समय चर्चामा आएको ‘गुगल प्लस कोड’ प्रणालीलाई ठेगानाको एक विकल्पका रूपमा प्रयोग गर्न सकिने सरकारको निर्णय महत्त्वपूर्ण छ ।

अब हरेकको डिजिटल ठेगाना

‘गुगल प्लस कोड’ वैज्ञानिक, व्यवस्थित र प्रयोगकर्तामैत्री विद्युतीय ठेगाना पद्धति हो । यसमा पृथ्वीमा कोरिएका काल्पनिक अक्षांश र देशान्तर रेखाहरूको मद्दतबाट बनेका कोठा (ग्रिड) हरूलाई अंग्रेजी अक्षर–अंकहरूमा (अल्फान्युमेरिक) नामकरण गरी सबै स्थानलाई युनिक पहिचान दिइएको हुन्छ ।

प्रविधिको सहायताले पृथ्वीभरि कायम गरिएका भू–विन्दुहरूबाट प्रत्येक स्थानको एक निश्चित कोड बनाइएको छ । पृथ्वीको जुनै कुनामा भए पनि त्यसको ठेगाना बनिसकेकाले सूचना–प्रविधिको क्रान्तिसँगै आएको यो नवीनतम प्रविधि सबैका लागि उपयोगी छ । ‘पत्ता लगाउन सकिने खालको मेरो ठेगाना नै छैन’ भन्ने दिन अब गए । आफ्नो परम्परागत ठेगाना अपडेट नहुँदा ‘गुगल प्लस कोड’ जेनेरेट गरेर प्रयोग गर्न सकिन्छ । गुगलले सन् २०१५ तिर विकास गरेको यो कोड प्रणाली साधारणतया छ अक्षरमै स्थानीय नामसहित लेख्न सकिन्छ । यदि ‘ग्लोबल युनिक कोड’ चाहिएमा थप चार अक्षर राख्नुपर्ने हुन्छ । त्यस्तो कोड विश्वका अन्य ठाउँको कोडसँग मेल खाँदैन । प्लस कोडलाई गुगलले खुला स्रोतका रूपमा, निःशुल्क सबैलाई उपलब्ध गराएको छ ।

यो कोड कसरी पाउने ?

जोकसैले पनि आफ्नो कोड सजिलै खोजेर निकाल्न सक्छन् । यसका लागि गुगलको नक्सासम्बन्धी एप ‘गुगल म्याप्स’ मा जानुपर्ने हुन्छ । त्यसमा कोड प्राप्त गर्न चाहेको स्थान पहिचान गर्नुपर्छ । सो स्थानमा केही बेर थिचेपछि देखिने रातो पिनलाई थिच्दा छ अंक र स्थानसहितको कोड स्क्रिनमा देखिन्छ । यसलाई कपी गरी चाहेअनुसार ठेगानाका रूपमा प्रयोग गर्न सकिन्छ । नेपालमा हुलाकले यो कोड प्रयोग गरी केही चिठीपत्र, पार्सल वितरण पनि गरिसकेको छ ।

अव्यवस्थित सहरीकरणले गर्दा अहिले अधिकांश सहरका घर–संरचना सही र छिटो पत्ता लगाउन ज्यादै कठिन हुने गरेको छ । देशभरि नै वैज्ञानिक ठेगाना नहुँदा सरकार र निजी तथा गैरसरकारी संस्थाका कतिपय सेवा घरदैलोमा पुर्‍याउन निकै जटिल भइरहेको छ । विगतमा सहरी क्षेत्रका ठेगाना वैज्ञानिक बनाउने प्रयास नभएका होइनन् तर ती फितला भए । ठेगाना बनाए पनि अपडेट गरिएन, सबैलाई समेट्न पनि सकिएन । ती समयानुकूल पनि भएनन् । संघीयता आएसँगै गठन भएका स्थानीय सरकारहरूले भरपर्दो ठेगाना पद्धति नहुँदा सेवाहरू राम्ररी दिन सकिरहेका छैनन् । सजिला अद्यावधिक (अपडेटेट) ठेगाना नहुँदा थुप्रै सरकारी सेवाहरूमा नागरिकको पहुँच सुनिश्चित हुन सकेको छैन ।

सरकार घरदैलोमा पुग्ने ठेगानामार्फत नै हो । चिठीपत्र, पार्सल, बिजुली, पानी, टेलिफोन, इन्टरनेट, बाटो पुर्‍याउने नागरिकको भौतिक ठेगानामै हो । आफ्ना नागरिकलाई प्रहरी, दमकल, एम्बुलेन्सजस्ता आपत्कालीन सेवा पनि व्यवस्थित ठेगाना भए मात्रै शीघ्र पुग्न सक्छन् । नागरिकले निजी क्षेत्रबाट लिने बैंकिङ, इन्स्योरेन्स तथा विभिन्न व्यापारिक डेलिभरी सेवाको सुनिश्चितता पनि वैज्ञानिक ठेगानाले नै गर्छ । स्थानीय निकायले गर्ने भाइटल रजिस्ट्रेसन र सामाजिक सुरक्षाका कामहरू पनि पहिचानकै आधारमा हुने हुन् । यीबाहेक थुप्रै सामाजिक–सांस्कृतिक क्रियाकलापमा ठेगानाको विशेष महत्त्व हुन्छ । नागरिकका घरमा राज्यले आफ्नो पहुँच र भौतिक उपस्थिति जनाउने सबैभन्दा प्रारम्भिक र महत्त्वपूर्ण पक्ष भनेकै ठेगाना हो ।

हालै गुगल प्लस कोड कार्य सञ्चालन प्रक्रिया, २०७७ तयार गरेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्यान्वयनमा ल्याइसकेको छ । यसलाई सरकारी तहबाटै आधिकारिक रूपमा ठेगाना स्वीकार गरिएको छ । कार्य सञ्चालन प्रक्रियाले हुलाक वस्तु तथा समग्र सार्वजनिक क्षेत्रका सेवाहरूको वितरणमा भौतिक ठेगानाका रूपमा प्लस कोड प्रयोग गर्न मार्गप्रशस्त गरेको छ ।

प्लस कोड प्रणाली सार्वजनिक निकाय, निजी संस्था तथा व्यक्तिहरूले चाहेमा आफ्ना कार्यालय र घरमा प्रयोग गर्न सक्ने र यसका लागि स्थानीय टोल सुधार समिति वा स्थानीय निकायको सहजीकरण आवश्यक परे त्यो पनि लिन सक्नेजस्ता व्यवस्था यो कार्य सञ्चालन प्रक्रियाले गरेको छ । ठेगाना ट्याक्क मिलोस् भन्नका लागि भौतिक संरचनाको प्रवेशद्वारलाई आधार मानेर कोड जेनेरेट गर्न सकिनेछ । भाडामा बस्नेहरूले घरबेटीको घरलाई आधार मान्न सक्नेछन् भने कुनै ठूला अपार्टमेन्टमा बस्ने सेवाग्राहीले एउटै संयुक्त वा फरक कोड प्रयोग गर्न पनि सक्नेछन् ।

कार्य सञ्चालन प्रक्रियाले यसरी डिजिटल ठेगाना प्रणाली प्रयोग गर्न सर्वसाधारण तथा संस्थाहरूलाई मार्ग देखाएको छ । यसैका आधारमा सबै कार्यालयले सेवाग्राहीको ठेगाना अपडेट गरी आफ्नो सूचना प्रणालीमा प्लस कोड पनि राख्न सक्छन् । उदाहरणका लागि, बैंकहरूले आफ्ना सेवाग्राहीको खाता खोल्दा वा अपडेट गर्दा यो ठेगाना राख्ने प्रबन्ध मिलाउन सक्छन् । त्यस्तै, राजस्व कार्यालयले करदाताको विवरण लिँदा ठेगानामा प्लस कोड पनि थप्न सक्छन् ।

स्मार्ट सिटीको प्रारम्भिक आधार : डिजिटल ठेगाना

स्मार्ट सिटीको एक आधारभूत तत्त्व ठेगाना हो । अझै, सूचना प्रविधिमा आधारित तथा नियमित रूपमा अपडेट भैरहने ठेगाना प्रणाली हुँदा स्मार्ट सिटीको ‘स्मार्टनेस’ अझ बढ्नेछ । अहिले नेपालका लगभग सबै नागरिकका हातहातमा मोबाइल छ । र, इन्टरनेटका प्रयोगकर्ता पनि उल्लेख्य मात्रामा बढिरहेका छन् । बहुउपयोगी प्लस कोड प्रयोग गर्दा सेवाप्रदायक र सेवाग्राही दुवैलाई सहज र कम खर्चिलो हुन्छ । यसले सेवाप्रवाहको गुणस्तर र प्रभावकारिता पनि सुनिश्चित गर्छ । यस पद्धतिबारे नागरिक तहसम्म तत्काल पर्याप्त जानकारी दिनुचाहिँ आवश्यक छ । यसका लागि टोल सुधार समितिहरूको सहयोग लिएर हरेक नागरिकलाई आफ्नो ठेगाना व्यवस्थित गर्नका लागि प्रोत्साहन गर्न सकिन्छ ।

प्लस कोडअंकित ससाना प्लेटहरू घरघरमा राख्न पालिकाहरूले सहजीकरण गर्न पनि सक्छन् । अबको युग डिजिटल युग हो । प्रविधि ग्रहण गर्न नसक्ने समाज पछि पर्ने निश्चितप्रायः छ । मानव सभ्यताले आविष्कार गरेका अनेक वस्तु तथा प्रविधिको फाइदा हामीले लिइरहेका छौं । प्लस कोड पनि तिनैमध्ये एक हो । यसलाई प्रयोग गरी जीवन सरल बनाउन सकिन्छ ।

(उपाध्याय गोश्वारा हुलाक कार्यालयका प्रमुख हुन् ।)

प्रकाशित : चैत्र १७, २०७७ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?