कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रैथाने खानालाई बेवास्ता कतिन्जेल ?

सेफ सन्तोष शाहले बनाएर विदेशीलाई खुवाएका खानामध्ये कतिपय घरमै मज्जासँग बनाउन सकिन्छ तर ती पनि हामी बजारबाट किन्छौं ।
अरुणा उप्रेती

युकेमा ‘मास्टरसेफ : द प्रोफेसनल्स, २०२०’ को उपविजेता भएपछि सन्तोष शाहले बडो सम्मान पाए । हामीले उनको सफलतामा गर्व गर्‍यौं । तर, उनलाई विदेशीले ‘क्या बात’ भनेपछि मात्र सम्मान दिइयो । उनले जस्तै गरी घरका आमा, बज्यै, दिदी, फुपू, छोरीहरूले पकाएका खानालाई भने हामी अवहेलना गर्छौं ।

रैथाने खानालाई बेवास्ता कतिन्जेल ?

सन्तोषले नेपाली रैथाने खाना विदेशमा पकाएर खुवाएपछि, त्यस्ता खाना अंग्रेजी नाममा खोजी भयो । हामी आफ्नै भान्साका खानालाई अंग्रेजीमा भनेपछि ‘वाह, क्या राम्रो’ भनिहाल्छौं । घरमा अतिथि बोलाउँदा स्वास्थ्य बिगार्ने पिज्जा र केक ल्याएर खुवाउँछौं । उनीहरूलाई दाल, भात, तरकारी, रोटी, अचार र साग दिन हामीलाई लाज लाग्छ । त्यसै गरी पाहुनालाई मोही, कागती र बाबरीको सर्बत दिन पनि हिचकिचाउँछौं । तर ‘स्वास्थ्य बिगार्ने गुलियो पेय पदार्थ’ मनग्य खुवाउँछौं । बदाम किनेर ल्याई छोडाएर पाहुनालाई दिन लाज मान्छौं, तर ‘पिनट प्याकेट’ दिन भने गर्व गर्छौं । चना भुटेर दिन हिचकिचाउने हामी प्याकेटको नुनिलो ‘ग्रिन पिज’ दिन्छौं ।

कुनै विदेशीले ‘दूध खाए मुटुमा बोसो लाग्छ’ भनेपछि हामी गाईको दूध छोडेर भटमासको दूध खान्छौं । खाना खाँदा के–कति पोषण तत्त्व शरीरलाई चाहिन्छ भनेर ‘वैज्ञानिक तरिकाले’ हाम्रा पुर्खालाई थाहा थिएन, उनीहरूले शुद्ध खाए । अहिले विदेशी वैज्ञानिकले भनेपछि हामी अनेक शुद्ध पोषक तत्त्वबारे कुरा गर्छौं तर हजारौं वर्षदेखि हाम्रा पुर्खाले यसबारे बताएका कुरा बिर्सन्छौं । तिल, आलस, अमला, अम्बा आदि हाम्रो दैनिक जीवनका अंग थिए । तर, अहिले यसबाट पाइने तत्त्वका लागि हामी ट्याबलेट/चक्की खान सहज मान्छौं । यसरी चक्की किन्दा यी सबै हाम्रा भान्सामा सजिलै पाइन्छन् भन्ने बिर्सन्छौं । कोरोना महामारीका बेला विदेशी पोषणविद्ले ‘हाम्रो शरीरमा भिटामिन सी र भिटामिन डी कमी भए भाइरसले झनै च्याप्ने सम्भावना हुन्छ’ भनेपछि सबैजसोले यस्ता चक्की किनेर खाए । हामीलाई हेक्कै भएन हाम्रैवरिपरि पाइने कागती, अमला, अम्बा, हलुवावेदजस्ता फलफूलले भिटामिन सी मात्र होइन, अनेक किसिमका अन्य पौष्टिक तत्त्व पनि दिन्छन् भनेर ।

विदेशीले ‘क्यालोरिफाइड बटर’ खाए राम्रो हुन्छ भने, हामीले तिनका कुरा आँखा चिम्लेर मान्यौं । ‘बटर’ ल्याएर खायौं तर त्यो महँगो ‘बटर’ हाम्रै घरमा पाइने घिउको एक रूप हो भन्ने बिर्सियौं । घरमा सजिलै पाइने बाबरीको पातलाई वास्ता नगर्ने हामी ‘मिन्ट वाटर’ भनेर बोतलमा आएपछि महँगोमा किन्दाचाहिँ दंग पर्‍यौं ।

विदेशीको नक्कल गरेर हामीले खानेकुराको भन्दा प्रोटिन, कार्बोहाइड्रेट, लौह तत्त्व, क्याल्सियम आदिको मात्राका बारेमा बढी बुझ्यौं । ‘खानालाई सम्पूर्णतामा खानुपर्छ’ भन्ने कहिल्यै सिकेनौं । मैले अहिलेसम्म आफ्नो भान्साको खानेकुरामा कति ग्राम प्रोटिन वा कति मिलिग्राम सूक्ष्म पोषक तत्त्व पाइन्छ भनेर हेरेकी छैन ।

म खोले, भात, तरकारी, रोटी, खिचडी, हलुवा, बदाम र गुडको लड्डु, कागती–पानी, मोही, दही, दूध खान्छु । मैले अनेक थरीका भिटामिनको एक क्याप्सुल पनि खाएकी छैन । गर्भवती हुँदा पनि मैले आइरन चक्की खाइनँ । किनभने मेरो खाना (रोटी, भात, खिचडी) मा पर्याप्त लौहतत्त्व थियो । यी खानेकुरा खाँदा अनेक रोगसँग लड्ने शक्ति बढ्छ अनि अस्पताल र औषधिको खर्च पनि बच्छ; आर्थिक रूपमा पनि हामी सबल बन्छौं । अफसोस, प्रोटिन पाउन हामी चना र भटमास खाँदैनौं; अनेक बिस्कुट, प्रोटिन क्याप्सुल खान्छौं । पैसा तिरेर रोग ल्याउन तयार रहन्छौं । सन्तोषले बनाएर विदेशीलाई खुवाएका खानामध्ये कतिपय घरमै मज्जासँग बनाउन सकिन्छ तर त्यो पनि हामी बजारबाट किन्छौं ।

फर्सीको तरकारी मन अमिलो पारेर खान्छौं तर ‘पम्पकिन सुप’ खान पाउँदा भने आनन्द मान्छौं । ‘पम्पकिन’ र फर्सी एउटै हो भन्ने थाहा भएको भए कुरै अर्को हुने थियो । थाहा नपाउनेले ‘सोयाबिन’ वाह भनेर खान्छन्, भटमासको वास्तै गर्दैनन् । भुटेको भात ‘छ्या’ हुन्छ, तर होटलमा गएर ‘फ्राइड राइस’ का लागि बढी पैसा तिर्दा आनन्द लाग्छ । किन हामीलाई भोजनमा पनि अंग्रेजी मोह ? अंग्रेजी भाषामा भनिएका खाना राम्रो, नेपाली भाषाका परिकार नराम्रो भन्ने मानसिकताले जरो गाडेको छ । मौलिक खानालाई बेवास्ता गरेर बजारका खाना बालबालिकालाई दिँदा कुपोषण भएको हेक्कै हुँदैन हामीलाई । गहुँ, फापर, आलु, बोडी, सिमी सबै नेपालीले प्रयोग गर्ने सस्तो वस्तु भएकाले त्यति वास्ता गरिन्न किनभने ती रंगीचंगी प्याकेटमा आउँदैनन् । तर, प्याकेटमा आएका महँगा वस्तुचाहिँ बालबालिकालाई दिइन्छ ।

फर्सीको खीर खुवाउनुपर्छ भन्ने संस्थाहरूले कुभिन्डो, लौका वा इस्कुस पनि स्वास्थ्यकर हुन्छ भनी ज्ञान दिँदैनन् । फर्सी नहुने ठाउँमा कुभिन्डो वा लौका फल्यो भने पनि कसैले वास्ता नगर्नाले कुहिएर जान्छ । ‘नजिकको तीर्थ हेला’ भनेको यही होला । तर भोलि ‘अंग्रेजी’ जान्ने मान्छे आएर कुभिन्डो, इस्कुस वा लौकाको महत्त्वबारे बोल्यो भने हामी उसको कुरा मान्छौं ।

पम्पकिनको यसरी नै प्रचार भइरहे, केही समयपछि विदेशबाट प्याकेटमा आउने ‘पम्पकिन नट’ बेचिनेछन् सुपरमार्केटमा । अनि केही समयपछि महिला स्वास्थ्य स्वयंसेविका वा स्वास्थ्यकर्मीहरूले ‘पम्पकिन नट खाऔं, कुपोषणबाट बचौं’ भन्नेछन् । ‘पम्पकिन नट’ बालबालिकालाई दिनेछन् । सुदूरपश्चिमका सबै गाउँमा यही ‘पम्पकिन नट’ लगेर बेचिनेछ । फर्सीको तरकारी पकाउन झन्झट गर्नुको साटो ‘पम्पकिन नट’ खाए भैहाल्छ भनिनेछ । खानासम्बन्धी रैथाने ज्ञानको खोजी गर्नमा हामी पछाडि छौं ।

हजुरआमाहरूसँग भएका ज्ञानको आदर गर्दैनौं, त्यसबारे छलफल गर्दैनौं । रैथाने ज्ञान र मौलिक भोजनलाई बेवास्ता गरेर दिगो विकास हुन सक्दैन । हामी मालपुवा, सेल र जेरीको सट्टा केक किन्छौं । कोदोको रोटीको सट्टा ‘प्यान केक’ खान्छौं । भान्साको खानेकुराले कुपोषण कम हुन्छ भन्ने विचारलाई अवहेलना गर्छौं । यस्तो बानी कहिले छुट्ला ?

केही दिनअघि गाउँ जाँदा मैले बाटामा फलेको कर्कलो टिपेर घर ल्याएँ, त्यसलाई सुकाएर गुन्द्रुक र मस्यौरा बनाएँ । त्यसपछि त्यसलाई फलामको भाँडामा पकाएर गोलभेंडाको अचार र भातसँग खाएँ । यसले शरीरलाई चाहिने लौहतत्त्व दियो । यो ज्ञान गाउँघरमा बाँड्न सकिए महिला र बालबालिकालाई रक्तअल्पताबाट बचाउन मद्दत पुग्ने थियो ।

चीन, ब्राजिल, ताइवान, बंगलादेश र अफ्रिकामा कर्कलो र कर्कलोको जरा अर्थात् पिँडालुको प्रयोग गरिन्छ । नेपालमा भने कर्कलो र पिँडालु खाने केही विशेष दिन भए पनि अरू बेला प्रायः अवहेलनै गरिन्छ । जताततै पाइने भएर यस्तो भएको होला । रोगसँग लड्ने शक्ति दिने कर्कलो विभिन्न तरिकाले प्रयोग गरेकै बेस हुन्छ, सस्तो भन्दैमा हेप्नुपर्दैन । बजारमा पाइने प्याकेटका कुहिएका खानेकुराभन्दा कर्कलो र पिँडालुको तरकारी प्रयोग गरे स्वस्थ भइन्छ भनेर कसैले अंग्रेजीमा नबताएसम्म हामीले प्रयोग गर्न लाज मान्छौं । ‘सुपर फुड’ भनिने लट्टेको सागको तरकारी पाहुनालाई खुवाउँदा उनीहरूले अपमानित महसुस गर्न सक्छन् । तर जब त्यही लट्टे अंग्रेजी नाम दिएर ठूला होटलमा बेचिन्छ तब ‘उपयोगी’ मानिन्छ । सन्तोषले जस्तै अरू व्यक्तिले विदेशमा सफलता हासिल गरेपछि मात्र हामीले यी रैथाने बालीलाई वास्ता गर्छौं होला !

प्रकाशित : चैत्र १६, २०७७ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?