कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

प्रदूषणको आपत्

सम्पादकीय

प्रदूषणका दृष्टिले काठमाडौं उपत्यका सदैव जोखिमपूर्ण छ । मानव स्वास्थ्यमा प्रतिकूल असर पार्नका निम्ति कचौराजस्तो यस उपत्यकामा स्थानीय प्रदूषण नै पर्याप्त छ । त्यसमाथि बेलाबखत बाह्य परिवेशबाट भित्रिने दूषित वायुले त यहाँ विपत् नै निम्त्याउँछ । केही दिनयता यो उपत्यका फेरि यस्तै चपेटामा छ ।

प्रदूषणको आपत्

जनजीवनमै असर पर्नेगरी शुक्रबार मध्याह्नबाट एक्कासि फैलिएको घातक धूवाँ हट्ने छेकछन्द छैन । विज्ञहरूका अनुसार यो समस्या अझै केही दिन रहन सक्छ । बाहिरबाट भित्रिएको धूवाँका कारण शुक्रबार र शनिबार दिउँसै अँध्यारोजस्तो भएको छ भने मानिसहरूले आँखा र नाक पोलेको महसुस गरेका छन् । यस घातक धूवाँबाट बच्न सकेसम्म घरबाहिर निस्कनु हुँदैन, निस्कनै पर्दा पनि मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ ।

काठमाडौं आसपासका विभिन्न जिल्लालगायत रसुवाको लाङटाङ निकुञ्जमा लागेको डढेलोको धूवाँ भित्रिएकाले काठमाडौं ‘अन्धकारमय’ भएको हो । यसमा भारतका विभिन्न ठाउँका डढेलोको प्रभाव पनि मिसिएको विज्ञहरूको आकलन छ । पश्चिमी वायुसँगै भित्रिएको धूवाँ मिसिएपछि उपत्यकाको विद्यमान प्रदूषणले घातक रूप लिएको हो । हावा जोडले नचलेका कारण काठमाडौं खाल्डोबाट प्रदूषणका कणहरू बाहिर जान नसकी वायुमण्डलको तल्लो तहसम्मै फैलिएका छन् । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार वायुको गुणस्तर सूचकांक (एक्यूआई) ३ सयभन्दा बढी हुनु ‘घातक’ हो । उपत्यकामा शुक्रबार एक्यूआई ४ सय ७० सम्म रेकर्ड भएको थियो । शनिबार पनि ४ सय नाघेको थियो । उपत्यकाको वायुमण्डल कतिसम्म विषाक्त बनेको छ भने, स्विट्जरल्यान्डमा मुख्यालय रहेको ‘आईक्यू एअर’ ले काठमाडौंलाई विश्वका ९४ प्रदूषित सहरमध्ये पहिलो नम्बरमा राखेको छ ।

संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ । एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वास्थ्यकर हुन्छ । सरकारले गत वर्ष स्वीकृत गरेको ‘काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजना’ अनुसार पनि एक्यूआई ३ सय नाघे विपद् मानिन्छ । गत पुसमा पनि काठमाडौंमा वायुको गुणस्तरले खतराको तह पार गरेपछि सरकारले सर्वसाधारणलाई घरबाहिर ननिस्कन सूचना नै जारी गरेको थियो । यसरी समय–समयमा जनघनत्व धेरै भएका सहरहरूमा प्रदूषण घातक तहमा पुग्नुलाई सम्बन्धित सबैले गम्भीरतापूर्वक लिनुपर्छ । र, यसलाई न्यून गर्न आ–आफ्नो स्थानबाट भूमिका खेल्नुपर्छ ।

प्रदूषणबारे किन चिन्तित हुनुपर्छ भने, यो स्वच्छ प्रकृति तथा वातावरणसित मात्र जोडिएको विषय होइन, यसको प्रत्यक्ष सम्बन्ध मानव स्वास्थ्यसित छ । प्रदूषणका कारण फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोका अन्य रोग, दम, निमोनिया, मस्तिष्कघात, कम तौल वा समय नपुग्दै बच्चा जन्मिनेजस्ता समस्या हुन्छन् । ‘स्टेट अफ ग्लोबल एयर–२०२०’ का अनुसार नेपालमा प्रदूषणले निम्त्याउने रोगका कारण बर्सेनि ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको छ । डब्लूएचओकै अनुसार पनि सन् २०१८ मा नेपालमा प्रदूषणका कारण करिब ३७ हजार जनाको मृत्यु भएको थियो । यो त आँकडामा अटाएको मृत्यु–संख्या भयो, यस्तै प्रदूषणकै कारण दीर्घरोगी हुने कति होलान् ? काठमाडौंजस्ता प्रदूषित सहरमा बस्नेहरूमध्ये सामान्य प्रभावित त झनै कति होलान् ?

खासमा, यतिबेला काठमाडौंको वायुमा प्रदूषित धूलो मात्रै होइन, सरकारी अकर्मण्यता पनि तैरिरहेको छ । बनाइएका योजनाको मात्रै कार्यान्वयन भएको भए पनि अहिलेसम्म स्थानीय प्रदूषण धेरै घट्न सक्थ्यो । तसर्थ, योजना बनाएर कार्यान्वयन नगर्ने प्रवृत्तिको अविलम्ब अन्त्य आवश्यक छ । खासगरी, सरकारले गत फागुनमा ल्याएको ‘काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना–२०७६’ लाई कागजमै सीमित राख्नु हुन्न । कार्ययोजनामा भएका प्रदूषण घटाउने उपायहरूको यथोचित कार्यान्वयन गर्नुपर्छ । यस्तै, काठमाडौं उपत्यका नगरपालिका फोरमले उपत्यकाको प्रदूषण नियन्त्रण गर्न दुई वर्षअघि पारित गरेको ९ बुँदे प्रतिबद्धतालाई पनि कार्यान्वयनमा ल्याइनुपर्छ । सहरलाई पर्यावरणीय र स्वास्थ्यका हिसाबले बस्नलायक बनाउने दायित्वप्रति सरकार तथा सम्बन्धित निकायहरू प्रतिबद्ध रहनुपर्छ । स्थानीय प्रदूषण हटाउनुका अतिरिक्त यसको बाह्य कारकका रूपमा रहेको डढेलो पनि समयमै नियन्त्रणमा लिनुपर्छ । पछिल्लो समय देशका ५४ जिल्लामा झन्डै साढे ४ सय स्थानमा डढेलो लागेको छ । तसर्थ, डढेलो लाग्ने कारणहरूसमेत पहिचान गरी यसको आवृत्तिलाई घटाउन खोज्नुपर्छ ।

यसका साथै, प्रदूषणको मात्रा ह्वात्तै बढेको यो बेला सकेसम्म कोही पनि घरबाहिर निस्कनु हुँदैन । वृद्धवृद्धा, दम–खोकी, श्वासप्रश्वास र मुटुका बिरामी, बालबालिका अझ बढी सजग रहनुपर्छ । सम्भव भएसम्म घरमै बस्नु उत्तम हुन्छ, बाहिर निस्कन परेमा अनिवार्य रूपमा मास्क प्रयोग गर्नुपर्छ । व्यस्त सडकमा हिँड्ने समय घटाउनुपर्छ । शारीरिक व्यायाम कम प्रदूषित क्षेत्रमा मात्रै गर्नुपर्छ । गाडीको उपयोग कम गर्नुपर्छ । फोहोर पदार्थलाई डढाउनु हुँदैन । समग्रमा, प्रदूषणलाई दीर्घकालीन रूपमा कम गर्न र यसको असरबाट बच्न सरकार जनउत्तरदायी हुनुपर्छ भने नागरिक सचेत रहनुपर्छ ।

प्रकाशित : चैत्र १५, २०७७ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?