सिकाइ र शिक्षण शैली- विचार - कान्तिपुर समाचार

सिकाइ र शिक्षण शैली

साना विद्यार्थीले पाउने औपचारिक शिक्षा न रमाइलो हुने गरेको छ न त बालमनोविज्ञानअनुरूप नै । यसलाई रमाइलो र रुचिकर बनाउन सर्वप्रथम शिक्षकले नै प्रयास गर्नुपर्छ ।
मधु राई

चारवर्षीय आशुतोष बस्नेतलाई आटाको डल्लाबाट डुनोट र सेलरोटी बनाउन मन पर्छ । आशुतोष मात्र हैन उसका मिल्ने साथीहरू पनि आटाको डल्लो लिन तँछाड–मछाड गर्छन् । आयातित प्लास्टिकका खेलौना आकर्षक भए पनि बालबालिकाले घरीघरी मुखमा हाल्ने गरेकाले हामी शिक्षकले साताको तीन दिन आटाको डल्लो र बेलाबेला सुजी दिने गरेका छौं । बिहानको प्रार्थनापछि पंक्तिबद्ध भई उनीहरू अभिनय गर्दै बालगीत गाउँछन् । र, कक्षाकोठामा उनीहरू आफूलाई मन पर्ने खेल सामग्रीसँग रमाउँछन् ।

साना विद्यार्थीहरूमा एकाग्रता बढाउन यस्ता स्थानीयस्तरबाट प्राप्त हुने खेल सामग्रीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन् । त्यसमाथि प्लास्टिकका आयातिय खेल सामग्रीले भन्दा स्थानीय रूपमा सर्वसुलभ आटा तथा सुजीजस्ता वस्तुबाट विभिन्न आकारप्रकार बनाउँदा उनीहरूमा एकाग्रता मात्र बढ्दैन, परोक्ष रूपमा उनीहरूले हात र औंलाहरूको व्यायामसमेत गरिरहेका हुन्छन् । बालविकास कक्षाका मात्र हैन शिशुकक्षाका बालबालिकाले समेत यस्ता आटाका डल्लाबाट आफूले लेख्दै र पढ्दै आएका अक्षर पनि बनाउने गर्छन् । उनीहरूको यस्तो शिक्षण सिकाइ प्रभावकारी मात्र हैन, दिगो पनि हुन्छ । यस्ता सामग्रीहरू उनीहरूले घरमा सहजै पाउँछन् । विद्यालय र घरमै उपलब्ध हुने कतिपय यस्ता खेल सामग्रीतर्फ शिक्षक र अभिभावकले ध्यान नदिँदा आयातित खेलौनाको माग दिनप्रतिदिन बढ्दै गएको छ ।

बालबालिकाले प्लास्टिकका आयातित खेलौना मुखमा हाल्ने हुँदा स्वास्थ्यमा प्रतिकूल असर पर्ने अध्ययन प्रतिवेदनले देखाएको छ । यस्तै साना विद्यार्थीहरूलाई स्थानीय खेल सामग्री जुटाउँदा शिक्षक तथा सहजकर्ताहरूले विशेष ध्यान पुर्‍याउनुपर्छ । कतिपय साना विद्यार्थी यस्ता खेल सामग्रीसँग परिचित हुँदैनन् र मिलेर खेल्न पनि जान्दैनन्, जसले गर्दा आफूसँग भएका खेल सामग्रीले नै उनीहरूले आफ्ना साथीलाई कुट्ने–पिट्ने गरको पाइन्छ ।

बालविकासको क्षेत्रमा काम गर्दै आएको सेतो गुराँस (गैरसरकारी संस्था) ले गाउँघरमा सहजै उपलब्ध हुने ढुंगा, काठ, कपडा, कागज, गेडागुडी, आटा, सुजी, मकैलगायतबाट बनाउन सकिने खेल सामग्री प्रयोग गर्न सकिन्छ भनेर सहजकर्ताहरूलाई तालिम दिन थालेको वर्षौं भयो । तैपनि तालिमप्राप्त अधिकांश सहजकर्ताले ती खेल सामग्रीहरू प्रयोग गरेको देखिँदैन । जसका कारण बालविकास केन्द्रको अनौपचारिक शिक्षण सिकाइ ओझेलमा पर्दै गएको छ । सहरबजारमा मोन्टेस्सोरी वा निजी विद्यालयअन्तर्गत सञ्चालित बालविकास केन्द्रमा अभिभावकहरूले छोराछोरी पठाउने गर्छन्, जहाँ प्लास्टिकका खेलौना नै बालबालिकालाई दिने गरेको पाइन्छ ।

अनौपचारिक शिक्षण सिकाइ गर्ने क्रममा शिक्षक तथा सहजकर्ताहरूले बालबालिकाको रुचि पनि थाहा पाउँछन । स्थानीयस्तरका खेल सामग्रीले बालबालिकाको सर्वांगीण विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने विषयमा शिक्षक संवेदनशील हुनु जरुरी छ । यसपालि साना विद्यार्थीहरू लकडाउनका कारण घरबाहिर निस्कन पाएनन् । लामो समय घरभित्र बसेका यस्ता विद्यार्थी साथीहरूमाझ भए पनि धेरैजसो एक्लै धुम्धुम्ती बसिरहेका हुन्छन् । उनीहरू एकैचोटि लामो समयपछि देखिएका साथीहरूसँग घुलमिल हुन सक्दैनन्, जसले गर्दा साना विद्यार्थीहरूको औपचारिक शिक्षण सिकाइमा बाधा पर्छ, उनीहरूको सर्वांगीण विकास हुँदैन । यस्तोमा साना विद्यार्थीहरूले पाउने औपचारिक शिक्षाको सुरुआत स्थानीय खेल सामग्रीबाट गर्ने हो भने ढिलोचाँडो उनीहरू पढाइमा रमाउनेछन् भन्ने विकसित मुलुकको अभ्यासले प्रमाणित गरेको छ ।

हाम्रोजस्तो मुलुकमा भने अधिकांश शिक्षक कसरी बालबालिकालाई छिटो लेखाउने/पढाउने भन्नेमा बढी केन्द्रित छन् । यसो हुनुमा शिक्षकभन्दा पनि अभिभावक बढी दोषी देखिन्छन् । किनभने कतिपय अभिभावक आफ्ना छोराछोरीको सर्वांगीण विकास कसरी गर्नेभन्दा पनि लेखाउन/पढाउन मरिहत्ते गर्छन् । नेपालीमै दोहोरो कुरा गर्न नसक्ने आफ्ना दूधे छोराछोरीलाई सधैंजसो ‘आज स्कुलमा के–के पढिस् त ?’ भनेर सोध्ने गर्छन् । अभिभावकले नियमितजस्तो सोध्ने यस्ता प्रश्नले कतिपय शिक्षकलाई हतास बनाउँछ र उनीहरू पनि बालमनोविज्ञानका कुरालाई थाती राखी लेखाउन/पढाउन बढी केन्द्रित हुन्छन् । मनोविज्ञान र उमेरअनुसारको शिक्षण नहुँदा यसको दीर्घकालीन रूपमा नकारात्मक प्रभाव साना विद्यार्थीको सिकाइमा पर्छ । र, कालान्तरमा विद्यार्थीका लागि पढ्ने–लेख्ने काम बोझ बन्न पुग्छ ।

बाल्यावस्थादेखि किशोरावस्थासम्म रमाइलोसँग पढ्दै र लेख्दै प्राप्त गर्नुपर्ने औपचारिक शिक्षा विद्यार्थीका लागि बोझ बन्दै जानुमा अभिभावक र शिक्षकको परोक्ष र प्रत्यक्ष रूपमा विशेष भूमिका रहँदै आएको देखिन्छ । सहरबजारका अधिकांश हुनेखाने शिक्षित अभिभावकहरूले समेत आफ्ना छोराछोरीको बालमनोविज्ञान बुझ्ने प्रयाससम्म गर्दैनन् र कतिपयले प्रत्यक्ष र परोक्ष रूपमा शिक्षकलाई बढी कक्षाकार्य र गृहकार्य दिन दबाब दिन्छन् । यसो हुँदा बालबालिकाको व्यक्तित्व विकास ओझेलमा परेको छ । छोराछोरीले छिटो लेखपढ गरून् भन्ने अभिभावकको अतिचाहनालाई सर्वोपरि राखी शिक्षण सिकाइ गर्न बहुसंख्यक शिक्षक लागिपरेको देखिन्छ । घरमा अभिभावक र विद्यालयमा शिक्षकको चाहनाअनुरूप औपचारिक शिक्षा प्राप्त गर्न बाध्य साना विद्यार्थीको बाल्यावस्था र किशोरावस्था जोखिमपूर्ण बन्दै गएको छ ।

बालबालिकाको चाहनाअनुरूप कक्षा सञ्चालन नभए विद्यार्थीहरूमा पढाइप्रति अरुचि जाग्छ । उनीहरूमा ‘पढेर के नै हुन्छ र ?’ भन्ने भावना सानै उमेरमा आउन सक्छ । औपचारिक शिक्षाको सुरुआत बालमनोविज्ञानले सुझाएअनुरूप हुनुपर्छ भनेर बालमनोवैज्ञानिक मारिया मोन्टेस्सोरीले आफ्नो फुस्तक ‘द सित्रेट अफ चाइल्डहुड’ मा उल्लेख गरेको दशकौं भयो । तर अफसोस बिरलै पुस्तक पढ्ने हाम्रा शिक्षक र अभिभावकका कारण मोन्टेस्सोरीले सुझाएका कुराहरू पुस्तकमै सीमित छ ।

यी र यस्ता कतिपय कारण पनि साना विद्यार्थीले प्राप्त गर्ने औपचारिक शिक्षा न रमाइलो हुने गरेको छ न त बालमनोविज्ञानअनुरूप नै । यसलाई रमाइलो र रुचिकर बनाउन सर्वप्रथम शिक्षकले नै प्रयास गर्नुपर्छ । किनभने बालबालिकाले विद्यालयमा आफ्ना शिक्षकले भनेका कुराहरू शिरोधार्य गर्छन् । यस्तोमा शिक्षकले बालमनोविज्ञानका सैद्धान्तिक कुराहरूलाई व्यवहारमा उतार्न हरसम्भव प्रयास गर्नुपर्छ र अभिभावकहरूलाई पनि यसबारे बेलाबेला जानकारी गराउनुपर्छ । करबलबाट पढाउने र लेखाउने कामले बालबालिकामा नकारात्मक र दूरगामी असर पर्छ भन्ने बहुसंख्यक अभिभावकलाई थाहा हुँदैन । पूर्वप्राथमिक र प्राथमिकतहको औपचारिक शिक्षाले नै विद्यार्थीहरूमा शिक्षाप्रतिको भोक जगाउँछ । उनीहरूले प्राप्त गर्ने औपचारिक शिक्षा रमाइलो र रुचिकर बनाउन घरमा अभिभावकले र विद्यालयमा शिक्षकले अनौपचारिक शिक्षणसकाइ गर्नु जरुरी छ ।

प्रकाशित : चैत्र ११, २०७७ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्

‘छोरीलाई धेरै पुलपुल्याउनुभ’को रैछ !’

विद्यार्थीहरूलाई नकुटी पढाउन सकिन्छ भनेर सामुदायिक विद्यालयका शिक्षकहरूलाई तालिम दिएको वर्षौं भयो । तैपनि विद्यार्थी कुट्ने र विद्यार्थीलाई मूर्ख भन्ने शिक्षकहरूको संख्यामा कमी आएको छैन ।
मधु राई

केही दिनअघि दाङ, राजपुर गाउँपालिका–७ स्थित सिक्टा माविका शिक्षक हेमराज विक विद्यार्थी कुटेका कारण पक्राउ परे । गणित र विज्ञानका शिक्षक विकले आफ्नो विषयमा शून्य अंक ल्याएको भन्दै कक्षा १० का विद्यार्थीलाई नीलडाम हुने गरी कुटेका थिए ।

अभिभावकले उजुरी दिएपछि उनलाई प्रहरीले समात्यो । यस्तै गत माघमा झापाको कन्काई नगरपालिकास्थित चम्पापुर माध्यमिक विद्यालयमा खरिदार पदमा कार्यरत रविन मगरले शिक्षकको अनुपस्थितिमा कक्षा लिने गरेको समाचार छापियो । त्यही महिना उनले आफूले सोधेको प्रश्नको जवाफ नदिँदा कक्षा ४ मा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीलाई कुटपिट गरेको पनि सार्वजनिक भयो । मरणासन्न हुने गरी कुटाइ खाएका विद्यार्थीको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।

सधैं प्रथम तीनमा पर्ने मेरी छोरीलाई एक दिन कक्षा नियन्त्रण गर्न नसकेका कारण नेपाली विषयका शिक्षकले जगल्टाउँदै ढाडमा हिर्काए । कक्षा सकिएपछि छोरी रुँदै घर आइन् । संयोगवश, यसैको भोलिपल्ट विद्यालयले मेला आयोजना गरेको थियो । ती शिक्षकसँग विद्यालयमै भेट भयो । छोरीलाई किन कुटेको भनेर म झोंक्किएँ । आफ्नो बचाउ गर्दै उनले भने, ‘तपाईंहरूले छोरीलाई धेरै पुलपुल्याएर हुर्काउनुभ’को रैछ । हाम्रो पालामा सरहरूले रगताम्मे हुने गरी कुट्थे ।’ उनको स्पष्टीकरणले मलाई चित्त बुझेन । मैले प्रतिवाद गरें, ‘आफूले शिक्षकबाट पाएको सजाय ब्याजसहित असुल्दै हुनुहुन्छ विद्यार्थीलाई कुटेर ?’ मैले यति भनेपछि विवाद झनै चर्कियो ।

शिक्षण पेसालाई कुनै पनि पेसासँग तुलना गर्न मिल्दैन न त जोसुकैलाई पढाउने जिम्मा नै दिन सकिन्छ । विद्यार्थीहरूले शिक्षकबाट लेख्न–पढ्न मात्र सिक्दैनन्, उनीहरूले शिक्षकलाई आदर्श मानेका हुन्छन् । प्रत्यक्ष र परोक्ष रूपमा शिक्षकका आनीबानीबाट ज्ञानगुनका कुराहरू पनि विद्यार्थीहरूले सिकिरहेका हुन्छन् । हुन पनि हो, शिक्षकले लेख्न–पढ्न मात्र सिकाउँदैनन्, आफ्नो सच्चरित्र र सद्गुणसमेत विद्यार्थीहरूमा हस्तान्तरण गरिरहेका हुन्छन् । त्यसैले त कतिपय शिक्षकलाई विद्यार्थी र अभिभावकले मात्र हैन, समाजले नै आदर्श व्यक्तिका रूपमा स्विकारेका दृष्टान्त पाइन्छन् ।

पछिल्लो समय जोकोहीले पनि जागिरका रूपमा शिक्षण पेसा अपनाउने गर्छन् । अधिकांश जागिरे शिक्षकहरूले आफूमा के–कस्ता गुण छन् र त्यसलाई कसरी बाँड्ने भन्नेबारे सोचेका छैनन् । त्यसैले कतिपय शिक्षितले ‘केटाकेटीलाई पढाउनु कुन गाह्रो काम हो र, पढाइहालिन्छ नि’ भन्ने गरेको पनि पाइन्छ । यस्ता सोच राख्ने कतिपय व्यक्तिबाट शिक्षा क्षेत्र प्रताडित छ । शिक्षण पेसा इज्जतिलो भए पनि विद्यार्थी कुट्ने केही शिक्षकका कारण हाम्रा कलिला छोराछोरीले निकै दुःख पाएका छन् । विद्यालयमा लेख्न, पढ्न मात्र सिकाइँदैन, व्यक्तित्व विकासका लागि आवश्यक मानवीय गुणहरू पनि सिकाइन्छ । अफसोस, विद्यार्थी देख्नेबित्तिकै रिसाउने शिक्षकहरूबाट हाम्रा छोराछोरीले के सिक्छन् ? कहिले कक्षाकार्य त कहिले गृहकार्य नगरेको भन्दै एकतर्फी विद्यार्थीहरूको मात्र गल्ती देख्ने शिक्षकहरूले आफू विद्यालयमा हुँदा कसरी लेखपढ गर्न सिकें भन्ने कुरा चटक्क बिर्सेको देखिन्छ ।

अन्य विषयको तुलनामा गणित र विज्ञानका शिक्षकहरू बढी रिसाहा हुने गरेको कतिपय घटनाले देखाएको छ । यी विषयका रिसाहा शिक्षकहरूले व्यावहारिक कक्षा लिने गरेको पाइँदैन । विशेष गरी यस्ता विषयका शिक्षकले विद्यार्थीलाई घोकाउँछन् मात्र । यदि व्यावहारिक तरिकाले विद्यार्थीलाई सहभागी गराएर पढाउने हो भने गणित र विज्ञानजस्ता जटिल विषयमा पनि विद्यार्थीलाई जिज्ञासु बनाउन सकिन्छ । विकसित मुलुकको अभ्यासले यो कुरालाई प्रमाणित गरिसकेको छ । हामीकहाँ सैद्धान्तिक ज्ञानमा आधारित निष्क्रिय शिक्षण सिकाइका कारण धेरैजसो विद्यार्थीका लागि गणित र विज्ञान हाउगुजी बनेको छ ।

यस्ता विषयमा संवेदनशील भई आफ्नो शिक्षण सिकाइ परिमार्जन गर्नुभन्दा पनि विद्यार्थीलाई कुटेरै सिकाउनुपर्छ भन्ने मान्यता बोकेका शिक्षकहरूको बाहुल्य रहेकाले सरकारको ‘दण्डरहित शिक्षण’ नीति असफल भइरहेको छ । विद्यार्थीहरूलाई नकुटी पढाउन सकिन्छ भनेर सामुदायिक विद्यालयका शिक्षकहरूलाई तालिम दिएको वर्षौं भयो । तैपनि विद्यार्थी कुट्ने र विद्यार्थीलाई मूर्ख भन्ने शिक्षकहरूको संख्यामा कमी आएको छैन । पहिलेपहिले विद्यार्थीले शारीरिक सजाय मात्र पाउँथे । केही समययता भने विद्यार्थीको अंगभंग हुने वा ज्यानै गुम्ने गरेका घटना पनि बाहिरिन थालेका छन् । शिक्षण पेसालाई जागिरजस्तै गरी लिने कतिपय रिसाहा शिक्षकले गाईवस्तुलाई बिनाकारण कुटेजस्तै गरी विद्यार्थीलाई भक्कुर्ने गरेका छन् । यस्ता शिक्षकले विद्यार्थीलाई निर्जीव वस्तु सम्झेका हुन्छन् र सोहीअनुरूप व्यवहार गर्छन् । कतिपय विद्यार्थीले यस्ता शिक्षकको कुटाइबाट बच्न बीचैमा पढाइ छाड्छन् ।

विद्यार्थीका लागि विद्यालय भनेको दोस्रो घर हो जहाँ उनीहरू लेख्न, पढ्न मात्रै सिक्दैनन्, आफूलाई मन पर्ने शिक्षकबाट मानवीय गुणहरू पनि सिकिरहेका हुन्छन् । अफसोस, अधिकांश शिक्षकले जागिर मात्र खाइरहेका छन् । र, विद्यार्थीलाई मानवीय गुण सिकाउनुपर्छ भन्ने कुरा पुस्तकमै सीमित राखेका छन् । शिक्षण पेसाको मर्म नबुझ्ने यस्ता शिक्षकहरूमा मानवीय गुणको खडेरी परेको देखिन्छ ।

यसो हुनुमा उनीहरूले पाएको सिकाइ वातावरणको पनि दोष छ । हिजोका दिनमा शिक्षासँगै मानवीय संवेदनाको विकास गर्न चुकेका कतिपय शिक्षकको व्यक्तिगत र सामाजिक व्यवहार समाजोपयोगी छैन । शिक्षक र अभिभावकहरूका व्यवहारबाटै विद्यार्थीको व्यक्तित्व बनेको हुन्छ । विद्यार्थीको आचरण बनाउने जिम्मा शिक्षककै हुन्छ । यस्तै अभिभावकहरूले पनि छोराछोरीका रूपमा आफ्नो अमूल्य सम्पत्ति विद्यालय र शिक्षकलाई सुम्पेका हुन्छन् । उनीहरूबाट अभिभावकले धेरै आशा र अपेक्षा राखेका हुन्छन् । शिक्षकले आफूजस्तै आदर्शवान् विद्यार्थी उत्पादन गर्न वर्षौं मिहिनेत गरेका हुन्छन् । यस्ता मिहिनेती शिक्षककै कारण शिक्षाको ज्योति फैलिरहेको छ । यस कुरालाई सतही रूपमा हाम्रा प्रधानाध्यापक र शिक्षकहरूले बुझे पनि आफूलाई संवाहक नसम्झने कतिपय रिसाहा शिक्षकका कारण शिक्षाको ज्योति सबै वर्ग, जाति, धर्म र समुदायसम्म पुग्न सकेको छैन । विद्यार्थी कुट्ने शिक्षकले आफूलाई परिवर्तन गर्न व्यवहार बदल्न जरुरी छ । होइन भने पेसै परिवर्तन गरेको बेस ।

प्रकाशित : फाल्गुन १४, २०७७ ०८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×