२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सन्तानको सुख लिने हाम्रो अन्तिम पुस्ता !

बाँच्नलाई सास फेर्नुपर्छ, त्यसका लागि वायुमण्डलमा पर्याप्त स्वच्छता हुनुपर्छ । पिउनलाई शुद्ध पानीको जोहो हुनुपर्छ । प्रविधिको विकाससँगै उत्ताउलिएको मानिसले अन्तरिक्षमा पर्यटन सुरु गरिरहँदा जीवनका यी अवयव दुर्लभ बन्दै छन् ।
जीवन क्षत्री

म शाकाहारी बनेको प्रसंग आएसँगै साथीले सोधे— किन ? जनावरहरूको माया लागेर ? ‘हो’, मैले भनें, ‘एउटा कारण त्यो पनि हो तर मुख्य कारण अर्कै छ । शाकाहारीहरूको पृथ्वीमा ‘कार्बन फुटप्रिन्ट’ सानो हुन्छ । अर्थात् पृथ्वीलाई तताउने ग्यासहरूको उत्सर्जन उनीहरूले कम गर्छन् ।’

सन्तानको सुख लिने हाम्रो अन्तिम पुस्ता !

अनि मैले उनलाई मानिसको भोजन, हरितगृह ग्यासको उत्सर्जन र समग्र पर्यावरणका सम्बन्धबारे व्याख्या गरें । आसन्न भन्दाभन्दै हाम्रो जीवनकालमै आइपुगेको जलवायु संकटसम्म हाम्रो कुराकानी पुग्यो । जलवायु संकटका कुरा गर्दा त्यसको गम्भीरता जनाउन मैले भनें, ‘सायद सन्तान जन्माएर तिनलाई हुर्काउनुको सुख लिने हाम्रो अन्तिम पुस्ता हो ।’ साथीहरू स्तब्ध भए ।

भोजन र पर्यावरण

हामी जति पनि वनस्पतिजन्य खानाहरू खान्छौं, ती सबै माटोमा फल्छन् । त्यस क्रममा बिरुवाले कार्बनडाइअक्साइड लिन्छन् र अक्सिजन वायुमण्डलमा फाल्छन् । त्यो खाना खाएपछि हामीले अक्सिजन लिन्छौं, कार्बनडाइअक्साइड फाल्छौं । एउटा चक्र पूरा हुन्छ । अन्न उब्जाउँदादेखिको हिसाब गर्ने हो भने तपाईंको जम्मा कार्बन उत्सर्जन शून्य (ढुवानी र पकाउँदाको हिसाब गर्ने हो भने न्यून) हुन्छ । मासु उत्पादनका क्रममा जनावर वा पन्क्षीले पनि स्थानीय घाँसपात मात्रै खाने हो भने तिनको आफ्नो कार्बन फुटप्रिन्ट शाकाहारी मानिसको जस्तै हुन्छ । तर अक्सर त्यस्तो हुँदैन । जनावरहरूलाई टाढाबाट ओसारिएको, पकाइएको र प्रोसेसिङ गरिएको दाना ख्वाइन्छ । अक्सर ती हरेक कदममा कार्बन उत्सर्जन हुन्छ । अनि एउटै मानिसले जीवनकालमा त्यस्ता धेरै जनावरको मासु खपत गर्छ ।

मानिसका लागि अन्न र पशुका लागि दाना दुवै उत्पादन गर्दा अक्सर रासायनिक मल प्रयोग हुन्छ । त्यो मल बनाउँदा, ट्र्याक्टरले जोत्दा र बाली थन्काउँदा ठूलो मात्रामा ऊर्जा खपत हुन्छ र कार्बन उत्सर्जन हुन्छ । त्यसैले औसत शाकाहारीको भन्दा औसत मांसाहारीका कारण हुने कार्बन उत्सर्जन निकै उच्च हुन्छ । त्यसबाहेक पशुपालनका क्रममा खपत हुने हर्मोनले हाम्रो शरीरका जैविक प्रक्रिया बिथोल्छ, एन्टिबायोटिकले प्रतिरोधी कीटाणु विकास गरिदिन्छ, कीटनाशक औषधिले क्यान्सर गराउँछ ।

चौपायाहरूले उग्राउँदा मिथेन नामक ग्यास पनि वायुमण्डलमा छाड्छन् जसले कार्बन डाइअक्साइडले भन्दा वायुमण्डललाई ३० गुणा बढी तताउँछ । त्यसैले हरेक मासुको आहार कार्बन डाइअक्साइड र मिथेनजस्ता ग्यास वायुमण्डलमा फाल्नका लागि जिम्मेवार हुन्छ । जस्तो, एउटा शाकाहारीले खासै कार्बन उत्सर्जन नगरी सय ग्राम भटमास खाएर तुरुन्त ४९ ग्राम प्रोटिन (दैनिक आवश्यक प्रोटिनको झन्डै ७२ प्रतिशत) पाउन सक्छ । अर्कोतिर सय ग्राम खसीको मासु खाने मांशाहारीले २५ ग्राम हाराहारी (दैनिक आवश्यकताको झन्डै आधा) प्रोटिन पाउँदा उल्लेख्य रूपमा कार्बनडाइअक्साइड र मिथेन उत्सर्जन भैसकेको हुन्छ ।

सन्तानको सुख

मेरो पुस्ताका सबैजसो साथीका ससाना बच्चाहरू छन् । महँगो आधुनिक जीवन शैलीबीच बच्चा हुर्काउनु कठिन छ । बच्चाहरू हुर्केसँगै तिनको शिक्षादीक्षा र जीविकाको चिन्ता पनि बढ्दै जान्छ । त्यसो हुँदाहुँदै बच्चा जन्माउनु र हुर्काउनु विछट्ट आनन्दको कुरा हो । सन्तान हुर्कंदै गरेको देखेर बाबुआमाले जुन सुखानुभूति गर्छन्, बाँकी सुखका अनुभव त्यससँग तुलनीय हुँदैनन् । बालबालिकाले घरलाई उज्यालो र जीवन्त बनाइदिन्छन्, समाजलाई सम्भावनायुक्त र गतिशील । नवजात शिशुहरूको संख्या खुम्चिँदै गरेका समाजहरूसामु ठूला आर्थिक चुनौती हुन्छन् किनकि अहिलेको गरिखाने पुस्ता वृद्ध भएपछि तिनको रेखदेखसहित देशकै अर्थतन्त्र धान्ने जनशक्तिको कमी हुने निश्चित हुन्छ ।

सन्तानले दिने आनन्दभावको चुरोमा एउटा अस्तित्ववादी भावना हुन्छ— तिनले पनि एक दिन यसैगरी सन्तानलाई जन्म दिनेछन्, हामीले जस्तै सन्तानको सुख लिनेछन् र हाम्रो रगत वा डीएनए पुस्तौंसम्म हस्तान्तरण हुँदै जानेछ । तर यदि त्यसो भएन भने ? हाम्रा सन्तानको पुस्ता नै मानव सभ्यताको अहिलेको रूप देख्ने अन्तिम पुस्ता बन्यो भने ? उनीहरू हुर्किउन्जेल बच्चा जन्माउने र हुर्काउने विषय आम कल्पनाको विषय नै रहेन भने ? शाकाहारी भोजनबारे प्रश्न सोधेका साथीलाई मैले कुराकानीको यो विन्दुमा पुर्‍याएपछि संवादको माहोल गम्भीर बन्यो ।

पृथ्वीको बढ्दो तापक्रमबारे निर्विवाद तथ्यांकहरू आएसँगै आसन्न जलवायु संकटलाई कसरी हेर्ने भन्नेमा दुइटा मुख्य दृष्टिकोण छन् । एक, मानिसलाई सुसूचित गर तर यति नतर्साऊ कि खराब सम्भावनाबारेका भविष्यवाणीहरू गलत प्रमाणित हुँदै जाँदा जलवायु विज्ञानप्रति मानिसको विश्वास नै उडोस् । मानिस यति निराश पनि नहोऊन् कि हातै उठाइदिऊन् । दुई, सम्भावित प्रलयकारी अवस्थाहरूबारे मानिसलाई समयमै बताऊ ताकि प्रलय रोक्ने र झेल्ने दुवै काममा मानिस समय छँदै गम्भीर रूपमा लाग्न सकून् । नपत्याईकन प्रलय भोगिहाल्नुपर्ने अवस्था नआओस् ।

साथीहरूसितको संवादमा त्यस दिन मैले दोस्रो रणनीति अपनाएको थिएँ । हिजोआज अक्सर वातावरण अभियन्ताहरू त्यसै गर्छन् । कारण, कुनै बेला भावी भन्ने गरिएका जलवायु संकटजन्य विपत्तिहरू अब हाम्रो वर्तमानका नियमित हिस्सा भइसकेका छन्— अस्ट्रेलिया र क्यालिफोर्निया, साइबेरियादेखि हिमालयका भीषण आगलागी र भारतमा वर्षौंवर्ष तन्किरहेका खडेरीहरूसम्म । ध्रुवहरूमा निरन्तर घट्दो हिउँदेखि सहजै मापन हुने गरी बढिरहेको समुद्रको सतहसम्म । कालापत्थरमा बदलिएका सेता हिमालदेखि निरन्तर खुम्चिँदै गरेका हिमनदी र सुक्दै गरेका नदीसम्म । चैतको सट्टा पुसमा फुल्न लागेका फूलदेखि बर्सेनि लाखौंको संख्यामा लोप हुँदै गरेका प्रजातिहरूसम्म । त्यसैले अब जलवायु परिवर्तन र त्यसले ल्याएका संकट प्राज्ञिक बहस वा अनुमान र भविष्यवाणीको विषय रहेन ।

अझै सम्भव छ, हाम्रा सन्तानले पनि ढुक्कसँग सन्तान जन्माएर हुर्काउनेछन् । तर त्यसको ग्यारेन्टी छैन र त्यसको सम्भावना निरन्तर घट्दो छ, जुन रफ्तारमा अहिले हामी कार्बन उत्सर्जन गर्दै छौं र पर्यावरणीय असन्तुलन बढ्दै छ, हाम्रो छोराछारीको पुस्ताले सामान्य जीवन बिताएर नातिनातिनी जन्माइदिने सम्भावना झनै घट्दो छ ।

हामीमध्ये धेरैलाई लाग्छ भौतिक सुखसुविधा जुन रफ्तारमा बढ्दै छ, भोकमरीजस्ता संकट जसरी विरल बन्दै छन्, प्रविधिले जसरी छलाङ लगाउँदै छ, त्यो हेर्दा हाम्रोभन्दा हाम्रा सन्तानको पुस्ताले सुखी र सुबिस्तापूर्ण जीवन बिताउनेछन् । साथै विकसित हुँदै गरेको प्रविधिले जलवायु संकटको समस्या समाधान गर्नेछ र महाविपत्ति आइलाग्ने छैन भन्ने पनि धेरैको विश्वास छ । तर विडम्बना के छ भने भविष्यमा मानिस जातिसित उपलब्ध हुने यावत् सुविधा लिनलाई पहिले उसले बाँच्नुपर्छ । बाँच्नलाई सास फेर्नुपर्छ, त्यसका लागि वायुमण्डलमा पर्याप्त स्वच्छता हुनुपर्छ । पिउनलाई शुद्ध पानीको जोहो हुनुपर्छ । क्यान्सरजस्ता भयानक रोग नलागी गुणस्तरीय जीवन बाँच्न माटोबाट विषाक्त रसायनहरू सीमित रहेको बाली उब्जनुपर्छ । प्रविधिको विकाससँगै उत्ताउलिएको मानिसले अन्तरिक्षमा पर्यटन सुरु गरिरहँदा जीवनका यी तीनै अवयव दुर्लभ बन्दै छन् । खासगरी तेस्रो विश्वको सहरी क्षेत्रमा बस्ने ठूलो जनसंख्या अहिले नै त्यस्तो कमजोर जैविक धरातलमा बाँच्न बाध्य छ ।

करोडौंबाट सुरु भएर अर्बौं पुग्ने अनुमान गरिएका ‘जलवायु शरणार्थीहरू’ जब एक ठाउँबाट अर्को ठाउँ पुग्छन्, जब तिनको प्रवेश रोक्न युद्धस्तरको दमन र हिंसा हुन्छ, जब पिउने पानीको स्रोतका लागि देशहरूबीच भयानक युद्धहरू हुन्छन्, तब अहिले हामीले देखेको विश्व र यहाँका व्यवस्थाहरू चिन्नै नसकिने गरी बदलिनेछन् । अहिले नै ब्रह्मपुत्र नदीको तिब्बती हिस्सामा चीनले बनाउन लागेका विशाल नयाँ बाँधहरूले भारत र बंगलादेशलाई पानीको संकटतिर धकेलिरहेका छन् । त्यसबाहेक दक्षिण चीनका नदीहरूबाट हजारौं किलोमिटर उत्तरतिर पानी फर्काउने चीनको अपारदर्शी आयोजनाबाट दक्षिण एसियाली देशहरू झनै त्रस्त छन् । नाइल नदीको पानी विभाजनलाई लिएर इजिप्ट, सुडान र इथियोपियाबीच अहिले चलेको जस्ता विवाद निरन्तर झाँगिँदै छन् । रेडक्रस र रेड क्रिसेन्टको पछिल्लो रिपोर्टअनुसार गत छ महिनामा युद्धका कारण २३ लाख मानिस विस्थापित हुँदा जलवायु संकटका कारण १ करोडभन्दा बढी मानिस विस्थापित भएका छन् । झन्डै पाँच लाख मानिसको ज्यान लिने गरी सिरियामा चलिरहेको दशक लामो गृहयुद्धको एउटा मूल कारण खडेरी र ग्रामीण क्षेत्रबाट भएको मानिसको विस्थापनलाई मानिन्छ । भारतको चेन्नई सहर तथा दक्षिण अफ्रिका र इरानजस्ता देशले गत दशकमा समाजको भविष्यमै प्रश्न उठ्ने गरी पानीको भयावह अभाव झेलिसकेका छन् ।

त्यसो नहोस्, तर सम्भावना भएकाले एउटा अवस्थाको कल्पना गरौं । केही दशकपछि नेपालका नदीमा सुक्खायाममा पानीको बहाव अहिलेभन्दा निकै कम हुन्छ । भारतमा पानीको संकट झनै गहिरिन्छ । (सन् २०१९ को ‘वर्ल्ड रिसोर्सेज इन्स्टिच्युट’ को रिपोर्टअनुसार भारत संसारकै पानी संकट उच्च भएका १७ देशमध्ये १३ औं स्थानमा पर्छ र भारतभरि औसतमा भूमिगत जलाशयमा उपलब्ध पानीको ८० प्रतिशत निकालेर प्रयोग गरिसकिएको छ ।) तीव्र मरुभूमीकरणसँगै भारतको ठूलो जनसंख्या काकाकुल बन्छ । अनि नेपालमा चुरेको दोहनसँगै तराई–मधेसको मरुभूमीकरण तीव्र हुन्छ । हिमालहरू कालापत्थरमा परिणत भएसँगै पर्यटन खुम्चिन्छ, जलाशयरहित विद्युत् आयोजनाहरू छ महिनाभन्दा बढी ठप्प भएर जलविद्युत् उद्योग संकटमा पर्छन् । सिँचाइ प्रणाली संकटमा परेसँगै हिउँदे बालीको उत्पादन कम हुन्छ र अन्नको मूल्य बढ्छ । डढेलो र बाढीपहिरोजस्ता विपत्तिको संख्या र आकार अहिलेभन्दा निकै बढ्छ । अहिल्यै सास फेर्न कठिन काठमाडौंको हावा झनै प्रदूषित हुन्छ, श्वासप्रश्वास र क्यान्सरका रोगीको संख्या आकासिन्छ अनि नेपालका बाँकी सहरहरूले पनि काठमाडौंकै बाटो पछ्याउँछन् ।

यस्तो संकटबीच सर्वत्र सबै समस्याको एउटै समाधान दिने तानाशाहहरू उदाउँछन्, लोकतन्त्र र मानव अधिकार संकटमा पर्छन् । युरोप र अमेरिकातिर आप्रवासनका विरोधीहरू सत्तामा पुगेर उता शरणार्थी बनेर जाने बाटो पनि बन्द हुन्छ । उग्र राष्ट्रवादको उदयबीच अन्तर्राष्ट्रिय द्वन्द्व र हिंसा निकै बढ्छ । त्यो अवस्थामा के हाम्रा सन्तानले आफ्ना सन्तान जन्माउने र हुर्काउने आँट गर्लान् ?

अबको बाटो

सुरुमा उल्लिखित कुराकानी हुँदा हामी एउटा साथीका एसयूभी (गाडी) चढेर एउटा कार्यक्रममा जाँदै थियौं । कसरी गाईवस्तु र भेडाबाख्राले वायुमण्डल तताउने ग्यासहरू उत्पादन गर्छन् भन्ने सुनेपछि गाडी चलाइरहेका साथीले अचानक भने— त्यसो भए त त्यो खसीलाई तुरुन्त काटेर मासु खाइहाल्नुपर्‍यो, ताकि त्यसले अरू कार्बनडाइअक्साइड निकाल्न नपाओस् ।

साथीले मजाक गरेका थिए तर नेपाली नागरिकका रूपमा जलवायु संकटप्रति हाम्रो समग्र रबैया त्यसभन्दा खासै फरक छैन । हिमाल र हिमनदीमा हिउँ घट्यो, घटोस्, आफ्नो जार वा गाग्रीमा पानी छँदै छ । हावा सासै फेर्न नमिल्ने गरी प्रदूषित भयो, होस्, कार र कोठामा एसी छँदै छन् । तरकारीमा विषादीको मात्रा अनियन्त्रित छ, होस्, आफूलाई क्यान्सर लागिसकेको छैन । जंगलमा भयंकर डढेलो लाग्यो, लागोस्, आफ्नो घर जलिसकेको छैन । अन्धाधुन्ध सडक खन्दा पहाडमा धेरैजसो मूलहरू सुके, सुकून्, आफूले पहाडी गाउँ छाडेर उपत्यका वा मधेस झरिसकियो ।

तर जब मैले हाम्रा सन्तानका सिंगो पुस्ता सन्तानविहीन हुने र मानव सभ्यता हाम्रै जीवनकालमा संकटमा पर्ने सम्भावना देखाएँ, साथीहरू झसंग भए । उनीहरू आफूसित सुरक्षित भविष्यको फरक कल्पना भएका कारण ढुक्क भएर बसेका थिएनन् । ‘इग्नोरेन्स इज ब्लिस’ भनेझैं ढोकाबाट छिरिसकेको जलवायु संकटतिर ध्यानै नपुगेकाले र दैनिक जीवनको दौडधुपबीच त्यता ध्यान नदिएकाले उनीहरू तबसम्म ढुक्क थिए ।

त्यस दिन उनीहरू स्तब्ध त भए तर तब मात्र जिम्मेवार नागरिक बन्नेछन् जब पेट्रोलियम गाडी छाडेर साइकल वा विद्युतीय गाडी चढ्नेछन्, शाकाहारी नबने पनि मांशाहारलाई न्यूनतम गर्नेछन् । भान्सामा ग्यास चुलो र बाथरुममा ग्यास गिजर छाडेर विद्युतीय चुलो र हिटर प्रयोग गर्नेछन् । गाडी र घरमा एसी जोड्न छाडेर सहरकै हावा सफा राख्ने उपायको खोजी गर्नेछन् । बाटो छेउका रूखदेखि जंगलहरूको फँडानीविरुद्ध आवाज उठाउनेछन् । राम्रो ब्रान्डको पानी खोज्न छाडेर नदीको प्रदूषण कम गर्न तथा भूमिगत जलाधार संरक्षण गर्न अघि सर्नेछन् । प्लास्टिक प्रयोगलाई निरुत्साहित गर्नेछन् । आफ्नो पेसागत कामलाई कार्बन उत्सर्जन कम हुने गरी विकास गर्नेछन् । अनि छोराछोरीलाई महँगा कारमा एसी चलाएर सहर घुमाउनुको सट्टा तिनले वयस्क भएपछि सन्तान जन्माएर हुर्काउन सम्भव हुने वातावरण बनाउनेछन् ।

प्रकाशित : चैत्र १०, २०७७ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?