कम्युनिस्ट ‘एकता’को दुर्दशा- विचार - कान्तिपुर समाचार

कम्युनिस्ट ‘एकता’को दुर्दशा

लोकतन्त्रमा चुनावमा विजय अथवा दिग्विजय हुनु मात्र पर्याप्त हुँदैन । जितें भनेर पाखुरा सुर्किंदै महाबलि बन्ने कुस्तीको दंगल होइन लोकतन्त्र ।
आफ्ना वरिष्ठहरूप्रति आदरभाव प्रकट गर्दा को सानो भएको छ र अररिनु ! स्वभावै अररिनु भए अररिए पनि हुन्छ तर त्यसको परिणाम कहिल्यै सुखद भएको छैन र हुनेवाला छैन । एकता त कता कता, उल्टै एकपछि अर्को दुर्दशा नियमित बन्न जानेछ ।
श्रीकृष्ण अनिरुद्ध गौतम

फागुन २३ को सर्वोच्च अदालतको फैसलाले खड्गप्रसाद शर्मा ओली र पुष्पकमल दाहालद्वय नेतृत्वको भनेर निर्वाचन आयोगमा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि उनीहरूको स्वामित्व नरहेको ठहर गरेसँगै नेपाली राजनीतिमा मृत घोषित दुई कम्युनिस्ट दल पुनः जागृत भएका छन् ।

ती जागेका दल हुन्— नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) । २०७५ सालमा ती दुई दलको अन्त्यसँगै नेकपा बनेको थियो । त्यसैताका नेताहरूले आफू सागरमा नदी मिसिएझैं एकाम्य भयौं भन्दै स्टालिन शैलीको मुड्की उजाएर एकताको स्वागत पनि गरेका थिए । हुन पनि त्यतिखेर कम्युनिस्टले मुड्की किन नउजाउन्, इतिहासमै कम्युनिस्टहरू झन्डै दुईतिहाइ संख्यामा निर्वाचित भएर संसद् भवन प्रवेश गरेका र सिंहदरबार उक्लिएका थिए ।

स्मरण रहोस्, २०७५ जेठ ३ मा मृत घोषित एमाले र माओवादी केन्द्र यदि पार्टी नभएर प्राणी हुन्थे भने निश्चय नै ती पुनः जागृत हुने थिएनन्Ù प्राणी नभएका कारण नै यिनलाई अदालतद्वारा पुनः जगाउन सम्भव भएको हो । प्राणी मृत्युपश्चात् जागेमा तिनलाई जीवित होइन, प्रेत भनिन्छ । पुनर्जीवन–प्राप्त भनिँदैन । कुनै पनि प्राणीको मृत्यु भएको अवस्थामा विज्ञानले पनि अद्यापि त्यसलाई मृतावस्थाबाट जीवनमा फर्काउन, जीवन्त बनाउन सकेको छैन । यसर्थ अदालतले प्रकृतिको यो नियम उल्लंघन गर्न सक्ने सवालै उत्पन्न हुँदैन । यसबाट के पुष्टि हुन्छ भने, एमाले र माओवादी केन्द्र जीवनधारी अस्तित्वबोधी संज्ञा नभएर यन्त्र हुन् र अदालतद्वारा ती जोडिएका यन्त्रहरूलाई छुट्ट्याएर पूर्ववत् (!) अवस्थामा फर्काउन सम्भव भएको हो ।

यन्त्र भनेकामा यदि बुझ्न अप्ठ्यारो भएमा यस प्रक्रियालाई ठ्याक्कै बुझ्न एकता कपूरका हिन्दी सिरियलका जोडजाड कथाका रूपमा बुझे हुन्छ । एकता कपूरका सिरियलमा कहिलेकाहीँ ओली र दाहालले दुई पार्टी जोडेजस्तै दुई भिन्न सिरियललाई जोडेर एउटै कथाजस्तो बनाइएको हुन्छ । किन जोडिन्छ, जोड्नुको प्रयोजन प्रस्ट छ । हिन्दी सिरियलले कथा जोड्दै तन्काउँदै दर्शक लठ्याउँछ, झुक्याउँदै व्यापार गर्छ । त्यस्तै भनेजस्तै ओली र दाहालले मतदाता आकर्षित गर्न पार्टी एकताको सिरियल तयार गरेका र आआफ्नो अभीष्ट सिद्ध गर्ने तारतम्य रचेका थिए । अर्थात्, २०७४ सालको निर्वाचनपूर्व एमाले र माओवादी केन्द्रबीच गठबन्धन र एकताको वाचा गर्दै दुवैले कम्युनिस्टका नाममा प्राप्त हुने मत आफूतिर एकोहोर्‍याएका थिए । यसकारण एमाले चिताएभन्दा निकै ठूलो आकारमा फुलेको एकातिर र अर्कातिर माओवादी केन्द्रको पनि दोस्रो संविधानसभाका तुलनामा अवस्था धेरै सुध्रिएको थियो ।

निर्वाचनपूर्व गठबन्धन गर्नु असामान्य होइन र यसलाई अनुचित मानिँदैन । तर गठबन्धन गर्दा मतदातासँग गरिएका वाचाहरू निर्वाचनपश्चात् पालन नगर्नुचाहिँ सरासर बेइमानी हो । मतदाता, त्यसमा पनि विशेष गरेर एमाले र माओवादी केन्द्रका मतदातासँग गरिएको वाचा पार्टी एकता गर्दै कम्युनिस्ट आन्दोलनलाई अरू सशक्त बनाउँदै लैजाने भन्ने थियो । यान्त्रिकता होइन, जीवन्तता प्रदान गर्ने भनिएको थियो । देशसँग गरिएको वचनबद्धताचाहिँ पाँच वर्षसम्म राजनीतिक स्थिरता सुनिश्चित गर्नु थियो । वाञ्छित स्थिरतामार्फत विकास र तदनुसारै समृद्धिको मार्गप्रशस्त गर्नु रहेको थियो । त्यही भएर एमाले–माओवादी केन्द्र गठबन्धनले राम्रै संख्यामा गैरकम्युनिस्ट मतदाताको मतसमेत प्राप्त गरेको थियो । राजनीतिक स्थिरता सुनिश्चित गर्ने कुरा गठबन्धनले देशसँग गरेको पाँच वर्षको अनुबन्ध थियो भने, कम्युनिस्ट एकताको वाचाचाहिँ एकता कपूरको सिरियल नभएर दुवै दलका कार्यकर्ताको आकांक्षासँग आबद्ध थियो ।

यसैका फलस्वरूप गठबन्धनले आशा गरेभन्दा अधिक मत हासिल गर्‍यो । निश्चय नै यसमा, २०७२ सालमा संविधानप्रति असन्तुष्टि प्रकट गर्दै भारतद्वारा लगाइएको आपूर्ति नाकाबन्दीका बेला (आफ्नो पहिलो प्रधानमन्त्रित्वकालमा) ओलीले प्रदर्शन गरेको राष्ट्रवादी अडानका कारण प्राप्त गरेको लोकप्रियता धेरै हदसम्म सहायक रहेको हो । यहाँ के प्रस्ट हुनु जरुरी छ भने, कम्युनिस्टहरूले २०७४ सालको निर्वाचन ओलीको लोकप्रियताका कारण जितेका हुन् भन्ने भनाइ पूरै असत्य नभए पनि अलि अतिरञ्जनाचाहिँ हो । उनका अडानको प्रशंसा गरिरहँदा वास्तवमा देवत्वकरण हुन गएको हो, र दुर्भाग्य, त्यही प्रशंसाले उनलाई मैमत्त बनाउन सहयोग पुग्न गएको पनि निश्चय नै हो । यथार्थमा जीतका उनी एक मात्र कारण किमार्थ थिएनन् । थिएनन् किनभने यदि दुई कम्युनिस्टले गठबन्धन गरेका हुँदैन थिए र नेपाली कांग्रेसको दरिद्र र निराशाजनक प्रदर्शन हुँदैन थियो भने कम्युनिस्टहरूको त्यस्तो दिग्विजय सम्भव हुने थिएन । एमाले संसद्मा ठूलो दल हुनसम्म सक्थ्यो ।

कम्युनिस्ट दिग्विजयसँगै समस्या कहाँ आइपर्‍यो भने, ओलीका प्रशंसकहरूले त्यसलाई आफ्नै नेताको मात्र प्रताप ठान्न पुगे तथा उनीहरू यो राज्य आफूले भोग गर्नका निम्ति प्राप्त भएको हो भन्ने भावभंगिमासाथ प्रस्तुत हुन थाले । उनीहरू ओलीबाट नियन्त्रित हुनुपर्नेमा उल्टै झनै प्रोत्साहित हुँदै गए । निश्चय नै ओलीमा विरलै नेतामा पाइने आत्मविश्वास छ तर त्यसमा आध्यात्मिक स्पर्श नभएका कारण त्यो क्रमशः अहंकारमा रूपान्तरित भएको साँचो हो । अहंकारमा रूपान्तरित आत्मविश्वासले आफ्नो स्वाभाविकता गुमाउँछ भन्न अब कुनै दृष्टान्त आवश्यक छैन । ओली स्वयं साक्षात् उपस्थित छन् । उनले आफूबाहेक अरूलाई नेतै देखेनन् । उनकै कुनै बेलाका नेता, सहयात्री माधव नेपालका शब्दमा भन्नुपर्दा, उनले कसैलाई गन्दै गनेनन् । फलस्वरूप, लामो कालसम्म आफ्नै नेता रहेका उनै नेपालको समेत उनले मानमनितो गर्नु आवश्यक ठानेनन् । धेरैलाई थाहै होला, कुनै समय उनी स्वयं र माधव नेपाल एउटै कित्तामा पर्थे । मानिस माधव नेपालमै ओलीलाई देख्थे ।

उनै नेपाल पछि गएर ओलीका प्रतिस्पर्धी भए । निश्चय नै आन्तरिक प्रतिस्पर्धामा उछिनपाछिन हुनु अस्वाभाविक होइन तर आफूले जितिसकेपछि वैरी साधेजसरी कसैको पनि पानीखेदो गर्नु हुँदैन । भनिरहनु नपर्ला, जोड्दै–जोड्दै लाने नै नेता हो, तोड्दै–तोड्दै लाने होइन । तर ओलीले आफू प्रधानमन्त्री बनेपछि आफू अरूका कारण, अरू सबैको मिहिनेत र त्यागका कारणसमेत यस उच्चासनमा पुगेको भनी स्वीकृति जनाएको कहिल्यै थाहा पाइएन । साथ–सहयोगबिनै एक्लै त कोही पनि शिखर पुग्दैपुग्दैन । परिवार अनुकूल नहुनेका समेत साथीसंगी, इष्टमित्र हुन्छन्, जसका सहयोगले व्यक्ति सफल हुन्छ भने प्रधानमन्त्री बन्न ओली एक्लै दौडेर सिंहदरबार उक्लेका हुन् र ! के माधव नेपाल, झलनाथ खानालको सहयोग उनलाई कहिल्यै प्राप्त नै भएन होला र दिनहुँ उनीहरूको यति धेरै गिल्ला गर्नुपर्छ ?

सामान्य व्यवहारमै पनि यदि कुनै शुभचिन्तकलाई निरन्तर उपेक्षा गरियो भने त्यसले प्रकारान्तरमा आफ्नै कुभलो हुन्छ । राजनीतिमा, त्यसमाथि लोकतन्त्रमा त सहयात्रीहरूको मानमर्यादा राख्नु झनै अनिवार्य हुन्छ । सँगसँगै कार्यरत साथीहरूमध्ये जब कुनै साथी प्रारब्धवश नै सही उच्च ओहदामा पुग्छ, उसले आफ्ना साथीलाई सहृदयीका रूपमा व्यवहार गर्नुपर्छ । गरेन भने के हुन्छ भनेर अब सोध्नैपरेन । परेन किनभने त्यसैकारण झन्डै दुईतिहाइको ओलीको सत्ता एकतिहाइ बन्नतर्फ उन्मुख भइरहेको छ । येनकेन प्रकारेण अरू दलको समर्थनमा सत्ता टिकाइहाले पनि धराप त निरन्तर कायमै रहिरहन्छ ।

यहाँ के पनि ख्याल राख्नु जरुरी छ भने, लोकतन्त्रमा चुनावमा विजय अथवा दिग्विजय हुँदैमा त्यही मात्र पर्याप्त हुँदैन । जितें भनेर पाखुरा सुर्किंदै महाबलि बन्ने कुस्तीको दंगल होइन लोकतन्त्र । लोकतन्त्रमा विजय प्राप्त गर्नु आफैंमा उपलब्धि होइन, दलद्वारा जनतासँग घोषणापत्रमार्फत गरिएका करारको पालना गर्ने वचनबद्धता हो । कम्युनिस्टहरूलाई लोकतन्त्रमा अन्तर्निहित यो पक्ष बुझाउन ज्यादै गाह्रो छ । यसमा उनीहरूको होइन, पाठशालाको दोष छ । पाठ्यक्रम नै लोकतन्त्रसँग नमिल्दो छ त, के गरून् बिचरा ! उनीहरू लोकतन्त्रमा पार्टी अनिवार्य भए पनि निर्वाचनसम्पन्न भएपश्चात् राज्यका संस्थाहरू निर्णायक हुन्छन् भन्ने बुझ्दैनन् । पार्टी नै सर्वेसर्वा हुन्छ भन्ने कुरा चीन, उत्तर कोरिया, क्युबातिरका व्यवस्थाको मान्यता हो; लोकतन्त्रमा पार्टी राज्यका संस्थाहरूसम्म जनप्रतिनिधि पुर्‍याउने माध्यम मात्र हो । यो पद्धतिगत मान्यता प्रधानमन्त्री आफैंले समेत बुझेका छैनन्, अरूले के बुझून् ! उनैका सहकर्मी मुख बनाई–बनाई पार्टी कमिटीको निर्णय मान्नुपर्छ भनेर लम्बेलम्बे, फेद न टुप्पोका अन्तर्वार्ता दिइरहेका भेटिन्छन् र लिनेले पनि लिइरहेका हुन्छन् । कम्युनिस्ट व्यवस्थामा पार्टी कमिटीको प्राधान्य हुन्छ, लोकतन्त्रमा त्यस्तो हुँदैन । यसमा पार्टी साधन हो, साध्य होइन ।

आफैंले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापना भएपछि पनि राजीनामा नदिई बसेकाले प्रधानमन्त्री पदमा ओली अझै आफैं आसीन छन् र पुनः जागृत भइसकेको अवस्थामा एमालेका अध्यक्षमा उनी आफैं कायमै छन् । यस्तोमा झलनाथ खनाललाई मान चाहिएको भए दिनु । मानै त हो, दिँदा के फरक पर्छ ? माधव नेपाल ओलीभन्दा वरिष्ठ नै हुन्, मान्दिँदा बालकोट नै राजीनामा गरिदिनुपर्ने होइन । आफ्ना वरिष्ठहरूप्रति आदरभाव प्रकट गर्दा को सानो भएको छ र अररिनु ! स्वभावै अररिनु भए अररिए पनि हुन्छ तर त्यसको परिणाम कहिल्यै सुखद भएको छैन र हुनेवाला छैन । एकता त कता कता, उल्टै एकपछि अर्को दुर्दशा नियमित बन्न जानेछ । दुर्दशाको दिग्दर्शन फेरि साक्षातै भइरहेको छ; ओलीतर्फका एकातिर, अर्कातिर माधव नेपालतर्फका भेला भइरहेका छन् । हेर्नु त दुर्दशा, एकता फुटेका प्रचण्ड पक्षकाहरू फागुन २३ पछि पेरिस डाँडामा जोखाना हेरेर बसेका छन् ।

प्रकाशित : चैत्र ६, २०७७ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्रीको मनोदशा

हृदयको दृष्टि प्रस्ट हुनेले आफ्नो ब्रह्मको आदेशको अनुपालन गर्छ । दृष्टि प्रस्ट नहुने ब्रह्मका खिलाफ उभिन्छ र आफ्नै अवमूल्यन गर्दै आफैं ठूलो पल्टिन्छ ।
प्रधानमन्त्री ओलीले अब पुनःस्थापित प्रतिनिधिसभासमक्ष आफूले अहंकारवश सभा विघटन गरेको स्विकार्दै माफ माग्नुपर्छ र नयाँ राजनीतिक समीकरणका लागि मार्गप्रशस्त गरिदिनुपर्छ ।
श्रीकृष्ण अनिरुद्ध गौतम

प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला भएलगत्तै खड्गप्रसाद शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएर राजनीतिलाई अर्को चरणमा प्रवेश गराउन मार्गप्रशस्त गर्नेछन् भन्ने कतिपयले अपेक्षा गरेका थिए । तर त्यस्तो भएन । उनले राजीनामा दिन्छन् र मुलुकलाई अनिर्णयको बन्दी बन्नबाट जोगाउँछन् भन्ने उनकै कतिपय शुभचिन्तकका अनुमान र अपेक्षा दुवै अर्थहीन भए ।

उनी आफैंले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापित हुँदा नैतिकताका आधारमा राजीनामा दिनुपर्छ नभन्ने त सवालै उपस्थित हुँदैन । धेरैले भने, पुष्पकमल दाहालदेखि पम्फा भुसालसम्मले । उनी एकरत्ती नैतिक दबाबमा नपरेको प्रशस्तै प्रतिक्रिया आए । त्यस्तो प्रतिक्रिया दिनेले के बुझेनन् भने, नैतिक दबाब भनेको दाहाल, भुसाल, माधवकुमार नेपालले दिने दबाब होइन, आफ्नै ब्रह्मको आदेश हो । आफ्नै हृदयको दृष्टि हो । हृदयको दृष्टि प्रस्ट हुनेले आफ्नो ब्रह्मको आदेशको अनुपालन गर्छ । दृष्टि प्रस्ट नहुने ब्रह्मका खिलाफ उभिन्छ र आफ्नै अवमूल्यन गर्दै आफैं ठूलो पल्टिन्छ ।

उचित अवसरमा समुचित निर्णय भनेको हृदयको दृष्टिले देखेअनुसार गर्ने हो । मनोविज्ञान र विज्ञानका अरू विषयका समेत लेखक, स्तम्भकार डेनियल गोलमनले आफ्नो पुस्तक ‘इमोसनल इन्टेलिजेन्स’ को पहिलो अध्यायमा एउटा उद्धरणद्वारा भनेका छन्, ‘हृदयबाट जे देखिन्छ, त्यो सही हुन्छ । जे वास्तवमा देख्नुपर्ने हुन्छ, त्यो आँखाले देख्दैन, (हृदयले देख्छ) ।’ मनोविज्ञहरू मनभित्रका खुलदुली खोतल्छन् । मनोविज्ञहरूका अनुसार, जे तीव्रतापूर्वक हृदयद्वारा महसुस हुन्छ, त्यही हृदयले देख्नु हो र हृदयले देखाएको बाटो हिँड्नुपर्छ भन्ने मत रहन्छ । यसरी बुझ्दा के थाहा हुन्छ भने, ओलीले आफ्नो हृदयका आँखा खोलेनन् । अथवा भनौं, उनका भित्री आँखा खुलेनन् । भित्री आँखा अरूले खोलिदिएर खुल्ने होइनन्, आफैं खोल्नुपर्छ ।

नेतृत्वमा आध्यात्मिक गुण चाहिन्छ

माथिका हरफ देखेर लाग्न सक्छ, यस्तो राजनीतिक हलचलमा किन मनोविज्ञका दृष्टिकोण चाहियो ? तीखो विश्लेषण पो चाहिन्छ त । तर मनका हलचलको विषय उठान गर्दै लेख्नुको अर्थ छ । अर्थ के हो भने, राजनीति मान्छेले गर्छ र गर्दागर्दै धेरैजसो अवस्थामा ऊ पथभ्रष्ट हुन्छ । सत्तासँगै उसका विवेकका आँखा बन्द हुन्छन् । हुन त जुनसुकै काम गर्दा पनि भित्री आँखा खोलेरै गर्नुपर्छ भनिएको छ । त्यसो गर्दा मार्गच्युत हुने सम्भावना कम हुन्छ । राजनीतिमा यो भित्री आँखावाला आध्यात्मिक गुण अत्यन्तै महत्त्वपूर्ण हुन्छ किनभने यसमा एकातिर लोककल्याणका लागि कर्म गर्ने, आफूलाई उत्सर्ग गर्ने खुला अवसर हुन्छ भने अर्कातिर प्रलोभन, भ्रष्टाचार, ठगी र जालझेलको बाटो पनि प्रशस्त हुन्छ ।

दोस्रोतर्फ आकर्षित राजनीतिज्ञका आँखा केवल कुर्सीमा हुन्छन् । ऊ लाज–सरम सबै त्यागेर जथाभावी गर्न थाल्छ । फलस्वरूप राजनीति गर्दागर्दै ऊ हृदयको दृष्टि बन्द गरेर धृतराष्ट्र बन्न जाने सम्भावना प्रबल हुन्छ । त्यस्ता सम्भावना हुनेहरूमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली मात्र होइन, पुष्पकमल दाहाल, माधवकुमार नेपाल पनि पर्छन् अनि यहाँ शेरबहादुर देउवा र रामचन्द्र पौडेलको नाम पनि छुटाउन मिल्दैन । कसैलाई पनि पूरै अपवाद मान्न सकिँदैन । अदालतको फैसलापछि मार्गप्रशस्त गरिदिएर ओली त्यस्तो सम्भावनाबाट मुक्त हुन सक्थे, तर भएनन् ।

तथापि, यी आदि–इत्यादि नामका तुलनामा (केही अपवाद प्रसंगबाहेक) नेपाली कांग्रेसका पूर्वसभापति, संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको हृदयदृष्टि बलियो थियो र उनीपश्चात् त्यत्तिका उच्च आदर्शवान् नेता फेरि नेपाली धरतीले देख्न पाएको छैन । आज देखिएका धेरैजसोलाई लोभ र लालचले गाँजेको छ । अचम्म त के भने, प्रमुखहरूमा एकै जना पनि रिङबाहिर देखिँदैनन् । अर्को नजिर भेटिएको छैन । त्यसैले यिनीहरू उनीभन्दा धेरै टाढा छन् । यिनीहरूले गफ जतिसुकै ठूला गरे पनि उनको अपरिग्रही स्वभावको छेउटुप्पो भेटेका छैनन् । पदमा टाँसिई बस्नुपर्छ र मरिहत्ते गरेर पद प्राप्त गर्नुपर्छ, पाएपछि आफ्नो जन्मसिद्ध अधिकारै ठान्नुपर्छ भन्ने यी पात्रहरूलाई लगातार देशले भोगिरहनुपर्दा लाग्छ, यस्तै शरीरमै जन्मेका भट्टराईजस्ता अपरिग्रही मान्छे कसरी बने होलान्, त्यस्तो बन्न कस्तो शिक्षण प्रशिक्षण चाहिँदो हो र ती गुणहरूको आर्जनका लागि कति जन्मको तपस्या चाहिँदो हो !

जिज्ञासा त केसम्म उत्पन्न हुन्छ भने, के भट्टराईजस्ता सुपात्रको जीवाणु बनोट नै अलग्गै हुन्छ ? के त्यस प्रकृतिका मानिसको भित्री संरचना नै पृथक् हुन्छ ? निश्चय नै सर्वसाधारणको एउटा महत्त्वपूर्ण हिस्साचाहिँ थाहै नपाई हृदयको वाणी सुनेर चलेको हुन्छ । त्यसले नै समाज–सभ्यता थेगेको हुन्छ । तिनमा हार्दिकता हुन्छ । करुणा हुन्छ, माया–प्रेम हुन्छ । तर अत्यधिक राजनीतिज्ञहरू औसत र कतिपय त निम्नकोटिकै हुन्छन् । हृदयले देखाएतर्फ हेर्दैनन् । निम्नकोटिका त निम्न नै भइगए, औसत प्रकारका राजनीतिज्ञहरू पनि निहित स्वार्थद्वारा प्रेरित हुन्छन् । समस्या कहाँ छ भने, तिनीहरू नै आफू परम बुद्धिमान भएको भ्रम पालेर बसेका हुन्छन् । ओलीको समस्या के हो भने, उनी आफू ज्यादै बुद्धिमान भएको सोचका भए पनि औसत र निम्न कोटिको प्रवृत्ति भएका ताली बजाउने पात्रहरू वरिपरि राखेर रमाएर बसेका छन् । तिनकै वाहवाहीमा उनी आफ्नो बुद्धि दुरुपयोग गरेर बसेका छन् ।

निर्विकल्पताको भ्रम

ओली निश्चय नै विद्यमान अरू राजनीतिज्ञका तुलनामा बढी बुद्धि खेलाउँछन् । उनी आफू बुद्धि खेलाउन सिपालु त होलान् तर हृदयले देखेको मान्दैनन् । उनी यस अर्थमा हृदय र बुद्धिको संघर्षमा छन् । जबकि हृदय र बुद्धिबीच संघर्ष होइन, परस्पर मेल चाहिन्छ । समञ्जस्य चाहिन्छ । जस्तै— उनको पनि हृदय पक्षलाई राम्ररी थाहा छ, विघटन सदर नभएपछि नैतिक आधारमा पदबाट विश्राम लिनु र अरूलाई मार्गप्रशस्त गरिदिनु पर्छ । तर उनको कथित बुद्धि पक्ष भन्छ— मजस्तो सर्वशक्तिमानले हार्न मिल्छ कतै ? छोडे लथालिंग भइहाल्छ । उनीमा निर्विकल्पताको नराम्रो भ्रम छ । जबकि निर्विकल्प भन्ने हुँदैन । हुँदैन किनभने छोड्नु त कुनै दिन पर्छैपर्छ । यस यथार्थको बोध हुने हो भने आफूले छोड्दा लथालिंग भइहाल्छ भन्ने सोचाइकै उत्पत्ति हुँदैन ।

ओली यसर्थ आफैंभित्र ज्यादै भयानक द्वन्द्वमा फसेका छन् । ओलीको हृदयलाई पनि मज्जाले थाहा थियो संविधानमा विघटन गर्ने प्रावधान छैन भनेर । तर नहुँदा नहुँदै पनि बुद्धि लगाउन खोजे । उनको बुद्धिलाई अदालतले उल्टाइदियो । उल्टाइदियो किनभने संविधानमा उनले भनेजस्तो प्रावधान नै थिएन । हुँदै नभएको प्रावधान कसैले भेट्ने कुरै भएन । यहाँनेर गडबड कहाँ भएको हो भने, उनले हृदयले देखेको मानेनन्, सबै आफ्नै अधीनमा छ भन्ने ठाने तर त्यस्तो भएन । किनभने हुन सम्भवै थिएन ।

हृदयको नसुन्दा गडबड हुन्छ । हृदयको नसुन्दा अहंकार चढ्छ र अहंकार चढेको मानिस आफ्नो गल्ती नस्विकारेर नानाथरीका तर्क खोज्दै हिँड्छ । उनका समर्थकले जतिसुकै ताली बजाए पनि अहिले भएको त्यही हो । भावना र तर्कलाई एकअर्काका पूरकका रूपमा बुझ्नुपर्छ । तर्क आउँछ भन्दैमा भावनाको अवमूल्यन गर्दा राजनीति अस्थिरतामा फस्छ र फसेको छ । यो अस्थिरताबाट निस्कन अरू थुप्रै मूल्य चुकाउनुपर्ने अवस्था उपस्थित हुन सक्छ भन्ने देखिँदै छ । निश्चय नै तर्कमा खप्पिस मान्छेले सहीलाई गलत हो र गलतलाई सही भनेर पूरै सिद्ध गर्न नसके पनि उसले, केही समयका लागि, सर्वसामान्यले पत्याउने गरी झुक्याउन सक्छ । तर्कराजहरूको एउटा विशेषता हुन्छ, मज्जाले ढाँट्दा पनि उनीहरू साँच्चि नै भनिरहेजसरी प्रस्तुत हुन सक्छन् । ओली पनि त्यसो गर्न सक्छन् ।

के गर्नुपर्छ अब ओलीले ?

ओली तार्किक छन् । वाचाल छन् तर हृदयका दृष्टिले देखेको मान्दैनन् । गलत गरिरहे पनि सही नै हो भनेर तर्क गर्छन्, गर्न सक्छन् । आफ्ना वरिपरि ताली बजाउनेहरू मज्जाले पाउँछन् र ती ताली सुनेर झन् हौसिएर जोक सुनाउन थाल्छन् । सुन्नेहरू झन् उफ्रीउफ्री हाँस्छन् । फलस्वरूप उनी आफ्नो तर्कशक्ति नै सर्वस्व हो भन्ने ठान्न पुग्छन् ।

म यहाँ ओलीको आलोचना होइन, विशेषताको वर्णन गरिरहेको छु । त्यसैले उनका भक्तहरूले मलाई गाली नगरी धैर्यधारण गरेर यी हरफहरू पढ्नेछन् भन्ने आशा गरेको छु । किन आशा गरेको छु भने ओलीप्रति मेरो मनमा न निजी द्वेष छ, न त प्रेम नै । छ त उनीप्रति करुणा र यहाँ म जे हो त्यही भन्न वचनबद्ध छु । जे गर्दा उनको परन्तु भलो हुन्छ, त्यही भन्न गइरहेको छु ।

उनको चुलिएको अहंकारले दिन–प्रतिदिन उनको र देशकै हानि गरिरहेको हुँदा यहाँ म राजनीतिक समीकरणको विश्लेषण होइन, उनले गर्नुपर्नेचाहिँ के हो, त्यो भन्छु । त्यो के भने, फागुन ११ को फैसलाको सम्मान गर्दै उनले अब पुनःस्थापित प्रतिनिधिसभासमक्ष आफूले अहंकारवश सभा विघटन गरेको स्विकार्दै माफ माग्नुपर्छ र नयाँ राजनीतिक समीकरणका लागि मार्गप्रशस्त गरिदिनुपर्छ ।

प्रकाशित : फाल्गुन २१, २०७७ १०:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×