कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बाघ र मान्छेको सहअस्तित्व

सम्पादकीय

बाघ संसारकै लागि अद्भुत उपहार हो जसको संरक्षण र संख्या वृद्धिका दिशामा सरकार र सहयोगी संस्थाहरूले अनेकौं पहल गरिरहेका छन् । फलस्वरूप बाघको संख्यामा पनि वृद्धि आइरहेको छ । दशकअघि बाघ पाइने १३ देशका प्रमुखको रुसमा भएको सम्मेलनले सन् २०२२ सम्म यो जनावरको संख्या दोब्बर बनाउने संकल्प गरेको थियो ।

बाघ र मान्छेको सहअस्तित्व

नेपाल उक्त लक्ष्यप्राप्तिको नजिक छ, जुन खुसीको कुरा पनि हो । तथापि, यो संरक्षणको सिलसिलामा बाघ र मानिसको सहअस्तित्वको पाटोबारे भने हामीले बेवास्ता गरिरहेका छौं कि भन्ने भान हुन्छ । २० महिनायता मात्रै बर्दिया निकुञ्जभित्र, मध्यवर्ती क्षेत्र र सँगै जोडिएको बाँके निकुञ्जमा बाघको आक्रमणबाट १९ जनाको ज्यान जानु यसैको दृष्टान्त हो । त्यसैले, यो जंगली जनावरको संरक्षणसँगै यसको सम्भावित आक्रमणमा पर्नबाट मानिसहरूलाई जोगाउन आवश्यक उपायहरू अपनाउनु अपरिहार्य छ ।

पहिलो त, यसरी पटक–पटक मान्छेमाथि आक्रमण गर्ने बाघको पहिचान यकिन हुन सकेको छैन । निकुञ्जले त्यसका लागि क्यामेरा ट्र्यापिङ विधि अपनाए पनि सफलता मिलेको छैन । आक्रमणकारी बाघ एउटै हो कि फरक–फरक छन्, पत्ता लगाउन सकेमा थप आक्रमण हुन नदिने उपाय अपनाउन बढी सजिलो हुन्छ । दोस्रो, बाघले मान्छेमाथि अहिले किन यति धेरै आक्रमण गरिरहेको हो भन्ने कारण पनि जान्न सकिएको छैन । सम्बन्धित निकायहरूले यी पक्षहरू पहिल्याएर बाघबाट जोगिने उपायहरू अपनाउँदै जान आवश्यक छ ।

गत मंगलबार मात्रै बर्दिया, ठाकुरबाबा नगरपालिका–७, मोहनापुरकी ६२ वर्षीया डल्ली रावतलाई निकुञ्जभित्र बाघले आक्रमण गरी मारेको छ । यो घटनापछि बर्दिया राष्ट्रिय निकुञ्जले बुधबारदेखि पैदलयात्रीको वन्यजन्तु अवलोकनमा रोक लगाएको छ । बाघको आउजाउ हुने क्षेत्रमा एक्लै–दुक्लै साँझ–बिहान र राति नहिँड्ने उपायले मात्रै समस्याको सम्पूर्ण समाधान गर्दैन । यसका निम्ति सडकहरूमा बाघलगायतका जंगली जनावर हिँड्ने विशेष संरचना निर्माण गरेर अन्य स्थानमा तारबार गर्नेलगायतका विधितर्फ पनि सोच्नुपर्छ ।

विज्ञहरूका अनुसार बाघले प्रायः आनीबानी बदल्दैन, बदल्नुपर्ने मान्छेले हो । बाघको ओहोरदोहोर हुने क्षेत्र र आसपास मानवीय गतिविधि बढ्नाले द्वन्द्वका घटनामा बढोत्तरी भएको बताइन्छ । यस्तो अवस्थामा बाघले आक्रमण गर्छ भनेर ती क्षेत्रमा मानवीय गतिविधि तथा आवागमन नै रोक्नु व्यावहारिक नहुन सक्छ । निकुञ्ज अतिक्रमणको घटनामा बाहेक मानवीय स्वतन्त्रताको पाटोलाई बिर्सन मिल्दैन । खालि बाघको जीवनशैलीलाई कसरी दख्खल नपुर्‍याउने र उनीहरूबाट कसरी बच्ने भन्नेमा ध्यान पुर्‍याउनुपर्छ । बाघले आफ्ना क्रियाकलापमा अवरोध गरेको ठान्न सक्ने जंगल सफारीलगायतका मानवीय गतिविधिमा विशेष सतर्कता अपनाउनुपर्छ ।

स्थानीयवासीले आफू र आफ्नो बस्तीको सुरक्षा गरिएन भने आन्दोलनमा उत्रिने भन्न थालेका बेला यस्ता मुद्दालाई गम्भीरतापूर्वक लिन जरुरी छ । निकुञ्ज विभागले स्थानीयको मागअनुसार बढी घटना भएको क्षेत्रमा तारबारका लागि अर्थ मन्त्रालयसँग रकम माग गरेको बताइएको छ, यो कार्यलाई छिटो परिणाममुखी बनाइनुपर्छ । यहाँ के बिर्सिनु हुँदैन भने, निकुञ्ज–आरक्ष, संरक्षित क्षेत्र वा मध्यवर्ती क्षेत्र आसपासका सडकमा यात्रा गर्दा बाघलगायतका वन्यजन्तुसित जम्काभेट भइरहनु कुनै आकस्मिक संयोग होइन । यो त वन्यजन्तुको बाटोमा सडक बनाएपछिको स्वाभाविक नतिजा मात्रै हो । आफ्नो जैविक मार्गमा आहोरदोहोर गर्दा सडक छिचोल्नु ती जनावरहरूको बाध्यता हो । त्यसैले, सरकारले यसक्रममा भइरहने अप्रिय घटना न्यूनीकरणमा जोड दिनुपर्छ ।

यस्ता घटना बारम्बार दोहोरिन नदिने एउटा उपाय सम्बन्धित क्षेत्रका सडकहरूलाई सक्दो चाँडो वन्यजन्तुमैत्री बनाउनु हो । निकुञ्ज क्षेत्रमा आवतजावतमा समयसीमा तोक्नेजस्तो उपाय सधैंका लागि व्यावहारिक नहुन सक्छ । गतिको सीमा मात्रै पनि समाधान होइन भन्ने थाहा भैसकेको छ । कम गतिमा हुँदा वन्यजन्तुले आक्रमण गर्न सक्ने र तीव्र गतिमा हुइँकिँदा जनावरलाई ठक्कर दिने सम्भावना बढी हुन्छ । तसर्थ, धेरै हदसम्म भरपर्दो समाधानका लागि सरकारले वन्यजन्तुमैत्री मार्गमै जोड दिनुपर्छ ।

सरकारले बाघलगायतका वन्यजन्तुलाई ओहोरदोहोर गरिरहने सडकमा उनीहरूलाई वारपार गर्न सघाउने संरचना निर्माण गर्नुपर्छ । ती क्षेत्रमा नयाँ बन्ने सडकका हकमा पनि यो पक्षलाई ध्यान दिनुपर्छ । वनजंगल वा संरक्षित क्षेत्रमा भएका राजमार्गमा वन्यजन्तुका लागि वैकल्पिक मार्ग अर्थात् ‘अन्डरपास’ र ‘ओभरब्रिज’ बनाइदिएर क्षति न्यूनीकरण गर्न सकिन्छ । विश्वमा यस्तो शैली–प्रविधि पछ्याउने मुलुकहरू थुप्रै छन् । यस्तो संरचनामा बोटबिरुवा पनि लगाएर जनावरहरूलाई त्यो पनि जंगलकै एक भाग भएको भान पार्न सकिन्छ ।

अन्तर्राष्ट्रिय अभ्यास मात्र होइन, नेपालकै अनुभवले पनि वन्यजन्तुमैत्री संरचना उपयोगी भएको पुष्टि भइसकेको छ । ३३ किलोमिटर लामो नारायणघाट–मुग्लिङ सडक खण्डमा चारवटा अन्डरपास बनाइएका छन् । विभिन्न वन्यजन्तुले ती अन्डरपासको भरपूर प्रयोग गरेको अध्ययनले देखाइसकेको छ । अब, यस्तै प्रयोग अन्यत्रका सडकमा पनि गरिनुपर्छ । यस्तो व्यवस्थाले मानिस र बाघको जम्काभेट हुन सक्ने सम्भावनालाई घटाउँछ र दुर्घटना न्यूनीकरणमा पनि सघाउ पुर्‍याउँछ । तसर्थ, उल्लिखित उपायहरू अपनाएर बाघ र मान्छेको सहअस्तित्वलाई अवरोधरहित बनाउनेमा अग्रसरता लिइनुपर्छ ।

प्रकाशित : चैत्र ६, २०७७ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?