१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दलीय रडाकोको दीर्घकालीन मल्हमपट्टी

अहिलेका दलहरू अरूका सिद्धान्तको गहनता जान्दैनन् । पढ्दैनन् । कार्यकर्तालाई दीक्षा दिँदैनन् । अहिलेको गुटगत तथा दलगत भागबन्डे राजनीतिले यो कुरा स्पष्ट गरेको छ ।
विद्यानाथ कोइराला

बुझाइको पीडा
वर्ग । रक्तिम क्रान्ति । सर्वहाराको जित । साम्यवादीको समाज बुझ्ने मन्त्र यही हो । नारी र पुरुषको भेद खोजे पनि । धनी र गरिबको भेद खोजे पनि । दलित र गैरदलितको सम्बन्ध खोजे पनि । मधेस, पहाड र हिमालको कुरा गरे पनि । जनजाति र बाहुन–क्षत्रीबीचको सम्बन्धको कुरा गरे पनि । जहाँ पनि यही मन्त्र लगाए हुन्छ । सर्वाैषधि मन्त्र । वर्गीय मन्त्र । जहाँ पनि वर्गीय समाज छ । वर्गीय शोषण छ । वर्गीय असमानता छ । हेर्ने चस्मा यही बनाए हुन्छ । वर्गीय खाडल पुर्नुपर्छ । सर्वहारा वर्गको उत्थान गर्नुपर्छ । यति भनेपछि जहाँ भाषण गरे पनि हुन्छ । यसो हुनुमा निश्चयवादी सोचको भरिया बन्ने दीक्षा छ ।

दलीय रडाकोको दीर्घकालीन मल्हमपट्टी

अहिलेको सडक तथा सदन संघर्ष पनि यसरी बुझ्न सकिएला त ? संसद् भंग गर्ने प्रधानमन्त्री र राष्ट्रपति अभिजात वर्ग हुन् त ? प्रचण्ड र माधव नेपालहरू सर्वहारा वर्ग हुन् त ? सडकका गालीमा बर्सेका शब्दले वर्गीयता नै बुझाएका हुन् त ? ओली वर्गले प्रचण्ड–माधव वर्गलाई निस्तेज गर्न खोजेका हुन् त ?प्रचण्ड–माधव वर्गले ओली वर्गलाई निस्तेज गर्न चाहेका हुन् त ? के साम्यवादीहरूको अहिलेको पदीय रडाको वर्गीय संघर्ष हो त ? वर्गीयताका महापण्डितहरूको चिन्तनलाई बुद्धिजीवीहरूले खोतल्ने हो त ? जोन लक तथा हब्सले बुझेको शान्तिपूर्ण संसार नागरिक समाजले खोज्ने हो कि त ?

अन्तरविरोध । अन्तद्र्वन्द्व । साम्यवादीले भन्ने नरम शब्दहरू हुन् । सडकका गालीगलौज अन्तद्र्वन्द्व हुन् त ? अन्तरविरोध हुन् त ? मिडियाका तेजोवधी शब्दहरू अन्तद्र्वन्द्व हुन् त ? अन्तरविरोध हुन् त ? दर्शनभित्रका । व्यवहारभित्रका । दर्शन र व्यवहार नमिल्दा बखतका । कुन खाले अन्तरविरोधहरू हुन् ? अन्तद्र्वन्द्व हुन् ? साम्यवादीकै शब्दमा सडकमै चर्काउनुपर्ने खालका हुन् त ? जग नै हँसाउनुपर्ने खालका हुन् त ? उछाल्नैपर्ने हुन् त ? माओका शब्दमा अन्तरविरोध त सम्पत्ति पो हो । पहिचान पनि त्यही हो । उनका शब्दमा जीवन नै अन्तरविरोध हो । किनकि जीवन छ त्यसैले मृत्यु छ । मृत्यु छ त्यसैले त जीवन छ । यही अन्तरविरोधमा सम्झौता हुन्छ । स्वीकार हुन्छ । अनि विकास हुन्छ । यसरी हेर्दा माओको आँखामा ओली र प्रचण्ड–माधवको पहिलो तरेलीको अहिलेको सडक संघर्ष अन्तरविरोध हो त ? अन्तद्र्वन्द्व हो त ? ओली र माधव–झलनाथ खनालहरूको दोस्रो तरेलीको दन्तबजानी संघर्ष अन्तरविरोध हो त ? सिसिरोले बुझेको असल समाज बनाउने नागरिक समाज (सिभिलिटी) ले मुख खोल्ने पो हो कि त ?

माक्र्सले बुझेको अन्तरविरोध सामाजिक शक्तिको विरोध हो । उनको आर्थिक निश्चयवादी सोचमा पुँजीवादीको विरोध हो । त्यसो हो भने ओली पुँजीवादी हुन् भनिएको हो त ? उनको शासनसत्ता पुँजीवादी सत्ता भनिएको हो त ? कल्याणकारी राज्यको वकालत गर्ने आधुनिकोत्तर नागरिक समाजले कतै बोल्नुपर्ने हो कि त ?

लेनिनले बुझेको अन्तरविरोधमा मिल्नै नसक्ने परिवेश (एन्टागोनिज्म) हुन्छ । उनकै दृष्टान्तमा पुँजीवादी र सर्वहाराजस्तो । मालिक र मजदुरजस्तो । जमिनदार र खेतीहर (पिजेन्ट्स) जस्तो । यो आँखाबाट हेर्दा ओली र प्रचण्ड–माधव तथा ओली र माधव–झलनाथको शक्ति–संघर्ष मिल्नै नसक्ने माक्र्स र माओले बुझेको बुर्जुवा तथा सर्वहाराको लडाइँ हो त ? अरस्तुका शब्दको राजनीतिक पक्षधर बनेको नागरिक समाजले भन्नुपर्ने हो कि त ? ग्राम्स्कीका शब्दको राज्यविरुद्ध उभिएको नागरिक समाजले अथ्र्याउने हो कि त ? विश्व बैंकका शब्दमा सर्वौषधि बनेको नागरिक समाज घोत्लिने हो कि त ?

पीडाको विकल्प

राणा हटाऊ अभियान नेपाल प्रजापरिषद्मा पलायो । नेपाली कांग्रेसले त्यसैलाई बोक्यो । जमिनदार नास्ने अभियान झापामा पलायो । वर्गशत्रुको सफाया जनयुद्धमा पलायो । निश्चित जाति र क्षेत्रका मानिसलाई हटाऊ अभियान ठाउँ–ठाउँमा पलायो । ‘राजसत्ता हटाऊ’ अभियान राजनीतिक दलहरूमा पलायो । पछिल्ला कार्यहरू असहिष्णु सोचकै उपज हुन् । तिनकै निरन्तरता हुन् । एकअर्कालाई निषेध गर्ने संस्कारकै निरन्तरता हुन् । वर्गीय चिन्तनकै कडी हुन् । सर्वत्र वर्गशत्रु देख्ने र देखाउने चिन्तनकै परिणति हुन् । यी र यस्ता परिणतिको निरन्तरताका शास्त्रीय अभियानहरू बोक्ने तथा बोकाउने धेरै भयौं । सिद्धान्तले । व्यवहारले । यही कुरामा रमाउने कि विकल्प खोज्ने ? निश्चित दर्शन ठीक, अर्काे दर्शन बेठीक भनिरहने कि आफूले बोकेको दर्शनका पनि समस्याहरू खोज्ने ? अहिलेको मेरै दर्शन ठीक भन्ने बुद्धिले पीडा दियो । आक्रोश त्यसैको उपज हो । द्वन्द्व त्यसैको उपज हो । युद्ध त्यसैको उपज हो । अहिलेका दलहरूभित्रको रस्साकस्सी त्यसैको उपज हो । दलीय र अन्तरदलीय गालीगलौज त्यसैको उपज हो । यस्तो उपजमा रमाउने नेपालीलाई नागरिक समाजले वर्गीय चिन्तनमा पुनर्विचार गर्ने धारणा दिने पो हो कि त ? अन्तरविरोधको भाष्य सम्झाइदिने हो कि त ?

वर्गीय सोचको आर्थिक निश्चयवादी चिन्तन (इकोनोमिक डिटर्मिनिज्म) पुरानो भयो । अर्थात्, शास्त्रीय बन्यो । सोच्न मिल्ने । प्रयोग गर्न नसकिने । त्यसैले यो सोचमा सामाजिकता थपियो । यो थपाइको पनि तागत घट्तै गएको छ । पानी कम भएको घट्टजस्तै । यस स्थितिमा नागरिक समाजले वर्णसंकरीय चिन्तन बनाउने उपक्रम पो गर्ने कि त ? पुँजीवादी देशले सामाजिक भलाइका कार्यक्रमहरू मिलाएको जस्तो । साम्यवादी देशले लोकतन्त्रको निजीकरण तथा व्यक्तिगत स्वतन्त्रता ग्यारेन्टी गरेजस्तो । यी वर्णसंकरीय विधिहरूको प्रयोग गरी वर्गीय विद्वेषी चिन्तनलाई वर्णसंकरीय तागतमा बदल्ने कि त ? यो काममा नागरिक समाजले पो पहल गर्ने कि ?

राजनीतिक दलहरू टुक्रिने क्रममा छन् । आफ्नो स्वार्थका लागि । आफ्ना मान्छेका लागि । आफ्ना रहरका लागि । आआफ्ना पदको निरन्तरताका लागि । आआफ्ना अहंतुष्टिका लागि । यसको सन्देश हो— दलीय सोचमा वर्गीयता छैन । दर्शन छैन । आदर्श छैन । गुणवत्ता छैन । अन्तरविरोधको अन्तर्य छैन । देश विकासको चिन्तन छैन । यो स्थितिमा नागरिक समाज पनि तिनै टुक्रामा मिल्नुपर्ने हो र ? मिल्दा र छुट्टिँदा नागरिक समाज पनि मतियार भएन र ? विरोधी भएन र ? यो काम त दलकै तलबी पूर्णकालीन वा आंशिक कार्यकर्ताले गर्दैनन् र ? गर्छन् भने नागरिक समाजले वर्णसंकरीय क्षेत्रको अभ्यास गर्ने कि त ? विषयत रूपमा । दर्शनगत रूपमा । व्यवहारगत रूपमा । अन्तरदलीय बुझाइहरूका बीचमा । यो काममा नागरिक समाजले अग्रसरता लिने कि त ?

विकल्प कार्यान्वयन पद्धति

नेपालका राजनीतिक दलहरूमा चार सिद्धान्त अभ्यासमा छन् । वर्गीय सिद्धान्त । प्रजातन्त्रीय सिद्धान्त । परम्परागत सिद्धान्त । तप्कीय सिद्धान्त । वर्गीय सिद्धान्त एमालेको हो । माओवादीको हो । तीभित्रका चोइटाहरूको हो । उपचोइटाहरूको हो । गुटहरूको हो । उपगुटहरूको हो । प्रजातन्त्रीय सिद्धान्त नेपाली कांग्रेसको हो । यसका चोइटाहरूको हो । गुट–उपगुटहरूको हो । परम्परागत सिद्धान्त राप्रपाहरूको हो । तिनका चोइटा–उपचोइटाहरूको हो । क्षेत्रीय चिन्तनसहितको विकेन्द्रित सरकार जनता समाजवादीको सोच हो । तिनका चोइटा तथा उपचोइटाहरूको हो । यसरी हेर्दा नागरिक समाजले चारै सिद्धान्तको अध्ययन गर्नुपर्छ । तिनका मिल्दा सोचहरू पहिल्याउनुपर्छ । तिनै सोचको साझा कुरामा सबै दललाई सुसूचित गर्नुपर्छ । अहिलेका दलहरू अरूका सिद्धान्तको गहनता जान्दैनन् । पढ्दैनन् । कार्यकर्तालाई दीक्षा दिँदैनन् । अहिलेको गुटगत तथा दलगत भागबन्डे राजनीतिले यो कुरा स्पष्ट गरेको छ । यसलाई ध्यानमा राखी मुस्लिमहरूले अकिदा र मूल कुरा बनाए । अभ्यास गरे । अकिदा सामाजिक अभ्यास हो । मूल कुरा दर्शन हो । सिद्धान्त हो । अर्काे शब्दमा भन्दा, दलहरूको मूल कुरा बाहिर ल्याउनुपर्छ । अकिदामा अल्झिएका अहिलेका चोइटा तथा उपचोइटाहरूलाई तिम्रा भिन्नताहरू यति मात्रै हुन् भन्नुपर्छ । यो काम नागरिक समाजले गर्न सक्छ । गर्नु पनि पर्छ । नत्र त उनीहरू पनि दलका वा तिनका चोइटा एवं उपचोइटाहरूका अकिदाकै अभ्यासी बन्छन् । बनाइन्छन् ।

दलहरूको अभ्यासले देखायो, आफूलाई जुन जीवी भने पनि जीवीहरू नेताकै पिछलग्गू हौं । ओली र प्रचण्ड भिन्न हुँदा भिन्नै हौं भन्नेहरू । तिनीहरू मिल्दा एकै हौं भन्नेहरू । ओली इतर र भितर बन्दा त्यही गीत गाउनेहरू । इतर तथा भितरलाई मिलाउँछौं भन्दा पनि शीर्षस्थ नेताका स्वार्थभन्दा पर सोच्न नसक्नेहरू । ओली तथा माधव–झलनाथ बन्दा पनि अन्तरविरोध हो कि होइन भनी छुट्टयाउन नसक्नेहरू । साम्यवादीहरूको विवादको जड त भागबन्डा थियो । विरोध थियो । अन्तरविरोध थिएन । संसद् विघटन त परिणति थियो । संसद् पुन:स्थापना पनि परिणति थियो । अर्थात्, नागरिक समाजले कलहको जड र परिणति नै चिनेन । चिनाएन । यसरी परिणतिलाई नै जडको संज्ञा दिने जमातहरू नागरिक समाज हौं त ? हुन सक्छौं त ? यो स्थितिमा नागरिक समाजले अनेकन् जीवीहरूसँग संवाद गर्नुपर्छ । बुद्धिजीवीसँग । लेखकहरूसँग । विद्यार्थीहरूसँग । शिक्षकहरूसँग । प्राध्यापकहरूसँग । संवादको गेडो सिद्धान्तमा हुन सक्छ । अकिदामा हुन सक्छ । अन्तरविरोधको अन्तर्यसँग हुन सक्छ । दलीय नेताहरूसँग हुन सक्छ । यो संवादका लागि नागरिक समाजले काम गर्नुपर्छ ।

मूल तथा अकिदाको समसामयिकीकरण

वर्गको सोच निश्चयवादी हो । समाजचाहिँ परिवर्तनवादी छ । वैदिक पुर्खाको शब्दमा, ‘गाई’ । चल्ने हुनाले ‘गाई’ भनेका हुन् उनीहरूले । उनका लागि सूर्यको रश्मि गाई हो । मानिस र जनावर पनि गाई हुन् । ग्रह तथा नक्षत्र पनि गाई हुन् । यो कुरा बुझे–बुझाएका पुर्खाका सन्ततिले निश्चयवादी सोच बोक्नु उपयुक्त हो र ? बुद्धले पनि वस्तुलाई चलमा बुझ्ने तरिका सिकाए । हामीले अझै पनि स्थिरमै सबै कुरा बुझे–बुझाएर पुग्छ र ? माक्र्सले पनि वस्तुलाई परिवर्तनसँगै बुझ्ने चिन्तन दिए । वर्गको चिन्तनचाहिँ स्थिरतामै बुझ्नुपर्ने हो र ? बुझाउनुपर्ने हो र ? चलमा बुझ्ने हो भने नेपालको विशेषता बुझ्नुपर्छ । बुझाउनुपर्छ । यो सोच बन्ने–बनाउने हो भने नेपाली दलहरूले बोकेका चिन्तनमा समय मिसाउनुपर्छ । स्थान मिसाउनुपर्छ । पुर्खाका शब्दमा दिक् पनि काल पनि । यसो गर्ने संस्कार बनाउन नागरिक समाज तयार छ त ? छैन भने नागरिक समाज भन्ने–भनाउने हैसियत हुन्छ त ? अकिदाहरूमा पनि यही नियम लागू गर्नुपर्छ । दिक्मा मिलाउने । कालमा मिलाउने । नेपालको विविधताले यही कुरा खोज्छ । भूगोलअनुसारको । संस्कृतिअनुसारको । परिवेशअनुसारको । यही चिन्तनमा लाग्ने–लगाउने हो भने मात्र सिद्धान्तहरू अद्यावधिक हुन्छन् । अकिदाहरू अद्यावधिक हुन्छन् । नागरिक समाज गतिशील हुन्छ । वैदिक पुर्खाका शब्दमा गवेषणवादी बन्छ । गाई खोज्न सक्ने । गाई चिन्न सक्ने । समयअनुसार राजनीतिक दललाई हिँडाउन सक्ने । आफू पनि दलका पिछलग्गू बन्न–बनाइनबाट माथि उठ्न सक्ने । हुइँयावादी बने–बनाइएको नेपाली समाजलाई धरातलमा अड्याउन सक्ने ।

नागरिक समाजको मर्यादा

प्रवृत्तिले मात्र चल्नेहरू पशु हुन् । दिमागले चल्ने प्राज्ञिक हुन् । मनले चल्ने संवेगी (एक्टिभिस्ट) हुन् । आदेशले चल्ने कार्यकर्ता हुन् । नुन खाएकाहरू हुन् । दिल र दिमाग मिलाउन जान्नेहरू मात्र एक्काइसौं शताब्दीको नागरिक समाज हुन् । अध्ययनहरू त्यसै भन्छन् । ती अध्ययनको अपेक्षा हो, नागरिक समाज विधागत विज्ञता भएको हुन्छ । निष्पक्ष । अनेकौं मुद्दालाई मिलाई (क्रस कटिङ) क्याप्सुल बनाउन जान्ने । सदैव नयाँ मूल्य र मान्यता बनाउन जान्ने । नेता तथा जनतालाई संवादमा झोंक्न जान्ने । अन्यथा नागरिक समाज अरस्तुको जस्तो हुन्छ । दलको । दलीय मुद्दा बोक्नेहरूको । अहिले नागरिक समाज अपत्यारिलो छ । यसले दलीय मुद्दा बोक्ने गरेको छ । दलकै सोचलाई ब्रह्म ठानेको छ । त्यसकै तरिकामा समाहित हुन जानेको छ । दलकै वैतनिक कार्यकर्ताजस्तो भएको छ । दलसँगै जिउन जान्ने । सक्ने । चाहने । यो स्थिति अठारौं शताब्दीमा ठीक थियो । निश्चयात्मक साम्यवादी शासनसत्तामा पनि ठीक थियो । अहिले हामी भिन्न परिवेशमा छौं । भिन्न क्षमतामा छौं । नागरिक समाजका सदस्यहरूलाई पनि यसरी बदलिएको दिक् तथा कालबारे जानकारी गराउनुपर्ने दखिन्छ । यसो गरे मात्र नागरिक समाज मर्यादित हुन्छ । अन्यथा दलकै भएर बस्छ । दल ठीक भन्ने । दल बेठीक भन्ने । गुटकै भएर बस्छ । गुट ठीक भन्ने । गुट बेठीक भन्ने ।

टुंगो

नाउर–जुधाइ नेपाली नेताको बुद्धि बन्यो । भ्यागुतो–तनाइ तिनको प्रवृत्ति बन्यो । काग–कराइ तिनको भाषण बन्यो । त्यही जुधाइ, त्यही तनाइ, त्यही बोलाइले गर्दा नेताको वजन हरायो । हराएको वजन नै गहकिलो छ भन्ने कार्यकर्ताहरूले नेतालाई प्रकारान्तरले नौटंकी साबित गरिसके । चेत हुने नेताले संन्यास लिए हुने भयो । बोलेको र बरबराएकोमा फरक नजान्ने नेता, तिनका कार्यकर्ता वा स्वार्थ समूहले मात्रै नेतामा भर गर्ने दिन आयो । यो स्थिति बदल्न देशले विषयगत विज्ञता भएका नागरिक समाजको खोजी गरेको छ । एक्काइसौं शताब्दीको नागरिक समाज । त्यही समाजले मात्र नेपालको वर्ग चिनाउन सक्छ । वर्ण चिनाउन सक्छ । जात चिनाउन सक्छ । जाति चिनाउन सक्छ । धर्म चिनाउन सक्छ । ती सबैको योगफल चिनाउन सक्छ । यसो गरे मात्र शास्त्रीय रक्तिम क्रान्तिको बोली बदलिन सक्छ । सिद्धान्तहरूमा नेपालीपना मुखरित हुन सक्छ । अन्तरविरोध र भागबाँडीमा भेद देख्न सक्छ । जड र परिणतिमा फरक चिन्न सक्छ । अनि मात्र नेता जे भन्छन् त्यही सही हो भन्ने जनसमाज बदलिन सक्छ । दिक् र काल नचिनेका नेतालाई पाखा लगाउने संस्कार बन्छ । ज्ञान, संकथन (डिस्कोर्स) तथा सहभागितामा मात्रै निर्णय गर्ने नागरिक समाज बन्न सक्छ । बनाउन सकिन्छ । यो सोचमा संवाद पो गर्ने कि त ? भविष्यमा अहिलेको जस्तो भागशान्तिका लागि टुक्रिने र टुक्रयाउने राजनीतिको अन्त्य गर्न सकिन्छ कि त ? ढिक्किने (बल्कनाइज्ड) समाजलाई विवेकी समाज बनाउन सकिन्छ कि त ? सोचौं ।

(शुक्रबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट)

प्रकाशित : चैत्र ५, २०७७ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?