विद्यार्थीमा मोबाइलको लत- विचार - कान्तिपुर समाचार

विद्यार्थीमा मोबाइलको लत

मञ्जु भट्ट

कोरोना महामारीका कारण गत वर्षदेखि विद्यालय नगएका, अनलाइन कक्षा पनि पढ्न नसकेका र एकैचोटि यसपालि माघमा मात्र विद्यालय प्रवेश गरेका विद्यार्थीहरूलाई उपल्लो कक्षामा पढ्न र गृहकार्य गर्न निकै सकस भइरहेको छ ।

कोरोनाकालमा अनलाइन कक्षामा उपस्थित हुने तर शिक्षकले बोलाउँदा नबोल्ने, भिडियो–अडियो बन्द गरेर अरू नै हेरेर बस्ने बानी परेका कतिपय विद्यार्थीलाई मोबाइलको लत नै लागेको छ । मैले पढाउने विद्यालय खुलेपछि लिइएको दोस्रो त्रैमासिक परीक्षामा अरूबेलाको भन्दा धेरै विद्यार्थी फेल भए ।

हालै एक जना अभिभावक आफ्नो छोराको पढाइ तथा अन्य क्रियाकलाप बुझ्न विद्यालय आइन् । उनका श्रीमान् विदेश गएकाले आमाछोरा मात्रै घरमा रहेछन् । सात कक्षामा पढ्ने छोराले उनले भनेको नटेर्ने रहेछन् । अनलाइन कक्षा पढ्न थालेपछि उनले छोरालाई मोबाइल किनिदिइन् । उनी भन्छिन्, ‘जतिखेरै त्यही मोबाइल हातमा हुन्छ, गृहकार्य गरिराखेको छु भन्दै छोरा कोठामा एक्लै बसिराख्छ तर के गर्छ मलाई थाहा छैन ।’ एकैछिन पछि फेरि उनले थपिन्, ‘गाली गर्न पनि एक्लो सन्तान माया लाग्छ, मुखले भनेको मान्दैन के गर्ने ?’ यो उनको मात्र समस्या होइन । पैसा कमाउन नेपालका अधिकांश बुबा वा आमा विदेश जान्छन् । बुबा विदेश हुँदा आमासँग मात्रै बसेर वा आमा विदेश हुँदा बुबासँग मात्रै बसेर पढ्ने विद्यार्थीहरूको संख्या धेरै छ । छोराछोरीको मायाका कारण पनि मोबाइल बाआमाले खोस्न सक्दैनन् ।

मैले धेरै विद्यार्थीलाई किन गृहकार्य गर्दैनौं भनेर सोध्दा प्रायःको उत्तर ‘अल्छी लागेर नगरेको’ हुन्थ्यो । यसो भन्नेहरूको आफ्नै छुट्टै मोबाइल छ । उत्सुक उमेरका विद्यार्थीले मोबाइल पाउँदा उनीहरू धेरै समय त्यसमै अल्मलिन्छन् । पढाइ त्यसै छुट्छ । विद्यार्थीहरूमाझ कोराना महामारीका कारण परेको यस्तो असरबारे कम चर्चा हुने गर्छ । विद्यार्थी काँचो माटोजस्तै हुन् । उनीहरू जसरी हुर्किए त्यस्तै बन्छन् । अभिभावकले आफ्ना छोराछोरीलाई मोबाइलबाट टाढा राखेर अन्य शैक्षिक तथा मनोरञ्जनात्मक गतिविधिमा लगाउनुपर्छ ।

शिक्षकहरूले विभिन्न परिवेशबाट आएका लगभग ४० विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनु कम चुनौतीपूर्ण छैन । कसैले साथीलाई ‘बुलिङ’ गरिरहेका हुन्छन् त कसैले ‘डस्टर’ फुटाउने, भित्तामा कोर्ने, कक्षाबाट भाग्नेजस्ता क्रियाकलाप गरिरहेका हुन्छन् । कोही छिट्टै रिसाउने खालमा पनि हुन्छन् । यस्ता विद्यार्थीलाई यसो नगर, उसो नगर भन्दा उल्टो शिक्षकलाई नै झम्टिने पो हुन कि भन्ने डर हुन्छ । विद्यार्थीले शिक्षकलाई कोठामा बन्द गर्ने, अपशब्द बोल्नेलगायतका दुर्व्यवहार गर्ने गरेको पनि भेटिन्छ । कक्षामा पढाएको बेला होहल्ला गर्ने, कक्षाकार्य, गृहकार्य नगर्ने, घरमा बाआमाले भनेको पनि नमान्ने कतिपय विद्यार्थीलाई केही भन्यो भने ‘पिट्न, गाली गर्न पाइँदैन’ भन्छन् । उनीहरूलाई बाल अधिकारबारे पनि थाहा छ । तर, आफ्नो कर्तव्य भने बिर्सिएका छन् ।

लामो समय घरमा बसेर भर्खरै विद्यालय जान थालेका विद्यार्थीहरूले कपाल/नङ पाल्ने, ‘स्कुल ड्रेस’ लाउन अप्ठेरो मान्ने, ‘आउट ड्रेस’ लगाउँदा खुसी हुनेजस्ता क्रियाकला देखाइरहेको छन् । कोरोनाकालमा घरभित्रै बन्दीजस्तै गरी जीवन बिताइरहेका विद्यार्थीहरू खुला वातावरणमा निस्कन पाउँदा खेल्नमै बढी समय दिन्छन् । उनीहरूले पढ्नुपर्छ भन्ने बिर्सेजस्तो छ ।

विद्यालयमा विद्यार्थीहरूले विद्या आर्जन मात्रै गरिरहेका हुँदैनन्, योग, ध्यान र खेलकुदका माध्यमबाट आफूलाई तन्दुरुस्त, शान्त तथा स्वस्थ रहन पनि सिकिरहेका हुन्छन् । टन्न पैसा तिरेर नाम चलेका विद्यालयमा छोराछोरीलाई पढाएको छु भन्दैमा उनीहरूको सबै जिम्मा शिक्षकमाथि छोड्नुहुन्न । विद्यालयपछि आफ्ना छोराछोरी कहाँ जान्छन्, के गर्छन्, कस्ता साथी बनाएका छन्, एक्लै कोठाभित्र मोबाइलमा के गरेर बस्छन् भन्ने पनि नजिकबाट बुझ्ने कोसिस गर्नुपर्छ । घरको वातावरणले समेत विद्यार्थीमा सकारात्मक तथा नकारात्मक दुवै खाले असर गरिरहेको हुन्छ । यसको ज्वलन्त उदाहरण भागरथीको हत्यामा संलग्न कक्षा ११ मा पढ्ने छात्र हुन् । घरायसी रिसइबीको कारण उनले पहिलेदेखि नै भागरथीलाई मार्ने योजना बनाएको बताएका थिए । नाबालक भएकै कारण अहिले उनलाई जेलको सट्टा सुधारगृह पठाइएको छ ।

आमाबुबाका लागि सन्तान नै सबथोक हुन् । पैसा, खेलौना र खानाभन्दा पनि उनका लागि अभिभावकले समय दिन सक्नुपर्छ । आफ्ना सन्तानको माया लाग्छ भन्दैमा चाहिनेभन्दा पनि नचाहिने सबै मागको सजिलै पूर्ति गरिदिँदा उनीहरूमा मिहिनेत गर्ने बानीको विकास हुँदैन । ‘जे माग्दा पनि सजिलै पाइने रहेछ किन दुःख गरेर पढ्नु’ भन्ने सोच उनीहरूमा आउन दिनु हुँदैन । घरपरिवारको सुख, दुःखमा उनीहरूलाई पनि सामेल गराउनुपर्छ । आफ्नो परिवारको पीडा बुझेका विद्यार्थीहरू बिग्रिने सम्भावना कम हुन्छ । विद्यालय तथा घरपरिवार मिलेर कलिला मुनाहरूलाई फक्रिने वातावरण मिलाउनुपर्छ ।

प्रकाशित : चैत्र ५, २०७७ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्

कहाँ छैन महिला हिंसा !

विभिन्न कारणले जागिरमा र उच्च तथा प्रतिष्ठित पदहरूमा महिलाहरूको उपस्थिति न्यून देखिन्छ ।
मञ्जु भट्ट

एक जना म्याडमले सुनाएअनुसार, उनको कार्यालयका एक परिचित पुरुषले केही लेख्नका लागि भनेर कलम मागे । ती म्याडमले कलम दिन हात बढाइन्, ती कर्मचारीले मुस्कुराउँदै आफ्ना दुवै हातले उनका हात मुसार्दै कलम लिए । त्यतिखेर आफूलाई एकदमै नरमाइलो लागे पनि वरिपरि अरू कर्मचारी हुँदा होहल्ला गर्न उचित नलागेको उनले सुनाइन् ।

एक बहिनीले गाडीमा यात्रा गर्दा सँगैको सिटमा बसेका पुरुषले काखीमुनिबाट हात छिराउँदै उनको छातीसम्म पुर्‍याएको घटना सुनाएकी थिइन् । ती पुरुषले निदाएको निहुँ पारेर घरीघरी आफ्ना तिघ्रामा हात राख्ने गरिरहेकाले उनले कन्डक्टरलाई भनेर सिट बदलिदिन लगाइछन् ।

लामो या छोटो दूरीको गाडीमा यात्रा गर्दा यस्ता असहज क्रियाकलाप मसहित धेरै जनाले पनि धेरैपटक भोगेका छौं । एक अध्ययनअनुसार, संसारभरिका ३५ प्रतिशत महिला आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरिक या यौनजन्य हिंसाको सिकार भएका हुन्छन् । क्याम्पस पढ्ने केटीहरू देखेर सिटी बजाउनेदेखि एक्लै सडकमा निस्केका केटी देखेर छाडा, अश्लील शब्द बोल्ने तथा अश्लील हर्कत देखाउँदै हिँड्ने केटाहरूको कमी छैन । सर्वप्रथम त महिलाहरू आफ्नै घरमा हिंसामा परेका तमाम घटना छन् । बिहान धेरैजसो घरका सदस्यलाई फुर्सद नै हुन्छ तैपनि सबैभन्दा पहिला उठेर चिया बनाउनेदेखि खाना पकाउने, कोठाहरू सरसफाइ गर्ने, लुगा धुने, भाँडा माझ्नेसम्मका सम्पूर्ण घरायसी कामहरू महिलाले एक्लै गरिरहेका हुन्छन् । थोरै परिवारमा मात्र श्रीमती, बुहारी वा भाउजूलाई भान्सामा गएर सघाउने चलन छ । धेरैजसो परिवारमा घरका सम्पूर्ण काम बुहारीले नै गर्नुपर्छ जस्तो ठानिन्छ । जागिरे पुरुषहरूले आफूले गरेको कामको पारिश्रमिक मात्रै होइन, मानसम्मान र पदवी अनि साप्ताहिक छुट्टी, चाडपर्व र बिरामी बिदा, घुम्ने समय पाएका हुन्छन् ।

तर गृहिणीले सदियौंदेखि कुनै पारिश्रमिक र मानसम्मान त कहाँ हो कहाँ, उल्टै ‘माइतीले यत्ति खाना पकाउन पनि सिकाएनन् ?,’ ‘माइतीबाट दाइजोमा ल्याएको हो र ?’ जस्ता अपमानजनक वचन सहँदै चुपचाप काम गरिरहनुपरेको छ । शौचालय सफा गर्ने, पकाएका र सबैले खाएका जुठाभाँडा माझ्नेजस्ता कामहरू जीवनभर कुनै पारिश्रमिक नलिई सधैं एकै जनाले, त्यो पनि धेरैजसो महिलाले मात्रै गरिरहनु पनि महिलामाथिको एक प्रकारको हिंसा, दमन र भेदभाव नै हो । विकसित देशहरूमा सबैले समान रूपले काम गर्नुपर्छ । नेपालमा जस्तो एउटै परिवारको सदस्य भएको नाताले कसैले कडा मिहिनेत गरिरहने त कसैले मजाले बसेर खान पाउने हुँदैन । महिला–पुरुष सबैले जुनसुकै काम पनि बराबर गर्नैपर्छ ।

संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले २५ नोभेम्बरलाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउने निर्णय गरेयता हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म लैंगिक हिंसाविरुद्ध एकजुट हुने र जनचेतना फैलाउने गरिन्छ । नेपालमा पनि यी सोह्र दिनसम्म सहरका पाँचतारे होटलहरूमा विभिन्न कार्यक्रम गरिन्छन् । तर यो अवधिको महत्त्वबारे नसुनेका र नजानेका गरिब र निरक्षर महिलाहरूलाई यिनै दिनहरूमा बोक्सीको आरोपमा कुट्ने, मलमूत्र खुवाउने, एसिड छ्याप्ने, बलात्कार गर्ने, दाइजोको निहुँमा कुटपिट गर्दै मार्नेसम्मका घटना हुने गरेका छन् ।

सातै प्रदेशका मुख्यमन्त्री पुरुष मात्रै छानिनुले पनि सरकारबाटै महिलामाथि चरम भेदभाव भएको देखाउँछ । समयमै वा समयअगावै बिहेबारी, सन्तानप्राप्ति र पालनपोषण, घरको कामबाट बेफुर्सद, रोगी सासू–ससुराको हेरचाहजस्ता विभिन्न कारणले जागिरमा र उच्च तथा प्रतिष्ठित पदहरूमा महिलाहरूको उपस्थिति न्यून देखिन्छ । लिंगका आधारमा महिलामाथि हुने भेदभाव र गरिबी हुनु, उनीहरूले आफूअनुकूल वातावरण, समय तथा साथ नपाउनु पनि महिला हिंसालाई प्रोत्साहित गर्ने कारकहरू हुन् । कतिपय आमाबुबाले छोरीको पढाइ पूरा नहुँदै वा जागिर/व्यवसाय सुरु नगर्दै बिहे गराइदिनुलाई आफ्नो जिम्मेवारी पूरा भएको ठान्छन् । बिहे भइसकेपछि कतिपय परिवारमा बुहारीलाई घरबाहिर पढ्न नपठाउने, जागिर खान नदिनेजस्ता कट्टर चलनसमेत हुन्छन् । बिहेलगत्तै कतिपयले गर्भवती भएसँगै सन्तान जन्माउने र हुर्काउने जिम्मेवारी थपिँदा उच्च शिक्षा लिने र जागिर खाने सपना थाती राख्नुपर्ने हुन्छ । कतिपयले सन्तानलाई दूध चुसाउनसम्म नपाएर भ्याई–नभ्याई आफ्नो पढाइ र जागिरलाई निरन्तरता दिएका हुन्छन् । कतिपयले सन्तान हुर्काउँदैमा पैंतीस–चालीसको उमेर कटिसक्ने भएकाले जागिर खाने हिम्मत गर्न नसक्दा सधैंभरि घरकै काममा घोटिनुपरेको हुन्छ ।

जागिरे महिलाहरूमा झनै दोहोरो कामको जिम्मेवारी थपिएको हुन्छ । घरको काम गरेबापत कोही खुसी नभए पनि जागिरको तलबले सबैको मन खुसी हुने, घरमा मानसम्मान पाइने, आफूलाई खर्च गर्न पनि अरूसामु हात फैलाउनु नपर्ने, केही गर्न पनि आफूमा साहस थपिने हुँदा महिलाहरूले कष्टपूर्ण तरिकाले भए पनि दोहोरो ड्युटी निभाइरहेका हुन्छन् । थोरै एकल परिवारमा मात्रै श्रीमान्ले श्रीमतीलाई घरका काममा मद्दत गरे पनि धेरैजसो संयुक्त परिवारमा श्रीमान्‌ले घरको काम गरेको देखिँदैन । श्रीमान्‌सँग एक्लै सहरमा बस्दा उहाँले सधैंजसो भान्सामा सहयोग गरे पनि घरबाट सासू–ससुरालगायत आएका बेला सघाउनु त कता हो, उहाँहरू सहरमा हामीसँग बसुन्जेल मसँग बोल्नुसम्म भएन । यद्यपि यो धेरै पहिलेको कुरा हो । जे भए पनि एकलभन्दा संयुक्त परिवारका बुहारीहरूलाई कामको चाप झनै बढी हुँदो रहेछ ।

घरपरिवारमै छोराछोरीबीच वा छोराबुहारीबीच पनि धेरै खाले भेदभाव हुन्छन् । केही अपवादबाहेक छोरालाई जुनसुकै समयमा पनि घर छोडेर देश–विदेश गई पढ्ने, जागिर खाने, घुम्ने छुट हुन्छ भने छोरीबुहारीलाई सकेसम्म यस्ता अवसरहरूबाट टाढै राखिएको हुन्छ । एकचोटि मैले धेरै समयसम्म भेट नभएकी दिदीलाई दिल्लीबाट नेपालमा रहेको माइतीमा भेट गर्न आउन आग्रह गरें । उनले भनिन्, ‘छोराछोरी त सँगै ल्याउन मिल्थ्यो, यतिखेर श्रीमान्‌को छुट्टी मिल्दैन । एक्लै छोडेर आउँदा उहाँलाई पकाएर खान आउँदैन । उहाँलाई ठूलै समस्या पो पर्छ त ।’

त्यस्तै, देहरादून बस्ने अर्की एक दिदी बिरामी आमा भेट्न महेन्द्रनगर आएकी थिइन् । आफ्ना साना छोराछोरीले धेरै दिनसम्म पकाएर खान अप्ठेरो मान्ने र श्रीमान्‌लाई खाना पकाउन नआउने भन्दै उनी सिकिस्त बिरामी आमालाई त्यत्तिकै छोडेर फर्किन हतारिएकी थिइन् । ‘श्रीमान्‌लाई पनि पकाउन सिकाउनु नि’ भन्दा उनको जवाफ थियो, ‘कसरी पकाउने भनेर आफैं भान्सामा मसँग सिक्न आउँदैनन् । जबरजस्ती तानेर कसरी सिकाउनु ?’

ठूलठूला पदमा काम गर्ने पुरुषहरू घरमा खाना पकाएर खान नसक्ने हुँदा एक गिलास चियाका लागि पनि श्रीमतीमै निर्भर हुन्छन् । व्यस्तताले पकाउन नभ्याउँदा बाहिर खानु ठीकै हो । तर घरमा श्रीमती एक्लै काम गरिरहँदा आफू भने फुर्सदको समयमा सधैंजसो चियाको चुस्की लिँदै मोबाइल, टीभी वा साथीहरूसँग गफमा मस्त रहनु कदाचित् ठीक होइन । महिला कोही दाइजो नल्याएको निहुँमा कुटिन्छन् त कसैलाई कुटेरै मारिन्छ पनि । कसैले पढ्न पाएका हुँदैनन् भने कोही पढेर पनि जागिर खान नहुने सर्तमा बाँधिएका हुन्छन् । कोही घरमै हिंसामा परेका छन् त कोही कार्यालय, क्याम्पस, मन्दिर, वनपाखा, खेतबारी तथा सडकमै हिंसामा परिरहेका छन् । राति मात्रै हैन, दिउँसै पनि एक्लै हिँड्न महिलाहरूलाई झन््झन् डर हुँदै गएको छ । कुन ठाउँमा कति बेला आफूमाथि एसिड छ्यापिने हो र कुन ठाउँमा अपहरण भई सामूहिक बलात्कारमा परिने हो भन्ने पिरलो बढ्दै गएको छ । बाटोमा हिँड्दा जंगली जनावरहरूको मात्र डर हुनुपर्ने हो, तर त्यसको ठीक उल्टो पुरुषबाट महिलाहरू असुरक्षित हुँदै गएका विभिन्न घटनाले देखाउँदै आएका छन् । कहिलेसम्म महिलाहरूले व्यक्ति, परिवार, समाज तथा देशका लागि आफ्नो बलिदान दिइरहनुपर्ने हो, मरेतुल्य जीवन बाँचिरहनुपर्ने हो ?

प्रकाशित : मंसिर २१, २०७७ ०८:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×