२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

किशोरकिशोरी र प्रजनन स्वास्थ्य

छोराछोरीलाई ‘लागूपदार्थको कुलतमा नलाग’ भन्ने आमाबुबाले ‘यौनसम्बन्ध पनि चाँडै नराख’ भन्न सक्नुपर्छ ।
अरुणा उप्रेती

केही समयअघि बाजुरा, कैलाली, दाङ, सिन्धुपाल्चोक, पाँचथर, डोटी, कपिलवस्तु, कालीकोट र अछामका साथीहरूले त्यहाँका किशोरकिशोरीसँग छलफल गरेर निस्केका तथ्य प्रस्तुत गर्नुभयो । उहाँहरूको प्रस्तुति सुन्दा हाम्रा किशोरकिशोरी अघि बढेका हुन् कि पछि फर्केका भन्नेमा अलमल भयो ।

किशोरकिशोरी र प्रजनन स्वास्थ्य

एकातिर त्यहाँका विकास कार्यकर्ताहरू ‘विवाहको उमेर बढाउनुपर्छ’, ‘छिटै विवाह गर्दा सानैमा यौनसम्पर्क भएर शारीरिक समस्या आउँछ’ भन्छन्, अर्कातिर स्वास्थ्यकर्मीहरू ‘किशोरीहरू सानै उमेरमा गर्भपतनका लागि आएको’ बताउँछन् ।

केही समयअघि म पाँचथर पुग्दा त्यहाँका स्वास्थ्यकर्मीले भनेका थिए, ‘स्कुले केटाकेटी बाँसको झाङमा लुकेर डेटिङ गर्छन् । डेटिङको अर्थ नै यौनसम्पर्क भएको छ । यहाँका शिक्षकहरू पनि छक्क पर्छन् । कसरी अहिलेका केटाकेटीले यस्तो साहस गर्न सकेका होलान् ?’ त्यस बेला यस्ता ‘डेटिङ’ का कुरा अपवाद होलान् भन्ने मलाई लागेको थियो । तर, हालै विभिन्न पालिकाका २२५ किशोरकिशोरीमाझ गरिएको सर्वेक्षणले सानै उमेरमा यौनसम्पर्क हुनु अपवाद होइन रहेछ भन्ने देखाएको छ ।

बाजुराका साथीले ल्याएको जानकारी पनि पाँचथरको जस्तै थियो । ९ कक्षामा पढ्ने किशोरीहरूले उनलाई भन्छिन्, ‘१७–१८ वर्ष भइसकेपछि गाउँलेहरूले ठूली भई भनेर कुरा काट्न थाल्छन् । आमाबाबुले यस्ता कुरा सुन्नु पर्दैन भनेर छिट्टै विवाह गरिहालिन्छ । सरकारले सानैमा विवाह नगर भनेर के गर्नु ?’ त्यस्तै कतिपय किशोरले छलफलकै क्रममा ‘अहिलेसम्म १०–१२ जनासँग यौनसम्पर्क राखिसकेको छु’ भनेका रहेछन् । किशोरहरू विपरीतलिंगीप्रति आकर्षित हुनु, मन परेको जस्तो लाग्नु वा कुरा गर्न मन लाग्नु स्वाभाविक हुन् । त्यसैलाई ‘प्रेम’ ठानेर ‘एकैछिनमा’ सँगै मर्ने–बाँच्ने कसम खाने र शारीरिक सम्पर्क गरिहाल्ने प्रवृत्ति अछाम, बाजुरा, पाँचथरलगायतमा बढ्दो छ ।

पूर्वको एक जिल्लामा १५ वर्षीया किशोरीको एक किशोरसँग सम्बन्ध भएपछि महिनावारी रोकियो । उनले ७ हप्तामै गर्भपतनको औषधि खाइछन् । त्यसको एक हप्तापछि पेट एकदमै दुखेर बेहोस भइछन् । अस्पताल लगेपछि गर्भनलीमा गर्भ बसेको थाहा भएछ । त्यो फुटेर आन्तरिक रक्तश्रावका कारण उनको ज्यानै खतरामा परेको रहेछ । शल्यक्रिया गरेपछि ज्यान त बच्यो तर जोसँग उनको सम्बन्ध भएको थियो, उनले नचिनेझैं गर्छन् रे ! उनका परिवार अपमानित हुने डरका कारण प्रहरीकहाँ जान मानेनछन् । ती किशोर अहिले काठमाडौंमा उच्च शिक्षा लिँदै छन् । किशोरी मानसिक रोगको औषधि खाएर बसेकी छन् । पढाइ त छुट्यो नै, उनलाई आफूमाथि दुःखको ठूलो पहाड खसेजस्तै भएको छ । त्यहाँका एक शिक्षक भन्छन्, ‘किशोरकिशोरीलाई गर्भपतन अधिकारबारे भन्यौं तर उनीहरूलाई आफ्नो शरीरप्रतिको जिम्मेवारीचाहिँ सिकाउन सकेनौं । यसले किशोरीहरूको जीवनमा धेरै नराम्रो असर परेको छ ।’

काठमाडौंजस्तो सहरी परिवेशमा त आमाबुबाले छोराछोरीसँग यौनसम्बन्ध र त्यसले जीवनमा पर्ने सकारात्मक वा नकारात्मक प्रभावबारे कुराकानी गर्दैनन् भने बाजुरा वा पाँचथरमा यस्तो आशा कसरी गर्नु ? दस/बाह्र जिल्लामा गरिएको सानो सर्वेक्षणले अब प्रजनन स्वास्थ्य शिक्षा भनेर प्रजनन अंग र शारीरिक परिवर्तनबारे मात्र होइन, मानवीय सम्बन्ध, प्रेम, यौन र यौनिकताका सवालहरू पनि किशोरकिशोरीलाई बुझाउनु जरुरी छ भन्ने देखाउँछ । एउटा कुरा के स्पष्ट भएको छ भने, छोराछोरीलाई ‘लागूपदार्थको कुलतमा नलाग’ भन्ने आमाबुबाले ‘यौनसम्बन्ध पनि चाँडै नराख’ भन्न सक्नुपर्छ । साथै शारीरिक सम्बन्धका कुरा मात्र यौनिकता होइन भन्ने पनि बुझाउनुपर्छ । नयाँ पुस्तामा सानै उमेरमा यौनसम्बन्ध राखेर, गर्भपतन गराएर वा बच्चा जन्माएर सडकछेउ छोड्ने प्रवृत्ति बढ्न थाल्यो भने देशले जति नै आर्थिक उन्नति गरे पनि मानवीय प्रगतिमा पछि नै परिन्छ ।

मेरै चिनजानकी २२ वर्षीया कमला एक वर्ष प्रेममा परेर छुट्टिइन् । छुटिसकेपछि कमलाले मलाई भनेकी थिइन्, ‘म अब जीवनमा कहिल्यै प्रेम गर्न सक्दिनँ । मलाई डिप्रेसन भइसकेको छ । खानपिउन मनै लाग्दैन ।’ उनलाई सम्झाउँदै त्यस बेला मैले भनेकी थिएँ, ‘यो एकैछिनको भावना मात्र हो, २ महिनापछि हराएर जान्छ, त्यसपछि तिमी आफ्नो प्रेम सम्झेर हाँस्छ्यौ होला ।’ नभन्दै एक वर्ष बितिसकेको छ र कमला ‘त्यो प्रेम’ सम्झेर हाँस्छिन् । सहरका अंग्रेजी माध्यमका स्कुल पढ्ने किशोरकिशोरीमाझ १२ कक्षामा पुगिसक्दा पनि ‘केटा साथी’ वा ‘केटी साथी’ भएनन् भने त लाज हुन्छ भन्ने भावना जागृत भएको देखिन्छ । प्रेमीसँग हिँड्दा टाँसिएर हात समाउनुपर्छ, पार्टीमा रक्सी, चुरोट नखाए असभ्य भइन्छ र यौनसम्बन्ध भएन भने त जीवनमा मज्जा नै हुँदैन भन्ने उनीहरूलाई लाग्न थालेको छ । जब जिम्मेवारी वहन गर्न सकिन्छ तब मात्र यौनसम्बन्धलाई स्विकार्नुपर्छ भन्ने जानकारी आमाबुबा र शिक्षकहरूले दिनुपर्ने हो ।

तर, यौनिकता र यौनका विषयमा हामी छोराछोरीसँग छलफल गर्न हिचकिचाउँछौं । गर्भपतन, आकस्मिक परिवार नियोजन, कन्डम आदिबारे अनेक जानकारीमूलक वा व्यापारिक विज्ञापन सञ्चारमाध्यममा आउँछन् तर कुनैले पनि यस्ता साधनहरू जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्छ भन्दैनन्, न त शरीर परिपक्व भएपछि मात्र यौनसम्पर्क गर्नुपर्छ नै भन्छन् । किशोरीलाई नै लक्षित गरेर यौन–यौनिकतासम्बन्धी खासै कार्यक्रम रेडियो र टेलिभिजनमा आउँदैनन्, न त विज्ञापनहरूले नै यो विषयलाई समेट्छन् । उनीहरूका यौन र यौनिकतासम्बन्धी जिज्ञासा पनि कतै सुनिँदैन ।

धेरै किशोरीले यौनसम्पर्क गरेपछि ‘इमर्जेन्सी औषधि’ खाएको तर यसरी जथाभावी औषधि प्रयोग गर्दा स्वास्थ्यमा कति नराम्रो असर परेको छ भन्ने विचार गर्दैनन् । ९ कक्षा पढ्ने १७ वर्षीया किशोरीको १८ वर्षीय किशोरसँग यौनसम्पर्क भएपछि गर्भ बसेको रहेछ । दुवैले झापाको एक निजी औषधि पसलमा गर्भपतन गराउन कोसिस गरेछन् । अति रक्तस्राव भएकाले किशोरी अस्पताल जानुपरेको रहेछ । औषधि पसलेले किशोरको परिवारलाई यसबारे जानकारी दिए छन् । आमाबुबा अस्पताल नपुग्दै किशोर डराएर भारततिर भागे छन् । किशोरीको ज्यान बच्यो तर बेइज्जत हुने डरका कारण उनको परिवारले यो घटनाबारे कसैलाई भनेन । निको भएर घर फर्केपछि ती किशोरीको १८ वर्षमै विवाह गराइदिएछन् । विवाह गराइसकेपछि उनका आमाबुबाले उनलाई भनेछन्, ‘हाम्रा लागि अब तँ मरिस्, तेरो लोग्नेको घरमा जेसुकै होस्, हामीलाई वास्तै छैन ।’

यो हाम्रो समाजको प्रतिनिधि घटना हो । यस्तोमा किशोरकिशोरीले कहाँबाट गएर के कुरा बुझ्ने ? उनीहरूले यौनसम्पर्क गर्नु मात्र ‘प्रेम’ होइन भन्ने तथ्य कहाँबाट लिने ? ‘केटा साथी’ वा ‘केटी साथी’ बनाएर यौनसम्पर्क भएन भने जीवनै खेर गयो भन्ने भावना उनीहरूले कसरी त्याग्ने ? यौन सम्बन्ध पेडाजस्तो जुन बेला खाए पनि हुन्छ भन्ने कुरा गलत हो भन्ने कताबाट सिक्ने ? यी सबै प्रश्नको जवाफ दिन कतै न कतैबाट छलफलको सुरुवात हुनुपर्छ । किशोरकिशोरीलाई ‘यौनसम्बन्ध’ नै ‘प्रेम’ होइन, यो एकछिनको आकर्षण हो, हराइहाल्छ भन्ने जानकारी र परामर्श जति छिटो दिन सक्यो त्यति राम्रो ।

प्रकाशित : चैत्र ४, २०७७ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?