२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

नेरु, भारु र चीयु

‘तातै खाऊँ, जली मरूँ’ व्यक्तिमा पाइने प्रवृत्ति हो, जसलाई राष्ट्रहरूले अपनाउनु हुँदैन । व्यक्ति कति बाँच्छ र ! राष्ट्र त युग–युग बाँच्छ र सबैलाई बचाउँछ पनि !
महेन्द्र पी‍. लामा

नेपालका राजा महेन्द्रले, राणा शासनबाट निस्केपछि राष्ट्रलाई सुगठित बनाउन पाँचवटा प्रभावशाली पाइलाहरू अघि सारे । पहिलो, भारतलाई त्रिभुवन राजपथ निर्माण गर्न आह्वान गरे । दोस्रो, राष्ट्रमा नेपाली रुपैयाँ नै व्यापक रूपमा चलाउन लगाए । तेस्रो, पहाड क्षेत्रका रैथानेहरूलाई मधेस क्षेत्रमा घर, जमिन, कृषि सम्हाल्न प्रोत्साहन दिए । चौथो, नेपाललाई भित्रभित्रै जोड्ने पूर्व–पश्चिम राजमार्गको परिकल्पना अघि ल्याए ।

नेरु, भारु र चीयु

अनि पाँचौं, चीनलाई काठमाडौं–कोदारी राजमार्ग बनाउन निम्तो दिए । त्यतिन्जेल नेपालमा लगभग द्वयमुद्राको चलनचल्ती थियो, जसअन्तर्गत नेपाली रुपैयाँ (नेरु) भन्दा पनि भारतीय रुपैयाँ (भारु) प्रचलित थियो । सन् १९५६ मा नेपाल राष्ट्र बैंकको गठनसँगसँगै नेरुलाई नै संस्थागत र कानुनद्वारा प्रचलित बनाइयो । अर्कातिर, भारुको पनि नेपालभित्रको विनिमय/किनबेच आदिमा प्रयोग जारी रह्यो ।तबदेखि नै नेपालमा नेरु र भारुको सम्बन्ध अझै प्रगाढ भएर गयो । नेरु–भारु विनिमय सम्बन्धलाई जारी राख्ने दुई सरकारबीचको ऐतिहासिक निर्णयका धेरै कारणबारे विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्था र विशेषज्ञहरूले लेखेका छन् ।

खुला सिमाना, गहिरो एवं व्यापक आर्थिक सम्बन्ध, सामाजिक–सांस्कृतिक आदानप्रदान, ऐतिहासिक–सामरिक दृष्टिकोण अनि अंग्रेज शासनमा भारतमा निर्मित बुनियादी बैंक र मुद्रा नियमसँग जोडिएका संस्था र प्रणालीहरू एकातिर; अर्कातिर नेपालमा भर्खरै सुरु गरिएका, शैशव अवस्थामा रहेका बैंक र अन्य प्रशासनिक संस्थाहरूसँग मुद्राको स्थिरता ल्याउने क्षमता नै नभएका कारण पनि नेरु–भारुको प्रचलन सँगसँगै अघि बढाइयो । योबाहेक नेपालमा विदेशी मुद्रा (डलर, पाउन्ड आदि) को भण्डार अति नै कम भएको हुनाले व्यापार–वाणिज्यमा भारतकै सहायता लिनुपर्ने भएकाले नेरु–भारु विनिमय सम्बन्ध लगभग अटुट नै हुन गयो । नेरुलाई भारुसँग आधिकारिक रूपमा जोडियो (पेगिङ) अनि जता भारु र यसको अन्य अन्तर्राष्ट्रिय मुद्रासँगको सम्बन्ध लाग्यो र गयो, त्यतैतिर नेरु पनि जाने–लाग्ने भयो ।

नेरु–भारु विनिमय सम्बन्ध दुई सरकारहरूका बीचबाट तय गरिँदै आएको छ । सन् १९६० को दशकमा १ भारुले १.०१ नेरुदेखि १.६० नेरुसम्मको विनिमय देख्यो । सन् १९७० को दशकमा १ भारु बराबर नेरु १.३९ देखि १.४५ सम्म पनि भयो र १९८० को दशकमा नेरु १.६८ पनि पुग्यो । सन् १९९३–९४ मा दुई राष्ट्रले अबउप्रान्त भारु–नेरुको विनिमय दर १.६० तय गरे । अर्थात्, १०० भारु बराबर १६० नेरु तोकियो । यही दर आजसम्म कायम छ ।

भारु–नेरुको तोकिएको विनिमय दरले नेपाललाई कति फाइदा पुग्छ त भन्ने कुरोमा चर्चा–परिचर्चा हुने गर्छ । नेपाललाई सग्लो रूपमा पुगेका फाइदालाई तीन–चार पक्षबाट राख्न सकिन्छ । प्रथमत:, नेपालको आर्थिक स्थिति कमजोर रहेको खण्डमा यदि नेरु भारुसँग नजोडिएर विश्वबजारमा चिह्नित मुद्राहरूसँग बजार व्यवस्थाअन्तर्गत जोडिएको भए नेरुले अति नै व्यापक/दैनिक रूपमा उतारचढाव देख्ने थियो । उदाहरणार्थ, गत दुई दशकमा रहेको व्यापक राजनीतिक अस्थिरतामा नेरुको डलरसँगको मूल्य अति भीषण रूपमा बढेर जाने थियो । माओवादीको हिंसक आन्दोलनमा नेपालको अर्थव्यवस्था यति सोचनीय स्थितिमा पुगेको थियो, नेरु–भारु नजोडिएका भए अमेरिकी १ डलर पाउन नेरु १०० देखि ४०० पनि तिर्नुपर्ने स्थिति आउने थियो । श्रीलंकामा लिट्टेको हिंसक आन्दोलनको समय त्यहाँको रुपैयाँको अवस्था यसरी नै भयानक रूपमा खस्किएको थियो । यस्तो डामाडोल रहेको आर्थिक स्थितिमा नेरु भारुसँग जोडिएका कारण नेरु–डलर विनिमय दर लगभग स्थिर नै रह्यो । अर्थात्, भारु र भारतीय अर्थव्यवस्थाको बलियो अवस्थाले नेरुलाई सुरक्षित राख्यो ।

दोस्रो, खुला सिमाना र सन् १९५० को भारत–नेपाल मैत्री सम्बन्ध सन्धिअन्तर्गत लाखौंको संख्यामा दुई देशका नागरिकहरू एकअर्को राष्ट्रमा बसोबास गर्दै आएका छन् । नेपाली नागरिक भारतमा विभिन्न कार्य–कारणले दैनिक रूपमा प्रवेश गर्छन् । यदि भारु–नेरु विनिमय दर नजोडिएको–नतोकिएको भए हरेक नेपाली नागरिकले भारत पस्दा डलर वा पाउन्ड लिएर आउनुपर्ने हुन्छ र भारतभित्रका बैंकमा फेरि साटेर भारु पाएपछि मात्रै काम–कार्य गर्न सकिने हुन्छ । नेरुबाट पहिला डलर (नेपालमा) र फेरि डलरबाट भारु (भारतमा) साट्दा लाग्ने कर आदि नेपाली नागरिकले बेहोर्नुपर्ने हुन्छ । योबाहेक नेरु–डलर र भारु–डलर विनिमय दरमा धेरै अन्तर हुनाले नेपाली नागरिकलाई भारत प्रवेश गर्दा निकै घाटा शिरमा लिनुपर्ने हुन्छ । यही घाटा नेपाल फर्कंदा पनि बेहोर्नुपर्ने हुन्छ ।

तेस्रो, भारु–नेरु विनिमय तोकिएको दरमा राखिने व्यवस्थालाई हटाइएको खण्डमा र नेपाली अर्थव्यवस्थामा केही कारणवश शिथिलता आएको खण्डमा नेरु–डलर विनिमय दर निकै बढेर जाने सम्भावना हुन्छ । यस्तो स्थितिमा नेपाली नागरिकबीचमै आफ्नो राष्ट्रिय मुद्रामाथिको विश्वास/आस्थामाथि धक्का लाग्न सक्छ र देशबाट पुँजी बाहिर जाने (क्यापिटल फ्लाइट) सम्भावना तीव्र हुन्छ । सन् १९९७–९८ मा थाइल्यान्ड–कोरियालगायत दक्षिण–पूर्वी राष्ट्रहरूमा यो काण्ड व्यापक/विस्तृत रूपमा भयो । अहिले पनि त्यो समयको भयले त्यहाँका नागरिकलाई सताउने गर्छ ।

चौथो, नेपाल–भारत व्यापार सम्बन्ध अति नै व्यापक रहिआएको छ । आज पनि नेपालको विश्वसँगको व्यापारमा भारतको अंश ६६ प्रतिशत छ । यस व्यापक व्यापार सम्बन्धमा नेपाललाई ठूलै घाटा रहिआएको भए पनि भारु–नेरु विनिमय दर निश्चित रहेका कारण विनिमय र भुक्तानीमा अन्योल रहँदैन । घाटाको मूल कारण भारु–नेरु सम्बन्ध होइन, नेपालले आफ्नो निर्यात क्षमता बढाउन नसक्नु अनि निर्यात गर्ने सरसामानको आधार र विविधता ल्याउन नसक्नु हो ।

भारु–नेरुको अटुट सम्बन्धलाई कतिपय संस्था र विशेषज्ञहरूले आलोचना पनि गर्दै आएका छन् । कतिले त अब नेरुलाई भारुबाट छुटाएर विश्वबजारको प्रवाहसँग बग्ने मुद्रा बनाउनुपर्छ भन्छन् भने कतिपयले नेरुलाई चीनको युवान (चीयु) सँग जोड्नुपर्छ भन्छन् । चीयुसँग जोड्नुपर्छ भन्नुको कारण हो— चीनको द्रुत गतिको आर्थिक विकास, त्यस राष्ट्रसँग रहेको ३.२ ट्रिलियन डलरको विदेशी मुद्रा भण्डार, विश्व व्यापारमा रहेको बढ्दो प्रभुत्व र चीयुलाई अन्तर्राष्ट्रिय मुद्राकोषले डलर, येन, युरो, पाउन्ड आदिलाई जस्तै

दिएको अन्तर्राष्ट्रिय भुक्तानी र विनिमयको दर्जा । योबाहेक कतिपयले नेपाल–चीन बढ्दो सम्बन्धलाई पनि इंगित गर्ने गर्छन् । नेरु–भारु सम्बन्धलाई तोडेर नेरु–चीयु जोड्नुपर्छ भन्न जति सजिलो छ, त्यसभन्दा सयौं गुणा साह्रो र आघातपूर्ण काम नेरु–भारु सम्बन्धविच्छेदको दिशातर्फ जाने कुरो हो । अन्तर्राष्ट्रिय मुद्राकोषबाहेक अन्य धेरै संस्था र विशेषज्ञहरूले यसबारे चर्चा गरेका छन् र लेखेका पनि छन् । सबैको भनाइ एउटै छ । नेरु–भारुलाई अलग गर्ने काम अपरिपक्व मात्रै

नभएर नेपाल र नेपाली नागरिकहरूका निम्ति अति नै हानिकारक हुन सक्छ । यो किसिमको सोचाइ लामो अवधिको हुनुपर्छ जसअन्तर्गत नेपालको अर्थव्यवस्था सुदृढ एवं सुगठित रूपमा अघि बढेको हुन्छ, व्यापारका आधारहरू विस्तृत भएका हुन्छन्, वित्तीय संस्थाहरू सुनियोजित ढंगमा आत्मनिर्भर भइसकेका हुन्छन् अनि आफ्नै विशेषज्ञ र व्यवस्थापकहरू धेरै संख्यामा उत्पादन भएर अर्थव्यवस्था सम्हाल्न सक्ने स्थितिमा पुग्छन् ।

भारु–नेरु सम्बन्धलाई भने बदलिँदो स्थिति अनुसार नै अझै सबल र सहज बनाउनुपर्छ । सन् २०१६ मा भारतमा अचानक गरिएको ५०० र १००० भारुको विमुद्रीकरणले नेपाललाई गतिलै आघात पुर्‍यायो । नेपालमा रहेको करोडौं भारु नचल्ने भयो, त्यसको हल नै निकाल्न सकेन भारतले । सरकारी बैंकसहित हरेक नेपाली नागरिकले भारुको सञ्चय गरेका थिए तर रातारात भारु कामै नलाग्ने भयो । भारतलाई अर्काे संशय र भय— कतै भारतमा थुपारिएको कालो धन रातारात नेपालभित्र हाली नेपालमा रहिआएको भारु हो भनेर घोषणा गरिने त होइन † त्यसो भएको खण्डमा एकापट्टिबाट बुचाइयो, अर्कापट्टिबाट चुहियो भन्ने स्थिति आउने नै भयो ।

गत केही वर्षमा भारुको डलरसँगको विनिमय दरजस्तो प्रकारले बढेर गयो, यो कसैले सोचेकै थिएन । आज भारुलाई एसियाको सबैभन्दा कमजोर पैसा भनिन्छ । बजार व्यवस्थाले ल्याएको उतार–चढाव (डिप्रिसिएसन) हो यो, जसमा सरकारले सीमित मात्रामै हस्तक्षेप गर्न सक्छ । सरकारले नै आफ्नो निर्यात बढाउन र आकर्षक बनाउन सचेत भएर नीति निर्धारण गर्दै विनिमय दरमा परिवर्तन (डिभ्यालुएसन) ल्याएको होइन यो । तर नेरु–भारु जोडिएकाले नेपालमा पनि १ डलर किन्न निकै महँगो मात्रै नभएर यस किसिमको भारु–डलरको मूल्यमा केही वर्षभित्रमै भारु ६० मा पाइने १ डलरलाई भारु ७३ तिरेर किन्नुपर्दा साधारण मानिसहरू भय–त्रासले सताइए पनि । नेरु–भारु सम्बन्ध र खुला सिमानाका कारण भारतमा भएको मूल्यवृद्धिले नेपाललाई पनि खर्लप्पै खायो । नेपाललाई मूल्यवृद्धिको कसरी प्रकोपबाट अलग राख्ने भन्ने कुरोमा विचार–विमर्श हुनैपर्ने हो ।

भारतले ५०० र १००० अनि अब २००० भारुको चलनमा नेपालमा प्रतिबन्ध लगायो । कारण नक्कली नोट बनाउँदै नेपालभित्र हाल्ने भारतविरोधी तत्त्वहरूले त्यही पैसा आतंकवादीलाई दिने भए । तर यस प्रतिबन्धले ठूलो मूल्य भएका भारुको कालोबजारी, नेपाली नागरिकबीच भारुमाथिको खस्किँदो आस्था, चीयुको बढ्दो जगजगीमाथि पनि भारत सरकारले नेपाल सरकारसँग ठोस रूपमा बातचित गर्नैपर्ने हो ।

चीन आतुर छ, आफ्नो युवानलाई विश्वव्यापी रूप दिन ।

म्यान्मारलगायत कतिपय राष्ट्रसँग चीयुमार्फत नै व्यापार वाणिज्य तय गर्दै छ र त्यहाँका बैंकहरूमा डलरको सट्टा चीयु जम्मा गर्ने सल्लाह दिँदै छ । अमेरिका अर्कातिर विवश छ । आफ्नो विश्व अर्थव्यवस्था र पारम्परिक सामरिक प्रभुत्व खोस्नै आँट्यो भनेर चीनको हरेक अन्तर्राष्ट्रिय कार्यक्रममा विघ्नबाधा अघि ल्याउँदै छ; चीनबाट गरिने आयातमा विश्व व्यापार संगठनलाई पनि नटेरी भीषण रूपमा भन्सार कर आदि लगाउँदै छ । उता चीनले वैश्विक वित्तीय एवं पुँजी व्यवस्थामै परिवर्तन ल्याई अमेरिकालाई एक्ले ढेडु बनाइदिन्छु भनेर बेल्ट एन्ड रोड, नयाँनयाँ बैंकहरूको परिकल्पना गर्दै छ ।

भारु–नेरु सम्बन्ध समय–घटना–स्थितिले परिपक्वता दिएको फल हो । नेरु–चीयु सम्बन्ध भने अन्योल–असमञ्जस–जोखिमपूर्ण मार्गको सुरुवात हुनु हो । राष्ट्र, सार्वभौमिकता, राष्ट्रवाद भावनामा मात्रै सीमित राख्नै हुँदैन, भारत र नेपाल दुवैले । अब त झन् क्रिप्टोकरेन्सीको समय आउँदै छ, भारु–नेरु सम्बन्धका निम्ति अर्काे परीक्षा । नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियालाई अर्काे चुनौती । फेरि कुरो त संस्था र संस्था चलाउने मानवमाथि नै आएर ठोक्किन्छ । भारत र नेपालले संस्थै निर्माण गर्नुपर्छ । बंगलादेश–भोटाङ–श्रीलंकाले भारतीय संस्थाहरूसँगै काम गरेर धेरै फाइदा पनि उठाएका छन् ।

भारु–नेरु सम्बन्धमा यसर्थ भावनाभन्दा बढी यथार्थ, चीनभन्दा बढी वास्तविकता, अमेरिकाभन्दा बढी निकटता र राजनीतिभन्दा बढी मान्छे–मान्छेको सम्बन्धका कुराहरू अघि ल्याइनुपर्छ । ‘तातै खाऊँ, जली मरूँ’ व्यक्तिमा पाइने प्रवृत्ति र प्रकृति हो, जसलाई राष्ट्रहरूले अपनाउनु हुँदैन । व्यक्ति कति बाँच्छ र ! राष्ट्र त युग–युग बाँच्छ र सबैलाई बचाउँछ पनि !!

(मंगलबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट )

प्रकाशित : चैत्र २, २०७७ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?