कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मिर्गौलाको स्याहार

मिर्गौलासम्बन्धी रोग लागेपछि बिरामी र उनको परिवारको दैनिकी कष्टकर बन्छ । नियमित स्याहारसुसार, औषधि उपचार, खानपिनमा परिवारको समय मात्र होइन पैसा पनि मनग्यै खर्च हुन्छ ।

मिर्गौलाको स्याहार

डायलसिस वा मिर्गौला प्रत्यारोपण गर्नुपर्दा अस्पतालमै बढी समय बिताउनुपर्छ, यसका कारण उपचार प्रक्रियाप्रति बिरामी नकारात्मक हुन सक्छन् । उपचारबाट हुने उपलब्धिलाई समेत बिरामीहरूले महसुस गर्न सक्दैनन् । जीवन सहज बनाउन बिरामीले उपचार गर्ने हो । मिर्गौला रोग लागेकाहरू पनि समाजमा अरू स्वस्थ व्यक्तिसरह सक्रिय जीवन बिताउन इच्छुक रहन्छन् । उपचार प्रक्रिया जटिल भएकाले कतिपय बिरामीको जीवन सोचेअनुरूप हुन्न ।

चिकित्सकहरूको ध्यान अस्पताल भर्ना भएका बिरामीको संख्यामा हुन्छ । बिरामीहरूलाई भने उपचार खर्च कसरी पुर्‍याउने भन्ने चिन्ताले सताउँछ । मिर्गौलासम्बन्धी रोग लागेमा त्यस्ता व्यक्तिहरूको भ्रमण, शिक्षा, सामाजिक संलग्नता तथा निर्णय क्षमतामा प्रतिकूल असर पर्छ । बिरामीहरूको प्राथमिकता र आवश्यकतालाई केन्द्रमा राखेर उनीहरूको जीवनस्तर उकास्न उचित स्वास्थ्य नीति बनाउनु आवश्यक छ । नीति बनाउनुअघि सरकारी पक्षबाट पर्याप्त अध्ययन/अनुसन्धान हुनुपर्छ । बिरामीहरूको प्रतिक्रिया र चाहनाअनुसारै उनीहरूको दैनिक क्रियाकलापमा सहयोग गर्नुपर्छ । बिरामी र तिनलाई हेरविचार गर्ने व्यक्तिहरूको मनोबल उच्च राख्न उपचारमा संलग्न टोलीको मुख्य भूमिका हुन्छ ।

बिरामीहरूका चेतना वृद्धि गर्ने र सामाजिक संलग्नता बढाउने लक्ष्यलाई व्यापक रूपमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ यसपालिको विश्व मिर्गौला दिवसको नारा ‘मिर्गौला रोग लागे पनि राम्ररी जिऔं’ भन्ने राखिएको थियो । हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ । मिर्गौला रोगको रोकथामका लागि विकसित तथा विकासोन्मुख मुलुकका सर्वसाधारण, व्यवसायी तथा नीति निर्माताहरूले जनचेतना अभिवृद्धिमा बढी ध्यान दिनुपर्छ । हाम्रोमा पनि पछिल्ला केही दशक मिर्गौला रोगको उपचार र रोकथामका लागि सरकारी र गैरसरकारीस्तरबाट थुप्रै प्रयास भए । तैपनि बिरामीको जीवनस्तरमा खासै सुधार भएको छैन । सरकारी नीति तथा कार्यक्रमहरूबाट बिरामीहरू किन लाभान्वित हुन सकेनन् भन्ने प्रश्नको जवाफ खोजेर मात्रै आगामी लक्ष्यहरू निर्धारण गर्नुपर्छ । बिरामीकेन्द्रित नीति अहिलेको आवश्यकता हो ।

विश्व स्वास्थ्य संघअनुसार जीवनको हरेक मोडमा मिर्गौलाका बिरामीहरू मानसिक र शारीरिक रूपमा सक्रिय रहनुपर्छ । उपचारसँगसँगै उनीहरूको जीवनलाई सरल बनाउन हरेक चिकित्सकले प्रोत्साहन गर्नुपर्छ । उपचार मात्र होइन, उनीहरूको समस्या र सरोकारलाई पनि ध्यानपूर्वक सुन्नुपर्छ । बिरामीको सशक्तीकरणको पाटोलाई चिकित्सकले ख्याल गरे उनीहरूको भविष्य मजबुत हुन्छ । बिरामीहरूलाई सक्षम बनाउनु पनि उपचार नै हो भन्ने कुरा नीति–निर्माता तथा चिकित्सकहरूले बुझ्न जरुरी छ ।

बिरामीहरूसँग चिकित्सकहरू जहिल्यै सम्पर्कमा बस्नुपर्छ । यसले बिरामीलाई समयमै स्वास्थ्यसम्बन्धी निर्णय गर्न सहयोग पुग्छ । डायलसिस र प्रत्यारोपण लगायतका उपचार विधिको आवश्यकता, फाइदा वा बेफाइदाका बारे खुलस्त रूपमा बताउन सके बिरामीहरूका परिवारले सन्तोषको सास फेर्थे । बिरामीहरूले बुझ्ने भाषामा मिर्गौलाको उपचार पद्धतिका बारेमा पूर्ण जानकारी दिनु पनि उपचारकै विस्तारित रूप हो । यसले बिरामीहरूलाई उपचारसम्बन्धी निर्णय लिन सघाउँछ ।

उपचारका सबै तहमा मिर्गौलाका बिरामीहरूले व्यस्त जीवन बिताउन सक्नुपर्छ । उनीहरू उपचारका दौरान अध्ययन, व्यवसाय, घरायसी काम, खेलकुद, भ्रमण तथा मनोरन्जनमा पनि व्यस्त हुनुपर्छ । हाम्रो जस्तो निम्न आय भएको मुलुकमा मिर्गौलासम्बन्धी विशेषज्ञहरू देशका सबै भागमा उपलब्ध छैनन् । स्रोतसाधनको कमी भएका दुर्गम जिल्लाहरूका स्वास्थ्य चौकीका कर्मचारीहरूलाई पनि मिर्गौलासम्बन्धी आवश्यक जानकारी र स्वास्थ्य विधिबारे तालिम दिनुपर्छ । यसबाट धेरैभन्दा धेरै सेवाग्राही लाभान्वित हुन सक्छन् । उपचारभन्दा पनि रोग पत्ता लगाउन र रोकथामका उपायहरू अपनाउनका लागि जनचेतनामूलक कार्यक्रममा बढ्ता ध्यान दिनुपर्छ । खानामा पथपरहेज गर्न, शरीरको तौल नियन्त्रणमा राख्न, व्यायाम गर्न तथा कम्तीमा वर्षको एक पटक चिकित्सकीय परामर्श गर्न सके धेरै हदसम्म मिर्गौला रोगबाट बच्न र बचाउन सकिन्छ ।

(श्रेष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपणविद् हुन् ।)

प्रकाशित : चैत्र २, २०७७ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?