राराको कथा, पर्यटकको व्यथा

हवाई र सडक सुविधाका कारण रारा पुग्न अब कठिन त छैन तर होम स्टेमा उपियाँ र उडुससँगै फोहोरी वातावरणमा बस्नुपर्ने अहिलेको अवस्थाको अन्त नभएसम्म टिक्न भने कठिन भइरहनेछ ।

बिल गेट्सले भनेका छन्– ‘तिमी गरिब भएर जन्मिनुमा तिम्रो दोष छैन, तर गरिब भएरै मर्‍यौ भनेचाहिँ तिम्रै दोष हुनेछ ।’ हामी नेपाली गरिब हुनुपर्ने प्राकृतिक कारण त छँदै छैन तर गरिब भएरै जन्मिने र मर्ने नियति भोग्न बाध्य छौं । पर्यटन क्षेत्रको विकासका लागि उपलब्ध हाम्रा सुन्दरतम स्थलहरू व्यवस्थापकीय सुधारको पर्खाइमा छन् । यस्तै स्थलमध्येको एक हो— रारा ।

राराको कथा, पर्यटकको व्यथा

पर्यटकीय गतिविधिका दुई प्रमुख पक्ष यात्री र पर्यटकको सेवासुविधामा सहज पहुँच मात्रै बनाउन सक्यौं भने पनि राराले स्थानीय साराको जीवनस्तरमा परिवर्तन ल्याउन सक्छ । तर मानवजन्य संकुचित सोचमा आमूल परिवर्तन नगरी प्रकृतिजन्य अपार स्रोतलाई विकास र समृद्धिको साधनमा रूपान्तरण गर्न नसकिँदो रहेछ, राराको स्थलगत भ्रमणपश्चात् प्रायः प्रतिक्रिया यस्तै हुने गर्छ । अलौकिक सुन्दरताले सजिएको रारालाई आन्तरिक तथा बाह्य पर्यटनको महत्त्वपूर्ण गन्तव्य बनाइनुपर्नेमा रारा स्वयं भने सहाराको खोजीमा छ । माग पनि छ, सम्भावना पनि छ तर सामान्य व्यवस्थापनसम्म गर्न सकिएको छैन ।

समृद्धि प्राप्तितर्फको अवसरका रूपमा उपयोग गर्न सकिने यस्तो अनुपम सौन्दर्यलाई हामीले माल पाएर पनि चाल नपाएको जस्तो गरी उपेक्षा गरिरहेका छौं । कस्तो विवशता, कस्तो उदेकलाग्दो परिस्थिति ! बरु मागेर वा ढाँटेर खाने तर प्रकृतिले दिएको उपहारलाई सदुपयोग गर्न सकिने वास्तविकतामा पटक्कै विश्वास नगर्ने ! समृद्धिको इच्छालाई साकार गर्न व्यक्तिको सोच, संयन्त्र र कार्यशैलीको व्यवस्थापनमा आमूल रूपान्तरण र परिवर्तन आवश्यक छ । रूपान्तरण व्यक्तिको आन्तरिक सोचमा परिवर्तन ल्याउने विधि हो भने, बाह्य प्रभावलाई अवसरमा बदल्ने विधिलाई परिवर्तन भनिन्छ । राराको पर्यटनमा न रूपान्तरण गर्न सकियो न त परिवर्तनका उपायमै ध्यान दिन सकियो ।

रारा विकासका सामान्य उपायमा मात्र ध्यान दिने हो भने पनि पर्यटकहरूलाई निकै सहज हुन्छ । विमानस्थलनजिकै सुविधायुक्त चमेना गृह, मिलीचौरसम्म कालोपत्रे सडक, मिलीचौरमा सुविधायुक्त पार्क र त्यहाँदेखि राराभित्रसम्म पर्यटनका लागि विभिन्न प्याकेज बनाई सेवा विस्तार गर्न सरकारको मुख ताक्नै पर्दैन, स्थानीयस्तरमै चुस्त व्यवस्थापनबाट राराको आकर्षण बढाउन सकिन्छ । जे छ चलेकै छ, जस्तो छ ठीकै छ भन्ने अवस्थामा रारालाई राखिएको छ । यथागत र तथागतको यो अवस्थाबाट मुक्ति नदिलाएसम्म रारा सहजै सबैको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्दैन । जबसम्म हामीले हल गर्नुपर्ने विषयमा नयाँ मान्यता र दृष्टिकोणका नियमको प्रयोग गर्न सक्दैनौं तबसम्म हामी यसो–उसो–जसो–त्यसो खालको प्रवृत्तिमै रुमलिइरहनेछौं । यस किसिमको संकुचित सोचमा बसेर समृद्धि हासिल गर्न सकिँदैन । यसले बरु भावी पिँढीका लागि पनि समस्या थप्ने काम मात्र गर्छ । नयाँ उचाइको मार्ग पहिल्याउन त उपलब्ध स्रोतको वैज्ञानिक व्यवस्थापन गर्न सक्नुपर्छ । विकासको सम्भावना घरआँगनमै छ, हामी भने उपलब्ध अनुपम स्रोतलाई अवहेलना गरी रनभुल्लमा फसिरहेका छौं । यो स्रोतको अवहेलना र उपायको अलमलले हाम्रो चेतनाको स्तर पनि मापन गरिरहेको छ । विकसित मुलुकमा विकाससँग जोडिएका र ‘कट–अफ’ गरिनुपर्ने मुद्दालाई ‘टेक–अफ’ मा रूपान्तरण गरिदिने भूमिकामा सरकार हुन्छ, तर हाम्रोजस्तो मुलुकमा सरकार र विकासका सरोकारवालाबीच साइनो नै पाइँदैन । विगतमा सरकारका तर्फबाट राराको पर्यटकीय विकासका लागि घोषित कार्यक्रम नभएका होइनन्, तर तिनले रूपान्तरण र परिवर्तनको स्वरूप ग्रहण गर्न सकेनन् र रारा फेरि पनि सहाराको खोजीमै रहिरह्यो ।

राराको सौन्दर्यलाई पर्यटनको महत्त्वपूर्ण कडीका रूपमा विकास गर्न केही नीतिगत र केही व्यवहारगत व्यवस्थापनमा ध्यान दिनुपर्छ । राष्ट्रिय निकुञ्जको नीतिका कारण देखा परेका समस्यालाई सरकारले समयमै समाधान गरी रारालाई पर्यटन मन्त्रालयअन्तर्गत राख्नुपर्छ । पर्यटन विकासको गुरुयोजना बनाई लागू गर्नु आवश्यक छ । ताल वरपरको स्थानमा पर्यटकीय पूर्वाधारका स्रोतसाधनको निर्माण गरी पर्यटकको भौतिक सुविधाको व्यवस्थापन गर्नुपर्छ । ‘बिहान उठ्नेबित्तिकै ताल देख्न पाइयोस्’ भन्ने कुरालाई ध्यानमा राखी निकुञ्ज क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न अत्यावश्यक भइसकेको छ । रारा ताललाई पर्यटनको मुख्य केन्द्रमा राखी घोडचढी, हाइकिङ, रोप–वे, सांस्कृतिक–धार्मिक गतिविधिलाई समेत सञ्चालनमा ल्याई पर्यटकीय सम्भावनालाई बहुआयामिक रूपमा विस्तार गर्नुपर्छ ।

पछिल्लो समय आन्तरिक पर्यटन पनि फराकिलो बन्दै गइरहेको छ । आन्तरिक पर्यटनले राष्ट्रिय भावना, सांस्कृतिक एकतालाई बलियो बनाउँछ । त्यसैले यसको सम्वर्द्धनका लागि पनि रारालाई आन्तरिक पर्यटनको आकर्षक र सहज गन्तव्यका रूपमा अघि ल्याउन स्थानीयस्तरमा रहेका कृषि र जलविद्युत्को विकासमा समेत ध्यान दिनुपर्छ । कुनै पनि विकासको दिगोपनका लागि स्थानीय बासिन्दाको स्वामित्वलाई पर्यटकीय स्वामित्वमा समेत स्थापित गर्नुपर्छ । राराको विकासका लागि समेत स्थानीय बासिन्दालाई नै व्यवस्थापकीय भूमिकामा सक्रिय गराउनुपर्छ । हाल प्रचलनमा रहेको र सबैले खुबै रुचाएको होमस्टे रारा क्षेत्रमा ज्यादै कमजोर अवस्थामा छ । स्थानीयताको प्रदर्शन मात्र होमस्टे होइन ।

होमस्टेलाई सुविधायुक्त व्यवसायका रूपमा विकास गर्न स्थानीय बासिन्दालाई पर्याप्त तालिम र सिप दिनुपर्छ । उपियाँ र उडुससँगै फोहोरी वातावरणमा बस्नुपर्ने अहिलेको अवस्थाको अन्त नभएसम्म रारामा होमस्टे व्यवसाय फस्टाउन सक्दैन । राराबाट फर्किंदा जसरी हामी सबैको अन्तस्करणमा प्राकृतिक सौन्दर्यको अमिट छाप रहने गर्छ, त्यसैगरी सामान्य व्यवस्थापकीय त्रुटि र भौतिक पूर्वाधारको दयनीय अवस्थाका कारण भोग्नुपरेको असुविधाले फेरि रारा घुम्न जानुअघि दुईपल्ट सोच्न बाध्य तुल्याउँछ । झट्ट हेर्दा सामान्य र व्यवहारमा उतार्न सबैभन्दा ठूलो समस्यै यही हो । हवाई र सडक सुविधाका कारण रारा पुग्न अब कठिन छैन तर बसाइको दुरवस्थाका कारण टिक्न भने कठिन भइरहेको छ । तसर्थ रारालाई सहारा दिने नयाँ पर्यटकीय विकासको सोच र उपायको अवलम्बन गरी आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्यका रूपमा विकास र विस्तार गरौं ।

प्रकाशित : चैत्र १, २०७७ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?