कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

एउटा दलजीवी

पछिल्लो एक दशक पार्टी–काममा दत्तचित्त भएर लाग्दा उसले बुझेको सबैभन्दा ठूलो सत्य एउटै छ— चुनाव जित्न बाहरूको आशीर्वाद, मनग्य पैसा र स्थानीय दलबलको बलियो साथ चाहिन्छ ।
उज्ज्वल प्रसाई

२०६० सालको दशकमा बनेको राजनीतिक कार्यकर्ताको जीवनी यहाँ प्रस्तुत छ । बेनामे कार्यकर्ता नेकपा एमालेसम्बद्ध भए पनि यो लगभग प्रतिनिधि जीवनी हुन सक्छ । नेपाली कांग्रेस, माओवादी केन्द्र वा अरू मौजुदा दलसम्बद्ध पछिल्लो पुस्ताका नेता–कार्यकर्ताले भोगेको सांगठनिक जीवनको चरित्र उस्तै होला भन्ने अनुमान गर्न सकिन्छ । प्रस्तुत कथा कुनै दलीय कार्यकर्तासँग बिलकुलै मेल नखाए, तिनका विशिष्टताहरू अध्ययनयोग्य ठहरिनेछन् ।

एउटा दलजीवी

पहाडबाट मधेस झरेका पर्वते नेपालीभाषी निम्नमध्यम वर्गीय परिवारमा उसको जन्म भयो । सरकारी विद्यालयका शिक्षक आमाबाबुको औसत कमाइ र अलिकति खेतीपाती पनि भएकाले अंग्रेजी माध्यमको निजी विद्यालयमा शिक्षा आर्जन गर्‍यो । विद्यालयमा लिइने परीक्षामा औसतभन्दा राम्रो अंक हासिल गरेकाले उच्च शिक्षाका लागि उसको स्वाभाविक छनोट विज्ञान भयो । कक्षा १२ सक्दा–नसक्दै विज्ञान उसको रुचि होइन रहेछ भन्ने पत्तो पायो, व्यवस्थापन संकायमा स्नातक र स्नातकोत्तर सक्यो । सिप र ज्ञानको ध्याउन्न कम, डिग्री हात पार्ने हतारोमा उसको ध्यान केन्द्रित भयो । टेक्स्टबुक, रेफरेन्स सामग्री, जर्नल वा विषयगत लिखतहरूको खोजी कहिल्यै भएन, गाइड र गेस पेपरका केही थानले गर्जो टर्‍यो । उसको खास रुचिको क्षेत्र व्यवस्थापन हो कि होइन, कहिल्यै निर्क्योल पनि भएन ।

कलेजमा छँदा स्वतन्त्र विद्यार्थी युनियनका निर्वाचनहरूमा उसलाई थोरै चाख थियो । कलेजमा फारम भर्न, कार्ड हात पार्न र कहिलेकाहीँ छात्रवृत्ति फुत्काउन सहयोग गर्ने नेकपा एमालेको भ्रातृसंगठन अनेरास्ववियुका नेताहरू थिए । परीक्षा सकिएपछि बुझाउनुपर्ने थिसिस सस्तैमा जुटाइदिने पनि पार्टीकै साथी थिए । संयोग कस्तो पर्‍यो भने, आमाबाबु एमाले भएकाले ऊ आफूलाई जन्मजात सूर्य–छापे सम्झन्थ्यो, कलेजका सहयोगीहरू पनि ‘आफ्नै पार्टी’ का फेला परे । स्ववियु चुनावमा पार्टीका मान्छेलाई भोट हाल्न तम्सन्थ्यो, उनीहरूले जिते दंग पर्थ्यो । उसको राजनीतिक चासो यति नै थियो र यही चासो सम्बोधन गर्न आवश्यक राजनीतिक ज्ञान नै उसलाई पर्याप्त थियो ।

महेन्द्र माला पढेर हुर्केका आमाबाबुले त्यहीअनुसारका मूल्यमा लेस बनाएर हुर्काएका थिए उसलाई । ऊ देशलाई त्यसरी नै ‘माया’ गर्थ्यो, जसरी महेन्द्र मालाले सिकाएको थियो । जातले निर्धारण गरेको साँचोबाट अलग हुनुपर्ने खण्ड कहिल्यै आइपरेन । ‘प्रजातन्त्र’ पछि हुर्केको पुस्ता भएकाले खुलापनप्रति किञ्चित् लगाव उसमा थियो तर नेपाली समाजबारे उसको दृष्टिकोणमा पञ्चायती राष्ट्रवाद जब्बर थियो । अघिल्लो पुस्तामा जत्तिकै नहोला तर पितृसत्ताको प्रभाव कम भएको थिएन । अमेरिका वा चीनले झैं देशले आर्थिक प्रगति गरेको देख्न चाहन्थ्यो । ठूला र चिल्ला सडक, गगनचुम्बी भवनहरू भएका झिलीमिली बजार, आधुनिक सुखसुविधाको प्रचुरतासहितको सहर उसले बुझेको विकास थियो ।

परिवार एवं विद्यालयले यस्ता मूल्यमान्यतासहित निर्माण गरिदिएको उसको व्यक्तित्वलाई विश्वविद्यालयले थप मलजल गर्‍यो । ती मान्यतालाई परीक्षणमा राख्ने कुनै मौका दिएन । पढाइ सक्दा उसले बुझेकै विकासको भाष्य बलियो भयो; महिलालाई हेर्ने दृष्टिकोणमा कुनै बदलाव आएन, जातको साँचोलाई चुनौती दिनुपरेन, दलीय राजनीति भनेको बाहुबल र तामझाम हो भन्ने बुझ्यो । खाडी जानुपर्ने अवस्था थिएन, पश्चिमा मुलुक जाने खासै हिम्मत जुटाएन, काठमाडौंमै खेलोफड्को गर्ने मेसो मिलाउन पनि सकेन ।

ऊ घर फर्किने निर्णयमा पुग्यो । यसरी एउटा ‘शिक्षित’ हिन्दु बाहुन पुरुष शरीरमा उम्दा जोस साँचेर, पाएको जिम्मेवारीमा खटिने जाँगर सँगालेर घर फर्क्यो । हातमा डिग्री छँदै थियो, गाउँ आफ्नै पार्टीको मौजा । पार्टीनिकट साहुहरूका कलेजमा उसले जागिर पायो । दैनिक केही घण्टा जागिर खाने, अरू बेला पार्टीको काम गर्ने— रुटिन तय भयो । राजनीति युवा संगठनबाट सुरु भयो । गर्नु के थियो ? खसीबोका टुर्नामेन्ट, तीज गीत प्रतियोगिता, नाचगान र सांस्कृतिक कार्यक्रम, पर्यटन उत्सव र वाणिज्य महोत्सवका आयोजना, जेसिज र लायन्स क्लबमा कब्जा जमाउने योजना, चुनावका बेला बाइकवाला भेला पार्ने, पेट्रोल र खाजाको व्यवस्थापनमा खट्ने, फेसबुकमा विपक्षीसँग लड्ने, नेताका जन्मदिन पत्तो लगाउने र फोटो सजाएर शुभकामना दिने, जिल्ला र केन्द्रबाट नेता आउँदा अगुवा–पछुवा भएर हिँड्ने ! कहिलेकाहीँ प्रशिक्षण नामका भाषण–पेलान कार्यक्रममा हाई काढ्दै मेचमा बसेर आफ्नै धैर्यको परिक्षण गर्ने । यी सबै सिप सिक्न उसलाई कति समय पनि लागेन ।

करिब जातझैं विरासतमा आएको पार्टीको नेता भएपछि पनि उसले आफूसँगै हुर्काएका कुनै पनि पुराना मान्यताहरू परीक्षणमा राख्नुपरेन । ऊ संलग्न पार्टी कमिटीमा महिला मुक्तिका विषयमा कुनै घनीभूत छलफल चलेन । जात व्यवस्था निर्मूल पार्ने उपाय र आवश्यकताबारे कुनै प्रशिक्षण लिनुपरेन । मधेसी र थारूका मुद्दा के हुन् ? कहिल्यै जान्ने मेसो मिलेन । कोही किन आदिवासी जनजाति भनेर कराइरहेको छ ? कहिल्यै कुनै प्रश्नमा घोत्लिनुपरेन । नेपाली समाजका चरित्रबारे कुनै गम्भीर विमर्शमा कहिल्यै सरिक हुनुपरेन । भारत र चीन जस्ता छन्, ती कसरी त्यस्ता भए भनेर छलफल गर्ने कुनै कार्यक्रम आयोजना भएनन्, न श्रमिक र कृषकका विद्यमान अवस्था बुझ्ने–बुझाउने कुनै उपायको खोजी भयो । स्थानीय नेतासँग जीवनका विविध अर्थ–सामाजिक आयामबारे कहिल्यै कुनै संवाद गर्नुपरेन । तर दैनिकीको उल्लेख्य भाग भने पार्टी कर्ममै बितिरह्यो ।

पार्टीमा खट्दा उसले कण्ठ पारेका केही शब्द र वाक्यांश छन्— जनताको बहुदलीय जनवाद र जनताको जनवाद, मार्क्स र मदन भण्डारी, माइन्युट र भेला, अन्तरपार्टी निर्देशिका (अपानि) र केन्द्रको निर्देशन, रेल र पानीजहाज, पृथ्वीनारायण शाह र बलभद्र कुँवर, विकास र समृद्धि, आसन ग्रहण र प्रमुख अतिथि, माल्यार्पण र विशिष्ट अतिथि, राष्ट्रवाद र लोकतन्त्र ! बस, जिल्ला र केन्द्रका नेतासँग औपचारिक गफ गर्न यति भए पुग्छ । कहिलेकाहीँ भाषण गर्न योभन्दा धेरै केही आवश्यक पर्दैन ।

२०७२ सालमा संविधान जारी भएको साँझ ऊ मान्छे भेला पार्न खटियो, नजिकैको चोकमा मैनबत्ती बाल्नुपर्ने थियो । केही किलोमिटर पर मानिसहरू ब्ल्याक आउट गरेर बसेका थिए । त्यसो किन भएको ? उसलाई चासो थिएन । निर्वाचन नजिकिन थालेपछि नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदै पार्टी एकताको खबर आइपुग्यो । उसलाई स्थानीय नेताले भने, ‘दुई पार्टी अलग भए पनि हाम्रो जात एउटै हो क्या, कम्युनिस्ट ! हामी मिल्यौं भने पाँच वर्षमै देशमा चमत्कार हुन्छ !’ यसोभन्दा ऊसँग नेतालाई सोध्ने प्रश्न केही थिएन । कम्युनिस्ट पनि जात हो र ? अहँ, उसको दिमागमा प्रश्न फुरेन । नेताकै बोली लिएर ऊ गाउँ डुल्यो, फेसबुक चहार्‍यो ।

केपी ओली प्रधानमन्त्री भए, ऊ अतिरिक्त हर्षित भयो । ओलीको फोटो हेर्दा, ऊभित्र घमन्ड भरभराएर आउँथ्यो । वरपर बजार डुल्दा उसका नाकका पोरा फुल्थे, ज्यान गमक्क पर्थ्यो, पाखुरा यसो उचालिन्थ्यो र पखेटाझैं बन्थ्यो । बोलीमा पनि कताकति ओलीकै टोन चढ्थ्यो । अलि पछि तिनै ओली उसको समेत ‘बा’ बनाइए । बाले तेह्रथुम पुगेर जन्मदिनको ‘यति केक’ काटेर खाए, उसको मुख गुलियो भयो । बाले आफ्ना सेता जुँगा काला हुन थालेको घोषणा गरे, उसले आफ्नै जुँगामा ताउ लगायो । एवंरीतले बाको प्रगतिलाई आफ्नै प्रगति सम्झेर ऊ पार्टीकर्ममा लीन भइरह्यो । तिनै बाले एक दिन अकस्मात् संसद् भंग गरिदिए । ऊ मौन भयो । न ऊसँग प्रश्न थियो, न ठीक–बेठीक सर्लक्क छुट्याउने सामर्थ्य ।

माथिका बाले संसद् भंग गरेकामा उसका स्थानीय बा रिसाए । उसलाई संकट आइलाग्यो— माथिका बाको प्रशंसा गर्ने कि तलका बासँगै आफू पनि रिसाउने ? दोमन भएरै केही दिन बिताएपछि स्थानीय ‘काका’ र ‘मामा’ हरूले दबाब दिए । ऊ पनि बासँग रिसाउने निर्णयमा पुग्यो तर रिसाएर बालाई अरूले जस्तो तानाशाह, हिटलर, फासीवादी भनिहालेन । खासमा कोही कसैलाई फासीवादी किन भन्छ, उसलाई थाहा थिएन । सोच्यो, ‘आखिर बा हुन्, पछि फेरि उनकै शरणमा जानुपर्ने हुन सक्छ ।’ नभन्दै उसका एक आफन्तलाई माथिका बाले तलको पदीय उपहार घरै पठाइदिए । ऊ अब स्थानीय बाको सिको गरेर रिसाएको स्वाङ पार्न नसक्ने भयो । आफन्तको पदप्राप्तिसँगै उसले खुसी हुने निधो गर्‍यो । त्यही उपलक्ष्यमा चोकमा उभिएर प्रचण्ड र माधवका नाममा दुई/चार प्रचलित गाली फलाक्यो ।

संसद् पुनःस्थापना नभइन्जेल ऊ खुसी थियो, सर्वोच्चको फैसला आएसँगै ऊ मलिन भयो । खुसी हुन पनि सकेन, रिसाइहाल्न पनि गाह्रो पर्‍यो । माथिका बाले केही गर्लान् भन्ने आशा थियो, केही दिन यसै बिते । अनि सर्वोच्च अदालतबाट ‘नेकपा नामको विवाद’ बारे अर्को फैसला झर्‍यो । आफ्नै एमाले फर्केर आयो, ऊ साँच्चै दंग पर्‍यो । फुर्किंदै सञ्जालमा लेख्यो— ‘मै पनि एमाले, सही पनि एमाले !’ बासँग हुन पाइने, एमाले हुँ भन्न पनि पाइने, सूर्य छाप पनि आफ्नै हुने; जबज छँदै छ !

अहिले उसको दिनचर्या शान्तिपूर्ण र उमंगमयी छ । आफ्ना मित्रगणले माधव र झलनाथ पक्षकालाई पार्टीमा फर्केर आएकामा ‘स्वागत’ गरेको हेरेर ऊ मुसुमुसु हाँस्छ । धन्न, आफ्ना क्षेत्रमा धनगढीमा झैं कुटाकुट गर्नुपरेको छैन भनेर ऊ बढी खुसी भएको छ । हिजोका स्थानीय बा फेरि आफ्नै परिवारमा फर्केर आउँदा उस्तै स्थान पाउलान् भन्ने उसको आशा छ । त्यसो गर्दा आगामी चुनाव जित्न केही सजिलो होला भन्ने उसलाई लाग्छ ।

आगामी निर्वाचनमार्फत स्थानीय सरकारमा आफ्नै पार्टीको कब्जा हुँदा उसले सोचेका विकासका केही परियोजना सम्पन्न हुन्थे । केही भ्युटावरहरू उठाउन बाँकी नै छन्, मन्दिरहरूमा पर्खाल लगाएकै छैन, सामुदायिक विद्यालयमा सञ्चालक समितिका लागि छुट्टै कार्यालय भवन बनाउने सपना पूरा भएको छैन, आफ्नै पार्टीका साथीहरू भएको युवा क्लबमा आठ–दस लाख बजेट पार्न पाउँदा ‘काम गर्न’ सजिलो हुन्थ्यो । एमाले नाम र सूर्य चिह्नका आड नभए चुनाव जित्न र यी सपना पूरा गर्न सकिँदैनथ्यो । सर्वोच्चको पछिल्लो फैसलाले उसलाई राहत दिएको छ ।

समय र ‘बा’ हरूले साथ दिँदै गए, केही वर्षमा आफ्नै नगरको प्रमुख वा यस क्षेत्रको सांसद हुने सपना बुन्न थालेको छ उसले । पछिल्लो एक दशक पार्टी–काममा दत्तचित्त भएर लाग्दा उसले बुझेको सबैभन्दा ठूलो सत्य एउटै छ— चुनाव जित्न बाहरूको आशीर्वाद, मनग्य पैसा र स्थानीय दलबलको बलियो साथ चाहिन्छ । अरू केही गडबडी नभए, यी सबै आवश्यकता पूरा गरेर ऊ सफल नेता बन्नेछ । अनि आफ्ना सबै ऊर्जा र सामर्थ्य लगाएर देशको विकास गर्नेछ ।

प्रकाशित : फाल्गुन २८, २०७७ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?