मायाजाल- विचार - कान्तिपुर समाचार

मायाजाल

कुनै पनि मुलुकको सफलता वा असफलता उसले अवलम्बन गर्ने राजनीतिक व्यवस्थामा मात्र निहित हुँदैन । मुख्य कुरा त्यो मुलुकले अवलम्बन गर्ने राज्यसत्ताको चरित्रमा भर पर्छ ।
केशव दाहाल

सत्ता र सरकार फरक कुरा हुन् । सत्ताको एक अंग हो सरकार । र, सरकार सम्पूर्ण राज्यसत्ता होइन । जस्तो कि, ओली सरकारका प्रधानमन्त्री हुन् । देउवा विपक्षी दलका नेता । नेकपाको कचिङ्गलबाट सडकमा आइपुगेका छन् दाहाल र नेपालहरू, जो स्वयं विद्रोहीजस्ता देखिन्छन् । सडकमै छन् भट्टराई र यादवहरू ।

भलै, सर्वोच्च अदालतको पछिल्लो फैसलापछि परिदृश्य अलि फेरिएको छ । सरकारलाई केन्द्रमा राखेर हेर्दा भने अझै पनि ओली एकातिर छन्, बाँकी अर्कातिर । यिनका दरबार र सिंहासनहरू फरक छन् । स्वार्थहरू फरक छन् । अभीष्टहरू फरक छन् । तर आजको नेपाली राज्यसत्तालाई केन्द्रमा राखिहेर्दा यी सबै एक ठाउँमा छन् । यी सबै एकै हुन् । र, हुन् नेपाली सत्ताका संस्थापनहरू ।

राजनीतिमा सरकारको आलोचना र राज्यसत्ताको आलोचना नितान्त फरक विषय हुन् । सरकारको आलोचना एउटा तत्कालीन मुद्दा हो । राज्यसत्ताको आलोचना दीर्घकालीन । राजनीतिमा सरकारको आलोचना मुख्यतः दलीय प्रतिस्पर्धा हो । तर सत्ताको आलोचना व्यापक र बृहत्तर आन्दोलन । त्यसैले नै विशेषतः सरकारविरोधी आन्दोलनमा सहभागी हुन्छन् दलका कार्यकर्ताहरू । तर सत्ता रूपान्तरणको आन्दोलन गर्छन् जनताले । सरकारविरोधी आन्दोलनहरू जनआन्दोलन हुँदैनन् । तर राज्यसत्ता बदल्ने आन्दोलनहरू जनआन्दोलन हुन्छन् । विचार गरौं, भर्खरै मात्र सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्नासाथ नेकपा प्रचण्ड–नेपाल समूहको आन्दोलन किन सकियो ? कांग्रेसको प्रदर्शन किन रोकियो ? तर नागरिक आन्दोलन किन जारी छ ? किनकि पार्टीहरू दलीय स्वार्थबाट प्रेरित थिए । तर नागरिक आन्दोलन समग्र राज्यसत्ताको परिवर्तन चाहन्छ । स्पष्ट छ, सत्ताको चरित्रलाई नखलबल्याई गरिने बोक्रे परिवर्तन राजनीतिको मायाजाल मात्र हो ।

सत्ताको निरन्तरता

२०६२/६३ को जनआन्दोलननेपाली राजनीतिकै सर्वाधिक हस्तक्षेपकारी आन्दोलन थियो, जसले व्यवस्था फेर्‍यो र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्‍यो । जनताको अपेक्षा थियो— ‘लोकतन्त्र, न्याय, पहिचान, समानता र समृद्धिसहितको नेपाल ।’ यस्तो नेपाल जहाँ मिलोस् ‘केटाकेटीका लागि स्कुल, युवाका लागि काम र ज्येष्ठ नागरिकहरूका लागि आराम ।’ तर भयो के ? राजनीतिक व्यवस्था त परिवर्तन भयो तर सत्ताको चरित्र फेरिएन । सरकार फेरियो र बाँकी सबै कुरा उस्तै रहे । व्यवस्था फेरियो र बाँकी केही पनि फेरिएन ।

जस्तो, हिजो पनि किसानहरू ठगिएका थिए र आज पनि ठगिएकै छन् । हिजो पनि महिलाहरू ठगिएका थिए र आज पनि ठगिएकै छन् । हिजो पनि मजदुरहरू ठगिएका थिए र आज पनि ठगिएकै छन् । हिजो पनि गाउँहरू ठगिएका थिए र आज पनि ठगिएकै छन् । हिजो एउटाले ठग्थ्यो, आज अर्कोले । ठग्नेहरू फेरिए । उनका सिन्डिकेटहरू फेरिए । तर ठगिनेहरू उनै रहे, जो वर्षौंदेखि ठगिँदै थिए । व्यवस्था फेरिएर के भयो ? खेलको नियम फेरिएन । हिजो पञ्चायतले जनताका सपनाहरूमाथि कोर्रा बर्साउँथ्यो, आज लोकतन्त्रले । पछिल्लो राजनीतिक परिवर्तनले न मुसहर, चमार, खत्वेहरूलाई जीवनको उज्यालो दियो, न त राजी, किसान र चेपाङहरूलाई । न कर्नालीको भोकमरी घट्यो न त सुदूर पहाडहरूमा आशाको दियो बल्यो । व्यवस्था फेरिनु तर सत्ताको चरित्र उस्तै रहनु कस्तो विरोधाभास ?

सत्ताको रंग

मदन भण्डारीको एउटा भनाइ यहाँ निकै सान्दर्भिक हुन सक्छ । यो २०४७ कात्तिकको कुरा हो । काठमाडौंको एउटा सभामा भण्डारीले भने, ‘हामीले राजा फाल्यौं तर सामन्तवाद फाल्न सकेनौं भने यो परिवर्तनको कुनै अर्थ रहँदैन । बरू राजा रहेर पनि सामन्तवाद फालियो भने त्यो महत्त्वपूर्ण हुन्छ ।’ परिवर्तनको अर्थलाई स्थापित गर्ने यो निकै सशक्त भनाइ हो । जसको आशय हुन्छ— व्यवस्था परिवर्तन भनेको कुनै व्यक्ति वा शासकको मात्र परिवर्तन होइन । यो उपरिसंरचनाहरूको मात्र परिवर्तन होइन । राजनीतिक परिवर्तन मुख्यतः राज्यसत्ताको परिवर्तन हो । अन्यथा परिवर्तनको गुदी छोडेर बोक्रामा रमाउनुको के अर्थ ?

कुनै पनि देशका समस्याहरू राजनीतिक व्यवस्थासँग मात्र सम्बन्धित हुँदैनन् । त्यसले संरक्षण गरेका अनेक संरचनागत सत्ताहरूसँग सम्बन्धित हुन्छन् । यसको अर्थ राजनीतिक आन्दोलनले व्यवस्था परिवर्तन गरेर मात्र पुग्दैन । संरचनागत सत्ताहरूमा परिवर्तन गर्नुपर्छ । हामीले व्यवस्था त परिवर्तन गर्‍यौं तर अनेक सत्तालाई हल्लाउन सकेनौं । जस्तो, जातको सत्ता उस्तै रह्यो । धर्मको सत्ता उस्तै रह्यो । लिंगको सत्ता उस्तै रह्यो । भाषाको सत्ता उस्तै रह्यो । सहरको सत्ता उस्तै रह्यो । सम्पत्तिको सत्ता उस्तै रह्यो ।

२०६३ को आन्दोलनले राजनीतिक व्यवस्था त परिवर्तन गर्‍यो तर आर्थिक–सामाजिक सत्ता उस्तै रह्यो । व्यवस्था त बदलियो तर सत्ताको चरित्र उस्तै रह्यो । परिणाम, एउटा राजा फालियो तर सयौं छोटे राजा जन्मिए । राजा जन्माउने अनेक सत्तालाई संरक्षण गरेर एउटा राजा फाल्नुको के अर्थ ?

भनिन्छ, ‘सत्तालाई स्वरूपमा मात्र हेरेर पुग्दैन । गुणमा हेर्नुपर्छ ।’ जस्तो, बेलायतलाई संसदीय प्रजातन्त्रको जननी मानिन्छ । बेलायत आर्थिक–सामाजिक रूपमा समृद्ध मुलुक हो । त्यही व्यवस्था भारतमा पनि छ । अन्यत्र पनि छ । के बेलायतमा सफल संसदीय लोकतन्त्रले भारतमा उसरी नै न्याय गरेको छ ? छैन । भारतको लोकतन्त्रले त्यहाँ हुर्कंदो शोषण, विभेद र सीमान्तीकरणलाई अझै तोड्न सकेको छैन । किन ? किनभने भारतको सत्तासंरचना अभिजातमुखी र विभेदपूर्ण छ । त्यसैले किसानहरूसँग जमिन छैन । त्यसैले महिला, दलित र गरिबहरूको जीवन कष्टकर छ । त्यसैले धार्मिक अल्पसंख्यकहरू विभेदमा छन् । त्यसैले उत्पादनसम्बन्धहरू न्यायपूर्ण छैनन् । परिणाम, भारतमा संसारकै सबैभन्दा गरिब मजदुर र धनी मालिकहरू बस्छन् । भारतको अनुभवले भन्छ— ‘लोकतन्त्र भनेको चुनाव मात्र होइन, सत्ताको लोकतन्त्रीकरण पनि हो ।’

विषयलाई बुझ्न अमेरिका अर्को ताजा उदाहरण हुन सक्छ । जस्तो, अमेरिकामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख छन्, जो सरकारप्रमुख र राष्ट्रप्रमुख दुवै हुन् । एउटै व्यक्ति सरकारप्रमुख र राष्ट्रप्रमुख हुँदा पनि अमेरिकामा स्थिरता छ । लोकतन्त्र छ । र, निरंकुशता छैन । किन त्यस्तो ? किनभने राज्यसत्ताको चरित्र राजनीतिक व्यवस्थाले मात्र निर्धारण गर्दैन । आर्थिक–सामाजिक संरचनाहरूले पनि निर्धारण गर्छन् । राजनीतिक, आर्थिक र सामाजिक संरचनाहरू लोकतान्त्रिक हुनासाथ व्यक्ति चाहेर पनि निरंकुश हुन सक्दैन । जस्तो, ट्रम्प । तर राजनीतिक, आर्थिक र सामाजिक सत्ता निरंकुश हुनासाथ व्यक्ति जतिसुकै लोकतान्त्रिक भए पनि काम छैन ।

सबैलाई थाहा छ— बंगलादेशमा दुई बेगमहरू छन् जो पालैपालो सरकार र सडकको मोर्चा सम्हाल्छन् । के त्यसो भए बंगाली महिलाहरू सुखी छन् ? होइन, संसारका दुःखी महिला र गरिब कामदारहरू बंगलादेशमै बस्छन् । महिला शासक हुँदैमा महिलाहरू समृद्ध हुन्छन् भन्ने पनि देखिएन । उता, त्यत्रो लामो आन्दोलनबाट स्थापित म्यान्मार सरकारले अल्पसंख्यक रोहिंग्याहरूलाई संरक्षण गर्न सकेन । किन यस्तो भयो ? किनभने जनतालाई सुख, समृद्धि र परिवर्तन दिने कुरा राजनीतिक व्यवस्थाले मात्र निर्धारण गर्दैन ।

कम्युनिस्टहरूमै पनि फरक–फरक उदाहरण छन् । चीन, क्युबा, भियतनाम, उत्तर कोरियाजस्ता मुलुकमा भन्नका लागि उस्तै कम्युनिस्ट व्यवस्था छ । क्युबामा दाजुको लामो शासनपछि भाइ शक्तिमा छन् । उत्तर कोरियामा नाति र अन्य केहीमा पार्टी नेताहरू । स्वरूपमा हेर्दा सबै एकैखाले कम्युनिस्ट हुन् । तर चीन विश्वकै महाशक्तिको दौडमा छ । भियतनाम कृषि उत्पादनमा अब्बल बन्दै छ । तर उत्तर कोरिया तनावमा छ । यसर्थ कम्युनिस्टहरूबीच पनि फरक–फरक अनुभव छन् । जस्तो कि, शक्तिशाली सोभियत संघ विघटन भयो । तर चीनको विकासले चामोलोङ्मा छुँदै छ । प्रश्न आउँछ, त्यसो भए फरक कहाँ छ ? खासमा कुनै पनि मुलुकको सफलता वा असफलता त्यो मुलुकले अवलम्बन गर्ने राजनीतिक व्यवस्थामा मात्र निहित हुँदैन । मुख्य कुरा त्यो मुलुकले अवलम्बन गर्ने राज्यसत्ताको चरित्रमा भरपर्छ ।

आजको कुरा

दार्शनिक अभिमतले भन्छ— वस्तुको भौतिक स्वरूपले चरित्रको निर्धारण गर्दैन । स्वरूपमा जतिसुकै रङरोगन गरे पनि गुण वा चरित्र पदार्थको प्रधान पक्ष हो । स्वरूप सहायक । यो अभिमत पदार्थमा मात्र नभई व्यक्ति स्वयं, समाज विज्ञान र राजनीतिमा पनि लागू हुन्छ । आवरण हेरेर न पुस्तकको चरित्र थाहा हुन्छ, न त रङ हेर्दैमा कफीको स्वाद । फूलको सुगन्धले त्यसको गुण निर्धारण गर्दैन । प्रश्न हामीले कत्रो आन्दोलन गर्‍यौं भन्ने होइन । प्रश्न हामीले कस्तो राजनीतिक व्यवस्था ल्यायौं भन्ने होइन । प्रश्न हामीले ल्याएको राजनीतिक व्यवस्थाले के बदलाव ल्यायो भन्ने हो । प्रश्न हामीले हाम्रो परम्परागत सत्तालाई किन फेर्न सकेनौं भन्ने हो ?

हाम्रा अगाडि अहिले दुइटा बाटा छन् । पहिलो तत्कालीन राजनीतिक घटनाहरूमा रमाउने । पुस ५ को प्रतिगमन सच्चियो भनेर हर्षबढाइँ गर्ने । तमासा हेर्ने । पुराना दलहरूलाई गाली गर्ने र उनीहरू नै एक दिन सच्चिनेछन् भनेर कामना गर्ने । यो यथास्थितिको बाटो हो । यो बाटोमा हिँड्दा कुनै जोखिम छैन । तर सत्ताको परिवर्तन असम्भव छ ।

दोस्रो बाटो छ, राज्यसत्तालाई जनमुखी बनाउन निरन्तर आन्दोलन गर्ने । राजनीतिक परिवर्तनलाई सत्ता र संरचनाहरूसंग जोड्ने । जातको सत्ता बदल्ने । लिंगको सत्ता बदल्ने । भाषाको सत्ता बदल्ने । सम्पत्तिको सत्ता ढाल्ने । यी अनेक सत्तालाई लोकतान्त्रिक, जनमुखी र न्यायपूर्ण बनाउने । यो निश्चय नै अप्ठ्यारो बाटो हो । तर यो परिवर्तनको बाटो हो । यो सत्तालाई बदल्ने बाटो हो । स्पष्ट छ, पटकपटक एउटै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिँदैन । त्यसैले सत्ताको राजनीति बदलौं, धेरै पक्ष आफैं फेरिनेछन् ।

dahal.keshab@gmail.com

प्रकाशित : फाल्गुन २६, २०७७ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्

हे राम !

आफू र आफ्नो भविष्यलाई या त अनुचरको अथवा प्रभुको शरणमा छाडेर गरिने राजनीति कहिल्यै शिखरमा पुग्दैन । त्यो त मात्र भीरको यात्रा हुन जान्छ ।
भोका मान्छेहरूको सपनामाथि ठडिएको अग्लो टावरले राजनीतिको सफलता नापिँदैन नेताज्यू । गरिबको आँसु नपुछी मन्दिरमा राखिने सुनको जलहरीले राजनीतिको औचित्य पुष्टि हुँदैन । तपाईं मठाधीश बन्नुहुन्छ कि नेता ? प्रश्न यो हो ।
केशव दाहाल

काठमाडौँ — जान्नेहरू शंका गर्छन्— ओली दक्षिणपन्थका युवराज हुन् । पश्चगमनका नयाँ सारथि । उनी स्वयंले निर्माण गरेका तथ्यहरूले भन्छन्, सत्तासनका लागि उनी सबै थोक गर्न तयार छन् । कसरी ? त्यसरी नै जसरी उनले विगतमा आफैंले भोगेका जेल, नेल र यातनाहरूको हुर्मत काडे । त्यसरी नै जसरी उनले मार्क्सवादका पोथीहरू च्यातेर आफ्नै आस्थाको तेजोवध गरे ।

उसरी नै जसरी उनले शनैःशनैः ओम्नी र यतीसँग साँठगाँठ गरेर आफ्नो वर्गको इज्जत फाले । उनले लोकतान्त्रिक आन्दोलनको गरिमा त सिद्ध्याएकै थिए, आफ्नै इतिहासका ओजपूर्ण पाइलाहरूमा समेत कालो पोते । ओली तिनै हुन् जसले ज्ञानको हुर्मत काडे । विज्ञानको हुर्मत काडे । र, अहिले उनी राजनीतिक पतनको त्यो डिलमा उभिएका छन् जसको बायाँतिर छ अस्थिरता र दायाँतिर छ पश्चगमनको अन्धकार ।

प्रश्न स्वाभाविक हुन्छ— हिजो आफैंले खनेको परिवर्तनको गोरेटो पुरेर ओली के गर्दै छन् ? घरमा आगो झोसेर खरानी बेच्न हिँडेका प्रधानमन्त्री महोदयको राजनीतिक सौदाबाजीको थलो कता होला ? ओली जति तीव्र बोल्छन्, उति हताश देखिन्छन् । ओली जति व्यंग्य गर्छन्, त्यति निरीह देखिन्छन् । आफूभित्र हुर्कंदो सत्ताको ज्वालाले पोलेर छटपटाएका ओली जति हाँस्न खोज्छन्, त्यति रुन्चे देखिन्छन् । मान्छेहरू सोध्छन्— ओली अब कता जालान् ? संकटमा मान्छे त्यतै जान्छ, जता प्रभु बस्छन् । निश्चित छ, ओली संकटमा छन् र उनको सहारा छ— प्रभुको शरण । प्रभु एक विम्ब हो । त्यो कुनै, कतै विराजमान समकक्षी पनि हुन सक्छ या त हुन सक्छ अलौकिक परमेश्वर । जब कुनै नेतालाई जनताको काखभन्दा प्रभुको आशीर्वाद प्यारो लाग्छ, बुझे हुन्छ— उसको दुर्भाग्य सुरु भयो । ओली दुर्भाग्यको महाखाडलमा नपरून्, त्यसैले सल्लाह छ— महोदय राजनीतिको धर्म विचार गर्नुहोस्, धर्मको राजनीति त्याग्नुहोस् । अन्यथा, तपाईंको पतन यो युगकै सर्वाधिक निकृष्ट परिघटनाका रूपमा इतिहासमा अंकित हुनेछ ।

राजनीतिको धर्म

राजनीतिको धर्म के हो ? यो कुनै शास्त्रीय वा अलौकिक प्रश्न हैन । यो एक लौकिक प्रश्न हो, जसका अनेक उत्तर हुन सक्छन् । यद्यपि यति भने प्रस्ट छ— ओली जे गर्दै छन्, त्यो राजनीतिको धर्म हैन । शासकहरूलाई लाग्न सक्छ, राजनीतिको धर्म शासन हो । सत्ताको रजगज हो । छलकपट हो । तथ्यहरूमाथिको जालसाजी हो । भ्रम हो । जनता निरीह प्राणी हुन् र राजनीति तिनीहरूमाथिको नियन्त्रण हो । सत्ताधारीहरू सोच्छन्, ‘आफूले बनाएका सत्ताका सीमाहरूलाई सुरक्षित गर्नु राजनीतिको धर्म हो । देश, जनता, लोकतन्त्र र सुशासन सब मिथ्या कुरा हुन् । सत्य हो दरबार, सिंहासन र श्रीपेच ।’

दुःखको कुरा, लोकतान्त्रिक आन्दोलनबाट उठेका शासकहरूले समेत जब राजनीतिको धर्म सत्ता हो भन्ने निष्कर्ष निकाल्छन् तब पन्पिन्छ सर्वसत्तावाद । परिणाम, संविधानको अर्थ हराउँछ । संरचनाहरूको अर्थ हराउँछ । अदालतको अर्थ हराउँछ । पार्टीको अर्थ हराउँछ । कार्यकर्ताको अर्थ हराउँछ । र, अन्ततः राजनीति भ्रमनीति बन्न पुग्छ । आखिर प्रतिगमन भनेको यही हो । यो अर्थमा ओलीले जे गरे त्यो संविधानमाथिको आघात त हो नै, सम्पूर्ण राजनीतिमाथिकै प्रतिगमन हो ।

धर्म भनेको स्वर्ग नर्कको तिलस्मी कथा मात्र होइन । यो हरेकका भागमा परेको भूमिका हो । जस्तो, जीवनको धर्म सृजना हो । प्रकृतिको धर्म सृष्टि हो । पानीको धर्म पवित्रता हो । चन्द्रमाको धर्म ज्योत्स्ना हो । सूर्यको धर्म प्रकाश हो । यी सबैका आ–आफ्नै धर्म छन् र चराचर गतिशील छ । बृहत्तर अर्थमा जीवन र जगत्को यही गतिशीलतालाई मानवोचित, सुसंस्कृत र न्यायपूर्ण बनाउने धर्म हो— राजनीति । त्यसैले राजनीति अग्रगामी हुन्छ । त्यसैले राजनीति गतिशील हुन्छ । तर जब राजनीति स्वयंले समाजको गतिलाई अवरुद्ध गर्छ, तब के हुन्छ ? जब अगाडि जानुपर्ने राजनीतिले उल्टो बाटो समाउँछ, तब प्रतिगमन हुन्छ । यो अर्थमा ओली महोदयलाई भन्नैपर्छ, ‘नेताज्यू, प्रतिगमन राजनीतिको धर्म होइन । तपाईं उल्टो हिँड्दै हुनुहुन्छ ।’

राजनीतिको धर्म केमा निहित हुन्छ ? सिद्धान्तमा । विचारमा । कार्यक्रममा । मुद्दाहरूमा । इमानमा । परिणाममा । राजनीतिमा धर्म सकियो भने सिद्धान्तले काम गर्न छोड्छ । विचार हराउँदै जान्छ । मुद्दाहरू बर्गेलिन्छन् । व्यवस्थाले परिणाम दिँदैन । नेताहरू चण्डाल बन्छन् । कार्यकर्ताको चेतना हराउँछ । जिउँदा मान्छेहरू सकिन्छन् । आलोचनाहरू सकिन्छन् । प्रश्नहरू सकिन्छन् । जवाफदेही सकिन्छ । ओली महोदयको राजमा अहिले भएको त्यही हैन ? राजनीतिको धर्म हो— सत्तालाई जनतामा समर्पित गर्नु । लोकतन्त्रको धर्म हो— सत्तालाई सदैव जनताको नियन्त्रणमा राख्नु । विचार गरौं, के चालु राजनीतिसँग हाम्रा सपनाहरूलाई बोक्ने सामर्थ्य र गति छ ? गतिबिनाको राजनीति फगत एक भ्रम हो ।

धर्मको राजनीति

जब धर्मको राजनीति सुरु हुन्छ, तब राजनीतिको धर्म सकिन्छ । त्यसैले नै हुनुपर्छ, ऊ बेला कमरेड मार्क्सले भनेथे— धर्म अफिम हो । गुरु मार्क्सको सिको गर्दै कुनै बेला स्वयं ओली भन्ने गर्थे— धर्म अफिम हो । त्यसैको परिणाम हुनुपर्छ, राजकीय शपथग्रहणमा नेपाली कम्युनिस्टहरू ईश्वरको नाम लिन हच्किन्थे । उनीहरू जनताका नाममा शपथ खान्थे र ईश्वरको आलोचना गर्थे । तर जब राजनीतिको धर्म स्खलित हुँदै गयो र कमरेडहरूले तीर्थाटन थाले, तब धर्मको राजनीति सुरु भयो । त्यसपछि के भयो ? सुरु भयो, ठोरीमा अयोध्याधाम र बालुवाटारमा राम नाम । सुरु भयो, पशुपतिमा सुनको जलहरी र पापमोचन यज्ञको तामझाम । निश्चय नै, व्यक्तिको धार्मिक आस्थाप्रति सम्मान छ तर राज्यको धार्मिक पक्षधरताले हामीलाई कता पुर्‍याउला ?

व्यक्तिको धार्मिक आस्थालाई भड्काएर आफ्नो स्वार्थ सिद्ध गर्ने राजनीति हो— धर्मको राजनीति । यसले मान्छेलाई अन्धविश्वासी मात्र बनाउँदैन, अर्काप्रति पूर्वाग्रही र असहिष्णु पनि बनाउँछ । आलोचनात्मक चिन्तन गर्ने स्वाभाविक मानवीय गुणको बदला जब मान्छे आफ्नो अन्धविश्वासको पन्थमा उभिन्छ, त्यसपछि सुरु हुन्छ भ्रमको रजगज । त्यसपछि मान्छेको प्राकृतिक स्वतन्त्रता हराउँछ । ऊ बन्छ धर्मको भ्यागुतो । शासकहरूलाई त यो सब आनन्दको खेल होला तर यसले समाजलाई द्वन्द्व र दुर्भाग्यको भुमरीमा हाल्छ । त्यही दुर्भाग्यको सौदाबाजी हो— धर्मको राजनीति ।

यहीँनेर केही प्रश्न गरौं । जस्तो, यो युगको मुख्य चासो के हो ? न्याय र समृद्धि कि धर्म ? के नेकपा (ओली) लाई लोकतन्त्र, सामाजिक न्याय, विकास र समृद्धिको राजनीतिले पुगेन ? के कुनै जिम्मेवार राजनीतिक दलले सस्तो लोकप्रियताका लागि मुलुकको धार्मिक संवेदनामा खेल्न मिल्छ ? अन्यथा कम्युनिस्टहरूले मार्क्सवादमा भन्दा धेरै राममा विश्वास गरे के होला ? अन्यथा प्रजातन्त्रवादीहरूले जनतामा भन्दा धेरै राममा भर पर्नुको अर्थ के हुन्छ ? यी प्रश्न पनि हुन् र आशंका पनि । आशा गरौं, मान्छेका शंकाहरू फगत शंकामै सीमित होऊन् । ओली र अनेक ओलीहरू स्वयंले विश्वास दिलाऊन्— उनीहरू धर्मको राजनीतिमा किमार्थ जानेछैनन् ।

जनताका कुरा

मानौं यत्रतत्र ठूलठूला मन्दिर (चर्च/मस्जिद), मन्दिरमा असंख्य तोरण, सुनका प्रतिमा र प्रत्येक साँझ आरती गायन — निश्चय नै यो केही मान्छेको छनोट होला । सहरमा अग्ला टावर, टावरको शिखरमा महँगा रेस्टुरेन्ट र त्यसमा विदेशी मेन्यु — निश्चय नै यो अर्का खाले मान्छेहरूको छनोट हुन सक्छ । तर, राजनीतिको छनोट के हुनुपर्छ ? नेताहरूको छनोट के हुनुपर्छ ? भोका मान्छेहरूको सपनामाथि ठडिएको अग्लो टावरले राजनीतिको सफलता नापिँदैन नेताज्यू । गरिबको आँसु नपुछी मन्दिरमा राखिने सुनको जलहरीले राजनीतिको औचित्य पुष्टि हुँदैन । तपाईं मठाधीश बन्नुहुन्छ कि नेता ? प्रश्न यो हो । राजनीतिले मान्छेका बारेमा कम र भगवान्का बारेमा धेरै सोच्न थाल्यो भने त्यो राजनीति राजनीति रहँदैन, पन्थ बन्छ । नेताज्यू विचार गर्नुहोला, तपाईं कसको राजनीति गर्नुहुन्छ ? रामको कि जनताको ? यो यस्तो प्रश्न हो जसले तपाईंको इतिहास निर्धारण गर्नेछ ।

राजनीतिले मान्छेलाई आफ्नै खुट्टामा उभिन सिकाउनुपर्छ । ईश्वर, अल्लाह र प्रभुको हैन । नेता स्वयं पनि आफ्नै शक्तिमा उभिनुपर्छ । अर्थात्, जनताको शक्तिमा । आफू र आफ्नो भविष्यलाई या त अनुचरको अथवा प्रभुको शरणमा छाडेर गरिने राजनीति कहिल्यै शिखरमा पुग्दैन । त्यो त मात्र भीरको यात्रा हुन जान्छ । नेपाली जनजीवनमा एउटा उखान छ— भीर खोज्नेहरूलाई रामराम भन्न सकिन्छ, काँध हाल्न सकिँदैन । सत्ता सधैं कसैको हुँदैन नेताज्यू । न त ‘सेटिङ’ मा हुने सफलताले इतिहास बनाउँछ । तपाईं के चाहनुहुन्छ ? राम कि प्रभुराम ? आजै विचार गर्नुहोला । अन्यथा इतिहासले बारबार एउटै प्रश्न सोधिरहँदैन ।

dahal.keshab@gmail.com

प्रकाशित : फाल्गुन ३, २०७७ ०८:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×