बालबालिकालाई उपहार पुस्तक

यमुना पराजुली अधिकारी

रुसी लेखक अलेक्जेन्डर रास्किनले आफ्नी छोरी बिरामी भएको बेला बाल्यकालमा आफैंले भोगेका कथा सुनाउँदासुनाउँदै यति धेरै सुनाइसकेछन् कि पछि उनले ती कथाबाट पुस्तकै तयार गरे । कथामा आफ्नै दु:ख–सुख, हाँसो–रोदनहरू थिए । रास्किनकी छोरीलाई कान दुख्ने समस्या थियो । रात पर्नेबित्तिकै छोरीलाई सहनै नसक्ने गरी कान दुख्ने हुनाले त्यसबेला उनले कथाहरू सुनाउँदा रहेछन् ।

बालबालिकालाई उपहार पुस्तक

हातमा कार्टुन थमाइदिनुको साटो रास्किनले प्रत्येक रात सुनाएका कथाहरूका कारण पछि छोरीलाई पुस्तकप्रति यति रुचि बढेछ, उनी आफ्नो उमेरभन्दा ठूला किताबहरू पत्तै नपाई छिचोल्न थालिछन् ।

हामी एकपटक आफैंलाई सोधौं त, के बच्चालाई बिसन्चो हुँदा हामीले यसरी कथाहरू सुनाउने गरेका छौं ? मैले देखेसम्म, बिरामी बालबालिकाले आराम गरिरहेका छन् भने उनीहरूको हातमा मोबाइल वा आइप्याड हुन्छ । मेरा सन्तानको पनि यस्तै हुन्छ । तर, सकिने रहेछ नि ! कथा सुनाउँदा बालबालिकाले नयाँ कुराहरू सिक्ने त छँदै छ, यसले बिरामी भएर शिथिल परेका बेला फुर्तिलो पनि महसुस गराउँछ । छेउमै बसेर आफ्नै वा अरूका कथा सुनाइरहँदा बुबाआमाले साथ दिइरहेका छन् भन्ने भावना छोराछोरीमा आउँछ । यसले उनीहरूमा ऊर्जा पनि थप्छ । बाबाआमाका आफ्नै उमेरका कथाहरू सुन्न पाउँदा बालबालिका कति उत्साहित हुँदा हुन् ?

अहिले बालबालिकामा पठन संस्कृतिको विकास गराउन कतिपय विद्यालयले कोर्स बाहिरका पुस्तकहरू पनि अनिवार्य गरेका छन् । र, केही विद्यालयले सहजै पुस्तक लिन सक्ने व्यवस्था पनि गरेका छन् । कहिलेकाहीं यसै विषयमा मैले अरू अभिभावकको कुरा पनि सुन्ने गरेकी छु । कतिपयले भन्नुहुन्छ, ‘कोर्सबाहिरका पुस्तकहरू दिए उनीहरूमा बोझ थपिन्छ । आफूभन्दा ठूला झोलाका ‘कोर्सबुक’ छिचोल्नु, ‘होमवर्क गर्नु अनि फेरि अरू पुस्तक पनि पढ्नु ?’ एक प्रकारले हेर्दा, यो कुरा ठीकै पनि होला तर अर्कोतिरबाट पनि सोचौं त, ‘कोर्सबुक’ छिचोल्दाछिचोल्दै वाक्क भएका बालबालिका नयाँ कुरा पढ्न पाउँदा अझै ‘फ्रेस’ पो हुन्छन् कि ? ‘होमवर्क’ फटाफट सकेर इन्टरनेट खोज्ने आँखाहरूले कतै नयाँ पुस्तक पो खोज्छन् कि ? बालबालिकालाई बानी लगाउने न हो र कोर्सबाहिरका पुस्तक पढ्ने बानी लगाउनमा सबैभन्दा धेरै भूमिका अभिभावकको हुन्छ । सुरुमा छोराछोरीलाई आकार दिने बुबाआमाले नै हो । त्यसपछि मात्र शिक्षकहरू आउने हुन् अनि साथीसंगतिले पनि असर पारेकै हुन्छ ।

एक साताअघि एउटा विद्यालयका प्रधानाध्यापकसँग कुराकानी भयो । उहाँले भन्नुभयो, ‘म्याम, हजुरको नयाँ पुस्तक हात पर्‍यो । पूरै पढें, बधाइ छ ! किशोरकिशोरीहरूका लागि उपयुक्त हुन्छजस्तो लाग्यो, यो पुस्तक । मेरो विद्यालयका लागि पनि केही थान पठाइदिनुपर्‍यो ।’ मैले भनें, ‘कसरी विद्यार्थीलाई पुस्तक दिनुहुन्छ ?’ मेरो प्रश्नको जवाफमा उहाँले भन्नुभयो, ‘मैले प्रत्येक विद्यार्थीको जन्मदिनमा केही न केही उपहार दिने गरेको छु, बिहान प्रार्थनाको समयमा । अबदेखि यो समयमा पुस्तक दिनुपर्‍यो भन्ने सोच्दै छु । हाम्रा बालबालिकामा कोर्सबाहिरका पुस्तक पढ्ने चलनै छैन । होमवर्क दियो घर जान्छन्, फटाफट सक्छन् अनि मोबाइल, ल्यापटप वा कम्प्युटर जे भेट्छन् चलाइहाल्छन् । यस्तो नहोस् भन्ने मेरो चाहना छ ।’ उहाँको जवाफले म निकै खुसी भएँ । मैले सोच्दै नसोचेको कुरा गर्नुभएको थियो, उहाँले । मनमनै ठानें, हामी अभिभावकले मात्र होइन शिक्षकहरूले पनि बालबालिकाको भविष्यका लागि सोच्नुहुँदो रहेछ । निजी विद्यालयहरूले पैसा मात्रै धुत्छन् भन्ने कतिपयको आरोप छ । तर, यस्तो सिर्जनात्मक काम पनि गर्दा रहेछन् ।

बालबालिकालाई पुस्तक उपहार दिनु निकै राम्रो काम हो, यसले पठन संस्कृति पनि बढाउँछ । तर, पुस्तक दिँदा उनीहरूलाई बोझ थपिएको जस्तो नहोस् । उनीहरूले रमाईरमाई पढ्न सक्ने खालका पुस्तकहरू दिनुपर्छ । बालबालिकालाई सुरुमा बाटो देखाउने अभिभावकले हुन् अनि शिक्षकहरूले । तर कतिपय अभिभावकले आफूचाहिँ मोबाइल चलाउँदै छोराछोरीलाई ‘कति मोबाइल मात्र चलाएको, खुरुक्क पढ्न बस्’ भनेर गाली गर्ने गरेको पनि पाइन्छ । छोराछोरीलाई सिकाउनकै लागि भए पनि अभिभावकले मोबाइल थन्क्याएर उनीहरूको अगाडि फुस्तक बोकेर किन नबस्ने ? आखिर हामीबाटै सिक्ने हुन् ।

[email protected]

प्रकाशित : फाल्गुन २६, २०७७ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?