हम आब सीता नै बनबौ !

‘अब सीताको युग कुनै पनि हालतमा छैन । तर, सीता आफ्नो समयकी अत्यन्तै क्रान्तिकारी र स्वाभिमानी व्यक्ति भएकाले तपाईं सीता बन्नुपर्छ, हिजोकी होइन, आजकी सीता ।’
राजेन्द्र महर्जन

अहँ ! हम आब सीता नै बनबौ,

अति सहनशील आ कोमल माता जानकी नै बनबौ,

रे राम ! कान खोइल क सुइन,

तोहर पुरुषवादी अहंकारके बोझके चलते,

हम आब धरतीके भितर नै धसबौ ।

                        – सपना सञ्जीवनी

हम आब सीता नै बनबौ !

राम–राज्य स्थापनाको गेरुवा झन्डा बोक्दै भारतमाथि हिन्दुत्व थोपर्न उद्यत भाजपा र त्यसका प्रधानमन्त्री मोदीको भाषा–शैलीमा नेपालमा पनि हिन्दु राष्ट्रवादी राजनीतिक अभ्यास तीव्र भएको छ । नेपाललाई संविधानमै ‘हिन्दु राष्ट्र’ घोषणा गर्ने राजा महेन्द्रको स्कुलबाट मानौं महाविद्यावारिधि गरेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेपाली ‘फ्लेभर’ को धर्मनिरपेक्षता लागू गर्न क्रियाशील छन् । उनले महेन्द्र र मोदीबाट पाठ सिक्दै, ‘राम–राज्य’ स्थापनाको सपना बुन्दै त्यसको राजधानी अयोध्यालाई ठोरीतिर खोज्दै हिँड्दा सांस्कृतिक राजनीतिको दबू (डबली) मा सीता–बहस सुरु हुनु अनौठो होइन ।

आफूलाई राष्ट्रवादी, प्रजातन्त्रवादी र कम्युनिस्ट ठान्ने अधिकांश नेतृत्व र धर्मभीरु जनताको ब्राह्मणवादी दिलदिमागमा पनि राम–राज्यले घर गरेकै छ, समाजवादको पर्यायका रूपमा । उनीहरूका चेतन र अवचेतनको संसारमा मात्रै होइन, अभिव्यक्तिको विश्वमा पनि आदर्श राज्य भनेको राम–राज्य नै हो भन्ने मत पटक–पटक व्यक्त हुँदै आएको छ । उनीहरूका सपना–विपनाको आदर्श राज्यमा महिला र ‘अछुत’ हरूको कोणबाट प्रश्न उठ्दा ब्राह्मणवादी पितृसत्ताले बनाएको जनमानस एकाएक प्रतिक्रियात्मक देखिएको छ ।

प्रश्नकर्ताहरूविरुद्ध बदख्वाइँको लहर

पुरातन मानसिकतालाई प्रगतिशील र लोकतान्त्रिक लेप लगाउन सिपालु राजनीतिक नेतृत्वका बीचबाट राम–राज्यको राजधानी अयोध्याको महान् खोज जारी रहेकै बेला हिंसापीडित महिलाको कुनाबाट रामकालीन महिलाको पुनरुत्पादनमाथि सवाल उठेको हो । बृहत् नागरिक आन्दोलनले थालेको ‘सिंहदरबार महिला मार्च’ मा कवि–चित्रकार सपना सञ्जीवनीले हिन्दु समाजमा ब्राह्मणवादी पितृसत्ताले जनमानसमा ढालेको सीता–जानकीको पतिव्रता छवि र समग्रमा राम–राज्यकै महिलाद्वेषी भाष्यमाथि मैथिली भाषामा प्रश्न उठाएकी थिइन् । राम–राज्यवादी हिन्दुहरूले सपना सञ्जीवनीलाई मात्रै होइन, अरू अभियन्तालाई पनि बलात्कार गर्ने र ज्यान मार्ने धम्की दिँदै आमरूपमा प्रश्नमाथि दमन गर्ने पितृसत्तात्मक समाजलाई बचाउने प्रयास जारी राखेका छन् । यस्तो दमन र हिंसाविरुद्ध कानुनी प्रतिवादसँगै सांस्कृतिक–राजनीतिक मञ्चमार्फत प्रतिरोध जारी छ भने वैचारिक बहसमार्फत ब्राह्मणवादी पितृसत्ताले बनाएको जनमानसमाथि विमर्शको थालनी भएको छ ।

राम–राज्य खोज्ने ‘कम्युनिस्ट’ नेताको सर्वसत्तावाद जारी रहेको राज्यले प्रोत्साहित गरेको ब्राह्मणवादी अभियानकै परिणामस्वरूप कानुनी प्रतिवादबाट न्यायको सम्भावना क्षीण हुन सक्छ । बलात्कार गर्ने र ज्यान मार्ने धम्की दिने अभियुक्तहरूलाई न्यायको कठघरामा उभ्याउन चौतर्फी दबाब दिनुपर्ने बेला अभियन्ताहरूकै बदख्वाइँ गर्ने प्रयास भने व्यापक छ । राम–राज्यकी आदर्श महिला बन्न अस्वीकार गर्ने अभियन्ताका प्रश्न र इन्कारीलाई ‘अपराध’ ठहर्‍याउने काममा असामाजिक सञ्जालमा अनुहार लुकाएर हमला गर्ने हिन्दु पुनरुत्थानवादी मात्रै होइनन्, सार्वजनिक अनुहार भएका व्यक्ति पनि छन् ।

जनकपुर साहित्य महोत्सवले सीता विमर्श र वैदेही बहस थालेर कोही किन सीता बन्ने, कोही किन सीता नबन्ने भन्ने प्रश्न उठाएको छ । प्रश्नको उत्तर सीताको महिमागानमा सीमित हुने गरी डिजाइन गरेको देखिन्छ । जनकपुरका महिलाकेन्द्रित ‘वैदेही’ कार्यक्रम ‘हामी सीता, हामी वैदेही’ भन्ने भाव सञ्चार गर्दै मधेसका ‘सभ धिया वैदेही’ (हरेक छोरी सीता) बन्न र बन्न पाएकामा गर्व गर्न प्रेरित गर्ने गरी संयोजन गरिएको आभास हुन्छ । यसै कार्यक्रममा पत्रकार मनिका झाले ‘जनकपुरमा बसेर म सीता बन्न चाहँदिनँ भन्नुजतिको अपराध अरू हुनै सक्दैन’ भन्ने ठहर गर्दै अयोध्या खोज्ने र अभियुक्त नखोज्ने सरकारको व्यवहारसँग, अभियन्ताहरूमाथि साइबर हिंसा थोपर्ने अभियुक्तका आचरणसँग वैचारिक तादात्म्य कायम गरेको देखिन्छ । एकातिर धर्म, संस्कृति र रीतिरिवाजका नाममा दुर्गादेखि सीतासम्मलाई देवी र शक्तिका रूपमा पूजा–अर्चना गर्ने, अर्कातिर जीवन–जगत्का व्यवहारमा भने गार्गीले जस्तै प्रश्न उठाउनासाथ अपराधी ठहर्‍याउने र मानव नै बन्न नदिने क्रम जारी छ ।

असीम छ सीताको कथा पनि

महोत्सवमै चिन्तक प्रदीप गिरिले सीता–विमर्शलाई विस्तार गर्दै भनेका छन्, ‘अब सीताको युग कुनै पनि हालतमा छैन । तर, सीता आफ्नो समयकी अत्यन्तै क्रान्तिकारी र स्वाभिमानी व्यक्ति भएकाले तपाईं सीता बन्नुपर्छ, हिजोकी होइन, आजकी सीता ।’ उनले नै पहिले के भनेका थिए भने, अरू कोही बन्नु जरुरी छैन, तपाईंले तपाईं बने पुग्छ । यसरी अन्तरविरोधमा जेलिएका गिरिको मत छ, ‘समाज विकासका लागि सीताले देखाएको त्याग, तपस्या, बलिदान र साहस उल्लेखनीय छ ।’ उनले सीता–विमर्शमा समाजशास्त्रीय रङ भर्न खोजेका थिए, सीतासँग जोडिएको बिम्बलाई तत्कालीन समाज र परिवारबारे गहन अध्ययनतिर ध्यानाकर्षण गर्दै । उनी स्वयं भने ‘रामायण र महाभारतहरूको रचना परिवार र मानव समाजलाई अगाडि बढाउने प्रयास’ का रूपमा भएको गम्भीर मतसमेत हलुकासँग पोख्दै छेउ लाग्छन् ।

सीता–विमर्शको गहिराइमा डुब्न रामायणको उत्पत्ति–कथातिर ध्यान खिँचेका गिरिले भनेझैं, जसरी रामको कथा अनन्त छ, त्यसरी नै सीताको कथा पनि असीम छ । आज पनि सीता बन्न र भनाउन गर्व गर्न चाहनेहरूले कुनचाहिँ रामायणकी सीता बन्न खोजेका हुन्, अलमलिने अवस्था छ । जनकले हलोको रेखाबीच फेला पारेकी सीताको शाब्दिक अर्थ हो— हलरेखा । राज्यको सीधा निरीक्षणमा बसाइने र जोतिने जग्गालाई ‘सीताभूमि’ भनिन्छ । मौर्यकालमा शाही जमिन (सीता) को अधीक्षकलाई सीताध्यक्ष भनिन्थ्यो, जसले सीता, दास र मजदुरको रेखदेख गर्थ्यो । सीतालाई भूमि र उर्वरताकी देवीका रूपमा पूजा गर्ने चलन थियो भने रामलाई पनि कृषिकै एक अधिष्ठाताका रूपमा अर्चना गरिन्थ्यो । मातृदेवीहरूलाई कुनै न कुनै कथा र मिथक रचेर पुरुष देवतासँग विवाह गराउने चलन अति प्रचलित छ ।

यसरी लेख्ने क्रममा अध्येता एके रामानुजनले २५ सय वर्षको सेरोफेरोमा तीन सयभन्दा बेसी भिन्नाभिन्नै रामायण रचिएको जनाएका छन् । जसरी अलग–अलग रामायणअनुसार राम–कथा फरक–फरक छ, त्यसरी नै सीता–कथा पनि एउटै छैन । गिरिको मतअनुसार, सबै राम–सीता कथा वाल्मीकिले सुरु गरेका थिए । जबकि वाल्मीकिले ईपू तेस्रो शताब्दीदेखि दोस्रो शताब्दीबीच रामायण रच्नुअघि नै पालि भाषामा लेखिएको ‘दशरथ जातक’ मा रामकथा उपलब्ध रहेको अध्येता सुवीरा जायसवालको दाबी छ ।

वाल्मीकि रामायणभन्दा केही महत्त्वपूर्ण पक्षमा भिन्न रहेको ‘दशरथ जातक’ मा दशरथलाई अयोध्याको होइन, वाराणसीको राजा भनिएको छ । राम, लक्ष्मण र सीतालाई दशरथकी पहिलो पत्नीका सन्तान मानिएको छ भने भरतलाई उनीहरूका सौतेनी भाइ । दशरथले राम र लक्ष्मणलाई सौतेनी आमाको कुटिलताबाट बचाउन हिमालय क्षेत्रको वनमा पठाउन खोज्दा सीताले उनीहरूसँग जाने हठ गर्छिन् । उनीहरूको वनबास बाह्र वर्षमै समाप्त हुन्छ, चौध वर्षमा होइन । वनबास सकिएपछि रामले आफ्नी बहिनीसँग विवाह गरी महारानी बनाउँछन् । त्यसमा सीताहरण र लंकाविरुद्ध अभियानको संकेतसम्म छैन । सीतालाई रामकी बहिनीका रूपमा उल्लेख गरिएको कथा ‘दशरथ जातक’ मा मात्रै होइन, जापानी र मलय रामायणमा पनि छ, जुन हालसम्म उपलब्ध रामकथामध्ये सर्वाधिक प्राचीन स्वरूप मानिन्छ । तिनमा न सीता अपहरित हुन्छिन्, न त उनी पीडित स्त्रीचरित्र नै थिइन्, जसका कारण पवित्रता सिद्ध गर्नुपरोस् ।

बहिनी सीतासँग रामको बिहे ?

रामले आफ्नै बहिनीसँग बिहे गरेको कथाले धेरैलाई झस्काउन सक्छ तर यो विश्वको इतिहासले गुजारेको समय र समाजको एक झलक हो । एलएच मोर्गनका अनुसार, परिवार नामक संस्थाको प्रारम्भिक रूप भनेकै सगोत्रीय परिवार थियो, जहाँ एकै पुस्ताका स्त्री–पुरुष आफ्नै भाइ–बहिनीसँग स्वाभाविक रूपले पति–पत्नी हुन्थे । नेपालमा केही समुदायमा मामाचेला र फुपू चेलीबीच विवाह एकतर्फी वा दुईतर्फी रूपमा जारी नै छ, घट्दो क्रममा भए पनि ।

इतिहासकार उमा चक्रवर्तीका अनुसार, मिथकको रूपमै सही, ‘दशरथ जातक’ मा यस्तै विवाह प्रणालीको प्रतिविम्बन भएको हुन सक्छ । यसले त्यस्तो समाजलाई प्रतिविम्बित गर्छ, जसमा पुरुषले स्त्रीहरूबाट उत्तराधिकार प्राप्त गर्छ । अर्कातिर वाल्मीकिद्वारा वर्णन गरिएको अयोध्याको समाजमा भने वंश र अंश पुरुषको हातमा केन्द्रित भइसकेको हुन्छ र पितामा केन्द्रित सम्पत्तिको स्वाभाविक उत्तराधिकारका लागि अविवादित पितृत्वबाट सन्तान जन्मिनु आवश्यक हुन्छ । एक पुरुषप्रतिको एकनिष्ठता र महिलाको पवित्रतामाथि जोड दिनु नै सीताको दन्त्यकथाको मूल कारण हो ।

अयोध्यावरपर बस्ने वाल्मीकिले रामायण रच्दा रामको जन्मस्थान वाराणसीबाट अयोध्या सारेको, सीताहरणको कथा आफैंले कथेको वा अन्य स्रोतबाट तानेको अनुमान म्याक्स वेबर र सुकुमार सेनजस्ता धेरै अध्येताले गरेका छन् । वाल्मीकिले मनोरम महाकाव्य रच्ने क्रममा सीता र रामका लोकप्रिय कथा उपयोग गर्दै उनीहरूलाई एक आदर्श दम्पतीका रूपमा चित्रित गरेका छन् । चक्रवर्तीका अनुसार, यसबाट सीताको छविमा आत्मत्याग, सदाचार, पतिव्रता र पवित्रता आरोपित गर्दै दुईवटा धारणा प्रसार गर्न खोजिएको देखिन्छ— एक, स्त्रीहरू पुरुषहरूका सम्पत्ति हुन् । दुई, यौन–बफादारी महिलाहरूको महान् सद्गुण हो ।

किन लेखियो रामायण ?

सीताको गुणगान गाउने क्रममा प्रदीप गिरिले ‘रामायण र महाभारतहरूको रचना परिवार र मानव समाजलाई अगाडि बढाउने प्रयास’ का रूपमा भएको व्याख्या गरेका छन् । जबकि जायसवालका अनुसार, ‘ब्राह्मण धर्मका कारण जारी हिंसाचार, कर्मकाण्ड र वर्णव्यवस्थाको विरोधमा ईपू छैटौं शताब्दीमा गौतम बुद्धको नेतृत्वमा सञ्चालित आन्दोलन विस्तार भइरहेको बेला रामायण र महाभारतजस्ता महाकाव्यको रचना गरिएको थियो, सामन्ती शासनकालका ब्राह्मणवादी मूल्यमान्यताको प्रचार–प्रसारका लागि । ब्राह्मणीय सामाजिक नीतिशास्त्र तथा धर्मनिष्ठाका आदर्श प्रस्तुत गर्ने खालका दुई ठुल्ठूला महाकाव्यको रचना लगभग एउटै कालमा हुनु कुनै संयोगको काम मात्रै होइन, बरु यो त तत्कालीन सामाजिक संकटविरुद्ध ब्राह्मण बौद्धिकजनद्वारा गरिएको सांस्कृतिक प्रतिकार थियो ।’

चक्रवर्तीका अनुसार, रामायणको लेखनमा ठूलो योगदान दिएका तुलसीदासले सोह्रौं शताब्दीमा ब्राह्मण वर्चस्व भएको भारतीय समाजमाथि आइलागेको दबाबबीच, त्यसका सबै मूल्य र प्रतिमान ध्वस्त हुने खतराबीच रामायणमा आधारित कैयौं ग्रन्थ लेखेका थिए र महिलाहरूलाई पुरुष–निर्धारित परिधि लक्ष्मणरेखामा बसे मात्रै सुरक्षित रहने चेतावनी दिएका थिए । उनको ‘रामचरितमानस’ मा लक्ष्मणरेखाको प्रसंग नभए पनि उनका अन्य कम प्रसिद्ध रामायण र त्यसकै आधारमा बनेका राम–लीला नाटकहरूको प्रदर्शनबाट यस्तो चेतावनी व्यापक भएको पाइन्छ ।

अनेक कथामा अनेक रूपरंगमा व्याख्या गरिएकी सीतामा तत्कालीन समाजको सन्दर्भमा विद्रोही चरित्र हुँदै नभएको पक्कै होइन, उनमा पाल्तु (डोसाइल) चरित्रभन्दा बेसी बागी चरित्र नभएको होइन । तर, सामाजिक मनोविज्ञानमा जब्बरसँग बसेकी–बसाइएकी एक खालकी सीता बन्न चाहनेहरूलाई धिक्कार्दै हिँड्न सकिँदैन । त्यस्तै, पुरातन होस् या आधुनिक, कुनै पनि खालकी सीता बन्न नचाहने विद्रोहीहरूलाई पनि अपराधी ठहर्‍याउने हठ र दुष्प्रयास भने कदाफि स्वीकार्य हुन सक्दैन ।

प्रकाशित : फाल्गुन २५, २०७७ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?