कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राजनीति कसका लागि ?

दुर्गा कँडेल छत्कुली

नेपालको संविधान २०७२ जारी भइसकेपछि राजनीतिक क्रान्तिको चक्र पूरा भयो, अब आर्थिक क्रान्ति गर्नुपर्छ भन्ने भाषण नेताहरूले धेरै गरे । संघीय शासन प्रणालीलाई मजबुत बनाएर आर्थिक क्रान्तिका लागि स्थिर सरकार भन्दै एमाले र माओवादी केन्द्र मिलेर चुनाव लडे । झन्डै दुईतिहाइ बहुमतको सरकार पनि बन्यो । पछि दुवै पार्टीको एकता भएर बन्यो— नेकपा ।

राजनीति कसका लागि ?

अब केही भई पो हाल्छ भन्ने आशा त्यतिखेर जनतामा जागेको थियो । तर, एकीकरण भइसके पछिको छ महिना पनि नपुग्दै नेकपामा खिचातानी सुरु हुन थाल्यो । अहिले तीन वर्ष पार गर्दैगर्दा एकता यसरी गर्ल्याम्म ढल्यो । अब कुनै पार्टीले दुईतिहाइ नजिकको बहुमत सायदै पाउँछ । त्यस्तो राजनीतिक स्थिरता देशले फेरि पाउन गाह्रो छ ।

कुनै राजनीतिक दलका शीर्ष नेताहरूको व्यक्तिगत स्वार्थका कारण समग्र देश अन्योलतर्फ धकेलिनु राम्रो होइन । देश र जनतालाई राजनीतिक पार्टी विशेषको सिकार बनाउने परिपाटीको अन्त्य हुनु जरुरी छ । आजको दिनमा राजनीति व्यवसायमा परिणत भएको छ । जहाँ छिटोभन्दा छिटो पद, पैसा, पावर आर्जन गर्न जस्तोसुकै हर्कत गर्न पनि पछि परिँदैन । राजनीतिको भर्‍याङ चढेर पदमा पुग्ने अनि भ्रष्टाचारमा चुर्लुम्म डुब्दासमेत कारबाहीको भागी हुनु नपर्ने परिपाटी मानौं संस्थागत भइसकेको छ । हिजो गाउँबाट चप्पल पड्काउँदै हिँडेका ठुल्दाइहरू राजनीति गरेकै भरमा आलिसान महलमा मार्सीको भुजा र बँदेलको मासु ज्यूनार गरिसिन्छ । तर ठुल्दाइहरूको सम्पत्ति विवरण सर्वाजनिक हुँदा तिनले साँच्चिकै ती सर्वहारा जनताको सेवाका लागि राजनीति गरिरहेका छन् त भन्ने आशंका उत्पन्न हुन्छ ।

पदका लागि मरिहत्ते गर्ने, गुट र उपगुट खडा गरी राजनीति गर्ने, राम्राभन्दा हाम्राको संरक्षण गर्ने, स्वार्थका लागि जस्तासुकै आत्मघाती सम्झौताहरू गर्न पनि पछि नपर्ने, सधैं शक्तिकेन्द्रमा बस्न खिचातानी गरिरहने, पदीय स्वार्थका लागि आफ्नै समूहका साथीहरूलाई विश्वास नगर्नेजस्ता विशेषता हाम्रा नेताहरूमा पाइन्छ । नेताहरूले व्यक्तिगत स्वार्थका लागि राजनीति गर्दा देश अस्थिरतातर्फ उन्मुख छ । एकअर्कालाई नंग्याउने, खुइल्याउने होडबाजी चलेको छ । पदीय मर्यादा बिर्सेर मुखमा आएजति सबै गाली नेताहरूले एकअर्कालाई गर्छन् । के यस्तै राजनीतिक संस्कारले नयाँ पुस्तालाई सही बाटो देखाउला ? हामीले आउँदो पिँढीलाई राजनीति यस्तै गालीगलोज मात्रै हो भनेर सिकाउने हो ? राजनीतिक नेतृत्व वर्ग यस्ता प्रश्नमा गम्भीर हुनुपर्छ । अन्य क्षेत्रका अगुवाहरूले आफ्ना उत्तराधिकारी आफू क्रियाशील रहेकै समयमा बनाउँछन् । विडम्बना, राजनीतिमा शीर्ष नेताहरू मृत्युशय्यामा पुगेपछि मात्र उनीहरूले ओगटेका पद खाली हुन्छन् । अन्य पेसा/क्षेत्रमा निश्चित समय वा उमेरपछि अवकाश पाइन्छ तर नेपाली राजनीतिको शब्दकोशमा मानौं ‘अवकाश’, ‘निवृत्त’ जस्ता शब्द नै छैनन् ।

स्वार्थ मिल्दा विचार र आदर्शलाई तिलाञ्जली दिई जुट्ने अनि नमिल्दा एउटै सिद्धान्त बोक्छौं भनिरहँदा पनि फुट्ने प्रवृत्ति नेपाली राजनीतिमा नौलो होइन । तर यसपालिको नेकपाको फुटले संविधान र प्रणालीलाई नै असर गर्‍यो । नेकपाका दुई समूहले केहीअघि सडकमा सोझासाझा जनतालाई झुक्याएर ल्याए । गाउँगाउँबाट गाडीका गाडी सोझा नागरिकलाई मासु–भात र पैसाको लोभ देखाई राजधानीका सडक अस्तव्यस्त बनाइयो । केका लागि त्यसो गरियो भन्ने जवाफ कसैले दिएनन् । यस्ता सडक प्रदर्शनले सर्वसाधारणले निकै सास्ती बेहोर्नुपर्‍यो । यसको जिम्मेवारी कसले लिन्छ ?

ज्याला–मजदुरी गर्ने वर्गलाई भोकै राखी राजनीति कसरी हुन्छ ? आफूचाहिँ मार्सीको भुजा ज्युनार गरी झुसिलो डकार्दै मञ्चमा अरूलाई खुइल्याउने अनि जनताले चाहिँ दुई छाक खान पनि कष्ट ब्यहोर्नुपर्ने ? मजदुरले बगाएको पसिनाले देश चलेको छ, नेताहरू चलेका छन् । तिनै मजदुरको चुल्हो बल्न नदिएर राजनीति हुन्छ ? सडकमा जनता बटुलेर एकअर्कालाई गाली गर्दा नेताहरूलाई क्षणिक आनन्द त मिल्ला तर तिनले जनताको मनमा ठाउँ पाउँदैनन् । प्रदर्शनको होडबाजीले कसैलाई पनि राम्रो गर्दैन ।

राजनीतिज्ञले पद र स्वार्थका लागि जनमतको अवमूल्यन गर्ने, आफ्नो अधिकार दुरुपयोग गर्ने गर्नु हुन्न । जनताको समर्थन प्राप्त गरेर नेता बनेकाहरूले समाजको, जनताको हित हुने काम गर्नुपर्छ । अहिलेको अन्योलग्रस्त परिस्थितिलाई नेताहरू मिलेर छिटोभन्दा छिटो निकास दिनु जरुरी छ । जिम्मेवार नेता र दलहरूले सचेत भई आफ्नो साख जोगाउने समय पनि यही हो । राजनीतिज्ञहरूले आफ्नो होइन, देशको स्वार्थलाई अगाडि राख्नुपर्छ ।

प्रकाशित : फाल्गुन २५, २०७७ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?