अदालती फैसलाका दूरगामी प्रभावहरू- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अदालती फैसलाका दूरगामी प्रभावहरू

नेकपाको नामसम्बन्धी यो फैसलाले पार्टी जनताले मत दिएर बन्ने होइन, अदालतको पनि सहमति आवश्यक छ भन्ने खालको गैरसंवैधानिक भाष्य स्थापित गर्न खोजेको छ र अदालतलाई राजनीतिक शक्तिकेन्द्रका रूपमा स्थापित गर्ने प्रयत्न गरेको छ ।
टीकाराम भट्टराई

अस्वाभाविक, अप्रत्याशित र द्रुत गतिमा आदेश भई सार्वजनिक भएको एक घण्टा नपुग्दै निर्वाचन आयोगममा पुगिसकेको ऋषिराम कट्टेलको मुद्दाको फैसलाले राष्ट्रिय राजनीतिको कोर्स नै परिवर्तन गरिदिएको छ, तर नकारात्मक दिशातर्फ ।

यो फैसलापश्चात् उत्पन्न राजनीतिक गतिरोधले संवैधानिक संकट निम्त्याउने र त्यसका कारण संवैधानिक सर्वोच्चता, विधिको शासन र संघीय लोकतान्त्रिक संसदीय गणतन्त्रको आगामी यात्रामै अवरोध सिर्जना गर्ने परिदृश्य घामजत्तिकै छर्लङ्ग छ ।

सर्वप्रथम, यो फैसलालाई राजनीतिक दृष्टिकोणबाट विश्लेषण गरौं । झट्ट हेर्दा यो फैसलाले सत्तारूढ नेकपा र वर्तमान सरकार अनि नेकपाको आन्तरिक शक्तिसन्तुलनमा फेरबदल ल्याउनेजस्तो मात्रै देखिए पनि यसले जारी संसदीय, संवैधानिक र राजनीतिक कोर्सलाई नै परिवर्तन गर्ने पक्कापक्की छ । फैसला सार्वजनिक भएलगत्तैको राजनीतिक परामर्श बैठकमा एक परिपक्व राजनीतिज्ञले मसँग जिज्ञासा राख्नुभयो, ‘प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसला हुँदा नै ऋषिराम कट्टेलको मुद्दामा यस्तो फैसला गर्ने भनेर लेनदेन गरिएको त होइन ?’ हो भन्नलाई मसँग कुनै आधार थिएन, होइन भन्नलाई प्रमाण थिएन । अवाक् भएर मैले जवाफ दिएँ, ‘त्यो कुरा छाडिदिनुस्, अब राजनीतिको केन्द्र तत्कालका लागि वामपन्थी ध्रुवबाट गैरवामपन्थी ध्रुवमा जबरजस्त लैजान यो फैसलाले सहयोग गरेको छ । यसभित्र डिजाइन थियो/थिएन, राजनीतिशास्त्रका अध्येताले बताउलान् ।’ यो फैसलाप्रतिको मेरो राजनीतिक टिप्पणी यही नै हो । नेपालमा बढ्दो वामपन्थी प्रभावलाई जनमतबाट रोक्ने प्रयास गत निर्वाचनमा सफल हुन सकेन, सत्तारूढ दलभित्रको किचलो र प्रतिनिधिसभा विघटनको दोस्रो प्रयासले पनि प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसलासँगै सफलता प्राप्त गर्न सकेन । सबैका आँखा परेको र संविधानमै नभएको अधिकार प्रयोग गरेर विघटन गरिएका कारण बहुचर्तित त्यो मुद्दामा अरू कसैका लागि आफ्नो विवेक बन्धकमा राख्न संवैधानिक इजलासका न्यायाधीशहरू तयार भएनन् र अनेक दबाबका बाबजुद प्रतिनिधिसभा विघटन असफल भयो । तर यो मुद्दालाई भने सत्तापक्षबाहेक अरूले चर्चामा ल्याउने र ध्यान दिने गरेकै थिएनन् एवं यो मुद्दाको विषयवस्तु र माग पनि राष्ट्रिय राजनीतिको कोर्स परिवर्तन गर्ने प्रकृतिको थिएन । तर दुनियाँलाई खास महत्त्व नभएको र छायामा परेको विवादको गर्भबाट प्रतिनिधिसभा पुन:स्थापना गर्ने पाँच न्यायाधीशको फैसलालाई नै अप्रत्यक्ष रूपले ‘ओभर रुल’ गर्ने गरी यो फैसला सार्वजनिक भयो, जसले गत निर्वाचनमा जनमतबाट परास्त नभएको वामपन्थी जनमत परास्त गर्ने अस्त्रको रूप धारण गरेको छ ।

गत संसदीय निर्वाचनमा एमाले र माओवादी वामगठबन्धन बनाएर पार्टी एकता गर्ने उद्घोषसहितको संयुक्त घोषणापत्र जारी गरी निर्वाचनमा गएका थिए । करिब ६४ प्रतिशत मतदाताले एमाले र माओवादीको एकतालाई रुचाएर त्यो गठबन्धनलाई मतदान गरेका थिए अनि तदनुकूल पार्टी एकता पनि भएको थियो । तर यो फैसलाले त्यो गठबन्धनले प्राप्त गरेको जनमत र पार्टी एकतालाई खारेज गरिदिएको छ । यसर्थ ६४ प्रतिशत जनमतको अपमान गर्ने खालको यो फैसला राजनीतिक प्रकृतिको हो भन्नलाई पर्याप्त आधार र कारणहरू छन् । भलै त्यो जनमतलाई खण्डीकरण गर्ने कार्यको सुरुवात भने स्वयं प्रधानमन्त्रीले प्रतिनिधिसभाको विघटन गरेपश्चात् भइसकेको थियो । तर प्रतिनिधिसभा पुन:स्थापनाले संविधानलाई लिकमा ल्याइदिएका कारण अर्को निर्वाचनसम्म वामपन्थी जनमत यथावतै रहने बलियो आधार तयार भएको थियो ।

अब चर्चा गरौं, यो फैसलाको संवैधानिक र कानुनी पाटो र प्रभावका बारेमा । यो फैसलामा अदालत आफैं वादी वा निवेदक भएको विषय विधिशास्त्रीय र न्यायिक दृष्टिकोणले घोर आपत्तिजनक हो । निवेदकले केवल नेपाल कम्युनिस्ट पार्टी आफूले दर्ता गरिसकेपश्चात् सोही नामको अर्को पार्टी दर्ता हुन नसक्ने भन्ने मात्र माग राखी सो हदसम्मको निर्वाचन आयोगको निर्णय बदर गर्न माग गरेकामा अदालत आफैंले निवेदकको हैसियत ग्रहण गरी साबिक एमाले र माओवादी केन्द्र पूर्ववत् रूपमा ब्यँुतिएको फैसला गरेको छ, जबकि दल दर्ता र खारेजीको एकलौटी अधिकार केवल निर्वाचन आयोगलाई छ । नेपालको संविधानले राजनीतिक दल खोल्ने, सो दलका नामबाट निर्वाचन लड्ने र जनमत प्राप्त गर्ने अधिकार राजनीतिक दललाई दिएको छ । यो फैसलाले पार्टी जनताले मत दिएर बन्ने होइन, अदालतको पनि सहमति आवश्यक छ भन्ने खालको गैरसंवैधानिक भाष्य स्थापित गर्न खोजेको छ र अदालतलाई राजनीतिक शक्तिकेन्द्रका रूपमा स्थापित गर्ने प्रयत्न गरेको छ । जब अदालतले राजनीतिक प्रश्नमा हात हाल्न थाल्छ तब यसप्रतिको जनआस्थामा ह्रास आउँछ । त्यसैले अदालत स्वयंले संविधान र कानुनको व्याख्या गर्दा आत्मसंयमको सिद्धान्तलाई आत्मसात् गर्नुपर्ने विश्वव्यापी मान्यता छ । तर यो फैसलामा अदालतले आत्मसंयम कायम गर्न खोजेको देखिएन ।

यो मुद्दामा अदालतले अधिकतम गर्ने भनेको, एउटै नामका दुईवटा पार्टी दर्ता हुन नसक्ने भएकाले नाम नजुध्ने गरी पुन: निर्णय गर्न निर्वाचन आयोग पठाउन सक्थ्यो । त्यसबाहेक अर्को विकल्पै थिएन, न त निवेदकको माग नै त्यसभन्दा बढी थियो । तर विधिवत् रूपमा दर्ता खारेज भएका साबिकका एमाले र माओवादी केन्द्रलाई ब्युँताउने फैसला गरेर राजनीतिक प्रश्नमा सीधै प्रवेश गरेकाले यसमा असहमति, विरोध र टिप्पणी हुनु विल्कुल स्वाभाविक छ ।

दोस्रो, यसले फागुन ११ गतेको संवैधानिक इजलासको फैसलालाई पनि निस्तेज बनाएको छ । त्यो फैसलाले प्रधानमन्त्रीलाई संविधानको धारा ७६(१) बमोजिमको अर्थात् प्रतिनिधिसभामा बहुमतप्राप्त संसदीय दल (नेकपा) को नेताका रूपमा व्याख्या गरेको मात्र छैन, केपी ओली प्रधानमन्त्री हुँदा तत्कालीन एमाले र माओवादी केन्द्रको संयुक्त सरकार भएको भए पनि पार्टी एकतापश्चात् एकै दलको सरकारमा रूपान्तरण भएको भन्नेसमेत व्याख्या गरेको छ । तर पछिल्लो फैसलाले एमाले र माओवादी केन्द्रलाई साबिककै अवस्थामा फर्काइदिएकाले पाँच न्यायाधीशको त्यो व्याख्यालाई निवेदकको मागविपरीत दुई जनाको व्याख्याले निष्क्रिय र निष्प्रभावी बनाइदिएकाले यसले न्यायिक अराजकताको अवस्थासमेत उत्पन्न गरिदिएको छ ।

तेस्रो, यो फैसलाले सत्तारूढ दलका नेता प्रधानमन्त्री, स्वयं नेकपा र त्यस दलबाट देशभर तीनै तहमा निर्वाचित जनप्रतिनिधिलाई निमेषभरमा दलविहीन बनाइदियो । अब अर्को व्यवस्था नहुन्जेल वर्तमान सरकार कुन दलको हो भन्ने अन्योल स्थापित भएकाले सरकार पनि संकटमा फस्यो । एमाले र माओवादी केन्द्र खारेज भइसके ‘नयाँ दल दर्ता भएको छैन’ आजको मितिमा सरकार र सत्तारूढ दलका स्थानीयदेखि संघसम्मका मन्त्री, सांसदलगायत सबै जनप्रतिनिधिहरू दलविहीन बनाइएका छन् । यति ठूलो उथलपुथलकारी फैसला गर्न बस्ने माननीय न्यायाधीशहरूले यो प्रश्नका बारेमा विचारै गरेनन् होला ? यो गम्भीर प्रश्न उपस्थित भएको छ । संविधानले परिकल्पना गरेको प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थाको मर्मविपरीत आएको यो फैसलाले संसदीय प्रणालीमा प्रहारसमेत गरेको छ ।

यसबीच नेकपाको नामबाटै सत्र जना राष्ट्रिय सभा सदस्य, एक जना प्रतिनिधिसभा सदस्य र एक जना प्रदेशसभा सदस्य अनि तीसभन्दा बढी स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएका छन् । तिनको हैसियत के हुने ? अर्को गम्भीर संवैधानिक प्रश्न यो फैसलाले निम्त्याएको छ ।

वर्तमान संविधान जारी हुँदा स्थिरता र स्थायित्वका लागि भनेर प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको स्वैच्छिक अधिकारलाई नराखिएको, विश्वास र अविश्वासको प्रस्तावका लागि खास सर्तहरू राखिएको र राजनीतिक दलसम्बन्धी ऐन र निर्वाचनसम्बन्धी ऐनमा समेत धेरै दल जन्मिने विषयलाई निरुत्साहित गरिएको, तीन प्रतिशत लोकप्रिय मत र लोकप्रिय मतबाट कम्तीमा प्रतिनिधिसभामा एक सिट नजित्ने दललाई राष्ट्रिय पार्टीका रूपमा मान्यता नदिने व्यवस्था गरिएको, धेरै दल एकै निर्वाचन चिह्नबाट निर्वाचन लड्न सक्ने व्यवस्था गरिएको र दलहरू एकआपसमा गाभिन र विलीन हुन सक्ने व्यवस्थालाई उदारताका साथ राखिएकामा यो फैसलाले संविधान र कानुनका ती सबै सीमा भत्काएर दलहरूको एकीकरण होइन विभाजनलाई प्रोत्साहन गरेको छ । यसर्थ यो फैसलाका दूरगामी प्रभावहरूले नेपालको संसदीय अभ्यासललाई विकृत बनाउनेछ । अर्कातर्फ, संसद्मा अब सरकार कुन दलको समर्थनमा कसरी बन्छ भन्ने अन्योलसमेत थपिएको छ । एमालेको मात्र बहुमत छैन, साबिक माओवादीले यो सरकारलाई समर्थन गर्ने अवस्था छैन । कांग्रेससँग पर्याप्त संख्या छैन । एमालेभित्रको माधव नेपाल समूहले समेत ओली सरकारलाई समर्थन गर्ने अवस्था नभएकाले संसद्मा थप अन्योल र अस्थिरताको जन्म भएको छ, जबकि कट्टेलजीको मुद्दामा यस्तो कुनै प्रश्न थिएन र अदालत त्यता जानुपर्ने आवश्यकतै थिएन ।

यस्तै, यो फैसला पूर्णरूपमा कार्यान्वयन हुने सम्भाव नै छैन किनकि राष्ट्रिय सभामा विजयी वा उपनिर्वाचनमा नेकपाका नामबाट विजयी प्रतिनिधिहरूले साबिक एमालेको कति र साबिक माओवादीको कति मत प्राप्त गरे ? अर्थात्, तिनीहरू एमाले हुन् कि माओवादी हुन्, अब कसले छुट्टयाउन सक्छ ? कसैले पनि सक्दैन । तसर्थ सो हदसम्मको यो फैसला कार्यान्वयन नै हुन सक्दैन । कार्यान्वयन नै हुन नसक्ने फैसला किन गरियो ? यो अर्को गम्भीर प्रश्न उपस्थित भएको छ ।

तर जे भए पनि फैसला भइसक्यो, अब यसलाई संवैधानिक मार्गबाटै सच्याइनुपर्छ । तसर्थ यो फैसलाका विकृत र आत्मसंयमको सिद्धान्तविपरीतका विषयहरू पुनरावलोकनका माध्यमबाट स्वयं सर्वोच्च अदालतले सच्याएर संवैधानिक भावना र कानुनी प्रावधानबमोजिम दलहरूको एकीकरणलाई मान्यता दिनुपर्छ । निर्वाचन आयोगले पनि फैसलाको मूल मर्मलाई आत्मसात् गर्दै कानुनी परामर्शका आधारमा सतर्कतापूर्वक आफ्ना कामकारबाही अघि बढाउनुपर्छ । सत्तारूढ दलको प्रभावमा परेर नेकपाको विवाद महिनौं पालेर राखेको आरोप खेपेको आयोगले अब पुन: सत्ताको दबाबमा परेर हतारहतार दल विभाजनको कार्य अघि बढाएको आरोपबाट मुक्त हुने दृष्टिले काम गर्नुपर्छ ।

अर्को कुरा, यो मुद्दामा संसद् वा सभामुख विपक्षी नभएकाले उसका नाममा परमादेशको आदेश जारी भएको छैन । तसर्थ संसद्ले अहिले नै एमाले र माओवादी केन्द्रलाई अलग गर्नुपर्ने अवस्था छैन । अर्थात्, यो फैसलालाई संसद्ले कानुनबमोजिम चिन्नुपर्ने आवश्यकता नभएकाले संसद्मा कायम रहेको अभिलेखबमोजिम नै नेकपालाई सिंगो दलकै रूपमा उसले हेर्नुपर्छ । अब निर्वाचन आयोगले गर्ने निर्णय र सोको जानकारी संसद्ले प्राप्त नगरेसम्म एमाले र माओवादीलाई संसद्ले चिन्दैन । तसर्थ सोहीबमोजिम नै संसदीय अभ्यास अघि बढाउँदा कुनै संवैधानिक जटिलता संसद्ले व्यहोर्नुपर्ने देखिँदैन । यो फैसलालाई पुनरावलोकनका माध्यमबाट नसच्याइने हो भने यसले नेपालको मौलिक संसदीय व्यवस्था र यसको अभ्यासलाई लामो समयसम्म असर गर्नेछ । अहिलेको सत्तारूढ दलसँग मात्र केन्द्रित गरेर यसको मूल्यांकन गरियो भने त्यो आत्मरति मात्र हुनेछ । सवालको सिकार भयो भन्ने होइन, सवाल संसदीय व्यवस्थाको सुसञ्चालन हुन्छ कि हुँदैन भन्नेचाहिँ हो ।

प्रकाशित : फाल्गुन २४, २०७७ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्

पार्टी एकता गर्दा समयमा नै ढंग नपुग्दा समस्या भयो : उपप्रधानमन्त्री पोखरेल

कान्तिपुर संवाददाता

काठमाडौँ — उपप्रधानमन्त्री एंव रक्षामन्त्री ईश्वर पोखरेलले विचार, संगठन र नेतृत्वको ख्याल नगरी पार्टी एकता गरिएकाले समस्या भएको बताएका छन् ।

१ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पार्टी एकता गर्दाको समयमा ढंग नपुगेका कारण समस्या भएको बताएका हुन् ।

विचार, संगठन र नेतृत्वभन्दा पनि चुनावमा बहुमत ल्याउने विषयलाई मात्रै प्राथमिकतामा राखेकाले अहिले समस्या भएको उनको भनाइ थियो । आइतबारको सर्वोच्च अदालतको फैसला पछि एकीकृत पार्टीहरुको अवस्था २०७५ साल जेठ ३ गते आगाडिको अवस्थामा पुगेको उल्लेख गर्दे उनले अब नेकपा एमालेले विचार, संगठन अनि योग्य नेतृत्व राखेर नयाँ ढंगले पार्टी एकतालाई अघि बढाउने बताए ।

उनले भने,“हिजो २०७५ साल जेठ ३ गते पार्टी एकता गर्दा ढंग नपुराएकै हो । त्यही ढंग नपुर्‍याएका कारण आज काँचै पल्टिएर बाहिर आयो । अब एकता गर्दा हामीले ढंग पुर्‍याएर गर्नुपर्छ । सबै थिति मिलाएर उचित तरिकाले गर्नुपर्छ । ” सर्वोच्च अदालतको फैसलापछि नयाँ ढंगले पार्टीलाई एकताबद्ध बनाउने उनले बताए ।

केही समय अगाडि नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रधानमन्त्री ओली समूहकातर्फबाट थप गरिएका केन्द्रीय सदस्यहरु पनि नेकपा एमालेकै केन्द्रीय सदस्य हुने भन्दै सबैलाई विश्वस्त हुन उनले आग्रह गरे ।

उनले भने,“नेकपा एमालेको ९ औं महाधिवेशनले चुनेको केन्द्रीय कमिटीको बैठक हुन्छ । त्यो बैठकले अस्ति थपिनुभएका साथीहरुलाई नै फेरि थपेर विस्तारित कमिटी बनाउँछ । अब केही हुँदैन । तर लय र स्टेप मिलाउनका लागि नेकपा एमालेको पहिले केन्द्रीय कमिटीको बैठक हुन्छ । केन्द्रीय नेताहरुलाई बैठकमा बोलाइन्छ । नआउने अब अन्तैतिर जान्छु भन्ने पनि निस्केलान् निस्के भने पनि कोहीवात छैन जानुहुन्छ । ”

उनले नेकपा एमाले सूर्य चिन्हसहित सबैलाई समेटर अगि बढ्ने बताए । छिनछिनमा सरकार बदलिने, हेरफेर भइरहने कुरा भयो भने मुलुकमा अस्थिरता पैदा हुने र त्यसले समग्र आर्थिक र विकासको गतिलाई प्रभाव पार्ने भएकाले आफूहरुले त्यसो गर्न हुँदैन भन्ने अडान राख्दा पार्टीभित्रैबाट अहसहयोग भएको दाबी उनले गरे । प्रधानमन्त्री केपी ओलीको नाममा भोट मागिएको र ओलीलाई नै जनताले विश्वास गरेकाले उनको विकल्प खोज्ने विषय अस्वभाविक भएको तर्क उनले गरे ।

उनले प्रतिनिधिसभा पुनर्स्थापनासँगै मुलुकमा अस्वभाविक क्रियाकलाप हुन थालेको र त्यस्ता घिनलाग्दा काम नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रैका नेताहरुबाट भइरहेको दाबी गरे ।

प्रकाशित : फाल्गुन २४, २०७७ १९:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×