मेलम्चीको सुखद संकेत

सम्पादकीय

भनाइ नै छ, ‘कहिल्यै नहुनुभन्दा त ढिलै भए पनि वेश ।’ लामो सपना र प्रतीक्षापछि भए पनि मेलम्चीको पानी काठमाडौंमा आइपुग्नु राजधानीवासीका लागि यस्तै हर्षको विषय हो । विभिन्न कारणले यो आयोजना निर्धारित समयभन्दा धेरैपछि सम्पन्न भए पनि तीन दशकभर उपत्यकावासीले निरन्तर देखेको एउटा सपना पूरा हुनु आफैंमा ठूलो उपलब्धि हो ।

मेलम्चीको सुखद संकेत

यस अवसरमा यो आयोजनाको अवधारणालाई मूर्त रूप दिनेदेखि निर्माणका क्रममा देखिएका अप्ठ्याराहरूलाई पन्छाउँदै यसलाई अघि बढाउन भूमिका खेल्ने नेतृत्व गणलगायतका सम्बन्धित सबै जना यतिबेला बधाईका हकदार छन् । अब ढिला नगरी उपत्यकावासीले यो सफलताको अनुभूति घरघरमा गर्न पाउने परिस्थिति निर्माण गर्नुपर्छ । किनभने, मेलम्ची सुखको मूल उत्सव त्यतिबेला मात्र मनाइनेछ, जतिबेला उपत्यकाका घरघरका धाराहरूमा त्यहाँको पानी खस्न थाल्नेछ । यसका लागि, सम्बद्ध पक्षले पानी वितरणलगायतका सम्पूर्ण तयारी यथासमयमै समुचित ढंगले गर्नुपर्छ ।

सुरुङ परीक्षणका लागि शनिबार सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झारिएको मेलम्चीको पानी अबको केही साता सिधै वाग्मती नदीमा पठाइनेछ । गत फागुन ११ मा अम्बाथानस्थित हेडवर्क्सबाट २६.५ किलोमिटर लामो सुरुङमा पानी प्रवेश गराइएको थियो । सुरुङ परीक्षणका क्रममा तीनवटै ‘अडिट’ मा सामान्य चुहावटबाहेक ठूलो समस्या नदेखिएको बताइएको छ । विभिन्न खण्डमा देखिएका ती समस्याको तत्काल समाधान गर्न आयोजनाले ध्यान दिनुपर्छ । यसअघि गत असारमा परीक्षण गर्दा हेलम्बु–१, अम्बाथानस्थित मुहानस्थलको गेट नम्बर १७ फुटेको थियो । त्यसपछि सरकारले परामर्शदाता नियुक्त गरेको जर्मनीको फिसनर कम्पनीले सुरुङको अवस्थाबारे बुझी जोखिम नभएको प्रतिवेदन दिएपछि पुनः परीक्षण थालिएको हो । अबका दिनमा पनि त्यस्तो कुनै समस्या नआओस् भन्नेतर्फ आयोजना सतर्क रहनुपर्छ ।

सुरुङको परीक्षण सम्पन्न भएपछि वैशाख दोस्रो सातादेखि ग्राहकको धारामा मेलम्चीको पानी नियमित वितरण गर्ने तयारी छ । सुन्दरीजलस्थित केन्द्रबाट प्रशोधन गरिएको पानी विभिन्न पोखरीमा पठाइनेछ । र, ती पोखरीबाट विभिन्न शाखा लाइन हुँदै घरघरमा पानी पुर्‍याइनेछ । अहिलेसम्म १ लाख १० हजारभन्दा बढी नयाँ धारा जडान भइसकेका छन् । २ लाख २५ हजार पुरानै धारा छन् । यस अवधिमा मुख्य तथा शाखा पाइपलाइनका अतिरिक्त, जडान भएका धाराको अवस्था पनि परीक्षण गर्नुपर्ने छ । कतै चुहावट पाइएमा तिनको चुस्त मर्मत गरिसक्नुपर्नेछ ।

उपत्यकाको खानेपानी संकट टार्न यो आयोजनाको ठूलो भूमिका हुन्छ । यहाँ दैनिक करिब ४० करोड लिटर खानेपानी माग छ । तर निजी क्षेत्रबाट समेत गरी मागको एक तिहाइ जतिमात्रै पानी वितरण भइरहेको छ । यस्तो अवस्थामा मेलम्चीको पानीले ठूलो राहत दिन सक्छ । वितरण गर्न थालिएपछि तत्काल दैनिक १७ करोड लिटर पानी आउने बताइएको छ । सुक्खायामका चार महिनामा यतिमात्रै पानी आउने भए पनि अरू बेला अझ धेरै उपलब्ध हुन सक्छ । तर, अहिलेसम्म १७ करोड लिटरका लागि मात्रै प्रशोधन प्रणाली छ, जुन क्षमताले सबै याममा धान्दैन । त्यसैले आवश्यक पानी प्रशोधन केन्द्र र पोखरीहरू निर्माण कार्य तीव्रताका साथ अघि बढाउनुपर्छ । यी सबै कार्यहरू गर्दा अलि लामो अवधिसम्मका लागि दृष्टि पुर्‍याउनुपर्छ । सुन्दरीजलदेखि महांकालसम्म बिछ्याइएको पाइपले पानीको चाप नथेग्ने भएकाले अहिले फेरि थप पाइप बिछ्याउनुपर्ने आवश्यकता आइसकेको तथ्यबाट आयोजनाले पाठ सिक्नुपर्छ । र, यस्ता प्राविधिक त्रुटि फेरि दोहोरिन दिनु हुँदैन ।

हालकै पद्धतिले मेलम्चीको पानी व्यवस्थापन गर्न कठिन हुने विज्ञहरूको टिप्पणीलाई सम्बद्ध अधिकारी तथा निकायहरूले गम्भीरतापूर्वक लिनुपर्छ । र, सम्पूर्ण व्यवस्थापन तयारी समयमै गरिसक्नुपर्छ, ताकि भोलि पानी वितरणमा कुनै व्यवधान नआओस् । यसबाहेक, उपत्यकामा बढ्दो जनसंख्याका कारण सरकारले अरू दुइटा खोला याङ्ग्री र लार्केको पानी ल्याउने कामलाई पनि यथाशीघ्र अघि बढाउनुपर्छ । यी दुवै खोलाबाट थप ३४ करोड लिटर पानी थप्न सकिन्छ । यो काम समयमै गर्न सकिएमा काठमाडौंवासीले लामो अवधिसम्म काकाकुल जिन्दगी जीउन बाध्य हुनुपर्दैन ।

प्रकाशित : फाल्गुन २४, २०७७ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?