कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

कहाँ पुग्यो हाम्रो पहिचानको यात्रा ?

पुरुषको श्रेष्ठता क्षमतामा र महिलाको सौन्दर्यमा नापिने विभेदकारी संस्कृति आज पनि उस्तै छ । उदाहरणका लागि, बिहेको प्रसंगमा ‘केटाले के गर्छ ?’ भनेर सोधिन्छ भने ‘केटीलाई कस्ती छ ?’ भनेर हेरिन्छ । के यो महिला र पुरुषको योग्यता नाप्ने भिन्न मापदण्ड होइन र ? 
साधना प्रतीक्षा

विद्यावारिधि अनुसन्धानको अन्तिम चरणमा पुगेकी एक मित्रले भनेकी थिइन्, ‘यो काम सम्पन्न भएको दिन त म ढोका थुनेर नजानी–नजानी पनि मज्जाले नाच्छु ।’ अनुसन्धान कार्यका विभिन्न चरणका प्रक्रियामा विज्ञहरूका जुँगाको लडाइँका कारण आफूले खेप्नुपरेको सास्तीका कारण उनले त्यसरी दुखेसो पोखेकी थिइन् ।

कहाँ पुग्यो हाम्रो पहिचानको यात्रा ?

उनको त्यो चाहना पितृसत्तातमक मूल्यभित्र युगौंदेखि जकडिएका महिलाहरूको उन्मुक्तिको कामना हो जुन अझै पनि पूर्वाग्रही पुरुषदृष्टिका कारण कुण्ठित नै छ । पितृसत्तात्मक मूल्यले महिलालाई त्यस्तो पन्छी बनाएको छ जसलाई पहिला पखेटा काटिन्छ अनि उडान प्रतियोगितामा सहभागी गराएर ‘अक्षमता’ को टाँचा लगाइन्छ ।

महिलाको शैक्षिक अवस्थाकै कुरा गर्दा, केही अपवादबाहेक साना स्कुलेनानीहरूसमेत पढाइमा मात्र केन्द्रित हुन पाउँदैनन् । घरधन्दामा सघाउनुका साथै भाइ वा बहिनीको जिम्मेवारी लिँदै उनीहरू त्यसबाट उब्रेको समयमा मात्र पढ्ने गर्छन् । उच्च शिक्षाको अवसरसम्म पुगेकाहरूको व्यथा पनि कम मार्मिक हुँदैन । टाढा किन जानु ! आफ्नै कक्षाका छात्राहरूले घरव्यवहार तथा बालबच्चाको जिम्मेवारी पूरा गरेर बचेको समयमा पढ्न आएको सुनाउँदा कताकता मन चसक्क हुन्छ किनकि त्यही बाध्यात्मक परिवेशमा उनीहरूको सिकाइ अल्झिरहेको हुन्छ । शोधपत्र अन्तिम समयसम्म पनि पूरा गर्न नसकी कसैले गर्भमा त कसैले काखमा नानी लिएर लाचारीका साथ शोधनिर्देशकसँग अनुनय गरिरहेका दृश्यहरूले बराबरीको सिद्धान्तलाई उपहास गरिरहेको हुन्छ ।

विद्यावारिधिकै सन्दर्भमा पुरुषलाई ‘डार्साब’ र महिलालाई ‘फलानाकी स्वास्नी’ को पहिचान दिने हाम्रो पुरुषप्रधान समाजमा मेरी ती साथीजस्ता असंख्य महिला शोधार्थीहरूले अनगिन्ती मानसिक उत्पीडन खेपिरहेका छन् । एकातिर पारिवारिक दायित्व निर्वाह, अर्कातिर पेसागत जिम्मेवारी । यी दुवैका बीचबाट उनीहरूले आफ्नो प्राज्ञिक पहिचानका लागि पाइला चालिरहेका हुन्छन् तर पनि विज्ञहरूका पुरुष नजरले उनीहरूमाथि सहानुभूति राखेर प्रोत्साहित गर्नुसट्टा हतोत्साही गराइरहेका हुन्छन् । पुरुषश्रेष्ठताका उदाहरणले महिलाका उच्चाकांक्षामाथि तुषारापात गरिरहेको हुन्छ । स्वतन्त्रता र समानताको मागसहित अस्तित्व र पहिचानको यात्रामा महिलाहरू अग्रसर भएको दुई शताब्दी भइसक्दा पनि सो यात्रा पितृसत्ताकै जालोमा अल्झिरहेको विडम्बनामा छौं हामी ।

घरको चारभित्ता पार गरेर बाहिरी संसारमा सरिक हुने महिलाका पीडा बेग्लै छन् । पुरुषकी अर्धांगिनी होइन, स्वयं पूर्णांगिनी बन्ने अनि पुरुषको पहिचानको खोलबाट निस्केर आफ्नै स्वतन्त्र पहिचान बनाउन चाहने महिलाका भोगाइ भिन्दै छन् । शारीरिक तथा मानसिक थकानका कारण सुस्केरासम्म हाल्न पाउँदैनन् उनीहरू किनकि पुरुष–आवाज यसरी कटाक्ष गर्न आइपुग्छ, ‘कसले भनेको थियो र ?

आफैंले बेसाएको दुःख त हो नि ।’ धन्य पुरुष, तिम्रो उदारता ! उनीहरूको थकित काँध थपथपाएर हौसला दिनु, घरेलु भूमिकामा थोरै भए पनि साझेदारी गर्नु त कता हो कता, उल्टै काखी बजाउने गरिन्छ । कर्तव्य र दायित्वको दोहोरो–तेहरो भूमिकामा महिलाको अस्तित्व र पहिचानको यात्रा झन्झन् कठिन बन्दै जाने गर्छ ।

पितृसत्ता महिलाका लागि जति उत्पीडनकारी छ, त्योभन्दा कम उत्पीडक छैन पितृसत्तात्मकता जसले महिला स्वयंलाई पितृसत्ताको पृष्ठपोषक बनाउने गर्छ । त्यसैले त हाम्रो पहिचानको यात्रा पुरुषप्रधान संस्कृतिकै सेरोफेरोमा अल्झिरहेको छ । युगौँदेखि महिलालाई भोग्या तथा आफ्नो मनोरञ्जनको साधन बनाउँदै आएको यो संस्कृतिले समयसापेक्ष आफूलाई परिवर्तित गर्दै आएको छ । रूप परिवर्तित भए पनि अन्तर्वस्तु उही भएको पुरुषप्रधान संस्कृतिको ललिपपमा कतै हाम्रो पहिचान हराइरहेको त छैन ? खोजीको विषय बन्नुपर्छ अब किनकि पुरुषको श्रेष्ठता क्षमतामा र महिलाको सौन्दर्यमा नापिने विभेदकारी संस्कृति आज पनि उस्तै छ । उदाहरणका लागि, बिहेको प्रसंगमा ‘केटाले के गर्छ ?’ भनेर सोधिन्छ भने ‘केटीलाई कस्ती छ ?’ भनेर हेरिन्छ । के यो महिला र पुरुषको योग्यता नाप्ने भिन्न मापदण्ड होइन र ?

पुरुष गमक्क पर्छ आफ्नो सामर्थ्य र योग्यतामा अनि महिला मक्ख पर्छे अझै पनि नाशवान् सौन्दर्य र जवानीमा । पुरुष नारीदेहलाई मनोरञ्जनको साधन बनाउन चाहन्छ र त उनीहरूका लागि आफ्नो रुचिअनुसारको सौन्दर्य प्रसाधनका सामग्री बनाउने गर्छ । उग्र नारीवादी केट मिलेटले ‘सेक्सुअल पोलिटिक्स’ मा भनेजस्तै पितृसत्तामा महिलाका बारेमा व्याख्या गर्ने प्रतीकहरू पुरुषनिर्मित छन् । महिलाछविको निर्माण र उनीहरूको आवश्यकताअनुसार उपयुक्त फेसन पनि पुरुषले नै बनाएका हुन्छन् । यस्तै पितृसत्ताभित्रको पुँजीवादी संस्कृतिले महिलाको सौन्दर्य प्रतियोगिता गराएर आफ्नो व्यापार बढाउने गर्छ । विडम्बना, हामी महिला सोही ताज पहिरेर आफूलाई ब्रह्माण्डविजेता ठान्छौं । यो नै हाम्रो सबैभन्दा ठूलो कमजोरी हो ।

पितृसत्ता अत्यन्त चतुर छ । युगौंदेखि उसले अति चतुरताका साथ महिलाबाट उसको सत्ता हत्याएको हो । त्यसैले त ऊ महिलाको बौद्धिक उन्नयनमा सदा बाधक बन्ने गर्छ । ऊ चाहँदैन आफ्नो विरासतमा महिलाले पनि दाबी गरोस् । महिलामाथि नियन्त्रण कायम राख्न पुरुषले प्रथमतः उसको बाटोभरि प्रशंसाका फूलहरू छरिदिन्छ ताकि मक्ख भएर महिलाले आफ्नो गन्तव्य बिर्सियोस् । त्यसबाट मोहित नहुने महिलाको बाटामा त्रासका काँडाहरू छरिन्छन् ताकि ऊ भयभीत भएर फर्कियोस् र आत्मसमर्पण गरोस् । त्यसबाट पनि नडग्नेहरूका लागि त पुरुषसत्ताले निषेधको नीति अवलम्बन गर्न बाँकी राख्दैन । अनेक बाधा, व्यवधान र परिबन्दहरू पार गरेर पुरुषसत्ताले स्थापित गरेका मूल्यमान्यता भञ्जन गर्दै महिलाले आफ्नो स्वतन्त्र पहिचान स्थापित गर्नु भनेको फलामको चिउरा चपाउनुभन्दा कम छैन ।

अधिकांश महिलाको गुनासो हुन्छ— ‘मेरा श्रीमान्ले ब्युटिपार्लर तथा सपिङ जान कहिल्यै रोक्नुहुन्न र जति खर्च गरे पनि केही भन्नुहुन्न तर सभासम्मेलन वा कुनै कार्यक्रममा जानै दिनुहुन्न,’ ‘लुगा, गहना र शृंगारका सामान जति पनि किनिदिनुहुन्छ तर किताब किन्ने कुरा गरें भने उहाँको मुडै बिग्रन्छ ।’ यस्तै, साहित्यमा रुचि राख्ने एक महिलाको दुखेसो पनि कम मार्मिक छैन, ‘मुस्किलले समय निकालेर लेख्ने गर्छु । किताब प्रकाशित गर्ने कत्रो धोको छ तर उहाँले गहना कति चाहिन्छ भन्, किताबका कुरा नगर्, अनुत्पादक काम भनेर ठाडै अस्वीकार गर्नुहुन्छ ।’ महिलाको पहिचान पुरुषका लागि अनुत्पादक नै बन्ने गर्छ किनकि यस्ता महिलाबाट उनीहरूको सत्तामाथि सदा खतराको घण्टी बज्ने गर्छ ।

पितृसत्ताको यस्तो रणनीति नबुझेर कतिपय महिला उनीहरूको आज्ञाकारी अनुयायी बनेर महिलामाथि नै जाइलागेको देख्दा विगतमा कैयौं महिलाले संघर्ष गरेर स्थापित गरेको पहिचानको सन्दर्भ नै निरर्थक लाग्ने गर्छ । नारीत्व र पुरुषत्व जन्मजात नभएर समाजनिर्मित हो भन्ने चर्चित नारीवादी विचारक सिमोन दी बुभायरले महिलाको शरीर तथा सौन्दर्यप्रतिको पुरुषवादी सोचलाई भत्काउनुपर्ने धारणा राखेकी छन् । ६८ वर्षको उमेरमा एलिस स्वेर्जरसँग कुराकानी गर्दै उनले आफू एक बौद्धिक महिला भएको हुँदा आफ्ना असली हतियार आफ्नै शब्द हुन् भनेकी छन् । पितृसत्ताले स्थापित गरेको शाश्वत स्त्रीत्वसम्बन्धी धारणालाई भ्रम मान्ने उनको भनाइअनुसार पितृसत्ताका अनुयायी तथा जानी–नजानी पुरुषअनुकूल हुने महिलाले पुरुषले बनाएको खेल खेल्दै ज्ञान र सत्यबाट टाढा रहेर पुरुषलाई महिलामाथि शोषण गर्ने अनुमति दिइरहेका हुन्छन् । उनको यस्तो धारणा अहिलेसम्म पनि वास्तविकताको नजिक देखिन्छ ।

आजसम्म पनि पहिचानतर्फको हाम्रो यात्रा कतै अल्झिरहनुमा सत्ता, शक्ति र अवसरहरूमा महिलालाई पुग्नै नदिएर उनीहरूलाई आफ्नो समकक्षी हुनै नदिने पितृसत्तात्मक खेल नै जिम्मेवार देखिन्छ । यही खेलमा बाँडिएका रंगीन खेलौनामा लोभिएर आफू हुनुको अस्तित्व बिर्सने नारी मानसिकता पनि दोषमुक्त छैन । त्यसैले यी दुवै प्रवृत्तिको अन्त्य नभएसम्म हामी जति हिँडे पनि कतै पुग्न सक्नेछैनौं । जति उडे पनि पुरुषले ओगटेको आकाशमाथि निर्बाध फैलन सक्ने पनि छैनौं । पितृसत्ताको भूलभुलैयामा केवल दौडिरहनेछौं, मात्र दौडिरहनेछौं ।

प्रकाशित : फाल्गुन २३, २०७७ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?