कोरोना–खोप ढुक्कले लगाऔं- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना–खोप ढुक्कले लगाऔं

शरीरमा रोगविरुद्ध लड्ने क्षमता विकास हुँदा केही साइड इफेक्ट देखिनु स्वाभाविक हो ।त्यस्ता लक्षणहरू अरू रोगविरुद्ध लगाइने खोपमा पनि देखिन्छन् ।
दिनेश न्यौपाने

विश्वमा करिब ११ करोड व्यक्तिहरू कोरोना भाइरसले संक्रमित भइसकेका छन् र २५ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि २ लाख ७४ हजार संक्रमित भइसकेको र तीमध्ये करिब २ हजार ७ सय जनाले ज्यान गुमाएको तथ्यांक छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौं उपत्यकाभित्रका स्वास्थ्यकर्मीहरूमा गरिएको अनुसन्धानमा करिब ४५ प्रतिशत पहिले नै संक्रमित भइसकेको तथ्यांक सार्वजनिक गरेको छ । स्वास्थ्यकर्मीहरू आफ्नो स्वास्थ्यबारे बढी जानकार हुने भएकाले जनमानसमा संक्रमति हुनेहरूको संख्या योभन्दा ठूलो हुन सक्ने अनुमान गर्न सकिन्छ । सायद यसैले पनि, हाम्रो आकलन अनुसार, नेपालमा पछिल्लोपटक भएका सभा–जुलुसहरूका कारण कोरोनाका संक्रमितहरू ह्वात्तै नबढेको हुन सक्छ । साथै पछिल्लोपटक परीक्षणमा आएको सुस्तताले पनि संक्रमितहरूको यकिन तथ्यांक पत्ता नलागेको हुन सक्छ । संक्रमितहरूको ठूलो संख्या परीक्षणमार्फत पत्ता लगाउन नसकेकाले मृतकको संख्या पनि धेरै हदसम्म छुटेको हुन सक्ने यथार्थलाई पनि नकार्न सकिन्न । जे–जस्तो अवस्थामा भए पनि कोरोना भाइरस मानवजगत्का लागि ठूलो समस्या हो । अहिलेसम्म औषधि पत्ता नलागे पनि खोपको आविष्कारले सारा विश्व उत्साहित बनेको छ ।

नेपालले पनि धेरैले अनुमान गरेभन्दा छिटो भारत सरकारको सहयोगमा खोप प्राप्त गरेको छ भने, चीन सरकारले पनि कोरोना खोप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । विकसित देशहरू आफ्ना नागरिकका लागि मात्र खोपको जोहो गर्न लागिपरेकामा विश्वव्यापी रूपमा चर्को आलोचना जारी छ । फलस्वरूप कोभ्याक्सले केही गति लिएको छ । अफ्रिकी मुलुक घाना कोभ्याक्समार्फत खोप पाउने पहिलो राष्ट्र बनेको छ । नेपालले पनि छिटै कोभ्याक्समार्फत खोप पाउने अनुमान गर्न सकिन्छ ।

यसका साथै नेपाल सरकार आफैंले पनि खोप खरिद प्रक्रिया अगाडि बढाएको छ । यही प्रगति निरन्तर राखिराख्यो भने नेपालले ठूलै संख्यामा खोपको मात्रा भित्र्याउने देखिन्छ । तर खोपको जोहोले मात्र पुग्दैन, यससम्बन्धी व्याप्त भ्रमहरू चिर्नु एकदमै जरुरी छ । कोरोनाले एक वर्षभन्दा बढी सारा विश्वलाई असर गरिरहँदा पनि हाम्रो समाज कोरोना भाइरससम्बन्धी असत्य, कपोलकल्पित र मनगढन्ते कुराहरूले आक्रान्त छ । यसको प्रभाव खोपमा पनि परेको जस्तो देखिन्छ । पहिलो चरणमा परेका स्वास्थ्यकर्मी र शिक्षित भनिने वर्ग नै खोप लगाउन हिचकिचाउनु ठूलो चिन्ता र चासोको विषय हो । यही दिशातिर गइराख्यौं भने यसले कतै अरू राष्ट्रिय खोप कार्यक्रममा पनि दूरगामी असर त पार्दैन ? कतै हामीले अहिलेसम्म प्राप्त गरेका जनस्वास्थ्यका उपलब्धिहरू त गुम्दै जाने होइनन् ? नेपालका सन्दर्भमा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत अहिलेसम्म खोपको कभरेज धेरै राम्रो छ । नेपालमा ८० प्रतिशतभन्दा धेरै पाँच वर्षमुनिका बच्चाले राष्ट्रिय कार्यक्रममा भएका सबै खोप पाउने गरेका छन् ।

खोप जनस्वास्थ्यका कार्यक्रमहरूमध्येको एउटा प्रभावकारी र कम लागतमा उच्च प्रतिफल दिने कार्यक्रम हो । खोप कार्यक्रममार्फत कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूले पनि ठूलो प्रगति हासिल गरेका छन् । बिफरको उन्मूलन र पोलियो उन्मूलनको संघारमा पुग्नु खोप कार्यक्रमकै देन हो । खोपको अनुसन्धान त्यति सजिलो हुँदैन । यसमा विभिन्न वैज्ञानिक चरण पार गरेर मात्र मानिसमा परीक्षण गरिन्छ । मानिसमा परीक्षण गर्नुअघि यो कति सुरक्षित र प्रभावकारी छ भनेर विभिन्न आयाममा विश्लेषण र अनुसन्धान गरिन्छ । अनुसन्धानमा सफलता पाएपछि अमेरिका, युरोप लगायतका सम्बन्धित नियमन निकायहरूले अनुमति दिनुपर्छ । त्यसरी अनुमति पाउने प्रयामा धेरै चरण पार गर्नुपर्छ । लगाउन सुरु भएपछि पनि यसले केकस्तो प्रभाव र असर गर्छ भनेर धेरै वैज्ञानिकले निरन्तर अध्ययन र अनुसन्धान गरिरहेका हुन्छन् ।

खोपको विकास हाम्रो स्वास्थ्यका लागि गरिन्छ र बजारमा आउनुअघि खोप सुरक्षित बनाउनका लागि हदैसम्मको प्रयास गरिन्छ । शरीरमा रोगविरुद्ध लड्ने क्षमता विकास हुँदाखेरि केही साइड इफेक्ट देखिनु स्वाभाविक हो । त्यस्ता लक्षणहरू अरू रोगविरुद्ध लगाउने खोपमा पनि देखिन्छन् । तर ती असरहरू रोग लाग्दा देखिने असरहरू — जसमा मृत्यु पनि हुन सक्छ — भन्दा धेरै गुणा कम हुन्छन् । कतिपय अवस्थामा खोपले भन्दा अरू कारणले असर देखिए पनि खोपले नै भनेर भ्रम पर्न सक्छ । त्यो केवल संयोग मात्रै हुन सक्छ । अहिलेसम्म कोरोनाको खोपकै कारण कसैको मृत्यु भएको र खोप कार्यक्रम नै स्थगित गर्नुपर्ने अवस्था आएको छैन ।

त्यस्तो सम्भावना भएका खोपहरूले अनुमति पनि पाउँदैनन् । कथङ्कदाचित् त्यस्तो अवस्था आयो भने खोप लगाउने कार्यक्रम तत्काल बन्द गरिन्छ । त्यसैले आधुनिक विज्ञानलाई विश्वास गरौं, दिनरात नभनी हाम्रा लागि खोप बनाउन खट्ने वैज्ञानिकहरूप्रति कृतज्ञ बनौं । ढुक्कले कोरोना भाइरसविरुद्धको खोप लगाऔं र अरूलाई पनि लगाउन उत्प्रेरित गरौं । कोरोनाको खोपसँगै व्यक्तिगत सुरक्षाका मापदण्ड पनि पालना गरौं र कोरोना भाइरसलाई जतिसक्दो छिटो परास्त गरौं ।

(न्यौपाने जोन हप्किन्स विश्वविद्यालयमा जनस्वास्थ्यविद्का रूपमा कार्यरत छन् ।)

प्रकाशित : फाल्गुन २१, २०७७ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्

अंग्रेजीको हाउगुजी

सुनीता गाइसी

मानिसले आफ्नो जीवनलाई सहज बनाउन भाषाको विकास गरेको हो । आफ्ना मनका कुराहरू अर्को व्यक्तिलाई सहजै बताउन र बुझाउन भाषाको प्रयोग गरिन्छ । आधुनिकताको लहरसँगै नेपालमा पनि अन्तर्राष्ट्रिय भाषाहरूको प्रभाव बढ्दै गएको छ ।

विश्वसमुदायलाई बुझ्न, त्यहाँका वस्तुस्थति थाहा पाउन पनि अन्तर्राष्ट्रिय भाषा सिक्न आवश्यक छ । यसो भन्दैमा नेपाली भाषा कमजोरहरूले मात्र बोल्छन् भन्ने होइन । नेपाली समाजमा अंग्रेजी बोल्नेहरूलाई विद्वान् ठानिन्छ । हाम्रो शैक्षिक प्रणालीले पनि अंग्रेजी भाषालाई प्राथमिकता दिन्छ । विद्यालयहरूले नयाँ भर्नाका लागि विज्ञापन दिँदा ‘अंग्रेजीमा पढाइन्छ’ भन्ने बुँदा राखेकै हुन्छन् । प्रतिस्पर्धाको दुनियाँमा टिक्न विद्यालयहरूले यस्ता नाराहरू बनाउने गरेका छन् ।

हालैको भेटघाटमा मेरी एक साथीले आफू अंग्रेजीमा कमजोर हुँदा भोग्नुपरेको कठिनाइ सुनाइन् । उनले कुनै संस्थाको कार्यक्रममा बोल्नुपर्ने थियो । उनीभन्दा अघिका वक्ताहरूले अंग्रेजीमा प्रस्तुति दिएका रहेछन् । उनले भने अंग्रेजी र नेपाली मिसाएर कनीकुथी बोलिछन् । उनले भन्न खोजेको कुरा अरूको तुलनामा कमजोर थिएन, तैपनि अरू सहभागीले उनले बोलेको कुरामा टिप्पणी गर्नुभन्दा पनि अंग्रेजीमै प्रस्तुति दिनुपर्थ्यो भनेछन् । भाषा माध्यम मात्र हो । हो, हामीले आफ्नोबाहेक अन्य भाषा आवश्यकताअनुसार बुझ्न र बोल्न जरुरी छ तर त्यसो भन्दैमा अंग्रेजी बोल्न जान्ने मानिस बढी जान्ने भन्न अलि नमिल्ला कि !

एसईई, प्लस टु, स्नातक वा अन्य तहको नेपाली विषयबाहेकको परीक्षामा अंग्रेजीमा लेखे बढी नम्बर आउने विद्यार्थीहरू सुनाउँछन् । कतिपय शिक्षकले नेपालीको तुलनामा अंग्रेजीमा लेखिएका उत्तरहरूलाई बढी नम्बर दिने गरेका छन् । नेपालीमा राम्रै लेखे पनि कम नम्बर पाएको गुनासो विद्यार्थीहरूले सधैं गर्छन् । लोक सेवा वा त्रिवि सेवा आयोगका परीक्षामा समेत अंग्रेजीमा सामान्य उत्तर लेखे पनि पास भइन्छ भन्ने सुनिन्छ । यसैले गर्दा ग्रामीण भेगबाट आएका विद्यार्थीहरू सहरी परिवेशमा आफूलाई कमजोर महसुस गर्न पुग्छन् । सहरमा वर्षको लाखौं खर्च गरेर पढेका विद्यार्थीहरू र गाउँमा घाँसदाउरा गर्दै पढेकाहरूबीच केही फरक त भै नै हाल्छ । नेपालमा कुल जनसंख्याको ठूलो हिस्सा अझै गाउँमै बस्छ । गाउँका विद्यालयको संरचना र पढाइ सहरका निजी विद्यालयको तुलनामा कमजोर छ ।

शिक्षा देश विकासको आधार हो । सरकारले सबैले सहज, सरल र गुणस्तरीय शिक्षा पाउन क्षेत्रगत आधारमा विशेष नीतिनियम ल्याउनु जरुरी छ । ग्रामीण र सहरी क्षेत्रमा एउटै पाठ्यक्रम भए पनि फरक–फरक भाषामा पढाइन्छ । नेपालीमा पढेर सहर आएकाहरूलाई भाषाकै कारण यहाँको समाजमा घुलमिल हुन गाह्रो भइरहेको हुन्छ । त्यस्तै सहरका भन्दा ग्रामीण परिवेशमा हुर्केका बालबालिकामा आदर, सत्कार, मेलमिलाप र सहयोगको भावना बढी पाइन्छ ।

अंग्रेजी फरर बोल्न जान्ने तर व्यावहारिक जीवनका धेरै पक्ष थाहा नभएकाहरू पनि धेरै छन् । सहर र आर्थिक रूपमा सम्पन्न परिवारमा हुर्केकाहरूले मोबाइल, इन्टरनेट, कम्प्युटर चलाउन पोख्त हुन्छन् र देश–विदेशका घटनाहरूका बारे पनि छिटै जानकारी पाउँछन् । तर आफ्नै भाषा–संस्कृतिका राम्रा कुराहरू भने त्यति थाहा पाउँदैनन् । आजकल हाम्रो समाज आधुनिकताको लहरमा यतिसम्म बहकिसक्यो कि, विदेशी चाडपर्व आउनु महिनौंअघि सहर–बजारमा चहलपहल देखिन्छ । महिनौंअघिदेखि नै होटल, रेस्टुराहरूले ‘डिस्काउन्ट अफर’ हरू झुन्डिएका हुन्छन् । यसरी अंग्रेजीमोह र विदेशी चाडपर्वप्रतिको लगावका कारण हाम्रा चाडपर्वहरू ओझेलमा पर्दै गएका छन् । हाम्रो भाषा–संस्कृति लोप हुने अवस्थामा छ । यदि हाम्रो चाडपर्व, वेशभूषा दिन–प्रतिदिन यसरी नै ओझेलमा पदै जाने हो भने हाम्रो अस्तित्व नै नरहन पनि सक्छ । त्यसैले पहिचान जोगाउन हामी हरदम तत्पर हुनुपर्छ ।

ग्रामीण क्षेत्रबाट सहर पसेकाहरूलाई अंग्रेजी हाउगुजी नै बन्ने गरेको छ । उनीहरूलाई विद्यालय, क्याम्पस वा कार्यालयमा अंग्रेजी राम्रोसँग नजान्दा अप्ठ्यारो पर्ने गरेको छ । आजकल जति नै गरिब भए पनि बुबाआमाको सपना छोराछोरीलाई अंग्रेजी भाषा फरर बोल्न सिकाउने विद्यालयमा पठाउने हुन्छ । यसैलाई बुझेर निजी विद्यालयहरूले अंग्रेजी माध्यममा पढाइदिन्छु भनेर अनावश्यक निकै शुल्क उठाउने गरेको पाइन्छ । यस्ता गतिविधिहरूलाई नियन्त्रण गर्नतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ । अंग्रेजी माध्यमको ‘ट्याग’ लगाएर अभिभावकलाई बढी शुल्क तिर्न बाध्य पार्नु हुन्न ।

(गाइसी समाजशास्त्र अध्यापन गर्छिन् ।)

प्रकाशित : फाल्गुन २१, २०७७ १०:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×