प्रधानमन्त्रीको मनोदशा- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको मनोदशा

हृदयको दृष्टि प्रस्ट हुनेले आफ्नो ब्रह्मको आदेशको अनुपालन गर्छ । दृष्टि प्रस्ट नहुने ब्रह्मका खिलाफ उभिन्छ र आफ्नै अवमूल्यन गर्दै आफैं ठूलो पल्टिन्छ ।
प्रधानमन्त्री ओलीले अब पुनःस्थापित प्रतिनिधिसभासमक्ष आफूले अहंकारवश सभा विघटन गरेको स्विकार्दै माफ माग्नुपर्छ र नयाँ राजनीतिक समीकरणका लागि मार्गप्रशस्त गरिदिनुपर्छ ।
श्रीकृष्ण अनिरुद्ध गौतम

प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला भएलगत्तै खड्गप्रसाद शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएर राजनीतिलाई अर्को चरणमा प्रवेश गराउन मार्गप्रशस्त गर्नेछन् भन्ने कतिपयले अपेक्षा गरेका थिए । तर त्यस्तो भएन । उनले राजीनामा दिन्छन् र मुलुकलाई अनिर्णयको बन्दी बन्नबाट जोगाउँछन् भन्ने उनकै कतिपय शुभचिन्तकका अनुमान र अपेक्षा दुवै अर्थहीन भए ।

उनी आफैंले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापित हुँदा नैतिकताका आधारमा राजीनामा दिनुपर्छ नभन्ने त सवालै उपस्थित हुँदैन । धेरैले भने, पुष्पकमल दाहालदेखि पम्फा भुसालसम्मले । उनी एकरत्ती नैतिक दबाबमा नपरेको प्रशस्तै प्रतिक्रिया आए । त्यस्तो प्रतिक्रिया दिनेले के बुझेनन् भने, नैतिक दबाब भनेको दाहाल, भुसाल, माधवकुमार नेपालले दिने दबाब होइन, आफ्नै ब्रह्मको आदेश हो । आफ्नै हृदयको दृष्टि हो । हृदयको दृष्टि प्रस्ट हुनेले आफ्नो ब्रह्मको आदेशको अनुपालन गर्छ । दृष्टि प्रस्ट नहुने ब्रह्मका खिलाफ उभिन्छ र आफ्नै अवमूल्यन गर्दै आफैं ठूलो पल्टिन्छ ।

उचित अवसरमा समुचित निर्णय भनेको हृदयको दृष्टिले देखेअनुसार गर्ने हो । मनोविज्ञान र विज्ञानका अरू विषयका समेत लेखक, स्तम्भकार डेनियल गोलमनले आफ्नो पुस्तक ‘इमोसनल इन्टेलिजेन्स’ को पहिलो अध्यायमा एउटा उद्धरणद्वारा भनेका छन्, ‘हृदयबाट जे देखिन्छ, त्यो सही हुन्छ । जे वास्तवमा देख्नुपर्ने हुन्छ, त्यो आँखाले देख्दैन, (हृदयले देख्छ) ।’ मनोविज्ञहरू मनभित्रका खुलदुली खोतल्छन् । मनोविज्ञहरूका अनुसार, जे तीव्रतापूर्वक हृदयद्वारा महसुस हुन्छ, त्यही हृदयले देख्नु हो र हृदयले देखाएको बाटो हिँड्नुपर्छ भन्ने मत रहन्छ । यसरी बुझ्दा के थाहा हुन्छ भने, ओलीले आफ्नो हृदयका आँखा खोलेनन् । अथवा भनौं, उनका भित्री आँखा खुलेनन् । भित्री आँखा अरूले खोलिदिएर खुल्ने होइनन्, आफैं खोल्नुपर्छ ।

नेतृत्वमा आध्यात्मिक गुण चाहिन्छ

माथिका हरफ देखेर लाग्न सक्छ, यस्तो राजनीतिक हलचलमा किन मनोविज्ञका दृष्टिकोण चाहियो ? तीखो विश्लेषण पो चाहिन्छ त । तर मनका हलचलको विषय उठान गर्दै लेख्नुको अर्थ छ । अर्थ के हो भने, राजनीति मान्छेले गर्छ र गर्दागर्दै धेरैजसो अवस्थामा ऊ पथभ्रष्ट हुन्छ । सत्तासँगै उसका विवेकका आँखा बन्द हुन्छन् । हुन त जुनसुकै काम गर्दा पनि भित्री आँखा खोलेरै गर्नुपर्छ भनिएको छ । त्यसो गर्दा मार्गच्युत हुने सम्भावना कम हुन्छ । राजनीतिमा यो भित्री आँखावाला आध्यात्मिक गुण अत्यन्तै महत्त्वपूर्ण हुन्छ किनभने यसमा एकातिर लोककल्याणका लागि कर्म गर्ने, आफूलाई उत्सर्ग गर्ने खुला अवसर हुन्छ भने अर्कातिर प्रलोभन, भ्रष्टाचार, ठगी र जालझेलको बाटो पनि प्रशस्त हुन्छ ।

दोस्रोतर्फ आकर्षित राजनीतिज्ञका आँखा केवल कुर्सीमा हुन्छन् । ऊ लाज–सरम सबै त्यागेर जथाभावी गर्न थाल्छ । फलस्वरूप राजनीति गर्दागर्दै ऊ हृदयको दृष्टि बन्द गरेर धृतराष्ट्र बन्न जाने सम्भावना प्रबल हुन्छ । त्यस्ता सम्भावना हुनेहरूमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली मात्र होइन, पुष्पकमल दाहाल, माधवकुमार नेपाल पनि पर्छन् अनि यहाँ शेरबहादुर देउवा र रामचन्द्र पौडेलको नाम पनि छुटाउन मिल्दैन । कसैलाई पनि पूरै अपवाद मान्न सकिँदैन । अदालतको फैसलापछि मार्गप्रशस्त गरिदिएर ओली त्यस्तो सम्भावनाबाट मुक्त हुन सक्थे, तर भएनन् ।

तथापि, यी आदि–इत्यादि नामका तुलनामा (केही अपवाद प्रसंगबाहेक) नेपाली कांग्रेसका पूर्वसभापति, संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको हृदयदृष्टि बलियो थियो र उनीपश्चात् त्यत्तिका उच्च आदर्शवान् नेता फेरि नेपाली धरतीले देख्न पाएको छैन । आज देखिएका धेरैजसोलाई लोभ र लालचले गाँजेको छ । अचम्म त के भने, प्रमुखहरूमा एकै जना पनि रिङबाहिर देखिँदैनन् । अर्को नजिर भेटिएको छैन । त्यसैले यिनीहरू उनीभन्दा धेरै टाढा छन् । यिनीहरूले गफ जतिसुकै ठूला गरे पनि उनको अपरिग्रही स्वभावको छेउटुप्पो भेटेका छैनन् । पदमा टाँसिई बस्नुपर्छ र मरिहत्ते गरेर पद प्राप्त गर्नुपर्छ, पाएपछि आफ्नो जन्मसिद्ध अधिकारै ठान्नुपर्छ भन्ने यी पात्रहरूलाई लगातार देशले भोगिरहनुपर्दा लाग्छ, यस्तै शरीरमै जन्मेका भट्टराईजस्ता अपरिग्रही मान्छे कसरी बने होलान्, त्यस्तो बन्न कस्तो शिक्षण प्रशिक्षण चाहिँदो हो र ती गुणहरूको आर्जनका लागि कति जन्मको तपस्या चाहिँदो हो !

जिज्ञासा त केसम्म उत्पन्न हुन्छ भने, के भट्टराईजस्ता सुपात्रको जीवाणु बनोट नै अलग्गै हुन्छ ? के त्यस प्रकृतिका मानिसको भित्री संरचना नै पृथक् हुन्छ ? निश्चय नै सर्वसाधारणको एउटा महत्त्वपूर्ण हिस्साचाहिँ थाहै नपाई हृदयको वाणी सुनेर चलेको हुन्छ । त्यसले नै समाज–सभ्यता थेगेको हुन्छ । तिनमा हार्दिकता हुन्छ । करुणा हुन्छ, माया–प्रेम हुन्छ । तर अत्यधिक राजनीतिज्ञहरू औसत र कतिपय त निम्नकोटिकै हुन्छन् । हृदयले देखाएतर्फ हेर्दैनन् । निम्नकोटिका त निम्न नै भइगए, औसत प्रकारका राजनीतिज्ञहरू पनि निहित स्वार्थद्वारा प्रेरित हुन्छन् । समस्या कहाँ छ भने, तिनीहरू नै आफू परम बुद्धिमान भएको भ्रम पालेर बसेका हुन्छन् । ओलीको समस्या के हो भने, उनी आफू ज्यादै बुद्धिमान भएको सोचका भए पनि औसत र निम्न कोटिको प्रवृत्ति भएका ताली बजाउने पात्रहरू वरिपरि राखेर रमाएर बसेका छन् । तिनकै वाहवाहीमा उनी आफ्नो बुद्धि दुरुपयोग गरेर बसेका छन् ।

निर्विकल्पताको भ्रम

ओली निश्चय नै विद्यमान अरू राजनीतिज्ञका तुलनामा बढी बुद्धि खेलाउँछन् । उनी आफू बुद्धि खेलाउन सिपालु त होलान् तर हृदयले देखेको मान्दैनन् । उनी यस अर्थमा हृदय र बुद्धिको संघर्षमा छन् । जबकि हृदय र बुद्धिबीच संघर्ष होइन, परस्पर मेल चाहिन्छ । समञ्जस्य चाहिन्छ । जस्तै— उनको पनि हृदय पक्षलाई राम्ररी थाहा छ, विघटन सदर नभएपछि नैतिक आधारमा पदबाट विश्राम लिनु र अरूलाई मार्गप्रशस्त गरिदिनु पर्छ । तर उनको कथित बुद्धि पक्ष भन्छ— मजस्तो सर्वशक्तिमानले हार्न मिल्छ कतै ? छोडे लथालिंग भइहाल्छ । उनीमा निर्विकल्पताको नराम्रो भ्रम छ । जबकि निर्विकल्प भन्ने हुँदैन । हुँदैन किनभने छोड्नु त कुनै दिन पर्छैपर्छ । यस यथार्थको बोध हुने हो भने आफूले छोड्दा लथालिंग भइहाल्छ भन्ने सोचाइकै उत्पत्ति हुँदैन ।

ओली यसर्थ आफैंभित्र ज्यादै भयानक द्वन्द्वमा फसेका छन् । ओलीको हृदयलाई पनि मज्जाले थाहा थियो संविधानमा विघटन गर्ने प्रावधान छैन भनेर । तर नहुँदा नहुँदै पनि बुद्धि लगाउन खोजे । उनको बुद्धिलाई अदालतले उल्टाइदियो । उल्टाइदियो किनभने संविधानमा उनले भनेजस्तो प्रावधान नै थिएन । हुँदै नभएको प्रावधान कसैले भेट्ने कुरै भएन । यहाँनेर गडबड कहाँ भएको हो भने, उनले हृदयले देखेको मानेनन्, सबै आफ्नै अधीनमा छ भन्ने ठाने तर त्यस्तो भएन । किनभने हुन सम्भवै थिएन ।

हृदयको नसुन्दा गडबड हुन्छ । हृदयको नसुन्दा अहंकार चढ्छ र अहंकार चढेको मानिस आफ्नो गल्ती नस्विकारेर नानाथरीका तर्क खोज्दै हिँड्छ । उनका समर्थकले जतिसुकै ताली बजाए पनि अहिले भएको त्यही हो । भावना र तर्कलाई एकअर्काका पूरकका रूपमा बुझ्नुपर्छ । तर्क आउँछ भन्दैमा भावनाको अवमूल्यन गर्दा राजनीति अस्थिरतामा फस्छ र फसेको छ । यो अस्थिरताबाट निस्कन अरू थुप्रै मूल्य चुकाउनुपर्ने अवस्था उपस्थित हुन सक्छ भन्ने देखिँदै छ । निश्चय नै तर्कमा खप्पिस मान्छेले सहीलाई गलत हो र गलतलाई सही भनेर पूरै सिद्ध गर्न नसके पनि उसले, केही समयका लागि, सर्वसामान्यले पत्याउने गरी झुक्याउन सक्छ । तर्कराजहरूको एउटा विशेषता हुन्छ, मज्जाले ढाँट्दा पनि उनीहरू साँच्चि नै भनिरहेजसरी प्रस्तुत हुन सक्छन् । ओली पनि त्यसो गर्न सक्छन् ।

के गर्नुपर्छ अब ओलीले ?

ओली तार्किक छन् । वाचाल छन् तर हृदयका दृष्टिले देखेको मान्दैनन् । गलत गरिरहे पनि सही नै हो भनेर तर्क गर्छन्, गर्न सक्छन् । आफ्ना वरिपरि ताली बजाउनेहरू मज्जाले पाउँछन् र ती ताली सुनेर झन् हौसिएर जोक सुनाउन थाल्छन् । सुन्नेहरू झन् उफ्रीउफ्री हाँस्छन् । फलस्वरूप उनी आफ्नो तर्कशक्ति नै सर्वस्व हो भन्ने ठान्न पुग्छन् ।

म यहाँ ओलीको आलोचना होइन, विशेषताको वर्णन गरिरहेको छु । त्यसैले उनका भक्तहरूले मलाई गाली नगरी धैर्यधारण गरेर यी हरफहरू पढ्नेछन् भन्ने आशा गरेको छु । किन आशा गरेको छु भने ओलीप्रति मेरो मनमा न निजी द्वेष छ, न त प्रेम नै । छ त उनीप्रति करुणा र यहाँ म जे हो त्यही भन्न वचनबद्ध छु । जे गर्दा उनको परन्तु भलो हुन्छ, त्यही भन्न गइरहेको छु ।

उनको चुलिएको अहंकारले दिन–प्रतिदिन उनको र देशकै हानि गरिरहेको हुँदा यहाँ म राजनीतिक समीकरणको विश्लेषण होइन, उनले गर्नुपर्नेचाहिँ के हो, त्यो भन्छु । त्यो के भने, फागुन ११ को फैसलाको सम्मान गर्दै उनले अब पुनःस्थापित प्रतिनिधिसभासमक्ष आफूले अहंकारवश सभा विघटन गरेको स्विकार्दै माफ माग्नुपर्छ र नयाँ राजनीतिक समीकरणका लागि मार्गप्रशस्त गरिदिनुपर्छ ।

प्रकाशित : फाल्गुन २१, २०७७ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना–खोप ढुक्कले लगाऔं

शरीरमा रोगविरुद्ध लड्ने क्षमता विकास हुँदा केही साइड इफेक्ट देखिनु स्वाभाविक हो ।त्यस्ता लक्षणहरू अरू रोगविरुद्ध लगाइने खोपमा पनि देखिन्छन् ।
दिनेश न्यौपाने

विश्वमा करिब ११ करोड व्यक्तिहरू कोरोना भाइरसले संक्रमित भइसकेका छन् र २५ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि २ लाख ७४ हजार संक्रमित भइसकेको र तीमध्ये करिब २ हजार ७ सय जनाले ज्यान गुमाएको तथ्यांक छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौं उपत्यकाभित्रका स्वास्थ्यकर्मीहरूमा गरिएको अनुसन्धानमा करिब ४५ प्रतिशत पहिले नै संक्रमित भइसकेको तथ्यांक सार्वजनिक गरेको छ । स्वास्थ्यकर्मीहरू आफ्नो स्वास्थ्यबारे बढी जानकार हुने भएकाले जनमानसमा संक्रमति हुनेहरूको संख्या योभन्दा ठूलो हुन सक्ने अनुमान गर्न सकिन्छ । सायद यसैले पनि, हाम्रो आकलन अनुसार, नेपालमा पछिल्लोपटक भएका सभा–जुलुसहरूका कारण कोरोनाका संक्रमितहरू ह्वात्तै नबढेको हुन सक्छ । साथै पछिल्लोपटक परीक्षणमा आएको सुस्तताले पनि संक्रमितहरूको यकिन तथ्यांक पत्ता नलागेको हुन सक्छ । संक्रमितहरूको ठूलो संख्या परीक्षणमार्फत पत्ता लगाउन नसकेकाले मृतकको संख्या पनि धेरै हदसम्म छुटेको हुन सक्ने यथार्थलाई पनि नकार्न सकिन्न । जे–जस्तो अवस्थामा भए पनि कोरोना भाइरस मानवजगत्का लागि ठूलो समस्या हो । अहिलेसम्म औषधि पत्ता नलागे पनि खोपको आविष्कारले सारा विश्व उत्साहित बनेको छ ।

नेपालले पनि धेरैले अनुमान गरेभन्दा छिटो भारत सरकारको सहयोगमा खोप प्राप्त गरेको छ भने, चीन सरकारले पनि कोरोना खोप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । विकसित देशहरू आफ्ना नागरिकका लागि मात्र खोपको जोहो गर्न लागिपरेकामा विश्वव्यापी रूपमा चर्को आलोचना जारी छ । फलस्वरूप कोभ्याक्सले केही गति लिएको छ । अफ्रिकी मुलुक घाना कोभ्याक्समार्फत खोप पाउने पहिलो राष्ट्र बनेको छ । नेपालले पनि छिटै कोभ्याक्समार्फत खोप पाउने अनुमान गर्न सकिन्छ ।

यसका साथै नेपाल सरकार आफैंले पनि खोप खरिद प्रक्रिया अगाडि बढाएको छ । यही प्रगति निरन्तर राखिराख्यो भने नेपालले ठूलै संख्यामा खोपको मात्रा भित्र्याउने देखिन्छ । तर खोपको जोहोले मात्र पुग्दैन, यससम्बन्धी व्याप्त भ्रमहरू चिर्नु एकदमै जरुरी छ । कोरोनाले एक वर्षभन्दा बढी सारा विश्वलाई असर गरिरहँदा पनि हाम्रो समाज कोरोना भाइरससम्बन्धी असत्य, कपोलकल्पित र मनगढन्ते कुराहरूले आक्रान्त छ । यसको प्रभाव खोपमा पनि परेको जस्तो देखिन्छ । पहिलो चरणमा परेका स्वास्थ्यकर्मी र शिक्षित भनिने वर्ग नै खोप लगाउन हिचकिचाउनु ठूलो चिन्ता र चासोको विषय हो । यही दिशातिर गइराख्यौं भने यसले कतै अरू राष्ट्रिय खोप कार्यक्रममा पनि दूरगामी असर त पार्दैन ? कतै हामीले अहिलेसम्म प्राप्त गरेका जनस्वास्थ्यका उपलब्धिहरू त गुम्दै जाने होइनन् ? नेपालका सन्दर्भमा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत अहिलेसम्म खोपको कभरेज धेरै राम्रो छ । नेपालमा ८० प्रतिशतभन्दा धेरै पाँच वर्षमुनिका बच्चाले राष्ट्रिय कार्यक्रममा भएका सबै खोप पाउने गरेका छन् ।

खोप जनस्वास्थ्यका कार्यक्रमहरूमध्येको एउटा प्रभावकारी र कम लागतमा उच्च प्रतिफल दिने कार्यक्रम हो । खोप कार्यक्रममार्फत कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूले पनि ठूलो प्रगति हासिल गरेका छन् । बिफरको उन्मूलन र पोलियो उन्मूलनको संघारमा पुग्नु खोप कार्यक्रमकै देन हो । खोपको अनुसन्धान त्यति सजिलो हुँदैन । यसमा विभिन्न वैज्ञानिक चरण पार गरेर मात्र मानिसमा परीक्षण गरिन्छ । मानिसमा परीक्षण गर्नुअघि यो कति सुरक्षित र प्रभावकारी छ भनेर विभिन्न आयाममा विश्लेषण र अनुसन्धान गरिन्छ । अनुसन्धानमा सफलता पाएपछि अमेरिका, युरोप लगायतका सम्बन्धित नियमन निकायहरूले अनुमति दिनुपर्छ । त्यसरी अनुमति पाउने प्रयामा धेरै चरण पार गर्नुपर्छ । लगाउन सुरु भएपछि पनि यसले केकस्तो प्रभाव र असर गर्छ भनेर धेरै वैज्ञानिकले निरन्तर अध्ययन र अनुसन्धान गरिरहेका हुन्छन् ।

खोपको विकास हाम्रो स्वास्थ्यका लागि गरिन्छ र बजारमा आउनुअघि खोप सुरक्षित बनाउनका लागि हदैसम्मको प्रयास गरिन्छ । शरीरमा रोगविरुद्ध लड्ने क्षमता विकास हुँदाखेरि केही साइड इफेक्ट देखिनु स्वाभाविक हो । त्यस्ता लक्षणहरू अरू रोगविरुद्ध लगाउने खोपमा पनि देखिन्छन् । तर ती असरहरू रोग लाग्दा देखिने असरहरू — जसमा मृत्यु पनि हुन सक्छ — भन्दा धेरै गुणा कम हुन्छन् । कतिपय अवस्थामा खोपले भन्दा अरू कारणले असर देखिए पनि खोपले नै भनेर भ्रम पर्न सक्छ । त्यो केवल संयोग मात्रै हुन सक्छ । अहिलेसम्म कोरोनाको खोपकै कारण कसैको मृत्यु भएको र खोप कार्यक्रम नै स्थगित गर्नुपर्ने अवस्था आएको छैन ।

त्यस्तो सम्भावना भएका खोपहरूले अनुमति पनि पाउँदैनन् । कथङ्कदाचित् त्यस्तो अवस्था आयो भने खोप लगाउने कार्यक्रम तत्काल बन्द गरिन्छ । त्यसैले आधुनिक विज्ञानलाई विश्वास गरौं, दिनरात नभनी हाम्रा लागि खोप बनाउन खट्ने वैज्ञानिकहरूप्रति कृतज्ञ बनौं । ढुक्कले कोरोना भाइरसविरुद्धको खोप लगाऔं र अरूलाई पनि लगाउन उत्प्रेरित गरौं । कोरोनाको खोपसँगै व्यक्तिगत सुरक्षाका मापदण्ड पनि पालना गरौं र कोरोना भाइरसलाई जतिसक्दो छिटो परास्त गरौं ।

(न्यौपाने जोन हप्किन्स विश्वविद्यालयमा जनस्वास्थ्यविद्का रूपमा कार्यरत छन् ।)

प्रकाशित : फाल्गुन २१, २०७७ १०:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×