उत्तरका नाका किन बन्द ?

सम्पादकीय

हालका वर्षहरूमा नेपाल–चीन सम्बन्धमा महसुस नै हुने किसिमको कुनै उतार देखिएको छैन । चीनले नेपालविरुद्ध घोषित नाकाबन्दी लगाएको पनि छैन, लगाउनुपर्ने कारण पनि देखिँदैन । उसले नेपाललाई नाकाबन्दी नगरेको र नगर्ने बताउँदै आएको छ ।

उत्तरका नाका किन बन्द ?

तर अवस्था कस्तो छ भने, पछिल्लो समय दुई देशबीच मुख्य नाकाका रूपमा रहेको केरुङ–रसुवागढीबाट आयात–निर्यात ठप्प भएको १३ महिना भैसक्यो । पहिले हिमपात र ल्होसारका कारण नाकाबाट आयात बन्द गरिएको थियो । त्यसपछि कोरोना र हालै अन्य बहानामा नाकाबाट आवतजावतै प्रभावित छ । घरीघरीको यस्तो समस्याले नेपाली व्यवसायीहरू त मर्कामा परेका छन् नै, यही अवस्था लम्बिरहे दुई मुलुकबीच जनस्तरमै विश्वासको वातावरण धमिलिन सक्छ । त्यसैले, स्थायी रूपमै नाका खोल्न नेपालले प्रभावकारी कूटनीतिक पहल गर्नुपर्छ । र, चीनले पनि यसप्रति आवश्यक गम्भीरता देखाउनुपर्छ ।

चिनियाँ ल्होसार पर्वका कारण पछिल्लोपटक गत माघ २९ देखि ठप्प भएको रसुवागढी नाकाबाट अझै आयात सुरु हुन सकेको छैन । त्यसअघि फाट्टफुट्ट नाका खुल्दा पनि दैनिक पाँच कन्टेनर मात्र चिनियाँ सामान ल्याउन दिइएको थियो । यसरी नाकाबाट आयात ठप्प भइरहँदा सयौं व्यवसायीका अर्बौं मूल्य बराबरका सामान चीनतर्फ रोकिएका छन् । यता गर्मी चढ्न लागिसक्दा पनि जाडोका लागि मगाइएका सामानसमेत उतै अड्किएका छन् । वर्ष दिनअघि मगाइएका कति सामान अझै आइपुगेका छैनन् । ढिला गरी आइपुगेका कति सामान यता काम नलाग्ने भैसकेका छन् । यही कारण केही व्यापारी टाट नै पल्टिएका छन् । निर्यात त झन् १३ महिनादेखि नै ठप्प छ । नेपाली कन्टेनर सामान लिन केरुङ जान नपाएको पनि १३ महिना भैसक्यो । चालु आर्थिक वर्षका सात महिनामा रसुवा भन्सार कार्यालयले लक्ष्यको १७ प्रतिशत मात्र राजस्व संकलन गरेबाट पनि थाहा हुन्छ, आयात कुन रूपमा प्रभावित भएको छ भनेर ।

सर्सर्ती हेर्दा, दुई देशबीच राजनीतिक–कूटनीतिक स्तरमा विश्वासको वातावरण नभएको पनि देखिन्न । तर, मैदानमा समस्या प्रस्टै देखिन्छ । केहीअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनको व्यवहार ‘असहज र अप्ठेरो’ भएको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका थिए । वाणिज्यमन्त्रीको भनाइले दुई देशबीच कुनै न कुनै रूपमा बुझाइमा समस्या रहेको पक्कै औंल्याएको छ, तर देशको जिम्मेवार मन्त्रीले सामान्य अवस्थामा सार्वजनिक रूपमै निरीहता प्रकट गर्ने वा निराशा पोख्नेभन्दा पनि कूटनीतिक ढंगबाटै समस्या समाधान गर्न जोड दिनुपर्थ्यो/पर्छ । चीनको केही असन्तोष वा प्राविधिक समस्या छ भने त्यसलाई दुई देशबीचको वार्ताबाट टुंग्याउनुपर्छ ।

यसबारे चीनले खुला हृदयले नेपालसमक्ष कुरा राख्नुपर्छ । बेइजिङका केही मुद्दा छन् र तिनले नेपालको राष्ट्रिय स्वार्थमा हानि गर्दैन भने नेपाल सरकारले विश्वसनीय आधार प्रस्तुत गर्दै चिनियाँ पक्षलाई मनाउन सक्नुपर्छ । सीमा नाकामा सुरक्षा, महामारीलगायतका विषयमा चीनलाई आश्वस्त तुल्याउनुको विकल्प काठमाडौंसित छैन पनि । त्यसैले, निर्बाध रूपमा नाका सञ्चालनका लागि सरकारले काठमाडौंस्थित चिनियाँ दूतावास एवम् बेइजिङ र ल्हासामा रहेका आफ्ना कूटनीतिक संयन्त्रहरू मार्फत आवश्यक पहल गर्नुपर्छ । र, चीन सरकारले पनि नाकामा कठोर नीति लिइरहने गल्ती गर्नु हुँदैन । यसले दुई देशको सम्बन्धमै चिसो ल्याउने परिणामलाई समयमै बुझ्नुपर्छ ।

यसै पनि, नेपाल भारत–चीनपरिवेष्ठित छ । भौगोलिक जटिलताका कारण चीनसित तातोपानी र केरुङ गरी दुइटा मात्रै सडक नाका छन् । तिनमै पनि व्यवधान आउनुलाई सरकारले गम्भीर रूपमा लिनुपर्छ । पछिल्लो समय तातोपानी नाका खुलै भए पनि त्यहाँको अवस्था कहिल्यै स्थिर छैन । दुवै नाकामा उस्तै समस्या छन्— चिनियाँ पक्षले छोटो समयको सूचनाकै भरमा नाका बन्द गरिदिन्छ । र, कहिले बन्द गर्छ, कहिले खोल्छ, केही थाहा हुँदैन । यो शैलीले नेपाली व्यवसायीहरू आजित छन् । चीनबाट समुद्र हुँदै आयात गर्दा दुई महिनासम्म लाग्छ, कतै अलमलियो भने समस्या हुन्छ । सडकबाट १५–२० दिनमै आइपुग्ने भए पनि दुवै नाकामा चीनको खासै चासो देखिँदैन ।

यही क्रम जारी रहेमा नेपाली व्यापारीहरूमा बिस्तारै चीनप्रति अविश्वास पलाउन सक्छ । पारवहनसम्बन्धी सम्झौता गरेर चिनियाँ बन्दरगाह र भूमार्गसमेतको प्रयोग गर्न तयार नेपाललाई हतोत्साही बनाउनु चीनकै लागि पनि भूल हुन सक्छ । तसर्थ, चीनले आश्वासनमा मात्रै झुलाइरहनु हुँदैन । किनभने, चीनले सामान्य ठाने पनि नेपालमा यसको असर महँगो परिरहेको छ ।

बेलाबखतको भारतीय व्यवहारका कारण हुनुपर्छ, चीनप्रति नेपालीहरूमा आशा र विश्वास दुवै उच्च छ । भारतसितको सीमामा यस्तै समस्या देखिएको भए नेपालमा अहिलेसम्म यो विषय ठूलो मुद्दा बनिसक्थ्यो । तुलनात्मक रूपमा उत्तरी नाकाबाट कम व्यापार हुने भएकाले पनि हुनुपर्छ, यहाँको आम तहमा चीनले नेपाललाई नाकाबन्दी लगाएको बुझाइ बनिसकेको छैन ।

चीनले नेपालीलाई ठूलो दुःख दिएको इतिहास नभएकै कारण अहिलेसम्म यो विषयलाई धेरैले प्राविधिक समस्याका रूपमा मात्र लिइरहेका छन् । तर, यसैगरी बारम्बार नाका ठप्प भइरह्यो भने यस्तो शंकाको सुविधा सधैं नमिल्न सक्छ । विश्वशक्ति बन्न लम्किँदै गरेको चीनले यति कुरा नबुझेको पक्कै छैन । तसर्थ, चीनको जोड सक्दो चाँडो नाकालाई पूर्ण क्षमतामा सञ्चालन गर्नेतर्फ नै हुनुपर्छ । नेपालले आफ्नातर्फबाट दिलाउनुपर्ने भरोसा त छँदै छ, चीनले पनि यथाशीघ्र नाकालाई स्थायी रूपमा खुलाउन विलम्ब गरिरहनु हुँदैन, आफ्नो छिमेकी तथा मित्र मुलुकको अनावश्यक मन दुखाइरहनु हुँदैन । जसरी हुन्छ, अघोषित नाकाबन्दीजस्तो अहिलेको अवस्थालाई अन्त्य गर्नैपर्छ ।


प्रकाशित : फाल्गुन १९, २०७७ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?