अग्रगमन राजनीतिक कार्यदिशा- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अग्रगमन राजनीतिक कार्यदिशा

विभेद अविच्छिन्न रहेसम्म न यो देश समृद्ध बन्न सक्छ, न त नेपालीहरु सुखी हुन सक्छन् ।
हाम्रो देश नेपाल प्राकृतिक र सांस्कृतिक रूपमा समृद्ध राज्य हो । यही प्राकृतिकता र सांस्कृतिकताभित्र रहेको बहुलता नै हाम्रो समृद्धिको आधार हो ।
राजेन्द्र महतो

संसद् विघटन सर्वोच्च अदालतले बदर गरिदिएपश्चात् प्रतिगमन सच्चियो, देश यथास्थितिमा फर्कियो । यसर्थ अबको हाम्रो राजनीतिक कार्यदिशा अग्रगमनतर्फको हुनु आवश्यक छ ।

तर, मधेसमा गोली ठोक्दै यो संविधान जारी गर्न कुनै लोकतान्त्रिक मूल्य–मान्यताबाट नछेकिएका कांग्रेस र कम्युनिस्ट शक्तिहरू वास्तविक अग्रगमनका निमित्त तयार छन् भन्नेमा हामीलाई शंका छ । के जनता समाजवादी पार्टी नेपाल (जसपा) यथास्थितिमा कांग्रेस र कम्युनिस्टको सत्तास्वार्थको गोटी बन्न सक्छ ? त्यसो भए जसपाले भनेको अग्रमगन के हो ? यो लेखमा त्यो अग्रमन के हो र कसरी हुन सक्छ भन्ने विषयमा संक्षिप्त धारणा राखिएको छ ।

प्रतिगमन र अस्थिरताको कारक

प्रथमतः, नेपालमा निरन्तर हुँदै आएका प्रतिगमन र राजनीतिक अस्थिरताको ठोस कारण के हो भन्ने बुझ्न जरुरी छ । २०४७ सालको संविधानले नेपालको विविधता वा बहुल राष्ट्रियतालाई अस्वीकार गर्ने मात्र होइन, त्यसलाई नेपाली धरतीमा कहिल्यै उठ्न नदिने भित्री स्वार्थलाई स्थापित गर्‍यो । औपनिवेशिक चिन्तन बोकेका मुठीभर शासक सम्भ्रान्तहरूद्वारा निर्मित राजनीतिक संस्थापन — जो नेपाल निर्माणकालदेखि हालपर्यन्त हावी छ — को स्वार्थरक्षा गर्नु नै नेपाली राज्यको मूल अभीष्ट रहँदै आयो । यसका निमित्त विश्वमा अन्यत्रका राज्यधारीहरूले जस्तै यहाँका राज्यधारीहरूले पनि राज्यलाई प्रारम्भदेखि नै ‘हामी’ र ‘अन्य’ को द्वैध मानसिकतामा फसाए । तथापि ‘अन्य’ पक्षको सहमति जित्नका निमित्त ‘चार वर्ण छत्तीस जात’ भन्ने कथन पनि रचना गरिएकै हो । पश्चिमी ज्ञानमीमांसाको, औपनिवेशिकताको सिकार भएका कथित राजनेताहरू मात्र होइन, राजा महेन्द्रले समेत राजनीतिक शक्तिको स्रोत यहाँका हिमाल पहाड मधेसका असली ‘अन्य’ जनता नै रहेको यथार्थ स्वीकार गरेको देखिन्छ । ती जनता सधैं पाखुरा, पौरख र पावन भूमिका मालिक थिए अनि अहिले पनि छन् ।

नेपालको भौगोलिक एकीकरणको समय ती असली जनताको भूमिमाथि अतिक्रमण गर्न उनीहरूकै पाखुरा र पौरखलाई उपयोग गरियो । यस क्रममा ‘सेक्युलर’ राजनीतिको स्रोत भनिएका राजनीतिक दलहरू, कांग्रेस र कम्युनिस्ट, पनि राजनीतिक उपयोगको नीतिबाट अलग रहन सकेनन् । नेपाली राजनीति वा लोकतन्त्रीकरणलाई यही ऐतिहासिक आलोकबाट विश्लेषण गर्दा मात्रै हामी सही निष्कर्षमा पुग्न सक्छौं । नेपालका हामी ‘अन्य’ जनताले २०४७ सालदेखि नै नेपाल सद्भावना पार्टी तथा राष्ट्रिय जनमुक्ति पार्टी गठन गर्दै शासक राज्यधारीहरूले निर्माण गरेका इतिहासहरूको गलत व्याख्या र राजनीतिको गलत कोर्स बदल्ने प्रयत्न गर्दै आएका छौं । यही क्रममा हामीले विभिन्न दलमा रहेका अग्रगामी, परिवर्तनकामीहरूसँग एकीकरण गरी जनता समाजवादी पार्टी नेपाल स्थापना गर्दै नेपाली धरतीमा हाल पर्यन्तको राजनीतिक असन्तुष्टि र प्रतिस्पर्धालाई द्वन्द्वबाट होइन, लोकतान्त्रिक विधिबाट हल गर्ने अठोट लिएका छौं । यही महान् उद्देश्यबाट हामी वर्तमान प्रधानमन्त्रीको प्रतिगमनकारी संसद् विघटनविरुद्ध उभिएका थियौं । तर हाम्रो उद्देश्य स्पष्ट छ, हामी देशलाई हालपर्यन्त हल हुन नसकेका वा सम्भ्रान्तहरूले हल नचाहेका राजनीतिक समाधानहरू दिन दृढ संकल्पित छौं ।

प्रतिगमनको शृंखलाका क्रममा प्रधानमन्त्री केपी ओलीले पुस ५ गते संसद् विघटन गरेर थप प्रतिगमन गरेका थिए, जसलाई सर्वोच्च अदालतको निर्णयले सच्याएको छ । सोह्रबुँदे सम्झौताका आधारमा संविधानसभाको बहुमतको हुर्मत लिएर २०७२ असोज ३ गते जारी गरिएको संविधान प्रतिगामी कदम रहेको हामीले भन्दै आएका थियौं । पुस ५ गतेको घटना प्रतिगमनमाथिको प्रतिगमन थियो जसले अपूरो लोकतन्त्रलाई कुल्चने काम गरेको थियो । लोकतन्त्र पक्षधरहरूका लागि संसद् पुनःस्थापना पहिलो खुड्किलो हो र यसमार्फत संविधान संशोधन गरेर लोकतन्त्रलाई पूर्णता दिनु नै अबको राजनीतिक कार्यभार हो ।

२०७४ सालको निर्वाचनमार्फत जनताको दुईतिहाइनजिक मत पाएको कम्युनिस्ट शक्तिसँग विकास र समृद्धिको मुहान फुटाउने योजनाको कुनै कमी थिएन । सरकारको नेतृत्व गरेपश्चात् कर्णालीको रारा तालबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने उद्घोष भइसकेको थियो । त्यो नारालाई पुष्टि गर्न कम्युनिस्ट शक्तिले पहिलेदेखि नै चुच्चे रेल, समुद्रमा नेपाली ध्वजावाहक पानीजहाज, घरघरमा पाइपबाट ग्यास, प्रतिव्यक्ति आय वृद्धि, पाँच हजार रुपैयाँ वृद्ध भत्ता आदि कहानीहरू घोकाउँदै र सुनाउँदै आएको थियो । सरकारको नेतृत्वमा नेकपाका मात्र हैन, अन्य दलका पनि घागडान नेताहरू नेपालमा अब राजनीतिक मुद्दा सकिएको र समृद्धिको मुद्दा मात्र बाँकी रहेको भ्रम छर्दै हिँड्न थालेका थिए । यी खोक्रा नाराहरूका आधारमा कम्युनिस्टहरू ५० वर्ष शासन गर्ने दावा गर्दै हिँडिरहेका थिए । कम्युनिस्टहरूले आफू शक्तिशाली र देशभक्त रहेको पुष्टि गर्न केपी ओलीको फोटो बिजुलीका पोलदेखि पत्रिकाका पानासम्म टाँस्न भ्याएका थिए । यस्ता चामत्कारिक कम्युनिस्टहरू र तिनीहरूका नेता केपी ओली आज प्रतिगमनको मतियार साबित भएका छन् ।

धेरैले संसद् विघटनलाई मात्र प्रतिगमन भनिरहेका थिए । हामी त तत्कालीन कांग्रेस, एमाले, माओवादी तथा फोरम लोकतान्त्रिकले सोह्रबुँदे सम्झौता गरेर संविधान निर्माण गरी देशलाई जुन दिशातर्फ मोडे, त्यही समय प्रतिगमन भयो भनेर मधेसमा आन्दोलनरत थियौं । मधेसी जनताका टाउका र छातीमा गोली हानी आदिवासी जनजाति, थारू, मुस्लिम, दलित, महिलाहरूलाई अधिकारबाट वञ्चित गरेर बन्न लागेको संविधान नै प्रतिगमनको दस्तावेज हो भनेका थियौं । शासक सम्भ्रान्तहरूले जहिले पनि आम जनताका लागि होइन कि, केही मुठीभरको स्वार्थरक्षा गर्ने किसिमको संविधान तथा कानुन निर्माण गर्ने गरेका छन् । केपी ओलीले नेतृत्व गरेको औपनिवेशिक चिन्तन बोकेका सत्ताधारीहरूले समाजलाई राष्ट्रवादको भाङ खुवाएर आदिवासी जनजाति, थारू, मुस्लिम, दलित, महिला लगायतमाथि दमन गरी संविधान जारी गर्दाको त्यस समय आफूले गुमाइसकेको राज्य पुनः एकपटक जितेको भान पालेका थिए । तिनको राष्ट्रवाद आज उदांगो भएको छ । राज्यधारी राष्ट्रियताका सम्भ्रान्तहरूको भित्ते नायक एकाएक खलनायकमा परिणत हुँदा तिनका सपनाहरू भताभुंग भएका छन् ।

देशमा शासन र संविधान पटकपटक किन असफल भइरहेको छ ? यो आजको अहम् सवाल हो । सबैभन्दा पछिल्लो घटनाक्रमलाई हेर्ने हो भने, २०६२/६३ सालको दोस्रो जनआन्दोलन तथा दोस्रो मधेस आन्दोलनको जगमा बनेको पहिलो संविधानसभा र त्यसले स्थापित गर्न खोजेका मुद्दाहरूलाई निषेध गरेर औपनिवेशिक राष्ट्र–राज्य यथावत् राख्न चाहने परियोजना नै आजको राजनीतिक दुर्घटनाको कारक हो । दोस्रो संविधानसभाले नेपालका वास्तविक मुद्दाहरूलाई पन्छाएर राज्यको विभेद कायमै राख्नु नै मुलुकमा भइरहेका द्वन्द्वहरूको मूल जड हो । विभेदको अविच्छिन्नता रहेसम्म न यो देश समृद्ध बन्न सक्छ, न त नेपालीहरू सुखी हुन सक्छन् । हिजोदेखि सबै दलले दबाएका मधेसी, आदिवासी जनजाति, थारू, मुस्लिम, दलित, महिलाहरूमाथि विभेद कायमै राखेर समृद्धि र सुखको सपना बाँड्नेहरू इतिहासमा यसै गरी देश र जनतालाई धोका दिने पात्र साबित भएका छन् ।

केपी ओली मात्र हैन, तत्कालीन समयमा उनको राष्ट्रवादी छवि बनाएर हामीमाथि प्रहार गर्न नस्लवादी चिन्तन बोकेका सत्ता–सम्भ्रान्त राज्यधारीहरूले भूमिका खेलेका थिए तर आज तिनीहरू पनि संकटमा फसेका छन् । तिनीहरू नेपाली राज्यको विभेदकारी चरित्र बदल्न चाहँदैनथे । त्यसका लागि मधेस आन्दोलन र भारतलाई दुस्मन करार गरेका थिए । हिजो संसद्बाट महाकाली सन्धिलाई अनुमोदन गराउन लाग्नेहरूले नै चुच्चे नक्सा जारी गरेर जनतालाई राष्ट्रवादको भाङ पिलाउँदै थिए । यसरी औपनिवेशिक चिन्तन बोकेका शासक सम्भ्रान्तहरूले आफ्ना तमाम अन्याय, अत्याचार, विभेद तथा लुटहरू लुकाउन अरूमाथि दोष थोपर्ने र सीधासादा निर्दोष नेपाली जनतालाई गुमराहमा पार्ने काम नै आजको अस्थिर राजनीतिको कारक हो ।

वास्तवमा नेपाल कहिल्यै बाह्य औपनिवेशिकताको सिकार भएन तर आन्तरिक औपनिवेशिकता यहाँको द्वन्द्व तथा अस्थिरताको जड हो । एकल–राष्ट्रिय राज्य गणतन्त्रमा पनि कायम रहनु नै देशको समृद्धिको बाधक हो । जबसम्म यस्तो चिन्तनअनुकूल संविधान र शासनसत्ता रहिरहन्छ, मुलुक यस्तै दुश्चक्रमा फसिरहने निश्चित छ । २००७ सालयता सातौं संविधानबमोजिम देश शासित भइरहेको छ । विभेद कायमै राखेर जति नै संविधान बने पनि देश नबन्ने पक्का छ । यस्तो प्रणालीमा जो आए पनि र जति नै सपना देखाए पनि त्यो झुटको खेतीभन्दा केही हुनेछैन ।

राज्यको चरित्र

सत्तरी वर्षदेखि नेपाली जनताले चाहेको संविधानमार्फत गणतान्त्रिक व्यवस्था लागू हुँदा पनि शोषण, उत्पीडन, विभेदमा परेका आदिवासी जनजाति, मधेसी, थारू, दलित, महिला लगायतका मुद्दा किन समाधान हुन सकिरहेका

छैनन् ? देशमा अभिशापका रूपमा रहेको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विभेद, शोषण तथा उत्पीडनहरूको अन्त गर्न किन सकिरहेका छैनौं । यसले के इंगित गर्छ भने, गोर्खाली साम्राज्यको विस्तार भएर नेपालको एकीकरण भए पनि भावनात्मक रूपमा एकीकरण हुन सकेको छैन । जबसम्म हिमाल र पहाडदेखि तराई मधेससम्मका सम्पूर्ण जनताले अनेकौं विभेदबाट मुक्त भएर देशप्रति अपनत्व महसुस गर्दैनन्, तबसम्म देश यस्तै रहिरहन्छ ।

यो देशमा शोषण, उत्पीडनमा परेका जनताले आफ्नो पहिचान र अधिकारका लागि लामो समय संघर्ष गरेको इतिहास छ । देशका सबै जातजाति, समुदाय, लिंग र वर्गका संघर्षहरूलाई निषेध गरेर असमावेशी राज्यको अभ्यास गरिरहने हो भने हाम्रो थप दुर्गति हुने निश्चित छ । हाम्रो देश नेपाल एकल–राष्ट्रिय राज्य नभएर बहुल राष्ट्रियताहरू भएको, प्राकृतिक र सांस्कृतिक रूपमा समृद्ध राज्य हो । यही प्राकृतिकता र सांस्कृतिकताभित्र रहेको बहुलता नै हाम्रो समृद्धिको आधार हो । जबसम्म हामीले यो कुरालाई नकारेर डोजर तथा रेलमा समृद्धि खोज्छौं, तबसम्म समृद्धिको सपना मात्र देखिरहेका हुनेछौं ।

विगत सात दशकको अभ्यास अनि अधिकार र पहिचानको मेरो आफ्नै तीन दशकको संघर्षको अनुभवले भन्छ— अहिलेका राजनीतिक दलहरू र तिनका नेतृत्व यसका लागि तयार छैनन् । राजनीतिक दल मात्रै होइन, यो देशको शासनमा टिकेका अन्य सरोकारवाला पनि यसका लागि तयार छैनन् । किनभने राज्यका सबै अंग तथा संयन्त्रहरू औपनिवेशिक मानसिकतायुक्त शासनलाई वैधानिकता प्रदान गर्ने औजारका रूपमा प्रयोग भइरहेका छन् । यस्तो चिन्तनले ग्रस्त राज्यका तमाम निकायलाई राजनीतिमार्फत नै रूपान्तरण गर्न सकिनेमा हामी दृढ विश्वास गर्छौं ।

यही विश्वासलाई वास्तविकतामा उतार्न जसपाले पछिल्लो समय मधेसी, आदिवासी जनजाति, थारूसहित सबै सीमान्तकृत राष्ट्रियताहरूलाई एक ढिक्का बनाएर ‘नयाँ नेपाल, साझा नेपाल’ बनाउने दिशामा काम गरिरहेको छ । यसका लागि सबैको पहिचानसहितको र सम्पूर्ण विभेदमुक्त राज्यका निमित्त हिमाल पहाड मधेसका नेपाली जनताको संयुक्त अन्तिम एकीकृत राष्ट्रिय मुक्ति आन्दोलन अबको एक मात्र विकल्प हो ।

(महतो जसपाका वरिष्ठ नेता हुन् )

rjpn.rajendra@gmail.com

प्रकाशित : फाल्गुन १६, २०७७ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्

जसपा किन वैकल्पिक राजनीतिक शक्ति ?

विश्वसमाजमा हाम्रो स्वतन्त्रता, समानता, आत्मासम्मानको रक्षा गर्न नेपाली पहिचान तथा नेपाल राज्य अपरिहार्य भइसकेको छ । नेपाल राज्यप्रति हाम्रो पनि दायित्व छ। तर, ‘नेपाली नागरिक राष्ट्रियता’ को पहिचान मात्रले हाम्रो स्वतन्त्रता, समानता र आत्मगौरव स्थापित भएन र हुँदैन ।
राजेन्द्र महतो

जनता समाजवादी पार्टी नेपाल (जसपा) को स्थापनापछि गम्भीर रूपमा उठेको प्रश्न हो– एकीकृत पार्टी विगतकै निरन्तरता हुने कि नयाँ वैकल्पिक शक्तिको आधार तयार पार्ने ? राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालको एकीकरणपछि जसपाको गठन नेपाली राजनीतिका लागि महत्त्व राख्ने विषय हो ।

मधेसकेन्द्रित रहेका सद्भावना, मधेसी जनाधिकार फोरम तथा तराई मधेस लोकतान्त्रिक पार्टीबाट विभिन्न कालखण्डमा विभाजित भएकाहरू सबैको एकीकरण भएको छ । अर्कातर्फ, विभिन्न समयमा कांग्रेस, एमाले र माओवादीबाट अधिकार, पहिचान, सुशासन र समृद्धि तथा परिवर्तनका लागि विद्रोह गरी अलग भएका सबै शक्ति, पार्टी र समूहहरू एकीकृत भई आज वैकल्पिक धारका रूपमा देश र जनताका अगाडि जसपा उदाएको छ । उत्पीडित जाति–वर्गका जनतालाई आफ्नै एक सशक्त र भरपर्दो राजनीतिक शक्ति प्राप्त भएको छ ।

जसपामा एकीकृत भएकाहरू विगतका राजनीतिक लिगेसीलाई जबर्जस्त रूपान्तरण गर्दै नयाँ यात्राको थालनी गर्ने विन्दुमा छौं । विगतमा हामी कोही कम्युनिस्ट धारका थियौं, कोही पुँजीवादी धारका थियौं । कोही आफ्नो राजनीतिक जीवनको सुरुआती बेलादेखि नै मधेसी, आदिवासी जनजातिलगायत उत्पीडित र राज्यविहीन राष्ट्रहरूको पहिचान र मुक्तिका निम्ति प्रतिबद्ध थियौं । तर आज हामी न उदारवादी रह्यौं न मार्क्सवादी, न पुँजीवादी रह्यौं न साम्यवादी । हिजोका ती मान्यताहरूलाई रूपान्तरण गर्दै आज हामी आफू ‘समाजवादी’ भएको दाबी गरिरहेका छौं ।

सैद्धान्तिक–राजनीतिक रूपले ‘समाजवाद’ को नयाँ व्याख्या अनिवार्य भएको छ । हाम्रो राजनीतिक लिगेसीको सुरुआत युरोपेली पुनर्जागरणबाट भएको हो । आधुनिकीकरण मूलतः पश्चिमीकरणअनुरूप भयो र अन्ततः विशाल औपनिवेशिकीकरण परियोजनामा परिणत भयो । करिब सात सय वर्षको आधुनिकीकरणको सबैभन्दा अँध्यारो पक्ष यही नै हो । कम्युनिस्ट वा क्यापिटलिस्ट हुँदाको हाम्रो लिगेसी यही आधुनिकीकरण परियोजनाबाटै निःसृत भएको थियो, जुन वास्तवमा औपनिवेशिक परियोजना थियो ।

परिणामतः पश्चिमी साम्राज्यवादबाट सापेक्षित राष्ट्रिय स्वाधीनता वा मुक्ति प्राप्त भएको अवस्थामा पनि विश्वका अधिकांश जनता र राज्य औपनिवेशिकताको सिकार हुँदै आएका छन् । किनकि आधुनिक राष्ट्र–राज्यहरूको निर्माणको जग त्यही पश्चिमी ज्ञानमीमांसा नै थियो, जहाँ राष्ट्र–राज्यहरूले साम्राज्यवादविरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्षमा बहुलराष्ट्रिय जनतालाई सामेल गराउँदै आए । तर, राज्यहरू आफैंले ती बहुलराष्ट्रिय जनतालाई राज्यविहीनताकै अवस्थामा राखिदिए, उनीहरूको राष्ट्रिय स्वाधीनतालाई कुल्चिँदै गए ।

विश्वभर धर्ममा आधारित सामन्तवादविरुद्ध स्थापित भएको लोकतान्त्रिक उदारवाद तथा साम्यवादको आधुनिकीकरण परियोजनालाई हाँक्न राष्ट्र–राज्य अवधारणा विकास भयो । नेपाली इतिहासको करिब १,५०० वर्षको कालखण्ड विविध राष्ट्रिय सामन्तहरूबीच भएका शक्तिसंघर्षका कथाहरूले भरिएको छ ।

त्यसबीच कुनै एक राष्ट्रिय सामन्त अन्यमाथि सैन्य विजय हासिल गर्दै सामन्तबाट महासामन्त वा महाराजाधिराज घोषित हुँदै गए । इतिहासका साना राष्ट्रिय सामन्तहरूमध्ये गोरखाका खस–आर्यको संयुक्त राष्ट्रिय वा जातीय सामन्त वंशभित्रका पृथ्वीनारायण शाह एक हुन् । उनी र उनका सन्तानहरूद्वारा सैन्य विजयमार्फत वर्तमान नेपालको भौगोलिक सीमा निर्धारण भयो । उनलाई खस–आर्य राष्ट्रियताको जगमा निर्मित एकल राष्ट्रिय राज्य नेपालको निर्माता घोषित गरियो, जसरी अमेरिकामा युरोपेली आप्रवासीहरूले क्रिस्टोफर कोलम्बसलाई गरेका थिए । रंगभेदको नीतिद्वारा प्रताडित अमेरिकी नागरिकले अहिले तिनै क्रिस्टोफर कोलम्बसको मूर्ति ढाल्दै छन् । युरोपेली गोराहरूद्वारा निर्मित अमेरिकी राज्य सम्भ्रान्तहरूको स्वार्थ सुरक्षा गर्ने हतियार मात्र भएको रंगभेदको सिकार बनिरहेका अमेरिकी नागरिकहरूको दाबी छ ।

राज्यलाई एकलराष्ट्रिय स्वरूपबाट बहुलराष्ट्रिय स्वरूपमा रूपान्तरण गर्नु कति महत्त्वपूर्ण तथा अनिवार्य भएको छ भन्ने विषय अमेरिकी घटनाले पनि पुष्टि गरेको छ । नेपालका ऐतिहासिक राष्ट्रियताहरू विश्वमा अन्यत्रझैं राज्य निर्माणका नाममा औपनिवेशिकीकरणको सिकार भएकै हुन् । औपनिवेशिकीकरणले मधेसी तथा आदिवासी जनजाति लगायतलाई राज्यविहीनताको अवस्थामा पुर्‍यायो । तर, इतिहासको एक चरणमा नेपाल राष्ट्र तथा राष्ट्रियताको विकासमा उनीहरूको योगदान पनि महत्त्वपूर्ण देखिएको छ । इतिहासदेखि नै नेपाल बहुलराष्ट्रिय राज्य रहँदै आएको छ । भौगोलिक एकीकरणपश्चात् स्थापित एकीकृत राज्य पनि यहाँको बहुलतालाई स्वीकार गर्न बाध्यकारी बन्यो । त्यही अर्थमा नेपाल ‘चार वर्ण छत्तीस जातको साझा फूलबारी’ भएको व्याख्या गरियो । तर नेपाल हालसम्म पनि साझा फूलबारी भने बनेको छैन । भौगोलिक एकीकरणले भावनात्मक एकतालाई जोड्न सकेन ।

हाम्रो राष्ट्रियता तथा राष्ट्रिय भावना आधुनिक नेपाल राज्य निर्माण हुनुभन्दा हजारौं वर्ष पहिलेदेखि विद्यमान थियो । तथापि, मधेसी र आदिवासी जनजातिले आत्मसात् गरिसकेको विषय हो– हामी नेपाल राज्य बन्नुभन्दा अगाडिको राष्ट्रका जनता रहेनौं, नेपाल राज्यमा अन्तर्घुलन भइसकेका छौं । हाम्रो स्वतन्त्र राष्ट्रियता नेपाल राज्यको अधीन आएको करिब २७० वर्ष भइसकेको छ । आधुनिक विश्वसमाजमा हाम्रो स्वतन्त्रता, समानता, आत्मसम्मानको रक्षा गर्न नेपाली पहिचान तथा नेपाल राज्य अपरिहार्य भइसकेको छ । यो नेपाल राज्यप्रति हाम्रो पनि दायित्व छ । तर, ‘नेपाली नागरिक राष्ट्रियता’ को पहिचान मात्रले हाम्रो स्वतन्त्रता, समानता र आत्मगौरव स्थापित भएन र हुँदैन । आ–आफ्नो ‘सांस्कृतिक राष्ट्रियता’ नै हाम्रो राष्ट्रियताको पहिचान हो । यसर्थ यहाँ बहुल सांस्कृतिक राष्ट्रियताहरू कायम छन् । हाम्रा लागि ‘नेपाली नागरिक राष्ट्रियता’ एक सम्झौता मात्र हो र भूराजनीतिक रूपले उक्त सम्झौता फलदायी भएको छ ।

सम्झौतामार्फत निर्माण भएको आधुनिक राज्य ‘नेपाल’ अब हाम्रो साझा आवश्यकता भइसकेको छ र हाम्रो अस्तित्वका निम्ति अपरिहार्य भएको छ । नेपाल अब संयुक्त राष्ट्र संघको चार्टर मुताबिकको एक सार्वभौम सदस्य राज्य हो । यसको अस्तित्व विश्वसमाजमा स्थापित छ । तथापि, हामी आन्तरिक रूपमा यो राज्यको स्वरूप कस्तो हुने भन्ने विषयमा घनीभूत छलफल खोजिरहेका छौं । हामीले भन्दै आएका छौं, नेपाली जनताको नागरिक राष्ट्रियतालाई मजबुत बनाउन अब राज्यलाई वर्तमानको एकलराष्ट्रिय स्वरूपबाट बहुलराष्ट्रिय स्वरूपमा रूपान्तरण गर्न ढिलो गर्नु हुन्न ।

विक्रम संवत् २००७ सालको जनक्रान्तिदेखि नेपालमा हुँदै आएका सबै किसिमका ठूला–साना जनसंघर्षहरूमार्फत अभिव्यक्त जनताको आवाज यही प्रश्नमाथि केन्द्रित रहँदै आएको छ– राज्य निर्माण भयो तर यो एकलराष्ट्रिय हुने कि बहुलराष्ट्रिय ? यो सवाल जनताको ‘स्वतन्त्रता, समानता र आत्मगौरव’ स्थापना गर्ने लोकतान्त्रिक प्रणालीसँग जोडिएको छ । अबको हाम्रो मुख्य कार्यभार राष्ट्रिय मुक्ति क्रान्ति हो जसले बहुलराष्ट्रिय जनताको आत्मगौरव स्थापित गर्नेछ एवं जनता राजनीतिक स्वतन्त्रता र आर्थिक समानताका निम्ति प्रतिस्पर्धा गर्न सक्षम भई मुलुकले समृद्धिको मार्ग लिनेछ । पहिलो संविधानसभाको निर्वाचनमार्फत नै नेपालमा मधेसको भूमिबाट नयाँ वैकल्पिक शक्तिको जग बसेको हो । निर्वाचनमा मधेसी जनाधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी तथा सद्भावना पार्टीले सानदार विजय हासिल गरे । ऐतिहासिक मधेस आन्दोलनको जगमा प्राप्त यस सफलताले नेपाली कांग्रेस, साम्यवादी कम्युनिस्ट तथा नवसंरक्षणवादी राष्ट्रिय प्रजातन्त्र पार्टीविरुद्ध मधेसमा वैकल्पिक शक्तिको उदय गराएको थियो ।

वैकल्पिक शक्ति निर्माणको क्रमलाई गोलबद्ध गरिएको अहिलेको परिप्रेक्ष्यमा केही गम्भीर तथा महत्त्वपूर्ण सैद्धान्तिक, राजनीतिक र सांगठनिक सवालहरू जसपाका अगाडि छन् । पार्टीको राजनीतिक कार्यदिशा कस्तो हुने, कस्तो समाजवाद अवलम्बन गर्ने, पार्टीको संगठनात्मक सिद्धान्त, विचार, नेतृत्व कस्तो हुने लगायतका विषयमा बहस आवश्यक छ । बाह्य सुझाव र पार्टीको आन्तरिक छलफलले पार्टीको सैद्धान्तिक– वैचारिक नीति र कार्यक्रम बनाई मुलुकको वैकल्पिक राजनीतिक शाक्ति निर्माण गर्ने अभियानमा जुट्नु पहिलो दायित्व हो ।

अब प्रश्न उठ्छ– वैकल्पिक शक्तिको औचित्य र आवश्यकता पुष्टि कसरी गर्ने ? जसपा कांग्रेस र कम्युनिस्टहरूजस्तो वर्गीय समाजको समस्या हल गर्ने शक्ति हो वा राष्ट्रिय समस्या हल गर्ने शक्ति ? कांग्रेस र कम्युनिस्ट पार्टीका संगठनहरूभन्दा हामी कुन हिसाबले फरक, नयाँ र वैकल्पिक शक्ति हौं ? समाजमा त्यस्तो कुन समस्या देखा पर्‍यो वा समाज विभाजित हुने कुन त्यस्तो नयाँ विषय आयो जसका कारण कांग्रेस र कम्युनिस्टभन्दा वैकल्पिक शक्ति वा दलको आवश्यकता पर्‍यो ? कि हामी छद्म रूपमा कांग्रेस वा कम्युनिस्टजस्तै हौं ? हामी किन फरक शक्ति, नयाँ शक्ति वा वैकल्पिक शक्ति ? २०४७ सालको संवैधानिक प्रजातन्त्र हाम्रा निम्ति किन अस्वीकार्य भयो र वर्तमानको संघीय गणतन्त्र हाम्रा निम्ति किन अपर्याप्त छ ? नेपाली कांग्रेस लोकतान्त्रिक गणतन्त्रवादी पक्षधर हो र कम्युनिस्टहरू समाजवादी गणतन्त्र पक्षधर भए भने हामी कुन पक्षधर ? हामीले भनेको लोकतन्त्र कस्तो हो ? समाजवाद कस्तो हो र गणतन्त्र कस्तो हो ?

कांग्रेस र कम्युनिस्ट पार्टीहरूले दाबी गरेअनुसार लोकतान्त्रिक क्रान्ति वा पुँजीवादी क्रान्ति सम्पन्न भएको छ । अब समाजवादी क्रान्तिको कार्यभार बाँकी रहेको भन्ने तर्कका साथ संविधानमै ‘समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र’ उल्लेख भएको निष्कर्षसँग हामी किन असहमत छौं ? किन हाम्रा निम्ति अझै लोकतान्त्रिक क्रान्तिको कार्यभार नै पूरा भएको छैन ? किन हाम्रो समाजवादी क्रान्तिको मोडल उनीहरूको भन्दा फरक छ ? किन हामी राष्ट्रिय मुक्ति क्रान्तिको कार्यभार सम्पन्न नभएसम्म लोकतान्त्रिक क्रान्ति र समाजवादी क्रान्ति अपूर्ण नै रहन्छ भनिरहेका छौं ? राष्ट्रिय मुक्ति क्रान्तिले समाजको कुन खाले विशेष अन्तरविरोधको हल गर्छ ? राजनीतिक रूपमा हाम्रा निम्ति समाजमा निहित वर्गीय सवाल प्रधान हो कि राष्ट्रियताको सवाल ?

यस्ता अनेकौं प्रश्नको उत्तर नवगठित जसपाले दिनुपर्नेछ । वैकल्पिक शक्ति लेखिएको साइनबोर्ड टाँसेर जसपा वैकल्पिक शक्ति भयो भन्दैमा कसैले पत्याउनेवाला छैन । हामीले आधार र प्रमाणहरू नदिईकन कसैले वैकल्पिक शक्ति मान्नेवाला पनि छैन । यो सत्य हो, जनताले वैकल्पिक शक्ति खोजिरहेका छन् । जनतालाई विकल्प चाहिएको हो तर तिनलाई विश्वास दिलाउने गरी आधार चाहियो, सिद्धान्त चाहियो, आदर्श चाहियो ।

बिनामूल्यमान्यता, बिनाआदर्श अरूभन्दा भिन्न, अरूभन्दा फरक र अरूको विकल्प बन्न सकिन्न । विकल्प बन्नका लागि हामीले आफ्ना कुरा राख्नैपर्छ, जुन नयाँ ढंगले राख्नुपर्छ । हिजोकै विचारबाट हामीलाई कसैले पत्याउनेवाला छैन । हाम्रा निम्ति सामाजिक अन्तरविरोधको प्रमुख आधार राष्ट्रिय अन्तरविरोध हो एवं यो ऐतिहासिक र वस्तुगत तथ्य हो । राष्ट्रिय अन्तरविरोधको हल नभएसम्म लोकतन्त्र पूर्ण हुन्न । व्यक्तिगत स्वतन्त्रतालाई ग्राह्यता दिने उदार लोकतन्त्र र सर्वहारा अधिनायकत्व रहने समाजवादी लोकतन्त्र हाम्रा निम्ति अस्वीकार्य छ । हामी उत्पीडित राष्ट्रहरूले पूर्ण लोकतान्त्रिक अभ्यास गर्ने बहुलराष्ट्रिय लोकतन्त्रका पक्षधर हौं । किनकि बहुलराष्ट्रिय लोकतन्त्रमा मात्र राष्ट्रिय मुक्ति सम्भव हुन्छ । हाम्रो लक्ष्य बहुलराष्ट्रिय राज्य स्थापना हो । हामी सांस्कृतिक राष्ट्रवाद तथा स्वदेशवादको पक्षधर हौं । सांस्कृतिक राष्ट्रवादले राज्यहरूभित्र रहेको बहुलराष्ट्रिय संस्कृति र त्यसको जगमा निर्माण हुने विश्वदृष्टिकोण, ब्रह्माण्डिकी तथा राष्ट्रिय समूहलाई राजनीतिक शक्ति संरचनाको आधारभूत एकाइ मान्छ । व्यक्तिलाई राजनीतिक शक्ति संरचनाको आधारभूत एकाइ मान्ने उदारवाद र वर्गलाई राजनीतिक शक्ति संरचनाको आधारभूत एकाइ मान्ने मार्क्सवादभन्दा फरक छ यो । सांस्कृतिक राष्ट्रियतालाई राजनीतिक शक्ति संरचनाको आधारभूत तत्त्व मान्ने हामी सांस्कृतिक बहुल स्वरूपतालाई प्रधानता दिन्छौं ।

अन्त्यमा, आगामी स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचनबाट हाम्रो विजययात्राको सुरुआत गर्नुपर्छ । जति वैकल्पिक शक्तिको कुरा गरे पनि परिणाम त्यति बेला देखिने हो । त्यसैले त्यसको तयारी पनि हुने गरी अहिलेदेखि नै नीति तथा कार्यक्रमहरू पार्टीले दिनुपर्नेछ । अर्कातर्फ, शोषण र उत्पीडनमा परेका जनताको पहिचानसम्बन्धी अधिकारको प्राप्ति तथा देशलाई सुशासन र समृद्धितर्फ लैजान राष्ट्रिय मुक्ति क्रान्तिको तयारी साथसाथै गर्दै जानुपर्नेछ र नेपाली जनताले खोजेको वैकल्पिक राजनीतिक शक्ति प्राप्त गर्नुपर्नेछ । किनकि जसपाको गठन वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ भएको हो । पार्टी एकीकरणको लक्ष्य त्यही हो । विकल्प दिनकै लागि एकता गरेका हौं । त्यसैले लक्ष्यप्राप्तिका लागि हाम्रो मुख्य र अन्तिम लक्ष्य भनेको वैकल्पिक शक्ति निर्माण नै हो ।

(महतो जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता हुन् ।)

rjpn.rajendra@gmail.com

प्रकाशित : आश्विन २२, २०७७ ०८:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×