१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कोभिडपछिको विश्वमा कूटनीति

अन्य विश्वव्यापी समस्याहरूले यही स्तरको प्राथमिकता पाउन जरुरी छ ।
एस. जयशंकर

कोभिड–१९ महामारीलाई परास्त गर्ने अभीष्टसहित हामी सन् २०२१ मा प्रवेश गरेका छौं । प्रत्येक समाजले यसलाई भिन्न तरिकाले सामना गरे पनि, यसविरुद्ध जुझे पनि वैश्विक कूटनीतिले आफ्नो सम्पूर्ण ध्यान साझा चिन्ता र सिकाइमा केन्द्रित गर्नेछ । धेरैजसो विषय भूमण्डलीकरणको प्रकृतिमाथि पनि निर्भर गर्छन् ।

कोभिडपछिको विश्वमा कूटनीति

यस घटनाले हाम्रो पुस्तालाई विशेष गरी आर्थिक क्षेत्रमा निकै सोच्न बाध्य बनाएको छ । सामान्य अर्थमा व्यापार, वित्त, सेवा, सञ्चार, प्रविधि तथा गतिशीलतामाथि साँच्चै सोच्नुपर्ने बेला आएको छ । यसले हाम्रो युगको एकअर्काप्रतिको निर्भरता र परस्पर सम्बन्धलाई अभिव्यक्त गर्छ । हाम्रो अस्तित्वको गहिरो अविभाज्यतालाई कोभिडले बाहिर ल्याएको छ । विश्वव्यापीकरणलाई बुझ्दै गर्दा महामारी, जलवायु परिवर्तन र आतंकवादजस्ता विषयलाई सहजै नकार्न सकिँदैन । कूटनीतिक विचार–विमर्शमा यी पक्षहरू समाविष्ट हुनैपर्छ जसको ज्वलन्त उदाहरणका रूपमा सन् २०२० मा हामीले महामारीलाई बेवास्ता गर्दा भोग्नुपरेको पीडा एवम् चुकाउनुपरेको मूल्यलाई लिन सकिन्छ ।

यसका धेरै फाइदा भए पनि विश्वले विश्वव्यापीकरणप्रति विविध प्रतिक्रिया झेलेको छ । धेरैजसो समाजबीच र समाजभित्रका असमान लाभबाट उत्पन्न हुन्छन् । तसर्थ यस्ता परिस्थितिहरूबारे बेखबर रहेका शासन पद्धति तथा प्रबन्धमाथि यसले ठूलो चुनौती खडा गरेको छ । हामी के कुरामा निश्चिन्त हुन जरुरी छ भने, यो विजेता र परास्त व्यक्तिबारे नभएर समुदायको दिगो विकासबारे हो । कोभिड–१९ ले सुरक्षा सम्बन्धमा हाम्रो बुझाइलाई पनि झकझकाएको छ । अहिलेसम्म राष्ट्रहरूले सुरक्षा भन्नेबित्तिकै सैन्य, खुफिया, आर्थिक र सांस्कृतिक गतिविधिलाई बुझ्थे, तर अहिले आएर यी मुलुकहरूले स्वास्थ्य सुरक्षालाई विशेष महत्त्व दिँदै भरलाग्दो एवम् सुरक्षित आपूर्ति प्रणालीउपर चासो र चिन्ता व्यक्त गर्न थालेका छन् । कोभिड–१९ ले निम्त्याएको समस्याले हाम्रो वर्तमान अवस्था कति नाजुक छ भन्ने प्रस्ट्याएको छ । वैश्विक अर्थतन्त्रलाई जोखिमरहित बनाउन विकासका थप इन्जिनहरूको आवश्यकता पर्छ ।

बहुपक्षीय संस्था यस दुःखद अनुभवबाट राम्रोसँग निस्किन पाएका छैनन् । सन् १९४५ देखि नै धेरैजसो गम्भीर विश्वव्यापी महामारीविरुद्ध लड्न सामूहिक प्रयासहरू भएका छैनन् । तसर्थ यसमा गम्भीर समीक्षा हुन अत्यावश्यक छ । प्रभावकारी समाधान सृजना गर्नका निम्ति बहुपक्षीय संस्थालाई सुधार गर्न अत्यन्त जरुरी छ ।

कोभिड–१९ ले निम्त्याएको चुनौतीविरुद्ध प्रभावकारी रूपमा लड्न चालिने प्रयासले सन् २०२१ मा विश्वव्यापी कूटनीतिमाथि हावी हुने देखिन्छ । भारतले यसमा एउटा उदाहरण पेस गरिसकेको छ । भारतले मृत्युदरलाई घटाउँदै र निको हुने दरलाई बढाउँदै महामारीविरुद्धको लडाइँमा सफलता हासिल गरेको छ । यति मात्र नभएर १५० भन्दा बढी मुलुकलाई अनुदानस्वरूप औषधि आपूर्ति गरेर विश्वजगत्‌मै प्रशंसा बटुल्न सफल भएको छ ।

हाम्रो मुलुक भारत कोरोनाविरुद्धको खोप अभियानमा लागिसकेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको विश्वलाई नै सर्वसुलभ र सहज तरिकाले खोप उपलब्ध गराउन मद्दत गर्ने वाचा कार्यान्वयन अवस्थामा छ । भारतमा बनेको खोप नजिकका छिमेकी मुलुकहरू भुटान, माल्दिभ्स, बंगलादेश, नेपाल, मौरिसस, सेसेल्स र श्रीलंका मात्र नपुगी भारतभन्दा निकै टाढाका मुलुकहरू ब्राजिल र मोरक्कोमा समेत पुगिसकेको छ ।

यसबाहेकका अन्य विश्वव्यापी समस्याहरूले यही स्तरको प्राथमिकता पाउन जरुरी छ । पेरिस सम्झौतामा हस्ताक्षर गरिसकेको भारत जलवायु परिवर्तनले निम्त्याएको चुनौतीविरुद्ध लड्न कटिबद्ध छ । नवीकरणीय ऊर्जामाथि लिइएका लक्ष्यहरूलाई बढाइएको छ, वनक्षेत्रको आकार बढेर गएको छ, जैविक विविधता विस्तार गरिएको छ र पानीको उपयोगमा भारत बढी केन्द्रित भएको छ । भारतमा अपनाइएका अभ्यासहरू यसका विकास साझेदारहरू अफ्रिका र अन्य मुलुकमा पनि लागू गरिएका छन् । उदाहरण र ऊर्जाद्वारा, इन्टरनेसनल सोलार अलायन्स र कोअलिसन फर डिजास्टर रेजिलिएन्ट इन्फ्रास्ट्रक्चर पहलमार्फत भारतीय कूटनीति अघि बढिसकेको छ ।

आतंकवाद र यस्ता गतिविधिमा संलग्न तत्त्वहरूले निम्त्याउने चुनौती पनि डरलाग्दो छ । लामो समयदेखि सीमापार आतंकवादी समस्यासँग जुझ्दै आएको भारतले विश्वव्यापी चेतना अभिवृद्धि गर्न र समन्वित कार्यलाई प्रोत्साहित गर्न सदैव तदारुकता देखाएको छ । सुरक्षा परिषद्को गैरस्थायी सदस्यका रूपमा र एफएटीएफ र जी–२० जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा भारतको कूटनीति यसै विषयमा केन्द्रित हुनेछ ।

कोभिड–१९ ले सिकाएको अर्को अनुभव भनेको डिजिटल डोमेनको शक्ति हो । कन्ट्याक्ट ट्रेसिङलाई लिएर होस् वा वित्तीय वा खाद्यान्न सामग्रीको व्यवस्थालाई लिएर, भारतको डिजिटल फोकसले सन् २०१४ पछि प्रभावशाली नतिजा पाएको छ । कोभिड–१९ का कारण ‘जहाँसुकैबाट काम’ र ‘घरबाट अध्ययन’ जस्ता प्रयोगहरू व्यापक चलनमा आए । यी सबैले भारतको विकास कार्यक्रमसम्बद्ध उपकरणहरूलाई विदेशमा विस्तार गर्न सहयोग गर्नेछन् । साथै भारतका थुप्रै साझेदारको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछन् ।

यसका अलावा सन् २०२० मा भारतले विदेशमा रहेका ४० लाख भारतीय नागरिकलाई स्वदेश फर्काई समकालीन समयमा गतिशीलताको महत्त्वलाई उजागर गरेको छ । कूटनीतिका माध्यमबाट गतिशीलतालाई सहजीकरण गर्नु विश्वव्यापी हितमा छ ।

सन् २०२१ मा सामान्य जीवनमा फर्किनु भन्नाले सुरक्षित यात्रा, राम्रो स्वास्थ्य, चलायमान आर्थिक गतिविधि र डिजिटल सञ्चालित सेवाहरूलाई बुझाउनेछ । यी पक्षहरू नयाँ कुराकानी र ताजा सिकाइमा व्यक्त हुनेछन् । कोभिडपछिको विश्व अधिक बहुध्रुवीय, बहुलवादी र पुनःसन्तुलित हुनेछ । र, भारतले आफूले आर्जेको अनुभवबाट नयाँ सिकाइ स्थापित गर्न सहयोग गर्नेछ ।

(जयशंकर भारतका विदेशमन्त्री हुन् ।)

प्रकाशित : फाल्गुन १४, २०७७ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?