कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

‘छोरीलाई धेरै पुलपुल्याउनुभ’को रैछ !’

विद्यार्थीहरूलाई नकुटी पढाउन सकिन्छ भनेर सामुदायिक विद्यालयका शिक्षकहरूलाई तालिम दिएको वर्षौं भयो । तैपनि विद्यार्थी कुट्ने र विद्यार्थीलाई मूर्ख भन्ने शिक्षकहरूको संख्यामा कमी आएको छैन ।
मधु राई

केही दिनअघि दाङ, राजपुर गाउँपालिका–७ स्थित सिक्टा माविका शिक्षक हेमराज विक विद्यार्थी कुटेका कारण पक्राउ परे । गणित र विज्ञानका शिक्षक विकले आफ्नो विषयमा शून्य अंक ल्याएको भन्दै कक्षा १० का विद्यार्थीलाई नीलडाम हुने गरी कुटेका थिए ।

‘छोरीलाई धेरै पुलपुल्याउनुभ’को रैछ !’

अभिभावकले उजुरी दिएपछि उनलाई प्रहरीले समात्यो । यस्तै गत माघमा झापाको कन्काई नगरपालिकास्थित चम्पापुर माध्यमिक विद्यालयमा खरिदार पदमा कार्यरत रविन मगरले शिक्षकको अनुपस्थितिमा कक्षा लिने गरेको समाचार छापियो । त्यही महिना उनले आफूले सोधेको प्रश्नको जवाफ नदिँदा कक्षा ४ मा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीलाई कुटपिट गरेको पनि सार्वजनिक भयो । मरणासन्न हुने गरी कुटाइ खाएका विद्यार्थीको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।

सधैं प्रथम तीनमा पर्ने मेरी छोरीलाई एक दिन कक्षा नियन्त्रण गर्न नसकेका कारण नेपाली विषयका शिक्षकले जगल्टाउँदै ढाडमा हिर्काए । कक्षा सकिएपछि छोरी रुँदै घर आइन् । संयोगवश, यसैको भोलिपल्ट विद्यालयले मेला आयोजना गरेको थियो । ती शिक्षकसँग विद्यालयमै भेट भयो । छोरीलाई किन कुटेको भनेर म झोंक्किएँ । आफ्नो बचाउ गर्दै उनले भने, ‘तपाईंहरूले छोरीलाई धेरै पुलपुल्याएर हुर्काउनुभ’को रैछ । हाम्रो पालामा सरहरूले रगताम्मे हुने गरी कुट्थे ।’ उनको स्पष्टीकरणले मलाई चित्त बुझेन । मैले प्रतिवाद गरें, ‘आफूले शिक्षकबाट पाएको सजाय ब्याजसहित असुल्दै हुनुहुन्छ विद्यार्थीलाई कुटेर ?’ मैले यति भनेपछि विवाद झनै चर्कियो ।

शिक्षण पेसालाई कुनै पनि पेसासँग तुलना गर्न मिल्दैन न त जोसुकैलाई पढाउने जिम्मा नै दिन सकिन्छ । विद्यार्थीहरूले शिक्षकबाट लेख्न–पढ्न मात्र सिक्दैनन्, उनीहरूले शिक्षकलाई आदर्श मानेका हुन्छन् । प्रत्यक्ष र परोक्ष रूपमा शिक्षकका आनीबानीबाट ज्ञानगुनका कुराहरू पनि विद्यार्थीहरूले सिकिरहेका हुन्छन् । हुन पनि हो, शिक्षकले लेख्न–पढ्न मात्र सिकाउँदैनन्, आफ्नो सच्चरित्र र सद्गुणसमेत विद्यार्थीहरूमा हस्तान्तरण गरिरहेका हुन्छन् । त्यसैले त कतिपय शिक्षकलाई विद्यार्थी र अभिभावकले मात्र हैन, समाजले नै आदर्श व्यक्तिका रूपमा स्विकारेका दृष्टान्त पाइन्छन् ।

पछिल्लो समय जोकोहीले पनि जागिरका रूपमा शिक्षण पेसा अपनाउने गर्छन् । अधिकांश जागिरे शिक्षकहरूले आफूमा के–कस्ता गुण छन् र त्यसलाई कसरी बाँड्ने भन्नेबारे सोचेका छैनन् । त्यसैले कतिपय शिक्षितले ‘केटाकेटीलाई पढाउनु कुन गाह्रो काम हो र, पढाइहालिन्छ नि’ भन्ने गरेको पनि पाइन्छ । यस्ता सोच राख्ने कतिपय व्यक्तिबाट शिक्षा क्षेत्र प्रताडित छ । शिक्षण पेसा इज्जतिलो भए पनि विद्यार्थी कुट्ने केही शिक्षकका कारण हाम्रा कलिला छोराछोरीले निकै दुःख पाएका छन् । विद्यालयमा लेख्न, पढ्न मात्र सिकाइँदैन, व्यक्तित्व विकासका लागि आवश्यक मानवीय गुणहरू पनि सिकाइन्छ । अफसोस, विद्यार्थी देख्नेबित्तिकै रिसाउने शिक्षकहरूबाट हाम्रा छोराछोरीले के सिक्छन् ? कहिले कक्षाकार्य त कहिले गृहकार्य नगरेको भन्दै एकतर्फी विद्यार्थीहरूको मात्र गल्ती देख्ने शिक्षकहरूले आफू विद्यालयमा हुँदा कसरी लेखपढ गर्न सिकें भन्ने कुरा चटक्क बिर्सेको देखिन्छ ।

अन्य विषयको तुलनामा गणित र विज्ञानका शिक्षकहरू बढी रिसाहा हुने गरेको कतिपय घटनाले देखाएको छ । यी विषयका रिसाहा शिक्षकहरूले व्यावहारिक कक्षा लिने गरेको पाइँदैन । विशेष गरी यस्ता विषयका शिक्षकले विद्यार्थीलाई घोकाउँछन् मात्र । यदि व्यावहारिक तरिकाले विद्यार्थीलाई सहभागी गराएर पढाउने हो भने गणित र विज्ञानजस्ता जटिल विषयमा पनि विद्यार्थीलाई जिज्ञासु बनाउन सकिन्छ । विकसित मुलुकको अभ्यासले यो कुरालाई प्रमाणित गरिसकेको छ । हामीकहाँ सैद्धान्तिक ज्ञानमा आधारित निष्क्रिय शिक्षण सिकाइका कारण धेरैजसो विद्यार्थीका लागि गणित र विज्ञान हाउगुजी बनेको छ ।

यस्ता विषयमा संवेदनशील भई आफ्नो शिक्षण सिकाइ परिमार्जन गर्नुभन्दा पनि विद्यार्थीलाई कुटेरै सिकाउनुपर्छ भन्ने मान्यता बोकेका शिक्षकहरूको बाहुल्य रहेकाले सरकारको ‘दण्डरहित शिक्षण’ नीति असफल भइरहेको छ । विद्यार्थीहरूलाई नकुटी पढाउन सकिन्छ भनेर सामुदायिक विद्यालयका शिक्षकहरूलाई तालिम दिएको वर्षौं भयो । तैपनि विद्यार्थी कुट्ने र विद्यार्थीलाई मूर्ख भन्ने शिक्षकहरूको संख्यामा कमी आएको छैन । पहिलेपहिले विद्यार्थीले शारीरिक सजाय मात्र पाउँथे । केही समययता भने विद्यार्थीको अंगभंग हुने वा ज्यानै गुम्ने गरेका घटना पनि बाहिरिन थालेका छन् । शिक्षण पेसालाई जागिरजस्तै गरी लिने कतिपय रिसाहा शिक्षकले गाईवस्तुलाई बिनाकारण कुटेजस्तै गरी विद्यार्थीलाई भक्कुर्ने गरेका छन् । यस्ता शिक्षकले विद्यार्थीलाई निर्जीव वस्तु सम्झेका हुन्छन् र सोहीअनुरूप व्यवहार गर्छन् । कतिपय विद्यार्थीले यस्ता शिक्षकको कुटाइबाट बच्न बीचैमा पढाइ छाड्छन् ।

विद्यार्थीका लागि विद्यालय भनेको दोस्रो घर हो जहाँ उनीहरू लेख्न, पढ्न मात्रै सिक्दैनन्, आफूलाई मन पर्ने शिक्षकबाट मानवीय गुणहरू पनि सिकिरहेका हुन्छन् । अफसोस, अधिकांश शिक्षकले जागिर मात्र खाइरहेका छन् । र, विद्यार्थीलाई मानवीय गुण सिकाउनुपर्छ भन्ने कुरा पुस्तकमै सीमित राखेका छन् । शिक्षण पेसाको मर्म नबुझ्ने यस्ता शिक्षकहरूमा मानवीय गुणको खडेरी परेको देखिन्छ ।

यसो हुनुमा उनीहरूले पाएको सिकाइ वातावरणको पनि दोष छ । हिजोका दिनमा शिक्षासँगै मानवीय संवेदनाको विकास गर्न चुकेका कतिपय शिक्षकको व्यक्तिगत र सामाजिक व्यवहार समाजोपयोगी छैन । शिक्षक र अभिभावकहरूका व्यवहारबाटै विद्यार्थीको व्यक्तित्व बनेको हुन्छ । विद्यार्थीको आचरण बनाउने जिम्मा शिक्षककै हुन्छ । यस्तै अभिभावकहरूले पनि छोराछोरीका रूपमा आफ्नो अमूल्य सम्पत्ति विद्यालय र शिक्षकलाई सुम्पेका हुन्छन् । उनीहरूबाट अभिभावकले धेरै आशा र अपेक्षा राखेका हुन्छन् । शिक्षकले आफूजस्तै आदर्शवान् विद्यार्थी उत्पादन गर्न वर्षौं मिहिनेत गरेका हुन्छन् । यस्ता मिहिनेती शिक्षककै कारण शिक्षाको ज्योति फैलिरहेको छ । यस कुरालाई सतही रूपमा हाम्रा प्रधानाध्यापक र शिक्षकहरूले बुझे पनि आफूलाई संवाहक नसम्झने कतिपय रिसाहा शिक्षकका कारण शिक्षाको ज्योति सबै वर्ग, जाति, धर्म र समुदायसम्म पुग्न सकेको छैन । विद्यार्थी कुट्ने शिक्षकले आफूलाई परिवर्तन गर्न व्यवहार बदल्न जरुरी छ । होइन भने पेसै परिवर्तन गरेको बेस ।

प्रकाशित : फाल्गुन १४, २०७७ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?