प्रश्न गर सपना !- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रश्न गर सपना !

राज्यमा रहेका विकृतिहरूमाथि प्रश्न गर्नेले आफ्नै परिवार, समाज, धर्म, परम्परा र रीतिरिवाजमा थोपरिएका असमानताहरूमाथि पनि प्रश्न गर्न पाउनुपर्छ । पीडितहरूले प्रश्न नगरी पीडकलाई कसरी महसुस हुन्छ ?
तुलानारायण साह

बृहत् नागरिक आन्दोलनले हालै काठमाडौंमा गरेको महिला मार्च अनेक कोणबाट ऐतिहासिक रह्यो । अभियन्ता हिमा विष्ट र सपना सञ्जीवनीका भनाइहरू विशेष रूपमा चर्चित रहे । दुवै जनाको हरेक शब्दमा गहिरो पीडा थियो, विद्रोहको दृढता झल्किन्थ्यो । जनकपुरकी सपनाले मैथली भाषामा कविता पढेकी थिइन्, जसमा उनले सानैदेखि सुनिआएका आफ्नै समाजका परम्परा, कथा र किंवदन्तीहरूमा गढिएका महिला पात्रलाई महिला–पुरुष समानताको लेन्सबाट हेर्ने प्रयास गरेकी थिइन् ।

मार्चको सभामा र काठमाडौंका मिडियामा उल्कै चर्चा पाएको त्यो कविताबारे मधेसबाट भने फरक प्रतिक्रिया आयो । कतिपय पढे–लेखेका मधेसीहरूले पनि मन नपराएको सुनियो । छद्मवेशी साइबर सेनाले सपनालाई हिन्दु धर्मविरोधीकै बिल्ला भिराइदियो । धर्मभीरुहरूले त्यस दिनको मञ्चमा सहभागी मात्र भएका, धर्मबारे केही पनि बोल्दै नबोलेका अन्य अधिकारकर्मीलाई पनि दपेट्ने प्रयास गरे । सपनालाई हालसम्म पनि विभिन्न थ्रेट आइरहेकै छन् । त्यसकारण यस प्रकरणबारे थप विमर्श हुनु जरुरी छ ।

स्वाभाविक कि रणनीतिक ?

समग्र प्रकरणलाई दुई कोणबाट हेर्नु जरुरी छ । पहिलो, यो तरंग क्षणिक हो कि रणनीतिक हिसाबले उठाइएको हो ? दोस्रो, यस्ता तरंगहरू बेलाबेला मधेसमै किन उठिरहन्छन् ?

पहिलो कुरा, यस तरंगमा दुई पक्ष मिसिएका छन्— स्वाभाविकता र रणनीति । सदियौंदेखि चलिआएको परम्परालाई आम मानिसले बिनाकुनै प्रश्न अपनाउनु स्वाभाविक प्रक्रिया हो । त्यसकारण सपनाले रामायण र महाभारतका पात्रहरूका खासखास प्रसंगमा जसरी प्रश्न गर्दै प्रतिकारको सन्देश दिएकी छन्, त्यसबाट केही व्यक्ति असहज र तरंगित हुनुलाई एक हदसम्म स्वाभाविकै मान्न सकिन्छ । अहिलेको प्रसंगमा त्यो पनि भएकै हो तर त्यति मात्रै भएको होइन । यसमा केही खास रणनीतिक पक्ष पनि लुकेका छन्, जुन वाचन गरिएको कविताका शब्द र भाषाभन्दा पनि महिला मार्च आयोजना गर्ने बृहत् नागरिक आन्दोलनको लक्ष्यसँग सम्बन्धित छन् ।

विगतमा पनि राज्यको संरचना र शासकहरूमाथि प्रश्न गर्दै हुने गरेका अनेक आन्दोलनमाथि लाञ्छना लगाउने प्रयास नभएका होइनन् । २०६२/६३ सालयता संविधान निर्माणको राजनीति अगाडि बढ्दै गर्दा सीमान्तकृत समुदायहरूले आफ्नो अधिकारका लागि आन्दोलन चलाउँदा अनेक आरोप लगाइएकै थिए । त्यस्ता प्रकरणमा बुझ्नैपर्ने केही महत्त्वपूर्ण पक्ष छन् । पहिलो, त्यस्ता आन्दोलनले उठाएका मुद्दाबारे षड्यन्त्रकारीहरू मौन बसिदिने तर आन्दोलनका अगुवाहरूमाथि व्यक्तिगत चरित्रहत्या गर्ने प्रकारले आक्रमण गर्ने । अधिकांश त्यस्ता आन्दोलनलाई प्रायोजित वा विदेशीको इसारामा भएको भनिदिने र आम मानिसमा भ्रम सिर्जना गर्ने । दोस्रो, अगुवाहरूमाथि आक्रमण गर्नका लागि त्यही समुदायका अनुहारहरूको प्रयोग गर्ने ।

विगतमा भएका जनजाति र मधेसी आन्दोलनले उठाएका मुद्दाहरूमाथि कसैले खासै प्रश्न गर्न सकेको थिएन, तर ती आन्दोलनलाई विदेशीको इसारामा भएको भनेर सत्तोसराप गर्न कुनै कसर बाँकी राखिएन । त्यसका लागि सीमान्तकृत समुदायकै अनुहारहरूलाई अगाडि बढाइएको थियो । त्यस्ता अनेक जनजाति र मधेसी अनुहार आफ्नै आन्दोलनलाई सरापेर राज्यद्वारा पुरस्कृत भएको हामीले देखेकै छौं । तसर्थ अहिले सपनाको कवितालाई लिएर मधेसीहरूबाट जुन प्रकारको धम्कीपूर्ण आक्रोश पोखिँदै छ, त्यसलाई सामान्य तरिकाबाट क्षणिक आवेग मात्रै पोखिएको नभई प्रतिगमनविरुद्ध जारी बृहत् नागरिक आन्दोलनलाई नरुचाएका पक्षहरूको रणनीतिले पनि काम गरेको रूपमा बुझ्नु जरुरी छ । यो आन्दोलनलाई जबर्जस्ती धार्मिक रङ दिन खोजिएको छ ।

मधेस–पहाड आयाम

यस्ता तरंगहरू बढीजसो मधेसमै किन उठ्ने गर्छन् ? यो प्रश्नको उत्तर खोज्नलाई मधेसमा समाज, राज्य, राजनीति र धर्मबीचको अन्तरसम्बन्धबारे खोतलखातल गर्न जरुरी छ ।

हिन्दु धर्मावलम्बीहरू मधेसमा पनि छन् र पहाडमा पनि । तर, यी दुई क्षेत्रका हिन्दुहरूमा अनेक भिन्नता छन् । मधेसका हिन्दुहरूले मनाउने चाडबाड, बिहेबारीको संस्कृति, महिला–पुरुष सम्बन्ध र श्रम विभाजन पहाडको भन्दा फरक छ । मधेस र पहाडमा दसैं–तिहार मनाउने विधिमा व्यापक भिन्नता छ । त्यस्तै, पहाडका हिन्दु समुदायमा ससुराले ज्वाइँलाई ढोग्ने तर मधेसमा ज्वाइँले ससुरालाई ढोग्ने चलन छ । त्यस्तै परिपाटी मामा–भान्जाबीच पनि छ । पहाडको हिन्दु समाजमा अन्तरजातीय र प्रेम विवाहको चलन निकै पुरानो छ । महिलाको सवालमा पहाड तुलनात्मक रूपमा उदार देखिन्छ भने मधेस निकै अनुदार । यसले दुवै समाजमा महिला–पुरुषबीचको लैंगिक सम्बन्ध र पितृसत्ताको रूप देखाउँछ । नेपाली समाज समग्रमा पितृसत्तात्मक र ब्राह्मणवादी त छँदै छ, तर मधेसमा त्यसको कट्टरता ज्यादा छ । त्यसकारण धर्मको हिसाबले एउटै हिन्दु भनिए पनि मधेस र पहाडका सामाजिक चलन, संस्कृति र सम्बन्धहरू फरकफरक छन् । यसबारे अमेरिकी समाजशास्त्री फ्रेडरिक गेज र नेपाली चिन्तक आहुतिले केही लेखेका छन् ।

मधेसी समाज उत्तर भारतीय समाजबाट बढी प्रभावित छ । नेपाल–भारत खुला सिमानाका कारण मधेसमा उत्तर प्रदेश र बिहारजस्ता भारतीय प्रान्तहरूको प्रभाव पर्नुलाई अस्वाभाविक पनि मान्न सकिँदैन । भारतीय समाजमा पनि हिन्दुहरूको बाहुल्य त पुरानै कुरा हो तर सन् १९९० को दशकमा अयोध्या काण्डपछि जब धर्म र राजनीतिबीच नयाँ सम्बन्धको रचना गर्न थालियो । दुई दशकयता नेपालमा पनि अनेक आन्दोलन भए । माओवादी जनयुद्ध, दोस्रो जनआन्दोलन र मधेसीलगायत सीमान्तकृतहरूको आन्दोलन । मधेसमा दुवैतर्फको प्रभाव परेको छ । संयोगले नेपालमा भएका आन्दोलनहरूले पुराना सम्बन्धहरूमा उदारता खोजेको देखिन्छ भने भारतमा सुरु भएको धर्मका नामको राजनीतिले पुराना सम्बन्धहरूको निरन्तरता र कट्टरता । यस्तो अवस्थामा मधेसी समाज नयाँ प्रकारले चेपुवामा परेको भान हुन्छ ।

माओवादी आन्दोलनले जातीय, लैंगिक, वर्गीय सम्बन्धमा गुणात्मक उदारता खोजेको थियो; सदियौंदेखि शासित रहेका समुदायलाई जागृत बनाएको थियो । मधेस आन्दोलनले शासक–शासित सम्बन्धमा परिवर्तन खोजेको थियो । जनजाति आन्दोलनले राज्यद्वारा लादिएको जातीय र सांस्कृतिक सम्बन्धमाथि प्रश्न गरेको थियो भने, दलितहरूले जातीय एवं वर्गीय सम्बन्धमा गुणात्मक बदलाव खोजेका थिए । यी सबै पक्षमा थोरबहुत परिवर्तन भएको पनि छ जुन अग्रगमनको राजनीतिक आन्दोलनबाट मात्र सम्भव भएको हो, जहाँ धर्मबारे निरपेक्षताको वकालत थियो । दक्षिणतर्फको राजनीतिक गतिविधि फरक प्रकारले अगाडि बढेको छ । त्यसको पनि प्रभाव मधेसमा परेकाले धार्मिक कट्टरताको आवाज सुन्न थालिएको छ । यस्तो आवाज बोल्नेहरूले अहिले धर्मनिरपेक्षताको मात्र विरोध गरेको जस्तो देखिएला तर कालान्तरमा गणतन्त्र, संघीयता र समावेशिता लगायतका सबै उपलब्धिका लागि यो विष साबित हुने निश्चित छ । सबै विषय अन्तरसम्बन्धित छन् । सपनाको कविताले काठमाडौंमा वाहवाही पाउनु तर मधेसको एउटा तप्काबाट चर्को विरोध आउनुलाई यही परिदृश्यमा हेर्नुपर्छ ।

प्रश्न गर सपना

गालीगलौज, आरोप–प्रत्यारोप, धाकधम्की यी सबै कुरा विमर्शयोग्य त छन्, तर त्यति महत्त्वका होइनन् । मधेसी समाजमा सपनाजस्ती एक जुझारु युवतीमा हिम्मत पलाउनु यो पंक्तिकारलाई सर्वाधिक महत्त्वको विषय लागेको छ । यहाँ धेरै सपना जन्मिन बाँकी छन् ।

नेपाल तुलनात्मक रूपमा ढिलो गरी खुला भएको समाज हो । त्यसैले हामीकहाँ खुला समाजमा हुने बहसहरू शैशव अवस्थामै छन् । पितृसत्ता भारतीय समाजमा पनि छ तर त्यहाँ प्रश्न गर्नेहरू पनि धेरै छन् । भारतमा प्रश्नमा भावना मात्र होइन, बलिया तर्कहरूसमेत उठ्नुको सम्बन्ध शिक्षाको इतिहाससँग छ । ब्राह्मणवाद भारतीय समाजमा पनि जब्बर नै छ तर त्यसबारे प्रश्न गर्नेहरू पनि त्यही समाजमा बढी छन् । नेपाली समाजभन्दा भारतीय समाजमा आधारभूत भिन्नता के देखिन्छ भने, त्यहाँका जातीय, राजनीतिक र शैक्षिक सम्भ्रान्तहरूमा पितृसत्ता, ब्राह्मणवाद र जातीय विभेदबारे निकै अगाडिदेखि केही हदसम्म उदारता पलाएको छ; नेपालमा त्यसको अभाव छ ।

त्यसैले नेपाली समाजमा हालै मात्र पृथ्वीनारायण शाहको एकीकरण अभियानबारे बहस सुरु भएको छ । उनको दिव्योपदेश साँच्चिकै उनैले लेखेका थिए कि पछि अरू कसैले लेखेर प्रचारमा ल्याएका हुन् ? भानुभक्त आचार्य कसरी आदिकवि भए भन्ने बहस पनि हालै मात्र सुरु भएको छ । नेपालको राज्य संरचना र राजनीतिमा महिला, मधेसी, जनजाति, दलितहरू राज्यका नीति–नियमका कारण पनि पछाडि परेकामा अहिले पनि एकमत भइसकेको छैन । तर, यो वैचारिक द्वन्द्वको लडाइँ जारी छ । कुनै बेला सपनाजस्तै युवाहरूको मनमा प्रश्न उठेर यस्ता बहसहरू सुरु भएका थिए । नेपालको राज्य संरचनामाथि प्रश्न गर्ने मधेसीहरू आफ्नै समाजका संरचना र परम्पराहरूमाथि कसरी प्रश्न नगरी बस्न सक्छन् ? के मधेसी समाजमा महिलामाथि विभेद छैन ? के त्यहाँ दाइजोका नाममा, भ्रूण हत्या र यौन हिंसाबाट महिलाहरू दिनानुदिन प्रताडित हुनुपरेको छैन ?

म स्वयं त्यही समाजको एक सदस्य हुँ । म जुन परिवारमा हुर्कें, जुन समाजमा पालिएँ, त्यस परिवार र समाजमा मजस्ता अनेक पुरुषले आफ्नै परिवारका महिलालाई पनि विभेद गर्ने गरेको देखेको छु । थाहै नपाई म आफैं कसरी पितृसत्ता र ब्राह्मणवादी सोचको वाहक भएको थिएँ, अहिले आएर थाहा पाउँदा ग्लानि हुन्छ ।

त्यसकारण राज्यमा रहेका विकृतिहरूमाथि प्रश्न गर्नेले आफ्नै परिवार, समाज, धर्म, परम्परा र रीतिरिवाजमा थोपरिएका असमानताहरूमाथि पनि प्रश्न गर्न पाउनुपर्छ । पीडितहरूले प्रश्न नगरी पीडकलाई कसरी महसुस हुन्छ ?

(मंगलबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट )

प्रकाशित : फाल्गुन १०, २०७७ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्

जात वृत्तान्त

तुलानारायण साह

लकडाउनको लामो बिदामा अनेकौं पुस्तक, जर्नलका लेख, हिन्दी सिनेमा, युट्युबमा सामयिक विषयका लेक्चर तथा प्रशस्त आध्यात्मिक प्रबचन सुन्ने अवसर मिल्यो । तिनमा भारतका प्रख्यात साहित्यकार फणीश्वरनाथ रेणुको ‘मैला आँचल’ उपन्यास, फ्रेड्रिक गेजको ‘क्षेत्रीयता र राष्ट्रिय एकता’, प्रकाश झा निर्देशित ‘राजनीति’ सिनेमा र आहुतिका दुई पुस्तक ‘वर्ण व्यवस्था’ एवं ‘जात वार्ता’ अविस्मरणीय रहे ।

अविस्मरणीय लाग्नुको कारण थियो– उल्लिखित सामग्रीमा बाल्यकालदेखिकै मेरो भोगाइ र मनमा उठेका अनेकौं प्रश्नको उत्तर समेटिएको थियो । हेर्दै, पढ्दै जाँदा लाग्यो, यो मेरै गाउँ–ठाउँको कथा मेरै लागि लेखिएको हो ।

तीमध्ये आहुतिको किताब ‘जात वार्ता’ माथि केही लेख्दै छु । यस किताबमा नेपाली समाजबारे मेरो मनमा रहेका अनेकौं प्रश्नका जवाफ छोटो र मिठो शैलीमा दिइएको छ । पढ्दै जाँदा लाग्यो– वर्षौंदेखि जुन विषयमा आफूलाई अलिक जान्ने ठानेको थिएँ, त्यो त पूरै गलत पो रहेछ ! लाज पनि लाग्यो ।

नेपाली समाजमा दलितको समस्यालाई मैले पनि धेरै हदसम्म छुवाछुत र थोरै मात्र राजनीतिक प्रतिनिधित्वको समस्याका रूपमा मानेको थिएँ । तर, आहुतिले यस किताबमा नेपाली समाज मूलतः वर्ण व्यवस्थाबाट विस्तार भएर जात व्यवस्थामा आधारित हुन पुगेको विषयलाई यसरी भनेका छन् कि दलितको समस्या जात व्यवस्थाका कारण सिर्जित राजनीतिक, आर्थिक र सांस्कृतिक समस्याको मिश्रण रहेको मान्न करै लाग्छ ।

उत्तर भारतीय राज्यहरू (बिहार र उत्तरप्रदेश) मा दलित समुदायले गरेजस्तै मधेसी दलितहरूले पनि राजनीति गर्ने हो भने समस्या समाधान हुने मेरो बुझाइ थियो । यसबारे धेरै लेखेको, बोलेको पनि छु तर आहुतिको ‘जात वार्ता’ पढेपछि थाहा भयो, त्यो मोडेल त कामै नलाग्ने भइसकेको रहेछ ।

नेपालका विभिन्न भागमा फरक–फरक प्रकारको जात व्यवस्था कसरी चलेको होला ? किन पहाडको भन्दा मधेसी समाजमा कठोर जातीय संस्कारको अभ्यास भइरहेको होला ? यस्ता प्रश्न मनमा उठिरहन्थ्यो । आहुतिको ‘जात वार्ता’ मा यसको बडो विश्वस्त तर्क दिइएको छ ।

नेपालमा जात व्यवस्थाको प्रवेश तीन फरक–फरक कालखण्डमा फरक–फरक दिशाबाट भएको छ । उत्तर भारतबाट मधेसका विभिन्न भेगमा विभिन्न समयमा आएका मानिसले उतैको जस्तो जातीय संस्कार पनि भित्र्याएका थिए । त्यसकारण त्यहाँ फरक प्रकारको जातीय अभ्यास अहिले पनि जारी छ ।

काठमाडौं उपत्यकामा लिच्छविहरूले जात व्यवस्था सुरु गरेका थिए । पछि आएर मल्ल शासकहरूले कठोर बनाएका थिए । काठमाडौंका रैथाने नेवार समुदायमा मधेसी वा पहाडी समाजका भन्नाभिन्नै जातीय संस्कार अभ्यासमा रहनुको कारण पनि त्यही हुनुपर्छ ।

इरानी शासकहरूले भारतमा आक्रमण गरेपछि वैदिक आर्यहरू भागेर पश्चिम नेपाल पसेका थिए । भेरी पश्चिमका पहाडी क्षेत्रका खस राजाहरूले तिनीहरूकै संगतमा फरक खालको जातीय संस्कार अँगालेका थिए । पछि त्यसैलाई राम शाहले गोरखामा कठोर बनाएका थिए, जसको प्रभाब नुवाकोटसम्म फैलिएको थियो ।

पृथ्वीनारायण शाहले एकीकरणपश्चात् नेपालभरि जात व्यवस्था लागू गरेपछि जनजातिहरूमा पनि त्यसको प्रभाब पर्‍यो, तर तुलनात्मक रूपमा कम । पुस्तकमा मध्य एवं पूर्वी पहाडमा जातीय संस्कारहरू तुलनात्मक रूपमा कम कट्टर देखिनुको मुख्य कारण जनजातिहरूको बसोबासलाई मानिएको छ । आहुतिको यो तर्क फेड्रिक गेजको तर्कसँग पनि मेल खान्छ ।

झन्डै पचास वर्षअघि मधेसमा विषद् अध्ययन गरेका गेजले मधेस र पहाडको जातीय संस्कार र सामाजिक सम्बन्धहरूमा व्यापक भिन्नताको कारण यसरी उल्लेख गरेका छन् । मधेसी समाज मूलभूत रूपमा उत्तर भारतको सामाजिक संस्कारबाट प्रभावित छ, जसमा कुनै समयको मुसलमान शासकहरूको त्रासको छाया र प्रभाव छ । नेपालको पहाडी समाज तिब्बती समाजबाट प्रभावित छ, जसमा बौद्ध धर्मका संस्कारहरूको प्रभाव देख्न सकिन्छ । यसकारण मधेस र पहाडका हिन्दु धर्मावलम्बीहरूमै पनि सांस्कृतिक एवं सामाजिक (जातीय, लैंगिक आदि) सम्बन्धहरू फरक खालका छन् ।

कम्युनिस्ट राजनीतिले सामान्यतः वर्गको कुरा गर्छ । वर्गीय मुक्तिको कुरा गर्छ । तर, वर्गीय हिसाबले सबैभन्दा पिँधमा रहेका दलितहरू त कम्युनिस्ट पार्टीहरूको नेतृत्वमा कहीँ पनि देखिन्नन् । यस्तो किन भएको होला ? राजनीतिबारे रुचि राख्ने जोकोहीको मनमा उठ्ने स्वाभाविक प्रश्न हो यो । केवल नेपालको वाम राजनीतिमा मात्र होइन, लोकतन्त्रवादी नेताहरूमा पनि नेपाली समाजबारेको वैचारिक विश्लेषण नै त्रुटिपूर्ण रहेको आहुतिको तर्क छ । आहुति भन्छन्– उनीहरूले जात र वर्गबीचको अन्तरसम्बन्ध र त्यसबाट राज्य, राजनीतिमा पर्ने प्रभाबबारे सही विश्लेषण गर्नै चाहँदैनन् वा सकेका छैनन् ।

कांग्रेसको राजनीतिमा बीपी कोइराला र वामपन्थी राजनीतिमा पुष्पलाल श्रेष्ठ त्यस समयका भारतीय नेताहरूको स्वतन्त्रता आन्दोलन र त्यसताकाको विचारबाट प्रभावित थिए । भारतकै राजनीतिले पनि तत्कालीन समाजमा जात र वर्गबीचको अन्तरसम्बन्धलाई स्विकारेको थिएन । त्यो नै त्यसबेलाको राजनीतिको सबैभन्दा ठूलो वैचारिक समस्या रहन गएको आहुतिको तर्क छ । लोकतान्त्रिक खेमाको राजनीतिमा विचार र नेतृत्व दुवैमा ब्राह्मणवादी सोचको वर्चस्व रहनु त एक हदसम्म स्वाभाविकै थियो तर वामपन्थीहरूले पनि केवल वर्गको कुरा गरिरहनु र जातबारे मौन बसिरहनु दलित समुदायका लागि दुर्भाग्यपूर्ण ठहरिएको आहुतिको बुझाइ छ ।

‘भारतमा बीआर अम्बेडकरको उदय हुनु दलितहरूका लागि ऐतिहासिक उपलब्धि अवश्य थियो तर अम्बेडकरले आफ्नो आन्दोलनमा दलितको समस्यालाई सांस्कृतिक बढी र राजनीतिक एवं आर्थिक समस्याको रूपमा कम आँक्नु उसको भूल थियो,’ आहुतिको तर्क छ । अम्बेडकरको धर्म परिवर्तन नीति जात व्यवस्थाबाट मुक्तिको आधारभूत दिशा होइन बरु ‘तावाबाट उम्केको माछा भुंग्रोमा पर्नु’ जस्तै हो भनेका छन् । धर्म जहिले पनि शासकहरूलाई शासन गर्न सहयोग गर्ने माध्यमको रूपमा प्रयोग हुने गर्छ र त्यही कारण हिन्दु धर्म छाडेर बौद्ध धर्म अपनाएर दलितको समस्या समाधान हुन्न । समाजको समग्र सामाजिक, राजनीतिक र आर्थिक संरचनालाई नै पुनःसंरचना गर्नका लागि नयाँ क्रान्ति गर्नुपर्ने आहुतिको तर्क छ ।

प्रेम तथा अन्तरजातीय विवाह दलित मुक्तिको सहज बाटो लाग्छ तर त्यस्तै प्रकारका जोडीहरूबीच सबैभन्दा बढी सम्बन्धविच्छेद हुनुको कारणबारे पुस्तकमा बडो व्यावहारिक विश्लेषण छ । दलित र गैरदलित केटा–केटीबीच विवाह हुनु तर तिनका छोराछोरीले फेरि कुनै एक जातकै थर अपनाउनु उदेकलाग्दो अवस्था हो । केहीयता दलितहरूले थर बदल्नुपर्ने, दलितलाई शिल्पी भन्नुपर्नेजस्ता तर्कहरूलाई पुस्तकले बकम्फुसे तर्कको रूपमा उडाइदिएको छ । समाजले अछुत मानेको समूहमा जब परिवर्तनका लागि विद्रोहको चेतना बोध हुन्छ, तब ती समूह दलित हुने हुन् । त्यसकारण दलित शब्दलाई कुनै अपमानजनक शब्दको रूपमा नलिई बरु गौरवको अनुभूति गर्ने, गराउने शब्दको रूपमा लिनुपर्ने लेखकको तर्क छ ।

यस पुस्तकको सबैभन्दा राम्रो पक्ष भनेको प्रश्नोत्तर शैलीमा सरल भाषामा लेखिनु हो । लगभग १०५ वटा प्रश्नको छोटो–मिठो जवाफको संग्रह गरिएको यो पुस्तक नेपाली समाज बुझ्नका लागि आधारभूत समाजशास्त्र (बेसिक सोसोलोजी) ठहरिन सक्छ । स्कुलदेखि स्नातक तहसम्मका विद्यार्थीका लागि ‘जात वार्ता’ स्वादिलो र ज्ञानबर्द्धक होला ।

आधारभूत रूपमा मार्क्सवादी कोणबाट दलित समस्यालाई हेर्नुपर्ने आहुतिको तर्क पुस्तकमा गज्जबसँग स्थापित भएको छ । मार्क्स युरोपमा जन्मेको, अध्ययन गरेको कारण उनलाई दक्षिण एसियाली समाजबारे यथेष्ट जानकारी थिएन । त्यसकारण मार्क्सवादमा दलित मुक्तिको मार्गचित्र कोरिएन । मार्क्सवादी फ्रेमबाट नेपाल, भारतको दलित समस्याको व्याख्या–विश्लेषण गर्ने काम यहाँका वामपन्थी नेता, विचारकहरूको रहेको आहुतिको तर्क छ ।

किताबका प्रश्नकर्ता संगीत बारम्बार नेपालकै दलित समस्याबारे केन्द्रित हुन चाहन्छन् तर उत्तरमा आहुति नेपालबाट सुरु गरेर भारत हुँदै दक्षिण एसियाभरिको आकाश घुम्छन् र मार्क्सवादको व्याख्या गर्दर् ैयुरोपमा सम्पन्न भएका क्रान्तिका प्रसंगमा विचरण गर्न पुग्छन् ।

मनमा लाग्छ– लेखकले नेपाली समाज बुझ्न कत्ति धेरै मिहिनेत गरेका रहेछन् ? उनलाई कत्ति जाँगर र चाख लागेको होला ? कत्ति मसिनो गरी समाजको अवलोकन गर्न सकेका होलान् ? देखेको, सुनेको, भोगेको र पढेको कुरालाई छोटो, मिठो, सबैले बुझ्ने शैलीमा कसरी भन्न सकेका होलान् ?

समाजशास्त्रका शास्त्रीय ज्ञाता र अनुसन्धानका विधि (मेथोडोलोजी) मा विश्वास गर्ने प्राज्ञहरूका लागि यो पुस्तक गफजस्तो पनि लाग्न सक्छ । तर, त्यस्ता विद्वान्का लेखाइ बुझ्न गाह्रो लाग्ने असंख्य जिज्ञासुका लागि पुस्तकले रसिलो स्वाद दिनेछ । किताब पुराना विद्वान्का लागि होइन, बरु उदाउँदा नेता, अभियानी र युवा विद्यार्थीका लागि लेखिएको हो ।

लेखकलाई पहाडी भेगको सामाज र संस्कृतिबारे जति जानकारी छ, मधेसी समाजबारे पनि त्यति नै भएको भए पुस्तक अझ रोचक हुनेथियो । गान्धी, नेहरू, अम्बेडकर, बीपी र पुष्पलाललगायतका नेताहरूको बौद्धिकी र क्रान्तिकारितालाई उचित सम्मान गर्दै जसरी उनीहरूको वैचारिकीमा रहेको समस्या किताबमा औंल्याइएको छ, त्यो प्रस्तुति–शैली प्रशंसायोग्य छ । दलित मुक्तिको एक मात्र विकल्प वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाका लागि संघर्ष गर्नुपर्ने लेखकको निष्कर्षबारे कतिपय पाठक असहमत पनि हुन सक्छन् । तर, आफ्नो रोडम्यापबारे लेखक अत्यन्त स्पष्ट र सकारात्मक रहेको बुझिन्छ ।

दलित आन्दोलनमा एनजीओको भूमिकाबारे जसरी किताबमा लेखिएको छ, त्यो शासक समुदायबाट निर्माण गरिएको कथ्यबाट आहुति प्रभावित भएको प्रस्टै बुझिन्छ । दलितलगायत सीमान्तकृत समुदायका लागि नेपालको समाज, राज्य र राजनीति जुन हदसम्म प्रतिकूल छ, त्यस्तो बेला एनजीओमार्फत भएका राम्रा कामहरूबारे बिल्कुल बेखबरजस्तै रहनुले लेखकको जानकारीको सीमा बुझाउँछ । पुस्तकमा दलित मुक्तिका लागि हुने आन्दोलनमा हिंसा (आवश्यक परेको खण्डमा) लाई पनि सैद्धान्तिक रूपमा स्वीकार गर्नु यो पंक्तिकारका लागि आश्चर्यको प्रसंग लागेको छ ।

प्रकाशित : माघ १०, २०७७ ११:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×