१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

वसन्त : खेतीपातीको नयाँ वर्ष

उत्तरी गोलार्द्धमा दिन लामो हुन थालेसँगै बीउ, बोटबिरुवाको सक्रियता बढ्छ । अर्को अर्थमा, सृष्टि थाम्ने वार्षिक गतिविधि बढ्छ ।
कृष्ण पौडेल

हिमालमा गयो जाडो लोक साऽनन्द देखियो

उदायो रसिलो राम्रो ऋतु राज वसन्त यो ।

नाम शेष भयो सारा पुरानो शिशिर स्थिति 

लियो वसन्तले अर्कै नयाँ गौरव पद्धति ।

वसन्त : खेतीपातीको नयाँ वर्ष

कविशिरोमणि लेखनाथ पौड्यालले उपर्युक्त पद्य १०५ वर्षअघि वसन्त ऋतुका बारेमा लेखेका हुन् । उनले ‘ऋतुविचार’ खण्डकाव्यमा यसरी नै सबै ऋतुको सटीक वर्णन गरेका छन् । माथिका कवितापंक्तिले वसन्त आगमनको महत्त्वलाई उजागर गरेका छन्, प्रकृति–मानव सम्बन्ध अनुपम रहेको खुलाएका छन् ।

अंग्रेजीमा ‘स्प्रिङ’ भनिने र उत्पत्तिको अर्थ राख्ने यो याम वार्षिक जीवन–ऊर्जाको मुख्य आधार हो । हामी उत्तरी गोलार्द्धको हिमालय शृंखलाको काखमा अवस्थित छौं । हरेक वर्ष यति नै बेला यो पाखोको जीवन–ऊर्जाका लागि प्रकृतिको बैंस फर्किन्छ । अहिले हामीले जीवनचक्रको यो पेचिलो सत्यलाई आत्मसात् गर्न छाडेका छौं, जसका कारण मानव–प्रकृति अन्तरसम्बन्धको जालो निरन्तर कमजोर हुँदै गइरहेको छ । परिणामतः खाना, खेतीपाती, जलवायु र समग्र प्रकृतिमा व्यापक फेरबदल आएको छ ।

हाम्रो यस्तो ऊर्जाशील वसन्तको सुरुआत अर्थात् हाम्रो जीवन–ऊर्जाको पात्रो माघे झरीले हिउँदमा धुम्मिएको मधेस खुलेसँगै, शीतलहर र पहाडको सिरेटो सकिएसँगै सुरु हुन्छ । यही बेला प्रकृतिले उत्तरतर्फ ढल्किने पृथ्वीको सतहमा वार्षिक जीवन–ऊर्जाका लागि उपयुक्त घामपानीको बन्दोबस्त मिलाउँछ । हिउँदमा सुषुप्त रहेको हावापानी घामको तातोले सक्रिय हुन्छ । यसले नै हाम्रो जीवन–ऊर्जाको मूल आधार वनस्पति जगत्मा रौनक ल्याउने हो । यही ऊर्जाका आधारमा समग्र जीवन पद्धति चलायमान हुन्छ ।

धेरै वर्षदेखि यस्तो झरी भने राम्ररी हुन सकेको छैन । यदाकदा हुने हिउँदे झरी पनि सबैतिर भएको छैन । खास गरी मध्यपहाड र तराईमा माघे झरी त हुनै छोडेको छ । हप्तादिनभन्दा बढी हुने झरी हामीले प्रकृतिलाई तहसनहस बनाउँदै लगेकाले सुस्ताउँदै गएको हो । काठमाडौं खाल्डोमा पोहोरसम्म एक–दुई दिन परेको पानी यो वर्ष दुई–चार छिटा परेर टर्‍यो ।

यसरी हप्तौंसम्म पर्ने झरी अब कवितामा मात्रै सीमित हुने जोखिम बढेको छ । यसलाई उस्तै गरी फर्काउन त कति सकिएला, तर प्रकृतिसम्मत खेती प्रणाली अपनाएर स्वच्छ खेतीपातीबाट स्वस्थ खान पाउने हाम्रो र भावी पुस्ताको हक स्थापित गर्न भने अझै पनि सकिन्छ । तर यो मर्म आत्मसात् गर्ने किसानीको गौरवमय परम्परा उन्नत बनाउनु यसको पूर्वसर्त हो ।

यस गोलार्द्धमा खानाका लागि गरिने उत्पादनका मुख्य सबै कर्म र प्रकृतिको सृष्टि थाम्ने मर्मको सम्मान विभिन्न सांस्कृतिक चाडपर्वहरू, जस्तै : वसन्त पञ्चमी, शिवरात्रि, होली, उँधौली, सतुवान उत्सव मनाएसँगै सुरु गरिन्छ । यी उत्सवहरू खानाका लागि खेतीपाती गर्ने किसानले सृष्टि थाम्न जुरमुराएको बीउ, पालुवा र फक्रिँदै गरेको कोपिलाको स्वागत गर्ने उत्कृष्ट अवसर हुन् । यस्ता अरू हजारौं उत्सव विभेदको पर्खालमा चेपिएर बसेका छन् । यी संस्कृतिलाई यिनै बीउजस्तै उम्रिन, हुर्कन र कोपिलाजस्तै फक्रिन र फल्न दिने दिन कहिले आउला ?

उत्तरी गोलार्द्धमा दिन लामो हुन थालेसँगै बीउ, बोटबिरुवाको सक्रियता बढ्छ । अर्को अर्थमा, सृष्टि थाम्ने वार्षिक गतिविधि बढ्छ । वसन्तको आगमनसँगै जसरी प्रकृतिले आफ्नो वार्षिक ऊर्जा व्यवस्थापनको तयारी गर्छ, त्यसरी नै किसानले पनि आम मानिसका लागि चाहिने ऊर्जाका लागि खानेकुरा उब्जाउने तयारी गर्छन् । यसो गर्ने किसानका आफ्नै ठाउँका खेती संस्कृति छन् । यिनै संस्कृतिलाई उन्नत बनाउँदै हजारौं वर्षदेखि किसानले खानाका लागि गरिने खेतीपातीको प्रणाली निरन्तर परिष्कृत गर्दै लगेका छन् । माटोदेखि थालसम्म खानेकुरा जोहो गर्ने यो परम्पराका सबै ज्ञान, सीप र कौशलहरू प्रकृतिका यिनै गतिशील ऋतुहरूमा आधारित छन् ।

माथि भनिएझैं वसन्त ऋतु प्राकृतिक उत्पादनको मुख्य समय हो । यही समयमा बीजारोपण गरिने खेतीपातीबाटै हाम्रो समग्र खानेकुराको बन्दोबस्त हुने हो । प्रकृतिको यो उत्पादनशील मौसममा खानेकुराको जगेर्ना गर्ने र अन्य प्रतिकूल मौसममा मानवीय उन्नतिका अन्य आयामको तयारी र बन्दोबस्त गरिन्छ । ऋतु फेरिएसँगै वस्तुभाउ र परिवारका साथ गरिने उँधौली–उँभौली, बसाइँसराइ, भोटदेखि नुन र हिमालदेखि जिम्बु लिएर तराईसम्म अन्नपात साट्न, आग्रादेखि चुरा धागो पोते सियो बेच्दै हिमाली बस्तीसम्मको सबै यात्रा यिनै बन्दोबस्तका लागि गरिन्छन् । हाम्रो यस्तो बन्दोबस्तका सबै सारथि यही बेला सँगै जुरमुराउँछन् । चराचुरुंगी, कीराफट्यांग्रा र साना–ठूला वन्यजन्तुसमेत खानपानको बन्दोबस्त मिलाउँदै सन्तान उत्पादनमा सक्रिय हुन्छन् । हजारौंको बथानमा हजारौं कोसको उडान भर्नेर् कराङकुरुङ, गौंथली, मलेवा, सुगा अब हाम्रा स्मृतिमा समेत ओझेल पर्दै छन् ।

हजारौं वर्षदेखि सुरु भएको खेतीपातीको यो महायात्रा मानव सभ्यता र जनसंख्या वृद्धिसँगै सर्वत्र फैलिएको हो । तर यो आधारभूत सत्य प्रकृतिदोहनको यात्रासँगै औपनिवेशिक सत्ताको बलमिच्याइँमा पर्‍यो । यसबाट हाम्रा परम्परागत ज्ञान, सीप र कौशल ओझेलमा मात्र परेनन्; साम, दाम, दण्ड, भेद अपनाएर जरैदेखि उखेलिए । हाम्रो प्रकृतिसम्मत जीवन पद्धति निरन्तर विघटनको बाटामा छ । यसको आभास त बेलाबेला थपिएका विपत्ति र महामारीले समेत गराउँछन् । तर यसको गर्भमा भने खानाका लागि गरिने खेतीपातीको मर्मविपरीत केवल नाफाका लागि गरिने उत्पादन र यसका लागि मात्र उपयोगी सोच, ज्ञान, सीप र प्रविधिको विकास छ । अहिले प्रकृतिको जीवनचक्रलाई चरम बेवास्ता गरिएको छ ।

हाम्रो ऊर्जाको वार्षिक बन्दोबस्तको यो परम्परा उल्ट्याएर सहरी बसाइ र बेमौसमी उत्पादनको सीमित घेराभित्र नाफाका लागि बाँच्ने बिचौलिया जिन्दगीमा मात्र रमाउने सामाजिक व्यवस्था र यस्तो चेतना मात्र बढाउने शिक्षा पद्धतिको सिको गरेर नै हामी यस्तो अवस्थामा पुगेका हौं । हामीले बेमौसममा फलाउने र विष खाने तरिका अपनाएर आफूलाई मात्र हैन, भावी पुस्ताको जीवनको मूल आधार माटो र प्रकृतिलाई पनि विषाक्त बनाएका छौं ।

आधुनिक कृषि विकासका कार्यले यो मर्मलाई आत्मसात् गर्दैनन् । बरु उल्टै आधुनिक हुने नाममा कृत्रिम मौसम र हावापानी अनि रसायनको बन्दोबस्त गरी धेरै नाफा कमाउने भन्दै बेमौसममा फलाउने सघन एकल बालीको होड नै चलेको छ । यसले माटो, प्रकृति र खानेकुरा विषाक्त बनाउँदै लगेको छ । हिजोआज खेतीपाती खानका लागि गरिँदैन, बेच्नलाई मात्र गरिन्छ । किसानलाई बिचौलिया र व्यापारीले विस्थापित गर्ने क्रम जारी छ । माटोको जीवात्मा मरेको छ । जैविक विविधता विघटनसँगै प्राकृतिक ह्रासले जलवायु र वातावरणमा गहिरो संकट थपिँदो छ । विषाक्त माटो र प्रकृतिको नसर्ने दीर्घरोग दिनदिनै बढ्दै छ ।

झन्डै दुई हजार वर्षअघि सुरु भएको प्रकृतिदोहनको मूल मान्यतामा आधारित रोमन साम्राज्यको प्रकृतिमाथिको विजय र व्यापारका लागि गरिएको समुद्री यात्रा औद्योगिक विकासको जग हो । यसैलाई विस्तार गर्न गरिएको विज्ञान र प्रविधि मात्र उन्नत जीवनको आधार हो भन्ने वैचारिकीसँगै हाम्रो मौलिकताको विघटन यात्रा सुरु भएको हो । यसले नै हाम्रो ज्ञान निर्माणको मौलिक परम्परामा व्यापक फेरबदल ल्याएको हो, जसको अग्रभागमा हामीले अपनाएको बाह्य ज्ञानमा आधारित कृषि शिक्षा, अनुसन्धान र प्रसारको मुख्य योगदान छ ।

यी कुरा बुझ पचाएर गरिने खाना र खेतीपातीको विलापले मात्र अब हाम्रो कृषि सप्रिँदैन, बरु दिनदिनै दुर्घटित हुँदै जान्छ । प्रकृतिलाई बुझ्ने र व्यवहार गर्ने किसानको विवेक र हाम्रा पुर्खाले ऋतु विचारसहित बाँधेको प्रकृतिसँगको अन्तरसम्बन्धको डोरो बलियो बनाएर मात्र हाम्रो खाना र खेतीपाती सप्रिन्छ । विज्ञानको चमत्कारले प्रकृतिका नियम बुझेर हाम्रो जीवन सरल बनाउन त सकिएला, तर खाना र खेतीपातीको संकट यस्तै बढिरहे विज्ञानको ल्याकत नै कति रहला ? यसको छनक त कोभिड–१९ बाट आतंकित आधुनिक मानव सभ्यताको हैसियतले नै देखाइदिएको छ ।

यस्तो उल्टो यात्रा नहिँड्न सार्थक पहल गरिएन भने खानाका लागि गरिने खेतीपातीको विघटनसँगै हाम्रो सभ्यतासमेत लोप हुने निश्चित छ । उन्नत समाज र यसको नेतृत्व फेर्न गरिने तेस्रो आन्दोलनको जग हाल्न तम्सेका वसन्तजस्तै ऊर्जावान् युवा पुस्ताले गर्दा लोकतन्त्र र संसदीय व्यवस्था त फेरिएला तर यो मर्म आत्मसात् गर्न र आफैंलाई फेर्न तयार नभए आम मानिसको जिन्दगीमा बहार भने आउनेछैन ।

प्रकाशित : फाल्गुन १०, २०७७ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?